विकासन्युज

मुलुकसामु दोहोरो चुनौती: कोरोना कहरसँगै मनसुनजन्य विपद्

काठमाडौं । विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ । मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । यो वर्ष दोहोरो विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्न नसके ठूलो क्षति बेहोर्नुपर्ने सम्भावना जीवित छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा एकातर्फ कोरोनाबाट उत्पन्न विपद्को सामना गरिरहँदा भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ, यही बेलामा मनसुनजन्य विपद्को समय थपिएपछि मुलुकसामु बहुप्रकोपविरुद्ध लड्नुपर्ने अवस्था रहेको बताउँछन् । कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । यो अवधिमा २२ जनाको मृत्युसमेत भइसकेको छ । नौ हजार बढी सङ्क्रमित भेटिइसकेका छन् । अहिले पनि मुलुक बन्दाबन्दीबाट मुक्त भइसकेको छैन । राज्य संयन्त्र कोरोना नियन्त्रणमा सक्रिय छ । त्यस चुनौतीकाबीच वार्षिक तथ्याङ्क हेर्दा मनसुनजन्य विपद्को अवस्था पनि डरलाग्दो छ । गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्बको क्षति भएको विवरणमा उल्लेख छ । उक्त प्रतिवेदनमा तीन हजार ६३९ घाइते हुने गरेको अभिलेख छ । जलप्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः एघारौँ र तीसौँ स्थानमा छ । जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् । विविध जटिलता र जोखिमका कारण मनसुनजन्य विपद् रोक्न र आएको विपद्बाट क्षति कम गर्न आवश्यक तयारीमा चुक्न हुँदैन । विपद् जोखिम व्यवस्थापन विज्ञ डा देवकोटाले दोहोरो विपद्को अवस्थामा तराई क्षेत्रमा थप चुनौती रहेको बताए । “कोभिड–१९ को सङ्क्रमण तराईमा बढी छ, डुबानको समस्या पनि तराईमा छ । तराईका क्वारेन्टिन डुबानका प¥यो भने अवस्था झन नाजुक हुनसक्छ, त्यसतर्फ बेलैमा ध्यान दिनुपर्छ”, उनले थपे । कोरोनाको व्यवस्थापन र मनसुनजन्य विपद्को व्यवस्थापन अलग अलगरुपमा गर्न सकिएन भने थप समस्या हुनेछ । राहत र उद्धारमा खटिने सुरक्षाकर्मी होस् या अन्य निकायका प्रतिनिधि अलगअलगरुपमा खटिन सके समुदायमा हुने सङ्क्रमण रोक्न सकिनेतर्फ डा देवकोटाले ध्यानाकर्षण गराएका छन् । यही असार ५ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास गरी कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । गृहमन्त्री रामबहादुर थापा यसपालि दोहोरो विपद्को सामना गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै भन्छन्, “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरूको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ ।” मन्त्रालयले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरे पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महशुस गरेको छ । बहुप्रकोपका बेला केन्द्र, प्रदेश र स्थानीय तहले भरपुर तयारीमा जुट्नुपर्ने आवश्यकता छ । मनसुनजन्य विपद्को तयारीमा फितलो हुन नहुने विज्ञको जोड छ । विगतमा मनसुनजन्य विपद्का घटनामा स्थानीय तहको भूमिकामा प्रश्न खडा भएको थियो । कोभिड–१९ को सङ्क्रमण रोक्न स्थानीय तहले खेलेको भूमिकाको उच्च प्रशंसा हुँदै आएको छ । त्यो मनोबललाई मनसुनजन्य विपद्मा समेत परिचालन गर्नुसके विगतको दाह हट्ने छ । मुलुकमा पहिरो, बाढी र डुबान एकैपटक आउँछ । अहिले कोरोनाको कहरले आक्रान्त पारेको वर्तमान समयमा अग्रपङ्क्तिमा बसेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सङ्क्रमणको सामना गरिरहेका छन् । जसका कारण विगतका वर्षमा जस्तो तयारीमा सुरक्षा निकाय जुटन सकिरहेको छैन । यद्यपि सुरक्षा निकायले मनसुनजन्य विपद्को तयारी पनि सँगसँगै लगेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही भन्छन्, “कोभिड–१९ मा खटिने प्रहरी र मनसुनजन्य विपद्का खटिने प्रहरी अलगअलग हुन्छ, आवश्यक तयारीमा नेपाल प्रहरी छ ।” मनसुनजन्य विपद्बाट क्षति रोक्ने उपाए भनेको पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दाे सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ । भूकम्प, रोगजन्य महामारी, सुक्खाग्रस्त समय भनेको बेलाबेलामा आउने घटना हो त्यसको पनि समय परिस्थिति बुझेर अवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित हुनुपर्छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ । वर्तमान अवस्थामा कोभिड–१९ बाट सिर्जित विपद्को सामना गरिरहेको नेपालका लागि मनसुनजन्य विपद्को तयारी गर्नु थप चुनौतीपूर्ण छ । मनसुनजन्य प्रकोपबाट हुने क्षति ठूलो छ । मुलुकमा पूर्वतयारी, विपद्पछिको उद्धार र राहतका योजनासहितको तयारी गरिए पनि अपूरो हुने गरेको सर्वसाधारणकै गुनासो छ । प्रकोपबाट क्षति कम गर्न सुरक्षा संवेदनशीलतालाई ख्याल गरी आवश्यकमात्रामा सुरक्षाकर्मीको तयारी जरुरी छ । सुरक्षाकर्मीलाई तालिम प्राप्त गराएर उन्नत कलाशैलीको विकास गर्नुपर्ने आवश्यकता छ । त्यसलाई अझै उन्नत बनाउने आवश्यकता रहेको विपद्विज्ञको भनाइ छ । रासस

