स्थानीय तह भन्छन्ः घर बहाल करमा छुट दिन कानुनले मिल्दैन, केन्द्रकाे निर्णयले अनावश्यक द्वन्द बढायो

<p>काठमाडौं । संघीय सरकारले लकडाउनका कारणले आयस्रोतको बाटो बन्द भएको भन्दै घरभेटीलाई घरभाडा नलिन र सो वापत घरधनीलाई घर बहाल करमा छुट दिन निर्देशन दिएको थियो । घर बहाल कर उठाउने अधिकार पाएको स्थानीयले भने कानुनी अप्ठेरोको कारण घरबहाल कर छुट दिन नसकिने र सोही कारण घरभाडा छुट दिने निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् [&hellip;]</p>

काठमाडौं । संघीय सरकारले लकडाउनका कारणले आयस्रोतको बाटो बन्द भएको भन्दै घरभेटीलाई घरभाडा नलिन र सो वापत घरधनीलाई घर बहाल करमा छुट दिन निर्देशन दिएको थियो । घर बहाल कर उठाउने अधिकार पाएको स्थानीयले भने कानुनी अप्ठेरोको कारण घरबहाल कर छुट दिन नसकिने र सोही कारण घरभाडा छुट दिने निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

ललितपुर महानगरकी उपमेय गिता सत्यालले घर बहाल कर छुट दिने कानुन नभएकोले संघीय सरकारको निर्णयका कारण घरधनी र भाडामा बस्नेबीच अनावश्यक द्वन्दको अवस्था मात्रै सिर्जना भएको बताइन् ।

‘संघीय सरकारले घरभाडा छुट दिने भन्ने निर्णय गरेको मैले पनि संचारमाध्यमबाट सुनेकी हूँ, घरभाडा छुट दिएको रकम बराबर घर बहाल करमा छुट दिने भनिएको थियो, महानगरले पास गरेको आर्थिक ऐनले बहाल कर छुट दिन मिल्ने परिकल्पना गरेको छैन, संघीय सरकारले पनि औपचारिक रुपमा कुनै जानकारी गराएको छैन, त्यसैले संघीय सरकारले भने अनुसार कर छुट हुन सक्ने अवस्था छैन,’ उपमेयर सत्यालले भनिन् ।

धेरै घरधनीको आम्दानीको प्रमुख स्रोत नै घरभाडा भएकोले सो रकम छुट देऊ भन्नेका लागि सरकारले घरधनीका लागि बेग्लै राहत कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । यद्यपि आगामी आर्थिक वर्षको आर्थिक ऐनमा कुनै विशेष व्यवस्था गरेर राहत कार्यक्रम ल्याउने गृहकार्य भइरहेको उपमेयर सत्यालले बताइन् ।

काठमाडौं महानगरपालिकाका राजश्व विभाग निर्देशक नुरनिधि न्यौपानेले पनि घरधनीले घरभाडा छुट दिएको प्रमाण ल्याए पनि घरबहाल कर छुट दिन नमिल्ने बताए । महानगपालिकाको आर्थिक ऐनमा नै घरबहालकर छुट भन्ने कानुन नभएको भन्दै उनले छुटको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

चालु आर्थिक वर्षको आर्थिक ऐनमा घरबहाल कर छुट दिने सम्बन्धी कुनै व्यवस्था नभएकोले छुट दिन नसकिने उनको भनाइ छ ।

‘महामारीले भाडामा बस्ने सबैलाई समस्या पारेको छ, तर महानगरपालिकाको आर्थिक एनेमा घरबाहल कर छुट दिने भनेर कानुन बनेको छैन, त्यसैले पनि महानगरपालिकाले कुनै घरधनीले घरभाड छुट दिएको प्रमाण ल्याए पनि कानुनले नै घरबहाल कर छुट दिन मिल्दैन,’ न्यौपालनेले भने ।

ललितपुर महानगरपालिकाको पनि घरभाडा छुट दिने विषयमा त्यस्तै समस्या छ । आर्थिक ऐनका कारणले घरभाडा छुट दिएका घरधनीहरुलाई महानगरपालिकाले घरबाहल कर छुट दिन मिल्दैन । तर संघीय सरकारले भने घरभाडा छुट दिन निर्देशन नै दिएको थियो ।

घरभाडा छुट दिने घरधनीहरुलाई करमा स्थानीय सरकारले हेर्ने भनिएको थियो । तर स्थानीय सरकारको आर्थिक ऐनको कारणले घरभाडा छुट दिएका घरधनीहरुलाई घरबाहल कर छुट दिने व्यवस्था नै गरेको छैन ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गत वर्षको आर्थिक ऐनको कारणले घरभाडा छुट दिने घरधनीहरुलाई घरबहाल कर छुट दिने व्यवस्था नै कानुनमा नभएको बताए ।

‘स्थानीय तहहरुको असार १० गते नगरसभा हुदैछ, हाम्रो महानगपालिकाले पनि त्यसमा घरभाडाको विषयमा केही नयाँ व्यवस्था गर्ने छ, घरभाडाको विषयमा के गर्ने भनेर महानगरपाकिको छलफन भैरहेको छ,’ महर्जनले भने ।

सरकारले जारी गरेको लकडाउनको समयमा घरभाडा छुट दिने भन्ने संघीय सरकारको निर्णयले स्थानीय तह, घरधनी र भाडावालबीच अनावश्यक विवाद र द्वन्द सिर्जना गरेको छ ।

घरभाडा छुट दिने सम्बन्धी स्पष्ट मापदण्ड र आधार तयार नपारी संघीय मन्त्रिपरिषदले लोकप्रियताको लागि गरेको निर्णय आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको रहेको कारण कार्यान्वयनमा समस्या सिर्जना भएको हो ।

गत १४ बैशाखको मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि व्यापार व्यवसाय बन्द गरेर बसेका व्यवसायी पनि आफूहरुको आम्दानीको स्रोत गुमेको भन्दै घरभाडा छुट हुनुपर्ने दाबी गरिरहेका छन् ।

तर, संघीय मन्त्रिपरिषदले गरेको घरभाडा छुट दिने निर्णय व्यापारीको हकमा त कुरै छोडौं, डेरावालाको हकमा पनि कार्यान्वयन भएको छैन ।

घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने मन्त्री खतिवडाले बताएका थिए । अनुगमनको जिम्मा स्थानीय तहलाई दिने भनिएको पनि थियो । तर स्थानीय तह भने घरभाडा छुट दिने संघीय सरकारको निर्णय लागू गर्न नसकिने बताइरहेका छन् ।

सबै स्थानीय तरहको नगरसभा असार १० गतेबात सुरु हुदैछ । नगरसभाले नयाँ आर्थिक ऐन पनि ल्याउने छ । स्थानीय तहले चाहेमा नयाँ आर्थिक ऐनमा घरभाडा छुट दिने घरधनीहरुलाई घर बाहल कर छुट दिने व्यवस्था गर्नेछ । स्थानीय तहले अघिल्लो आर्थिक ऐनले नै घरभाडा छुट दिने घरधनीहरुलाई घरबाहल कर छुट दिन नकिने भनिरकेको बेला नयाँ आर्थिक ऐन बनाउने बेलामा घरभाडा छुटको व्यवस्था भने ल्याउन सक्नेछ ।

Share News