रासायनिक मल खोज्नमै किसानको दैनिकी
भजनी । वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन् । कैलालीमा रासायनिक मलको अभावसँगै किसान महँगोमा मल किन्न बाध्य छन् भने महँगोमा समेत मल नपाउँदा किसानको दैनिकी मल खोज्नमै जान थालेको छ । टीकापुर नगरपालिका–३ का लक्ष्मण विकले करिब चार बिघा क्षेत्रफलमा धान रोपाइँको तयारी गरेका छन् । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न नसकिएको उनले बताए । “बजारमा रासायनिक मल पाइँदैन । दैनिकी नै मल खोज्नमै जान थालेको छ”, लक्ष्मणले भने, “अन्य मल पाइए पनि महँगोमा किन्नुपरेको छ । युरिया बजार कतै छैन युरिया मल नहाले खेती नै हुँदैन ।” सहजरूपमा मलको आपूर्ति नहुँदा खेती रोप्ने चटारोमा रहेका किसान मलको खोजी गर्दै चर्को मूल्यमा रासायनिक मल खरिद गर्न बाध्य भएको भजनी नगरपालिका–८ का गौरी चौधरीले बताए । “तीनै तहको सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखेका छन्, त्यो नाममा मात्रै सीमित छ”, गौरीले भने, “खेती लगाउने समयमा जहिले पनि रासायनिक मलको अभाव हुन्छ । पाए पनि धेरै महँगोमा किन्नुपर्ने बाध्यता छ । सरकारले किसानलाई राहत हुने काम गर्नै सकेको छैन ।” उनले मल तथा बीउ खादको चर्को मूल्य तिर्नुपर्ने बाध्यताकै कारण किसानलाई खेतीबाट आम्दानीभन्दा बढी खर्च हुने गरेको बताए । रासायनिक मलको बिक्री–वितरण गर्दै आएका सहकारी संस्थामा दैनिक सयौं किसान मलका लागि पुग्ने गरेका छन् । सहकारीमा पुगेका किसानले मल नपाउँदा सहकारीमा निवेदन छोडेर फर्कने गरेको कृषि सहकारीले बताउँदै आएको छ । अघिल्ला वर्षहरुमा सीमा नाकाबाट अवैधरूपमा मलको आपूर्ति हुने र भेटेरिनरीबाट चर्को मूल्यमा भए पनि मल पाइने गरेको थियो । अहिले कोरोना भाइरसका कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा मलको झनै चरम अभाव देखिएको हो । कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रतिक्विन्टल युरिया १ हजार ६ सय ५२ रूपैयाँ, डिएपी प्रतिक्विन्टल ४ हजार ५ सय ५२ रूपैयाँ र पोटास प्रतिक्विन्टल ३ हजार ३ सय ५२ रूपैयाँमा उपलब्ध गराइरहेको छ तर किसानले अहिले रासायनिक मल युरिया प्रतिक्विन्टल २ हजारदेखि २ हजार ८सय रूपैयाँ, डिएपी ५ हजारदेखि ६ हजारसम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री केन्द्रले निर्धारण गरेको मूल्यमा युरिया डिएपी, पोटास मलको बिक्री गर्दा उक्त सहकारीलाई कृषि सामग्री कम्पनीले ढुवानीसहितको व्यवस्था गरी मल कृषि सहकारीलाई प्रदान गर्ने गरेको हुन्छ । प्रतिक्विन्टल ६० देखि ७० ढुवानी अनुदान रहेको मलमा लोड अनलोड कृषि सहकारीले आफैं गर्ने गरेका हुन्छन् तर अहिलेको परिस्थितिमा प्रतिक्विन्टल ९० देखि १०० ढुवानी भाडा र लोड अनलोड गरी ३२ रूपैयाँ खर्च लाग्ने गरेको सहकारीले बताउने गरेका छन् । कृषि सामग्रीको निर्धारित मूल्यभन्दा ढुवानी भाडा थप गरी केही रकम बढाएर सहकारीले बिक्री गर्न पाए पनि टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउँदले मलको अभाव भएका कारण किसानको मागलाई पूरा गर्न नसकिएको बताए । उनले डिएपी र पोटास मल छिटपुटरुपमा पाइए पनि युरिया मल पाउन नसकिएको भन्दै सयौँ किसानले मलका लागि सहकारीमा निवेदन दर्तासमेत गरेको बताएका छन् । “हामीले मलको आयातका लागि निरन्तर सम्पर्क गर्दै आएका छौँ”, अध्यक्ष साउँदले भने, “युरिया मलको नेपालभरि नै अभाव देखिएको छ । माग अत्यधिक भएकाले यही अवस्थामा मल पाए पनि पूर्ति गर्नसमेत सकिने अवस्था देखिँदैन ।” उहाँले लकडाउनको बेला ढुवानी महँगो भएको भन्दै मल बिक्रेता सहकारीले केही मूल्य बढाएर मल बेच्नुपर्ने बाध्यता रहेको बताए । कैलालीमा ९५ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ३९ हजार हेक्टरमा धानखेती हुने गरेको छ । त्यसका लागि चार हजार टन युरिया र तीन हजार टन डिएपी मल आवश्यक पर्छ । मल अभावको अवस्थामा चर्को मूल्यमा बिक्री गरे कारवाही हुने कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । रासस
एनआईसी एशिया बैंकले ऋणीलाई व्याज र नविकरण शुल्कमा विशेष छुट दिने
काठमाडौं । एनआईसी एशिया बैंकले असार मसान्तसम्ममा ऋण चुक्ता गर्ने ऋणीलाई विशेष छुट दिने भएको छ । असार मसान्तसम्मको ऋण चुक्ता गरेमा बैंकले उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सबै ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने बैंकले जनाएको छ । साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी, कर्जा नवीकरणको हकमा २०७७ असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ असार महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ असार महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको छ । त्यसैगरी यस बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्नेे ग्राहकहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेठ महिनाको पहिलो साता भित्रै सम्बन्धित ग्राहकहरूको खातामा जम्मा गरिसकेको बैंकले जानकारी गराएको छ ।
काठमाडौंका व्यापारिक केन्द्रः पसल खुले, ग्राहक आएनन्
