विकासन्युज

सातै प्रदेशको बजेट पुरानै ढर्राको, कोरोनाले सिर्जित अवसरमा पनि डुब्न सकेनन् अर्थमन्त्री

काठमाडौं । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरेका छन् । सातै प्रदेश सरकारले बजेट ल्याएको यो तेस्रो वर्ष हो । प्रदेश सरकार स्थापना भई तीन वर्षसम्म अभ्यास गर्दा पनि सातै प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता भने फेरिएका छैनन् । सातै प्रदेश सरकारले आफ्नो प्रदेश र प्रदेशवासीका समस्या र आवश्यकताको आधारमा बजेट ल्याउनु पर्ने भएपनि सातै प्रदेश सरकारको बजेट भित्रका कार्यक्रम र प्राथमिकता भने हुवहु छन् । प्रदेश एकको आफ्नै पहिचान र त्यहाँका नागरिकहरुका आफ्नै प्रकारका चाहना र समस्या छन् भने सुदूर–कर्णालीका नागरिकहरुका चाहना आवश्यकता पनि पृथक र आफ्नै खालका छन् । तर, ती सबै प्रदेशका अर्थमन्त्रीहरुले ल्याएको बजेटमा भने एउटै खालका कार्यक्रम र प्राथमिकता छन् । विगतका वर्षहरुका बजेटमा कृषि, रोजगारी, स्वास्थ्य र शिक्षा जस्ता विषयहरु प्राथमिकतामा पर्दै आएका थिए । यो वर्ष पनि सबै अर्थमन्त्रीहरु सोही विषयहरुको प्राथमिकतामा रुम्मलिएका छन् । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बेला आएको बजेटको प्राथमिकता कृषि रोजगारी र स्वास्थय प्राथमिकतामा पर्नु स्वभाविक भएपनि त्यसको प्राविधिक र व्यवहारिक पाटोबाट बजेट प्रस्तुत गर्न नसक्नु विडम्बना हो । आगामी आवको बजेट कोरोनाका कारण गुमेको रोजगारीलाई पुनस्र्थापित गर्न केन्द्रित हुने सबै प्रदेश सरकारले बताएका छन् । विज्ञहरुका अनुसार २० देखि २५ लाख नयाँ रोजगारी तत्काल सिर्जना हुने गरी नयाँ कार्यक्रमको आवश्यकता पर्छ । तर, प्रदेश सरकारको बजेटको कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिने भनिए पनि झारो टारे जस्तो भएको छ । प्रदेश सरकारले रोजगारी सिर्जनाका लागि भनेर विभिन्न कार्याक्रमहरु भएको उल्लेख गरेका छन् । तर, त्यसमा कति मानिसलाई रोजगारी दिने ? कुन कार्यक्रम तथा तरिकाबाट रोजगारी दिने ? त्यसको कुनै प्राविधिक र व्यवहारिक पाटो भने उल्लेख गरिएको छैन । धेरै प्रदेशले पूर्वाधार विकासमा बजेट घटाएका छन् । त्यसप्रति धेरै अर्थविद्हरुले असन्तुष्टि व्यक्त गरेका छन् । एक अर्थविद्ले भने, ‘पूर्वाधार बिकासमा बजेट घटाएको ठीक भएन, सम्भावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव बजेटमा देखिएको छ, पुरानै ढर्राकै सामान्य बजेट देखिएको छ ।’ कोरोना भाइरसले विपत व्यवस्थापनका लागि एउटा पाठ सिकाएको छ । तर, त्यसप्रति खासै कुनै पनि प्रदेशको ध्यान गएको देखिँदैन । प्रदेश आफै र स्थानीय तहमा हस्तान्तरण भएका आयोजना सम्पन्न गर्न समेत स्रोतको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ । तर, आकस्मिक अवस्था आयो भने त्यससँग जुध्ने दरिलो वित्तीय आधार बनाउने योजना भने कुनै पनि प्रदेशको बजेटको प्राथमिकतामा छैनन् । प्राकृतिक तथा मानवीय विपत्तिका बेला लड्न सरकारले आकस्मिक उपचार कोषहरु बनाउने गर्छ । तर, अर्थतन्त्रको खम्बा बलियो बनाउने गरी ठोस योजना र कार्यक्रमको अपेक्षा सातै प्रदेशको बजेटमा देखिँदैन । ‘हामीले विपद् व्यवस्थापनको कमजोर कार्यान्वयनबाट कहिले पनि चेतेनौं, त्यो सातै प्रदेश सरकारको बजेटबाट स्पष्ट हुन्छ, ती अर्थविद्ले भने । सातै प्रदेशको बजेटमा विपत व्यवस्थापनमा दरिलो आर्थिक आधार नदेखिएको पनि अर्थविद्हरुको भनाई छ । सातै प्रदेशको बजेट र प्राथमिकता प्रदेश नम्बर १ः पौने ४१ अर्बको बजेटमा कृषि प्राथमिकता प्रदेश १ सरकारले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । प्रदेशले वित्तिय व्यवस्थापन तर्फ ४ करोड बिनियोजन गरेको छ । प्रदेश १ ले सबैभन्दा बढी कृषिलाई प्राथमिकता दिएको छ । प्रदेशले निब्र्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउँन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने बजेटमा उल्लेख छ । प्रदेश एक सरकारले लसुन प्याज स्वदेशमै उपलब्ध गराउँन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ । यस्तै, प्रदेश १ सरकारले कृषि क्षेत्रमा त३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दिगोे विकासको लागि खाद्य तथा सुरक्षाको सुदृढीकरण गर्ने भन्दै प्रदेश सरकारले यो बजेट विनियोजन गरेको हो । प्रदेश २ को प्राथमिकतामा स्वास्थ्य र कृषि प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश २ सरकराले आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । प्रदेशसभा २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुल बजेटको चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरेका छन् । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ । यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ । बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ । ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो । बागमती प्रदेशः मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल बजेटको चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत र पूँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मानव विकास सूचकाङ्क न्यून भएका स्थानीय तहलाई सबैभन्दा बढी प्राथमिकता दिइने बताएका छन् । उनले विकास आयोजना छनोट तथा कार्यक्रम कार्यान्वयनलाई न्यायपूर्ण बनाउँदै प्रादेशिक सन्तुलन कायम गर्नका लागि ती स्थानीय तहर्लाइ प्राथमिकतामा राखेको बताएका हुन् । प्रदेशका आयोजनाको पहिचान, छनोट र मूल्याङ्कन जस्ता क्रियाकलापलाई तथ्यपरक एवमं मापदण्डमा आधारित बनाउन प्रदेश आयोजना बैँक व्यवस्थापन सूचना प्रणाली तयार गरी सञ्चालनमा ल्याउन अध्ययन गर्ने व्यवस्था मिलाइएको पनि बताएका छन् । उनले कोरोना संक्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने, प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई संरचना तथा दरलाई समयसापेक्ष बनाइने बजेटमा उल्लेख गरेका छन् । यस्तै सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक, दक्ष र सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने पनि बताए । गैर कर राजस्वको दायरा विस्तार गर्दै दरलाई समसमायिक बनाइने, प्रदेश र स्थानीय तहको दोहोरो क्षेत्राधिकार रहेका राजस्व बाँडफाँटका सम्बन्धमा पुनरवलोकन गरिने, राजस्व संकलनमा प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई राजस्व प्रशासनलाई सक्षम सुदृढ र व्यावसायिक बनाइनेलगायत विषय बजेट वक्तव्यमा उल्लेख छ । बागमती प्रदेश सरकराले चालु वर्षकोभन्दा चार अर्ब बढाएर बजेट ल्याएको छ । प्रदेशले चालु आवका लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । गण्डकी प्रदेशः स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भ त्ता खर्च खारेज गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए  । प्रदेश ५ सरकारको प्राथमिकता पनि स्वास्थ्य प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेका हुन् । उनले चालू आवको तुलनामा ६ करोड रुपैयाँ घटाएर बजेट विनियोजन गरेका हुन् । कुल बजेटको चालू खर्चका लागि १२ अर्ब ५९ करोड २४ लाख रुपैयाँको बजेट रहेको छ भने पुँजीगत खर्चका लागि १८ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले वित्तीय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छैन । बजेट स्रोतमा आन्तरिक स्रोत २ अर्ब ३ करोड ७५ लाख रुपैया मात्रै राखेको छ । आन्तरिक राजस्वबाट उठ्ने कर चालू वर्षको तुलनामा ५० प्रतिशत कम अनुमान गरिएको हो । प्रदेश ५ सरकारले अस्पतालको स्तरोन्नति तथा निर्माणमा ठूलो रकम विनियोजन गरेको छ। बजेटमा विभिन्न जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीको भीम जिल्ला अस्पतालहरुलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरिएको हो। त्यस्तै स्थानिय तहमा रहेको स्वास्थ्य चौकीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरि स्तरोन्नती गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै प्रदेश मातहतका भिम अस्पताल, रुकुम पूर्वको अस्पताल, बर्दिया जिल्ला अस्पताल र नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा नयाँ भवन निर्माण गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो । कर्णाली प्रदेश सरकारः नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन् । प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक कनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन् । सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेटमा प्रस्तुत गर्दै सो कुरा उल्लेख गरिएको छ । कुल बजेटको चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवंम सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनीयोजन गरेको छ । कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवंमं सेवा विस्तारका लागि बजेट विनीयोजन गरिएको हो। यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ विनीयोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्वको बजेट ल्याएको थियो ।

नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने

काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंककाे खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ । नेपाली बीमा बजारमा विगत २५ बर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो । संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।

पर्यटन ऐनमा आरोहीका विषय समेट्न सुझाव

काठमाडौं । नयाँ बन्ने पर्यटन ऐनमा पर्वतारोहणका विषयलाई समेट्न आरोहीले सुझाएका छन् । आरोही सङ्घका अध्यक्ष माया शेर्पासहितको प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेट गरी आरोहीका सवाललाई नयाँ ऐनमा समावेश गर्न आग्रह गरेको हो । सङ्घले ऐनमा आरोही र हिमालका थप विषय समेट्न लिखितरुपमा सुझाव दिएको छ । पुरानो पर्यटन ऐन २०३५ समय सान्दर्भिक नभएको भन्दै सरकारले चार दशकपछि नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । पर्यटनमन्त्रालयरे सरोकारवालासँग चरणबद्ध छलफल गरिरहेको हो । सगरमाथा आरोहीलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्नुपर्ने, आरोहीलाई स्वरोजगार तथा सरल सहुलियतमा रु २५ लाखसम्म ऋण दिने व्यवस्था गरिदिनुपर्नेलगायत माग राखिएको छ । आरोहीको सुझावपत्र ग्रहण गर्दै पर्यटनमन्त्री भट्टराईले आरोहीको सरोकारका विषयमा आफू सकारात्मक रहेको भन्दै ऐनमा छुटेका विषयलाई सम्बोधन गरिने बताए । उनले संसद्मा संशोधन प्रस्ताव राखेर पनि छुटेका विषयलाई समावेश गर्न सकिने धारणा राखे । सङ्घका अध्यक्ष शेर्पाले कर्मचारीको मनोमानीमा आरोहण प्रक्रिया सञ्चालन हुने भएकाले कर्मचारी, आरोही, आरोहणदलका सदस्य, आरोहण आयोजना गर्ने कम्पनीलगायत सबैको हितमा रहने गरी कानून आउनेपर्ने बताए । उनले हिमाल आरोहणको बाटो बनाउने र डोरी टाँग्नेदेखि सम्पर्क अधिकृतको व्यवस्था व्यावहारिक नभएको भन्दै ऐनमा स्पष्टरुपमा समेट्नुपर्ने माग गरे । सङ्घले हिमालमा दुर्घटनाको दर बढेको र फोहर व्यवस्थापन हुन नसकेको भन्दै सगरमाथा आरोहणमा जाँदा कम्तीमा छ हजार मिटरमाथिका तीन वटा हिमाल अनिवार्य आरोहण गरेकालाई मात्र अनुमति दिनुपर्ने सुझाव दिएको छ । सुरक्षित आरोहण र अन्य हिमालको प्रवद्र्धन र राजश्व सङ्कलनमा सङ्घको सहयोग रहने विश्वास व्यक्त गरेको छ । सम्पर्क अधिकृत खटाइँदा यसअघि दिइएका सुझावअनुसार प्रशासन, डाक्टर, लेखा कर्मचारी, आरोही, गाइड, सुरक्षाकर्मीसमेत रहनेगरी आरोहण समयभर हिमालमै बस्ने गरी खटाउने व्यवस्था गर्नुपर्ने सुझाइएको छ । सुझावपत्रमा ५० वर्ष उमेर काटेका आरोहीलाई मासिकरुपमा राहतस्वरुप भत्ता उपलब्ध गराउनुपर्ने, आरोहीको जीवन बीमा कम्तीमा रु ३० लाखको हुनुपर्ने, हिमालको उचाइअनुसार श्रमिकको पारिश्रमिक तोक्नुपर्नेलगायत माग राखिएको छ । रासस

