विकासन्युज

निसानका सम्पूर्ण गाडीहरुमा ‘अहिले किन्नुहाेस्- पैसा पछि तिर्नुहाेस्’ योजना

काठमाडाै‌ं । काठमाण्डौं निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै “बाइ नाओ पे लेटर’ अर्थात अहिले किन्नुहाेस् र पैसा पछि तिर्नुहाेस् योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० % डाउन पेमेन्ट मा उपलब्ध हुने कम्पनिले जनाएकाे छ । निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबी गरेको छ। यस योजना स्टक रहने अवधि सम्म लागु हुने र साथै सर्तहरु लागु हुने मोटोकर्पले जनाएकाे छ ।

थप ४ सय ५१ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ६२ सय नाघ्याे

काठमाडाैं । नेपालमा ४ सय ५१ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४१ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ६ हजार २ सय ११ रहेको छ । जसमध्ये १ हजार ८१ जना उपचारपछि निको भएका छन् भने १९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ३८ हजार ६ सय ८३ काे पिसिआर विधि र २ लाख १९ हजारकाे ३ सय ३६ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

‘खल्ती’ मोबाइल एपमा जोडिए १ मिलियन युजर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोबाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेज khalti.com बाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । खल्तीले डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।

विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता दोस्रो चरणमा

काठमाडौं । विकासन्युजको स्वतन्त्र लेखन प्रतियोगिता ‘प्रतिस्पर्धी’ लेख/रचनाहरुको प्रकाशन पूरा भएर दोस्रो चरणमा प्रवेश गरेको छ । लेख/रचना प्रकाशनको पहिलो चरण पूरा भएसँगै मूल्याङकनको दोस्रो चरणमा प्रवेश गरेको छ । केही ‘अप्रतिस्पर्धी’ रचनाहरु प्रकाशनको क्रममा रहेका छन् । बैशाख ७ गते राति १२ बजेपछि प्राप्त रचनाहरु, एउटै लेखकले पठाएको एकभन्दा बढी लेख/रचनालाई अप्रतिस्पर्धी लेखनको रुपमा प्रकाशन गर्ने निर्णय भएको आयोजक विकास मिडिया प्रालिले जनाएको छ । विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख/रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ । निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेख/रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख/रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको छ । प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेख/रचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका छन् । सकेसम्म प्राप्त सबै लेखनहरुलाई प्रकाशित गर्ने र लेखकहरुलाई प्रोत्साहित गर्ने हाम्रो प्रयास रह्यो । तर, कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने खालका लेख/रचनालाई प्रतिस्पर्धामा सहभागी गराइएन । यस्तै, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख/रचनाहरु प्रकाशन गरिएन । धेरै अंग्रेजी शब्दहरु प्रयोग भएका, तथ्यगत रुपमा गलत भेटिएको एवं स्वतन्त्र लेखन प्रतियोगिताबारे प्रकाशित सूचनामा उल्लेखि शर्तहरु पूरा नभएका लेख/रचनाहरु प्रकाशित हुन सकेनन् । विकासन्युज डटकमको विशेष अनुरोधमा ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेखिएका लेखन, लेखकको स्वेच्छामा वा समय नाघेपछि प्राप्त सोही विषयका लेखनहरु, एउटै लेखकको दोस्रो वा तेस्रो लेखनहरु स्वतन्त्र लेखन प्रतियोगिता पेजमा अप्रतिस्पर्धीको रुपमा प्रकाशित गर्ने नियम बनाइएको छ । यस्ता लेखनको अन्त्यमा अप्रतिस्पर्धी लेखन भनी उल्लेख गरिएको छ । ‘पहिलो चरणको मूल्याङ्कनमा छनौट भई प्रकाशित ९६ लेख/रचनाका लेखक/सर्जकहरुलाई हामी बधाई दिनु चाहन्छौं, दोस्रो र तेस्रो चरणको मूल्याङ्कनमा उहाँहरुलाई सफलताको शुभकामना,’ विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले भने । ‘प्राप्त लेख/रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका छौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख/रचनाको गुणस्तर मूल्याङ्कन हुनेछ, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेर्नेछौं,’ विकासन्युजडटकमका सम्पादक शिव सत्यालले भने । प्रथम, द्वितीय र तृतीय हुने लेख/रचनाका अतिरिक्त आलेख, निबन्ध, कथा र कविता विधाका उत्कृष्ट लेख/रचनालाई पुरस्कृत गरिनेछ । त्यस्तै, सर्वाधिक सेयर भएको