काठमाडौं । काठमाडौंलगायत देशैभरका मूख्य व्यापारिक बजार खुलिरहेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा लकडाउन भएको ७२ औँ दिनबाट काठमाडौंका असन, न्युरोड र ठमेल जस्ता व्यवसायिक स्थानका पसलहरु खुल्न लागेका हुन् । सरकारले पनि लकडाउनकै समयमा सपिङ हलबाहेकका सबै पसल व्यापारिक केन्द्र लगायत खोल्ने निर्णय गरेको थियो । सरकारले गत शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको हो । गत बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै तोकिएको मापदण्ड पुरा गरेर व्यापारीहरुले आफ्नो व्यवसाय सञ्चालन गरेको थिए । तर, पसलहरु खुले पनि व्यापार भने नभएको व्यापारीहरु बताउछन् । बिहान आएर पसल खोले पनि खाना खान जाने बेलासम्म पनि बोहोनी नै नभएको व्यापारीहरुको भनाइ छ । सधै भिडभाड हुने व्यापारिक क्षेत्रमा सर्वसाधारणको चहलपहल शून्य जस्तै देखिन्छ । सुरुका दिनमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म पसलहरु चल्ने गरेका थिए । तर सरकारले नै सबै व्यापार सञ्चालन गर्ने निर्णय गरेपछि पुरै समय पसलहरु खुलेका हुन । राजधानीको प्रमुख व्यापारिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबौद्ध , असन, दबारमार्ग लगायतका क्षेत्र हुन । अरुबेला उपत्यका र उपत्यका बाहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान जस्तै छन् । नेपालभर नै सबै किसिमका व्यवसाय खुले पनि व्यापार भने छैन । व्यापार व्यावसयमा मन्दी आएपछि अर्थतन्त्रमा समेत असर परेको छ । व्यापारिक केन्द्रका व्यापारीहरु पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको बताउछन् । पसल खोले पनि बोहोनी नै नभइ बन्द गर्ने गरेको उनीहरुको भनाइ छ । खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पसल खोले पनि व्यापार नभएको बताए । बिहान आएर पसल खोले पनि व्यापार नै छैन भन्दै उनले सामान्य समयमा विदेशबाट आउने र विदेश जाने मान्छेहरु सामान किन्न आउने गरेका भएपनि अहिले सार्वजनिक सवारी साधन सञ्चालन नभएकोले व्यापार हुन नसकेको बताए । ‘मान्छेहरुसगँ पैंसा पनि छैन, सामान आवश्यक परेकाहरु पनि पसलसम्म किन्न आउन सक्ने अवस्था छैन, सार्वाजनिक सवारीसाधनहरु सञ्चालनमा नआउँदासम्म व्यापार खासै हुने देखिएन,’ न्यौपानेले भने । भाँडा वर्तनका पसल, फेन्सी पसल, इलेक्ट्रोनिक्स पसल, कपडा पसल तथा खाद्यान्नका मध्ये खाद्यान्न पसलमा ग्राहकहरुको तुलनात्मक रुपमा भिड बढी नै देखिन्छ । वर्षदेखि पुख्यौंली भाँडा पसल सञ्चालन गर्दै आएका सरोज ताम्राकारले लकडाउनमा नै पसल खुल्दा पनि व्यापार नभएको बताउँछन् । विगत वर्षहरुमा यही समयामा दैनिक ७०/८० हजारको व्यापार गर्दै आएका उनी अहिले दिनमा १०/१५ सयको व्यापार गरेर घर फर्किन्छन् । इलेक्ट्रोनिक्स सामानाका पसलमा फाट्टफुट्ट मात्रै ग्राहकहरु आउने गरेको व्यापारीहरु बताउछन् । विद्युतीय सामानहरु केही मात्रामा बिक्री भएपनि यो धेरै नै कम रहेको व्यवसायी रामहरि कार्कीले बताए । देशैभरकार व्यापारीहरु पसल खुलेपनि व्यापार नभएको गुनासो पोखिरहेका छन् । पर्यटकमा निर्भर रहने हस्तकला, चित्रकला, पस्मिना, नेपाली ढाकाटोपी, खुकुरी जस्ता बस्तुहरुको व्यापार पनि शून्य छ । निजी सवारी साधनको ओहोरदोहोर बाक्लिए पनि ग्राहकको पर्खाइमा व्यापारीहरु बसेका छन् । न्युरोड, असन क्षेत्रमा मासिक १५ हजारदेखि २० लाखसम्म भाडा तिर्ने व्यवसायी रहेको राष्ट्रिय व्यवसायी महासंघको अनुमान छ । सरकारले लकडाउन जारी राख्दा राख्दै सरकारले कर तिर्न बाध्य बनाएको भन्दै पसल खोलेका थिए । व्यापारीले पसल खोलेको केही दिनपछि सरकारले सपिङ मलबाहेकका सबै पसल खोल्ने निर्णय गरेको थियो । सरकार पनि लकडाउनको कारणले आयस्रोतको कमि आएकाले कमाइभन्दा खर्च धेरै भएकाले समस्या आएको बताइरहेको छ । लकडाउनका कारणले करिब ३ महिनादेखि बन्द रहेका व्यापार, व्यवसाय र उद्योगहरु विस्तरै खुल्ने क्रममा छन् ।
कोरोना महामारीले वैकल्पिक सिकाई प्रविधि को अवसर जुटायाेः प्रधानमन्त्री (पूर्णपाठसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले वैकल्पिक सिकाई प्रविधि को अवसर जुटाएकाे बताएका छन् । आजबाट शुरू भएको वैकल्पिक सिकाई प्रविधिबारे सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् । ‘प्रविधि,अब हाम्रा घर/घरमा प्रवेश गर्दै छ, यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ, कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रकृया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ: प्यारा भाइ बहिनीहरु, – विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्दथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् । गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन। – भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ । सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुन सक्छ । हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ । – विद्यालयहरु सिकाइका सामुहिक केन्द्र