पर्यटन मन्त्रालयले एयर अरेबियाको उडान प्रस्ताव रोक्यो

काठमाडौं । अन्तरराष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले तोकिएको भाडादरभन्दा बढी भाडा लिएर नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ । अरेबियाले दुबई–काठमाडौँका लागि ५ सय डलर लिएर उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । मन्त्री भट्टराईले नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए । नेपाल एयरलाइन्सको दुबई काठमाडाँैको भाडादर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडाँै लिएर आएको थियो । पर्यटन मन्त्रालयले यसअघि पनि सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेको थियो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मन्त्रालयको प्रस्तावित भाडादरअनुरुप उडान गर्न सहमत भएका थिए ।

क्लियर टिभीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीकाे लागि अनलाइन कक्षा शुरु

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण शुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारण भईरहेकाे छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई याे समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समावेस गरी च्यानलको प्रसारण सुरु गरेकाे कम्पनीले जनाएकाे छ । विज्ञान, समाजिक शिक्षा, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबार देखि शुक्रबार बिहानको ११ बजेदेखि सुरु हुनेछ कम्पनिले बताएकाे छ ।

स्थानीय तह भन्छन्ः घर बहाल करमा छुट दिन कानुनले मिल्दैन, केन्द्रकाे निर्णयले अनावश्यक द्वन्द बढायो