र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको आयोजक विकास मिडिया प्रालिले जनाएको छ । असार १६ गतेपछि तेस्रो चरणको मूल्याङकन शुरु हुने र उत्कृष्ट लेखनको अन्तिम छनौट असार २९ गते भानुजयन्तीको दिन हुने कार्यतालिका रहेको छ । यस्ता छन् लेख/रचनाहरु नजन्मदैको युद्ध विनासपछि अर्को विकास कोरोना र विश्व : हिजो, आज र भोलि भोक सबैभन्दा ठूलो शत्रु प्रविधिमा आधारित व्यवसायमा छलाङ वसुधैव कुटुम्बकम नेतृत्वको दृढ इच्छा शक्तिकाे खाँचाे देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ त्रासोन्मुख कोरोना र अर्थतन्त्र अत्याचारी कीट कस्ले पठायो ? (भिडियाेसहित) पाचौँ  युग अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका मानव भविष्य हजुरबा, म र छाेरी अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता मान्छेमा अन्तर्निहित जिजीविषा र प्रकृतिकाे नियम हतियार र सम्पत्ति भन्दा एक मुठ्ठी सास ठूलाे डामाडोल अर्थतन्त्र र हाम्रो कार्यशैली साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू रानी माहुरीहरु मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे आत्मनिर्भरताको बाटोमा कोरोना भाईरस कोरोना एक अवसर कोरोना भाइरसले हजूर कोरोना भगाऔं एकताले बन्छ सुन्दर संसार सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय भात खाने अवसर र छाेराकाे खुशी नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन भय अनि उपाय विपद्को पीडा र बन्दाबन्दीको उपचार मानव जातिमा थपिएका चुनौति चुक्चुकाउँदै मनहरू कोभिड उन्नाईस भाइरस लामाे प्रतिक्षा, ठूलाे क्षति जीवित भगवानहरू जीवात्मा धर्तीका सेता फूलहरु ढुङ्गामा पीपल र महामारीमा मानिस कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ भविष्यको चिन्ताले वर्तमान खेर नफालौं आध्यात्मिक चेतना र स्थानीय स्रोतसाधनको प्रयोग खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई स्वार्थको अन्त्य सडकमा रुमल्लिएको देश हामी मर्दैनौं, बलियो भएरै छोड्छौं आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै सन्त्रास लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज पर्यावरण सरंक्षण, प्राथमिकतामा रुपान्तरण, परिस्कृत जीवनशैली प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा २०४० विचलित हैन, धैर्यवान बनौँ बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता प्रलय सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं ‘सकारात्मक’सँग त्रसित मान्छे कोरोना भाईरस विरूद्ध डटेर लडौं सुन्दर बिहानी आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर भुङ्ग्राेमा हर्कमान जैविक युद्धमा गुज्रिएको विश्व विपद्, प्रकृति र संस्कृतिको अकंगणित प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही पैसा, पद र यशको लालशामा आशावादी मनुष्य निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई विश्वबन्धुत्वको भावनामा आगामी यात्रा युद्ध हारेर कोठाभित्र थुनिएकाे मान्छे मानव जातिको घमण्ड र अभिमान माथि प्रहार कारुणिक अवस्थामा मानव सभ्यता आफू बचौं र अरुलाई पनि बचाऔं प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज कमजाेर स्वास्थ्य युद्ध कवच अबको प्रमुख एजेन्डा ‘सार्वजनिक स्वास्थ्य’ विनाश विनाको विकास उत्तम विकल्प काेराेना कहर र मान्छेकाे धरातल अनाथ गरिबी र कोरोना मानवलाई संकट, धर्तीलाई लाभ विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ पृथक तरिकाले उदाउँदै विश्व मजवुत आत्मविश्वास र सम्वृद्धिकाे यात्रा शहर केन्द्रित संस्कृतिमा धक्का, गाँउ नै सुरक्षित आणविक हतियार, ठूला अस्पताल र धर्मगुरुको के काम ? लाल–सलाम … समृद्धि र वर्वादीकाे दोबाटोमा उभिएकाे नेपाल पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ

जिएमइ रेमिट र बहराईनको अलयुसुफ एक्सचेन्जबीच रेमिटान्स सम्झौता

काठमाडौं । बहराईनको ख्याति प्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज र जिएमइ रेमिट प्रा.लि बीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।  उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमइ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्जका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमइ रेमिटसँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