हुन् । लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ । – विद्यालय तहका सबै भाई बहिनीहरुलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु । आदरणीय अभिभावकहरु, – कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलताका सँगै केही अवसर पनि सिर्जना हुँदैछ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रकृया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ । – प्रविधि, अब हाम्रा घर/घरमा प्रवेश गर्दै छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ । – यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ । – सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने, – रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने, – टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने, – कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने, – र, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने । – यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ । दिदीबहिनी तथा दाजुभाईहरु, – कतिपयले आप्mना पुर्खाको पौरख सम्झदैनन् । मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए । हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ । – वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोड भन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लागानी हो । भविष्य माथिको लगानी हो । एउटा अभिभावकले आफ्नो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवस्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो । – त्यसैले तपाईहरुले आर्जन गरेको ज्ञान र सीप आपूmलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्छ । – हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ । उनीहरु आप्mनो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ । आफ्नो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्छ । – आफ्नो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ ? त्यसलाई केलाउने र बुभ्mन सक्ने हुनुपर्छ । त्यसलाई अन्त्य गर्न आफू के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमी÷व्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी स्वयं दृढ निश्चियी हुनुपर्छ । – भनिन्छ, सफलताको रहस्य इमान्दारी हो । सफल हुनका लागि इमान्दार हुनै पर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । तर सबैभन्दा पहिले आपूmप्रति इमान्दार हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुने? जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ । मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ । – हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ । भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ । – झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रको लागि लड्यो । नयाँ प्रणाली प्राप्तीका लागि आप्mनो जीवन समर्पित गर्यो । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ । मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ । यो पुस्ता स्वभावत बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश÷दुनियाँका विषयमा जानकार पनि छ । – मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? – आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यो मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवस्यक छैन । – अप्ठ्यारोमा द्विविधा हुन्छ । त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ । – अन्तमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो । – त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ । – अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ । – अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ । – जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरु पुनः सञ्चालन हुने नै छन । विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरुभएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ । – यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु । – म सबै बालबालिकाहरुलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु । उज्ज्वल भविष्यको शुभकामना सहित, धन्यवाद ।
काठमाडौं उपत्यकामा होम डेलिभरी तयारी
काठमाडौं । बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘शुरुवाती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो’, उनले भने । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिए । चार सय डेलिभरी लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिए । उनका अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ । हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । काठमाडौं उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ । प्रतिव्यक्ति दुई हजार रूपैयाँदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ-सेवामार्फत ‘इ-पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ । यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