काठमाडौं । संघीय सरकारले लकडाउनका कारणले आयस्रोतको बाटो बन्द भएको भन्दै घरभेटीलाई घरभाडा नलिन र सो वापत घरधनीलाई घर बहाल करमा छुट दिन निर्देशन दिएको थियो । घर बहाल कर उठाउने अधिकार पाएको स्थानीयले भने कानुनी अप्ठेरोको कारण घरबहाल कर छुट दिन नसकिने र सोही कारण घरभाडा छुट दिने निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् । ललितपुर महानगरकी उपमेय गिता सत्यालले घर बहाल कर छुट दिने कानुन नभएकोले संघीय सरकारको निर्णयका कारण घरधनी र भाडामा बस्नेबीच अनावश्यक द्वन्दको अवस्था मात्रै सिर्जना भएको बताइन् । ‘संघीय सरकारले घरभाडा छुट दिने भन्ने निर्णय गरेको मैले पनि संचारमाध्यमबाट सुनेकी हूँ, घरभाडा छुट दिएको रकम बराबर घर बहाल करमा छुट दिने भनिएको थियो, महानगरले पास गरेको आर्थिक ऐनले बहाल कर छुट दिन मिल्ने परिकल्पना गरेको छैन, संघीय सरकारले पनि औपचारिक रुपमा कुनै जानकारी गराएको छैन, त्यसैले संघीय सरकारले भने अनुसार कर छुट हुन सक्ने अवस्था छैन,’ उपमेयर सत्यालले भनिन् । धेरै घरधनीको आम्दानीको प्रमुख स्रोत नै घरभाडा भएकोले सो रकम छुट देऊ भन्नेका लागि सरकारले घरधनीका लागि बेग्लै राहत कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । यद्यपि आगामी आर्थिक वर्षको आर्थिक ऐनमा कुनै विशेष व्यवस्था गरेर राहत कार्यक्रम ल्याउने गृहकार्य भइरहेको उपमेयर सत्यालले बताइन् । काठमाडौं महानगरपालिकाका राजश्व विभाग निर्देशक नुरनिधि न्यौपानेले पनि घरधनीले घरभाडा छुट दिएको प्रमाण ल्याए पनि घरबहाल कर छुट दिन नमिल्ने बताए । महानगपालिकाको आर्थिक ऐनमा नै घरबहालकर छुट भन्ने कानुन नभएको भन्दै उनले छुटको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमा घरबहाल कर छुट दिने सम्बन्धी कुनै व्यवस्था नभएकोले छुट दिन नसकिने उनको भनाइ छ । ‘महामारीले भाडामा बस्ने सबैलाई समस्या पारेको छ, तर महानगरपालिकाको आर्थिक एनेमा घरबाहल कर छुट दिने भनेर कानुन बनेको छैन, त्यसैले पनि महानगरपालिकाले कुनै घरधनीले घरभाड छुट दिएको प्रमाण ल्याए पनि कानुनले नै घरबहाल कर छुट दिन मिल्दैन,’ न्यौपालनेले भने । ललितपुर महानगरपालिकाको पनि घरभाडा छुट दिने विषयमा त्यस्तै समस्या छ । आर्थिक ऐनका कारणले घरभाडा छुट दिएका घरधनीहरुलाई महानगरपालिकाले घरबाहल कर छुट दिन मिल्दैन । तर संघीय सरकारले भने घरभाडा छुट दिन निर्देशन नै दिएको थियो । घरभाडा छुट दिने घरधनीहरुलाई करमा स्थानीय सरकारले हेर्ने भनिएको थियो । तर स्थानीय सरकारको आर्थिक ऐनको कारणले घरभाडा छुट दिएका घरधनीहरुलाई घरबाहल कर छुट दिने व्यवस्था नै गरेको छैन । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गत वर्षको आर्थिक ऐनको कारणले घरभाडा छुट दिने घरधनीहरुलाई घरबहाल कर छुट दिने व्यवस्था नै कानुनमा नभएको बताए । ‘स्थानीय तहहरुको असार १० गते नगरसभा हुदैछ, हाम्रो महानगपालिकाले पनि त्यसमा घरभाडाको विषयमा केही नयाँ व्यवस्था गर्ने छ, घरभाडाको विषयमा के गर्ने भनेर महानगरपाकिको छलफन भैरहेको छ,’ महर्जनले भने । सरकारले जारी गरेको लकडाउनको समयमा घरभाडा छुट दिने भन्ने संघीय सरकारको निर्णयले स्थानीय तह, घरधनी र भाडावालबीच अनावश्यक विवाद र द्वन्द सिर्जना गरेको छ । घरभाडा छुट दिने सम्बन्धी स्पष्ट मापदण्ड र आधार तयार नपारी संघीय मन्त्रिपरिषदले लोकप्रियताको लागि गरेको निर्णय आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको रहेको कारण कार्यान्वयनमा समस्या सिर्जना भएको हो । गत १४ बैशाखको मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि व्यापार व्यवसाय बन्द गरेर बसेका व्यवसायी पनि आफूहरुको आम्दानीको स्रोत गुमेको भन्दै घरभाडा छुट हुनुपर्ने दाबी गरिरहेका छन् । तर, संघीय मन्त्रिपरिषदले गरेको घरभाडा छुट दिने निर्णय व्यापारीको हकमा त कुरै छोडौं, डेरावालाको हकमा पनि कार्यान्वयन भएको छैन । घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने मन्त्री खतिवडाले बताएका थिए । अनुगमनको जिम्मा स्थानीय तहलाई दिने भनिएको पनि थियो । तर स्थानीय तह भने घरभाडा छुट दिने संघीय सरकारको निर्णय लागू गर्न नसकिने बताइरहेका छन् । सबै स्थानीय तरहको नगरसभा असार १० गतेबात सुरु हुदैछ । नगरसभाले नयाँ आर्थिक ऐन पनि ल्याउने छ । स्थानीय तहले चाहेमा नयाँ आर्थिक ऐनमा घरभाडा छुट दिने घरधनीहरुलाई घर बाहल कर छुट दिने व्यवस्था गर्नेछ । स्थानीय तहले अघिल्लो आर्थिक ऐनले नै घरभाडा छुट दिने घरधनीहरुलाई घरबाहल कर छुट दिन नकिने भनिरकेको बेला नयाँ आर्थिक ऐन बनाउने बेलामा घरभाडा छुटको व्यवस्था भने ल्याउन सक्नेछ ।

सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छु- पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको समेत बताए । उहाँले भारतीय नेताहरुले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत जानकारी दिए । “भारतका विदेशमन्त्री जयशङ्कर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “उहाँहरुसँग भावनात्मक सम्बन्ध पनि भएकाले बेलाबेलामा सम्पर्क भइरहेको छ ।” उनले भने, “अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढङ्गले लाग्नुपर्छ ।” उनले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए । पूर्वप्रधानमन्त्री डा भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिए । उनले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढङ्गले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने बताए । “कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन, डा भट्टराईले भने, “अब अत्यन्त जिम्मेवार ढङ्गले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।” उनले आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढङ्गको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कशित गर्नु एउटा बाटो भए पनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यावहारिक नहुने बताए । पूर्वप्रधानमन्त्री डा भट्टराईले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुनेसमेत दाबी गरे । पूर्वप्रधानमन्त्री डा भट्टराईले सीमासम्बन्धी विवाद, पारवहनसम्बन्धी सन्धि सम्झौता, अर्थ वाणिज्य सम्बन्ध विषय र अन्य विभिन्न सन्धि सम्झौता एकमुष्ट ढङ्गले समाधान गर्न प्रबुद्ध समूहबाट नै सम्भव भएकोसमेत बताए । “नेपाल र भारतका जनताबीचमा कहिलै पनि दुस्मनी रहेको छैन”, उनले भने, “खाली सत्ता र सरकारबीचमा मात्र खटपट भएको हो त्यसैले इपिजीमार्फत नै समस्याको सकभर हल गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।”

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय

काठमाडौं । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन् । उहाँले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाएका छन् । उहाँले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताए । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित छ जनाको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश गरेको छ । नेपाल प्रहरीको अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४ (३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भन्ने सविन पुनलाई ज्यानसम्बन्धी कसूरअनुसार सजाय माग गरिएको छ । प्रतिवादी इन्द्रबहादुर मल्लले सो घटनाको सूचना पाएर पनि सम्बन्धित निकायसमेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाईछिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिश गरिएको छ । यस्तै प्रतिवादी परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(२) ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकाले निजले गरेको कार्य मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२ को दफा ३३ बमोजिम कसूर गरेकाले सोही दफाको उपदफा (३) क बमोजिम सजाय हुन माग गरिएको छ । मृतक तथा घाइतेलाई घेरा हाली ढुङ्गा, लाठी समेतले प्रहार गर्ने प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भीमबहादुर बुढा, धनाराज राना र भीमबहादुर पुनले गरेको गृह मन्त्रालयले जनाएको छ । प्रतिवादी डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६), परिवर्तित नाम ५४ (३६)१, परिवर्तित नाम ५४(३६)२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ (१) बमोजिम कसूर गरेको देखिन आएकाले सोही ऐनको दफा ७ को उपदफा १ (क) बमोजिम सजाय हुन माग गरिएको छ । प्रतिवादीमध्ये डम्बरबहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसमेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसलाई भेला जम्मा गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी छ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ । हाल फरार रहेका प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनविरुछ पक्राउ पूर्जी जारी गरिएको छ । रासस