सलाम एयरले ओमानबाट ल्यायो १६६ यात्रु

काठमाडौं । ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण अप्ठ्यारोमा परेका ओमानमा रहेका नेपालीहरुको हवाई टिकट व्यवस्थापन गरी स्वदेश ल्याएको हो । टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको जानकारी गराएको छ । सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए । विदेशमा बस्ने कोभिड-१९ बाट प्रभावित नेपाली नागरिकलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देशका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसमक्ष उद्योग परिसंघले पेश गर्याे यस्ताे सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सहितको प्रतिनिधी मण्डलले आर्थिक क्षेत्र चलायमान बनाउन उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसमक्ष सुझाव पेश गरेको छ । परिसंघले आर्थिक क्षेत्र चलायमान बनाइ लगानी आकर्षित गर्न विद्यमान कानुनमा भएका व्यवस्थाहरुलाई सुधार गरी सरकारको तर्फबाट छिटो छरितो रुपबाट लगानीको वातावरण बनाउनको लागि सुझाव प्रस्तुत गरेको हो । कोभिड १९ बाट सृजना भएको लगातारको लकडाउनका कारण एकातिर अधिकांश उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भइरहेको र आर्थिक गतिविधि समेत प्रभावित भईरहेको परिप्रेक्ष्यमा मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहार्नु परिरहेको छ भने अर्कोतिर यस्तो विषम परिस्थितिमा सरकारको तर्फबाट रोजगारीका क्षेत्र पहिचान र विस्तार गरी ठूलो मात्रमा रोजगारी सृजना गर्नु पर्ने टड्कारो आवश्यकता रहेको परिसंघको भनाई छ । देशमा सृजना हुने बेरोजगारीको अवस्थालाई मध्यनजर गरी औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहीत गर्न र विदेशी लगानी भित्र्याउनको लागि सघाउ पुर्याउने उद्देश्यले आर्थिक, उद्योग–व्यवसाय सम्बन्धि विद्यमान कानुनमा रहेका झन्झटिला र असहज व्यवस्थाहरुलाई संशोधन/खारेज/निलम्बन गरी लगानीको वातावरण सृजना गर्नु पर्ने धारणा परिसंघले पेश गरेको छ । परिसंघले विशेषगरी इआइए र आइइइको सम्बन्धमा विद्यमान व्यवस्था, उद्योगको लागि भूमिमा लगाईएको हदवन्दी र उद्योगको वन क्षेत्रको भोगाधिकार सम्बन्धी व्यवस्थामा सुधार गर्नु पर्ने सुझाव प्रस्तुत गरेको छ । त्यसैगरी स्वघोषणा गरेर विदेशबाट बैंकिङ प्रणाली मार्फत नेपालमा आउने लगानीलाई सहजता प्रदान गर्नु पर्ने धारणा प्रस्तुत गरेको छ । त्यसैगरी औद्योगिक वातावरण सृजना गर्नको लागि उद्योग दर्ता प्रकृयामा विद्यमान अवस्थामा रहेको झन्झटिलो प्रकृया हटाई उद्योग विभागबाट तीन दिन भित्रमा स्वीकृतिको प्रकृया सकिनु पर्ने प्रवाधानको सुझाव प्रस्तुत गरेको छ भने लगानी बोर्डबाट गरिनु पर्ने सम्पूर्ण निर्णय १५ दिन भित्रमा गसिक्नुपर्ने प्रावधान सहितको सुझाव उपप्रधानमन्त्री समक्ष प्रस्तुत गरेको छ । विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई समेत पुँजी बजारमा लगानी गर्ने वातावरण तयार गरी तरलता व्यवस्थापनमा सहजता ल्याउन परिसंघको सुझाव रहेको छ । स्वदेशी उद्योगी व्यवसायीहरुलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने नीति अवलम्बन गर्दै ग्लोवल टेण्डरको न्युनतम सीमा रु १०० करोड रहेकोमा त्यसलाई बढाएर ३०० करोड रूपैयाँ गरिनु पर्ने सुझाव परिसंघको रहेकोछ । त्यसैगरी आन्तरिक पूँजिलाई प्रोत्साहन गर्नको लागि कम्तिमा पाँच वर्षको समय तोकी महिला तथा वालवालिकाको नाममा बैंकमा जम्मा हुने १५ लाख रुपैयाँसम्मको निक्षेप सहज माध्यमबाट बैंकसम्म ल्याउने व्यवस्था मिलाउनु पर्ने । सरकारले विशेष प्रकारको दीर्घकालीन बोण्ड जारी गर्ने र सो बोण्डमा गरिने लगानीलाई सहज गरिनु पर्ने, सो बोण्ड विदेशीले समेत खरिद गर्न पाउने व्यवस्था गरिनु पर्ने सुझाव परिसंघको रहेको छ । उच्चस्तरिय समितिका संयोजक एवं उपप्रधानमन्त्रीले वर्तमान अवस्थामा औद्योगिक वातावरण तयार गरी रोजगारीका क्षेत्रहरु सृजना गर्नको लागि विद्यमान ऐन कानूनमा तत्काल सुधारका उपायबारे सुझाव दिन परिसंघलाई आग्रह गरे बमोजिम परिसंघका अध्यक्ष सतिशकुमार मोरले सिंहदरवारमा भेट गरी उक्त सुझावहरु प्रस्तुत गरेका हुन् । त्यस्तै, उपप्रधानमन्त्रीबाट परिसंघको सुझावलाई सकारात्मकरुपमा लिई छलफलको माध्यमबाट कार्यान्वयमा जाने धारणा व्यक्त गरेका छन् ।

