एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात
काठमाडाैं । सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग १ लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको छ । तथ्याङ्कअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये २ हजार ९ सय ५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २ सय ४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै ६ सय ५१ क्विन्टल फापर, ५ सय क्विन्टल सिमी, ५ सय ४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ७ सय ४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको १ लाख ३६ हजार ७ सय ७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । साल्ट ट्रेडिङसँग २ हजार १ सय ६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार ४ सय ६६ गरी ३८ हजार ६ सय ३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ । तेल उद्योगसँग १ सय मेट्रिक टन पामआयल, २ हजार ८ सय ६८ मेट्रिक टन पामोलिन तेल, १ हजार ८ सय ३० मेट्रिक टन सोयाबिन तेल, १ हजार ३ सय ६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी ६ हजार ८ सय ८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार २ सय ६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार ९ सय २८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र १ हजार ३ सय ६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ । यसैगरी निगमको सिनामङ्गल डिपोमा ६ हजार ४ सय २९ किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ भने विभिन्न ग्यास उद्योगसँग १ हजार ४ सय ३२ मेट्रिक टन ग्यास मौज्दात रहेको छ । सहप्रवक्ता केसीका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आयातको तुलनामा बिक्री वितरणमा वृद्धि भएको छ भने खाना पकाउने ग्यासको दैनिक आयातको तुलनामा मागमा वृद्धि भएको छ । रासस
भारतमा कोरोनाकाे कहर : एकै दिन २ हजार बढीको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप २ हजार ६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको ११ हजार ९ सय २१ जना पुगेको । पछिल्ला दिनमा भारतको महाराष्ट्रमा कोरोना संक्रमणले भयाहक अवस्था पैँदा गरेको छ । हालसम्म ३ लाख ५४ हजार १ सय ६१ ज्ना कोरोना संक्रमित रहेको भारत १ लाख ८७ हजार ५ सय बढी रहेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २७ सय १ जना संक्रमित थपिएर १ लाख १३ हजार ४ सय ४५ जना संक्रमित हुँदा २४ घण्टामा १ हजार ४ सय ९ जनाको ज्यान गएको छ । मृतक ५ हजार ५ सय ३७ पुगे । २४ घण्टामा दिल्लीमा ४३७, तमिलनाडुमा ४९, गुजरातमा २८, उत्तर प्रदेशमा १८, राजस्थानमा ७, वेष्ट बंगालमा १०, मध्य प्रदेशमा ११, हरियाणामा १८, कर्नाटकमा ७, बिहारमा २, आन्ध्रप्रदेशमा २ जनाको ज्यान गएको छ । भने तेलंगानामा ४, जम्मूकश्मीरमा १, पंजाबमा २, उत्तराखण्डमा १ जनाको ज्यान गएको छ । त्यस्तै काेराेना संक्रमण बढ्दै जाँदा पनि भारत सरकारले लकडाउन कडाइँ गर्ने विषयमा केही कुरा सार्वजनिक गरेकाे छैन् ।
संसारभर कोरोनाबाट साढे ८२ लाख संक्रमित, निको हुनेको संख्या ४३ लाख नजिक
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५१ हजार ६८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ४२ लाख ९९ हजार २ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ८ हजार २ सय ४४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ भने अहिलेसम्म ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ हजार ५ सय ९१ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ५८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने
काठमाडौं । गोदावरी नगरपालिका—११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ । प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिए । उनले भने, “जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ ।” सो अस्पताल ललितपुर जिल्ला अस्पतालको रुपमा रहने पनि उनले बताए । ललितपुरका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले लामो समयदेखि जिल्ला अस्पतालको माग गर्दै आएका थिए । यसैगरी चापागाउँदेखि वडा नं छ टिकाभैरव जोड्ने पुरानो राजकुलोको कामलाई निरन्तरता दिने निर्णयसमेत प्रदेश सरकारले प्रदेशसभा सदस्य सञ्जेल बताए । रासस
श्रमिक सूचना बैंक स्थापनाको तयारी