३० अर्ब ८९ करोडको धितोपत्र निष्काशन गर्न बाेर्डकाे अनुमति

काठमाडाैं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत सेयर बजारमा आशातित काम भएको पाइएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । यस्तै चार अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, तीन अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर र एक अर्ब ८० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले जनाएको छ । गत वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । गत असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा ३१ अर्ब ५० करोड रुपैयाँले कूल बजार पुजीकरणमा कमी आएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार/चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् । गत असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.६ प्रतिशत रहेको छ । स्टकमा गत वैशाखसम्म सूचीकृत कूल चार अर्ब ७० करोड सेयरको चुक्ता मूल्य चार खर्ब ६० अर्ब ६१ करोड रूपैयाँ रहेको छ । चालू आवको १० महिनामा २६ अर्ब २५ करोड रूपैयाँ बराबरका बोनस सेयर, २१ अर्ब ४६ करोड रूपैयाँ बराबरका ऋणपत्र १२ अर्ब १६ करोड रूपैयाँ बराबरका साधारण सेयर, पाँच अर्ब ७५ करोड रूपैयाँ बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), चार अर्ब ११ करोड रूपैयाँ बराबरका हकप्रद सेयर र ११ अर्ब ८३ करोड रूपैयाँ बराबरका अन्य गरी कूल ८१ अर्ब ५५ करोड रूपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले जनाएको छ । रासस

नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो । रु चार अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत व्याज प्राप्त हुनेछ । व्याजकर लाग्ने भए पनि छ÷छ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु १० हजारले भाग गर्दा निषेश भाग जाने अङ्क बराबरको खरिद गर्न पाइने व्यवस्था गरिएको छ । नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र बिक्री गर्ने जनाएको थियो । लकडाउन तथा कोरोनालगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ । रासस

कोरोना संक्रमणबाट नेपालमा २३ औं व्यक्तिकाे निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष रहेका छन् । उनी प्यारालाइसिसको बिरामी भएको र उपचारका क्रममा भारत गएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गत २५ जेठमा भारतबाट नेपाल आएका उनी होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । उनको ५ असारमा  निधन भएको र ६ गते उनमा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३ पुगेको छ जसमा चार महिला र १९ जना पुरुष रहेका छन् ।

नागरिकता विधेयक बहुमतले पारित

काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक बहुमतबाट पारित भएकाे छ । समितिको आइतबार बसेको बैठकले बिधेयक पनरित गरेकाे हाे । समितिको आइतबार बसेको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने गरी विधेयक पारित गरेको हो। निर्णयमाथि कांग्रेस तथा राजपाले फरक मत राखेका छन्। उनीहरुले नागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने मत राखेका थिए।