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै

काठमाडाैं । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् । छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ । दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु करीब ८० किमी र छाङरुबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ । कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्छ । सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । सो नक्शालाई समेटेर बनाइएको निसान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरुपमा पारित गरेको छ । साे क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले छाङ्रुमा बिओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुशी भएको, उनीहरुले सुरक्षित महसुश गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरु गाउँ फर्कन थालेको बताए । उनले भने, “सीमालाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ हामी अग्रसर भएका छौं । बिओपीहरुको विस्तारले सीमामा हामीलाई बढीभन्दा बढी उपस्थिति गराउन मद्धत पुग्नेछ ।” भारतले महाकाली नदी किनार किनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पुर्याएपछि नेपालले कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । चीनको मानसरोवर जोड्न भारतले नेपाल भूमि हुँदै सडक बनाएको थियो । बजेट विनियोजनपछि छाङ्रुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरु गरिसकेको छ । सरकारले भावन निर्माणका लागि रु ११ करोड बजेट छुट्याइसकेको छ । गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पुर्याएर बिओपी स्थापना गरिएको थियो । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो । विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ । विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २ सय २१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १ सय ३० सञ्चालनमा ल्याइएको छ । उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बिओपी स्थापना भएका हुन् । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बिओपी उद्घाटन गरिने खनालले बताए । सङ्घीय संसद्बाट पारित आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा ७० ठाउँमा बिओपीका लागि भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख छ भने सोका लागि ७० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । सीमा सुरक्षासहित विभिन्न १४ कार्यादेश पाएको सशस्त्र प्रहरीले साङ्गठनिक पुनःसंरचना गर्दै चालू आवमा २ सय २१ बिओपी स्थापनाको लक्ष्य लिएको छ भने क्रमशः यसलाई विस्तार गरी दीर्घकालमा ५ सयसम्म बनाउने योजना अघि सारेको छ । यसरी विस्तार गर्दा सीमा सुरक्षामा १९ हजारसम्म सुरक्षाकर्मी खटाउनुपर्ने देखिएको छ । यसका लागि करिब १० हजार जनशक्तिको दरबन्दी थप्न बलले नेपाल सरकारसँग आग्रह गरेको छ । सीमा क्षेत्रमा थप १ सय १४ वटा बिओपी निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त भएकामध्ये २३ वटा स्थापना भइसकेको र अन्य स्थापनाको क्रममा रहेको बलले जनाएको छ । सीमा सुरक्षासँगै राजश्व वृद्धि सीमामा हुने लागू औषधको कारोवार, चोरी, निकासी र पैठारी रोकेर राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले योगदान गरिरहेको छ । चालू आर्थिक वर्षकाे गत माघसम्ममा १ सय ३० बिओपीका कारण ६२ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ । प्रति नौ किलोमिटरमा बिओपी राख्न थालिएपछि सुरक्षाकर्मीले पैदल गस्ती गर्न पनि सहज भएको छ । नेपाल र भारतका सशस्त्र प्रहरीको गत वर्ष पोखरामा सम्पन्न संयुक्त बैठकको सहमतिअनुसार दुई देशका २० सीमा नाकामा सहयता कक्षा स्थापना गर्दा दुवैतर्फ अपराध र चोरी पैठारी घटेको छ । दुई देशकै सहमतिमा सीमाका विभिन्न ५४ स्थानमा सर्भिलेन्स ९सिसी क्यामरा० जडान गर्ने कार्य पनि भइरहेको छ । सहायता कक्षले दुवैतर्फ सीमा मिचिएमा पनि एकापसमा सूचना आदान प्रदान र सहजीकरण गर्नेछ । तेस्रो मुलुकका नागरिक प्रवेशाज्ञा विना आवागन गरेमा पनि रोकावट हुनेछ । चीनसँग जोडिएका नाकामा पनि यही प्रबन्ध गरिएको छ । बिओपीलाई समय समयमा प्रधान कार्यालयबाट पनि अनुगमन हुने गरेको छ भने बाहिनी, गण हुँदै गुल्मले आवश्यक निर्देशन दिर्दै आएका छन् । कोरोना रोकथाममा पहल महानिरीक्षक खनालले बलले कोरोना महामारीका सन्दर्भमा नागरिकलाई सुसूचित गराउन हालसम्म ३६ स्थानमा हेल्थ डेस्क स्थापना गरेको र नेपाल एपिएफ अस्पतालमा एक आइसियु सेवासहित छ वटा श्यया आइसोलेशनका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउन आवश्यक शान्ति सुरक्षा र सुशासनको वातावरण निर्माण गरी भ्रष्टाचारमुक्त समाज निर्माणमा आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गरे ।   रासस