८२ दिनपछि खुकुलाे बन्याे लकडाउन, यी हुन् खुल्ने र नखुल्ने क्षेत्र
काठमाडाैं । चैत ११ गतेदेखि जारी लकडाउन ८२ दिनपछि केही खुकुलो बनेको छ । आजदेखि अत्यावश्यक बाहेक पनि थप केही क्षेत्रहरु खुल्ने भएसँगै लकडाउन थप खुकुलाे बन्ने भएकाे हाे । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ । असार १ गते अर्थात सोमबारदेखि लागु हुने गरी बैठकले खुल्ने र नखुल्ने क्षेत्र निर्धारण गरेको हो । सरकारले उद्योग, कलकारखाना, सरकारी र निजी कार्यलयहरु स्वास्थ्य सुरक्षाका उपाय अवलम्बमन गरेर खोल्न लागिएको जनाएको छ । सरकारको निर्णय अनुसार यी व्यवस्थाहरु २१ दिनससम्म कार्यन्वयनमा आउनेछन् । परिस्थितिको मूल्यांकन गरी थप निर्णय गर्न सकिने पनि सरकारले जनाएको छ । खुल्ने क्षेत्रहरुमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने अथवा स्यानिटाईजरको प्रयोग गर्नुपर्ने छ । जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य प्रयोग गरेर सेवा सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ । आजदेखि खुल्ने क्षेत्रहरु: १. स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनकसमेत) २. सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि विक्रिवितरणका सबै शृंखला) ३. उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स । ४. सबै प्रकारका ढुवानी । ५. पैदल आगमन । ६. साईकल र मोटरसाईकल (चालकमात्र रहनेगरी) ७. काठमाण्डौ उपत्याकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर विजार प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) । ८. फोहोरमैला व्यवस्थापन । ९. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धि सेवा । १०. बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा । ११. नर्सरी र वनजन्य उद्यम । १२. विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत) १३. निर्माण कार्य (निजी समेत) १४. नदि तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र विक्रि वितरण । १५. रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा । १६. क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन । १७. सरकारी कार्यलय, शिक्षण संस्थाका कार्यलय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यलय र बैंक तथा वित्तिय संस्थाहरु ९विहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने) १८. सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यलयका श्रमिक तथा कर्मचारी ओसार पोसार गर्न प्रयोग गरिने सवारी साधन (सीटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने) यस्तै, सरकारले केही क्षेत्रहरुमा अझै संक्रमणको जोखिम रहेकाले ती क्षेत्रहरु तत्कालका लागि नखोल्ने निर्णय गरेको छ । अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्दै जाने रणनीतिमा रहेको सरकारले तत्कालका लागि यी क्षेत्रहरु भने नखोल्ने भएको छ । १. विद्यालय, कलेज, ट्युशज सेन्टर, तालिम केन्द्र गायत शैक्षिक संस्थाहरु । २. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु । ३. तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवात जावत । ४. सबै प्रकारका सभा, गोष्टी र सेमिनार । ५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन । ६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु । ७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडिया घर । ८. स्पा, सैलुन तथा ब्यूटी पार्लरहरु । ९. स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब । १०. सपिङ मल । ११. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति । १२. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल । १३. यात्रुवाहक सार्वजनिक सवारी साधन ९पर्यटक सवारी साधनसमेत० १४. काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने निजी सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने
आमा ! घर फर्कु कि चिहानमा ?
लेखक सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ घरदेशमा आफ्नाबाटै परदेशमा पराईबाट जोगाएको अस्मिता घरदेशमा घरैबाट लुटियो आमा माइती देशको त कुकुर पनि प्यारो हुन्छ भन्थे मेरा दाजुभाइ कुुकुर जति पनि प्यारा भएन्न आमा उज्यालो खोज्दै हिंड्दा अँधेरो आँगनमा आईपुगेंं म रक्षक नै भक्षक भए पछि मेरो अस्मिताको रक्षा गर्न सकिन आमा मसँग मेरो लासमात्र बाँकी छ घर लैजाउ कि चिहानमा मसँग अँधेरो रात मात्र बाँकी छ लामो निन्द्रा निदाउँ कि म फेरी पर्खु बिहानमा भन न आमा म घर फर्कु कि चिहानमा ?
कोरोना जाँचमा पहिलो काठमाडौं, दोस्रो जुम्ला
काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा छ हजार ५०० को पिसिआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छ हजार ३६१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ । रासस