काठमाडौं । सरकारले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंक स्थपना गर्र्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति सङ्ख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थापना गर्न लागिएको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए । विकास र औद्योगिकीकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चितता गर्न र श्रमिक बैंकको स्थापनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पु¥याउने भएकाले श्रमिक बैंकको आवश्यता रहेको उनको भनाइ छ । रासस
भूमि बैंक कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको ‘भूमि बैंक’ लाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकले जमिन हुनेले नहुनेलाई कृषि उपज उत्पादन गर्न दिने गरी एउटा खाका तयार पारेर एक महिना भित्र जानकारी दिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णाकुमारी सुवेदीले स्पष्ट कार्यविधि तयार पारी किसानको हातमा जमिन र काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिए । कृषि उत्पादन बढाउन, जग्गा बाँझो राख्न नदिन तथा आत्मनिर्भरतातर्फ लाग्ने ध्येयका साथ सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत भूमि बैंकको अवधारणा ल्याएको छ । सरकारले आगामी आवको बजेटमा भूमि बैंकका लागि रु ५० करोड बराबरको बजेट विनियोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमको बुँदा नं ११९ मा भूमि बैंकको विषय समावेश गरिएको छ । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटको बुँदा नं १०५ मा समेत सो विषयलाई समावेश गरिएको छ । आगामी आवमा कूल ७५३ स्थानीय तहमध्ये ३०० स्थानीय तहमा भूमि बैंक अवधारणा लागू गर्ने लक्ष्य राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा भूमि बैंक स्थापना गरी जग्गा हुनेबाट जग्गा लिएर जग्गा नहुनेलाई प्रयोग गर्न दिने अवधारणा सरकारको रहेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सो सम्बन्धमा प्रारम्भिक तयारीसमेत थालेको छ । समितिको बैठकमा सांसदहरुले भूमि बैंकलाई कम्पनी ढाँचामा लैजान नहुने र त्यसको मूल मर्मलाई आत्मसात् गर्नसमेत सरकारको ध्यानकर्षण गराए । उनीहरुले जमिन बाँझो राख्ने प्रचलन बढेको, ग्रामीण क्षेत्रका अधिकांश युवा शहरी क्षेत्र वा वैदेशिक रोजगारीमा गएका कारण समस्या बढेको भन्दै काम गरी खान्छु, उत्पादन बढाउँछु भन्नेलाई निश्चित रकम तिरेर जग्गा लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सरकारले भने कम्पनी ढाँचामा भूमि बैंक स्थापना गर्ने प्रारम्भिक तयारी थालेको भन्दै सांसदहरुले त्यसो नगर्नसमेत सरकारलाई सचेत गराए । सांसदहरु दलबहादुर राना, शान्ता चौधरी, सत्यनाराण शर्मा खनाल, छविलाल विक, राधा ज्ञवाली, भूपेन्द्रबहादुर थापालगायतले आत्मनिर्भरतातर्फको यात्रामा नेपालको मौलिक प्रणालीको रुपमा ल्याउन लागिएको भूमि बैंकलाई ‘भूमाफिया’ को आँखा नलाग्ने बनाउन सरकारलाई सुझाव दिए । समितिको बैठकमा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले कोरोनाका कारण बेरोजगारी बढ्ने भएकाले बाँझो जमिनलाई समेत उपभयोग गर्ने लक्ष्यका साथ भूमि बैंकको अवधारणा ल्याइएको जानकारी दिए। सरोकार भएका सबै पक्षको राय सुझाव लिएर मन्त्रालयले आवश्यक अवधारणा तयार पार्ने उनले जानकारी दिए । सोही मन्त्रालयका सचिव केदार न्यौपानेले भूमि बैंक भन्ने बित्तिकै अन्य बैंक तथा वित्तीय संस्था जस्तै होइन भन्ने मान्यतालाई बदलेर यो जमिन भएकाले दिने र जमिन भएकाले लिने भन्ने अवधारणा हो भन्ने तथ्य स्थापित गराउनु नै पहिलो कर्तव्य भएको बताए । सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा भूमि बैंक अगाडि बढ्ने भएकाले जमिनको उपयोगलाई बढावा दिने नै सरकारको सोच रहेको बताए ।
पूर्ण अनलाईनमा जाँदै नेप्से, लगानीकर्तालाई दियाे यस्ताे निर्देशन
काठमाडौं । नेप्सेले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालन गर्ने तयारी गरेको छ। नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई मंगलबार एक सूचना जारी गर्दै धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ। धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि लगानीकर्ताहरुले नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपिएस, तोकिएको क्लियरिङ्ग बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सक्ने नेप्सेले जनाएको छ। [pdf id=222514]
१ सय १७ जना काेराेना सङ्क्रमित डिस्चार्ज
काठमाडौं । कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उहाँका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् । यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् । देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलेशनमा ५ हजार ५३१ जना रहेका छन् ।