हुलाक कार्यालयका प्रमुखसहित ८ जनाविरुद्ध दुई करोडकाे मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरुको नाममा तलब भत्तासमेत लिई भ्रष्टाचार गरेको अभियोग लागेको छ । गलत विवरण तयार पारी १५२ स्वीकृत दरबन्दीभन्दा बढी पटकपटक गरी १४७ जना र २६० जनाको दरबन्दी थप भएको उल्लेख गरी रु एक करोड ८२ लाख छ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा कार्यालय प्रमुख मल्लविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै शाखा अधिकृत श्यामकुमार सिंहले पनि गलत दरबन्दी खडा गर्न सहयोग गरेको पाइएकाले रु एक करोड ८२ लाख छ हजार ९०० नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगले नायब सुब्बा गौतमविरुद्ध पनि प्रमुख मल्ल र शाखा अधिकृत सिंह बराबरै बिगो दाबी माग गरिएको आयोगले जनाएको छ । सहायक कम्प्युटर अपरेटर केसीविरुद्ध पनि रु एक करोड ८२ लाख छ हजार ९०० र लेखापाल शालीग्राम पौडेलविरुद्ध रु एक करोड ७५ लाख ५८ हजार ६३० बराबरको बिगो दाबी गरिएको छ । सोही अभियोगमा कार्यालयका नायब सुुब्बा रणबहादुर बोहोराविरुद्ध रु ३० लाख तीन हहजार २१०, साविक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखमा कार्यरत लेखा नियन्त्रक शुभाकर न्यौपाने र लेखापाल दीपबहादुर थापाविरुद्ध पनि कार्यालय प्रमुख मल्ल बराबरकै बिगो कायम गरिएको छ । यस्तै आयोगले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीमा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहोराले अवैध काठ तस्करी गरेर ट्र्याक्टरमा लोड गरिरहेकासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बोहोराविरुद्ध रु ६१ हजार २० र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । त्यस्तै आयोगले नेपाल राष्ट्रिय आधारभूत मावि पर्सामा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक सन्तोषकुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गुप्ताविरुद्ध रु छ लाख बराबरको बिगो माग दाबी गरेको छ ।

नेपालगञ्ज र झापाबाट बिना पास बढी भाडा लिएर आएका गाडी नागढुङ्गाबाट पक्राउ

फाइल फाेटाे काठमाडौं । उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएको ४ वटा सार्बजनिक भाडाका बसहरू नागढुङ्गाबाट पक्राउ परेका छन् । लकडाउनको नयाँ मोडालिटी जोर बिजोर प्रणालीमा पनि बिना पास बढी भाडा लिई आएका गाडी तथा चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् । मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा बिना पास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिदै गरेको सुचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभाको मिति प्रस्ताव गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । पदाधिकारीको बैठकले गरेको प्रस्ताव अनुसार सोमबार बस्ने कार्यसमितिको बैठकले अन्तिम निर्णय लिनेछ । साधारणसभा काठमाडौंमा राखिने भएको छ । साउन २१ गतेसम्म सरकारकाे लकडाउन रहेकाेले २५ र २६ गते साधारणसभाकाे मिति तय गरिएकाे अध्यक्ष भवानी राणाले बताइन् । काेराेना संक्रमणकाे जाेखिमका कारण भिडभाड गर्न नहुने सरकार र विश्व स्वास्थ्य संगठनले बताउँदै आएका छन् । यस्ताे बेलामा अनलाइनबाट मतदान गर्ने अभ्यास पनि हुँदै आएकाे छ । तर महासंघकाे निर्वाचनमा हुने मतदान परम्परागत शैलीमा नै हुने अध्यक्ष राणाले बताइन् । काेराेना भाइसर संक्रमणकाे जाेखिम अधिक भएमा वा सरकारले लकडाउन जारी राखेमा पदाधिकारीकाे बैठकले साधारणासभाकाे मिति सार्न सक्ने उनले बताइन् । गत चैत २९ र ३० गते तय भएको महासंघको चुनावी साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो । निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानबीच प्रतिस्पर्धा हुदैछ । जिल्ला उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पिर्धा हुँदैछ । एसोशिएट उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वातः अध्यक्ष बन्नेछन् । काेषाध्यक्षकाे चयन निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।