विकासन्युज

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार

काठमाडौं । कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् । शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् । ४० जनाको शव पनि ल्याइयो यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि सङ्घले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

न्यायाधीश नियुक्ति गर्दा विविध आधार हुनसक्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै न्यायाधीश नियुक्तिमा समावेशी नभएको भन्दै दायर गरेको रिट खारेज गरेको हो । “न्यायाधीश कुनै अमूक व्यक्तिको नहुनुपर्ने, किन भयो ? किन भएन ? र कुनै समुदायबाट अर्थात् निवेदकहरूको नियुक्ति हुनुपर्ने हो भन्ने सन्दर्भसँग सम्बन्धित योग्यता होइन”–पूर्णपाठमा भनिएको छ, “सक्षमता, आचरण र नैतिकताजस्ता विषयवस्तुमा गम्भीर र उच्च प्रकृतिको वस्तुगत आधार र कारणबाहेक अन्य अवस्था, सोको पृष्ठभूमि, स्वार्थ, इच्छा, शक्ति, सिद्धान्त, सम्बन्ध, आशय, विचार, आग्रह, पूर्वाग्रह आदि अमूर्त एवं अपरोक्ष ढङ्गका जटिल विषय समावेश हुन्छ ।” न्यायाधीश नियुक्ति गर्ने व्यक्ति, संस्था एवं परिषद्बाट न्यायाधीश नियुक्ति गर्दाको समयको अवस्था र परिस्थितिबमोजिम विविध क्षेत्रको सन्तुलनका आधारमा उम्मेदवारको पनि छनोट गरिने उल्लेख छ । फैसलामा भनिएको छ, “वरिष्ठता, सक्षमता, दक्षता एवं आचरणलगायतका पृष्ठभूमि, निजात्मक अवस्थासँगको हैसियत समेतका सम्पूर्ण पक्षको अध्ययन गरेर योग्य न्यायाधीश नियुक्त गरिन्छ ।” न्यायाधीश नियुक्तिका लागि एउटा मात्र आधार निर्णायक हुन नसक्ने उल्लेख गर्दै दलित आदिवासी जनजाति (नेवार) र अपाङ्ग समुदायलगायत अन्य महिला, मधेशी, आदिवासी जनजाति, मुसलमानलगायतका समुदायबाट समावेशीका आधारमा वरिष्ठता, सक्षमता, इमान्दारिता, नैतिकता र पेशागत आचरणजस्ता गुण हुनु आवश्यक भएको फैसलामा उल्लेख गर्दै भनिएको छ, “ती गुणको वस्तुगत आधारमा नै न्यायाधीश नियुक्त हुनुपर्नेछ ।” फैसलामा दलित, आदिवासी जनजाति (नेवार) समुदायबाट पनि व्यावसायिक दक्षता र आचरण र समानुपातिक समावेशीका आधारमा न्यायाधीश पदमा नियुक्ति हुँदै आइरहेको फैसलामा छ । “न्यायाधीश पदमा रिक्त संख्याका आधारमा क्रमिकरुपमा एउटै जातिबाट नभए पनि विविध समुदायका समावेशी जातजातिबाट समावेशी सिद्धान्तका आधारमा न्यायाधीश नियुक्ति भइरहने हुन्छ”, फैसलामा भनिएको छ, “जनजाति, दलित र अपाङ्ग समुदायबाट न्यायाधीश नियुक्त नगरी समानुपातिक समावेशीताको सिद्धान्तलाई अवलम्बन गरिएन भन्ने जिकिरसँग सहमत हुन सकिएन ।” न्यायपरिषद्ले २०७० असार २६ गते उच्च र जिल्ला अदालतमा गरेको नियुक्तिमा अपाङ्गता, दलित र जनजाति समावेश नभएको उल्लेख गर्दै अधिवक्ता श्यामकुमार विक, भक्त विक र प्रकाश नेपालीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गनुभएको थियो । उक्त रिट निवदेनमा सर्वोच्च अदालतले उक्त फैसला गरेको हो । रासस

भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र

भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् । रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फीरुपमा रोक्दै आएको छ । पानीट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्छन्, “तर नेपाली सामान लोड भएका गाडीलाई भारतीय भन्सार पुग्नुअगावै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।” गत बिहीबार नेपालबाट कृषिवस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ । लामो अवधिदेखि मेची पुलमा अलैँची र चिया जस्ता मूल्यवान बस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा रु डेढ करोडभन्दा बढी मूल्यको अलैँची लोड गरिएको जानकारी दिए । उनले समस्याको समाधानबारेमा केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताए । नाकामा अवरोध नगर्न नेपालका तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताए । अबको विकल्प भने भारतको जोगवनी नाका हुनसक्ने भट्टराईको भनाइ छ । पश्चिम बङ्गाल सरकारले नाकामा अवरोध गरेको हुँदा विहारको नाका जोगवनी प्रयोग गर्न सकिने सम्भावना छ । तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानीट्याङ्की नाकामा आइसकेको हुँदा फेरि जोगवनी नाका प्रयोग गर्दा दोहो¥याएर प्रयोगशाला जाँच गर्नुपर्ने झण्झट हुने उनको भनाइ छ ।

सेयर बजार नखुल्नुमा अर्थमन्त्री र धिताेपत्र बाेर्ड दाेषी

नेपाल सरकारले गरेको लकडाउनको अवधि कायम रहदासम्म सेयर बजार नखुलाउने नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै कारोबार स्थगन गर्ने निर्णय भएको जानकारी हिजो शनिबार नेपाल स्टक एक्सचेन्ज नेप्सले गराएको छ । लकडाउन पछाडि अहिलेसम्म बीचमा दुईदिन बजार खुलेपनि बजार घट्यो भनेर बन्द गरियो । लकडाउनको अवधिमा सबैभन्दा लामो समय सेयर बजार बन्द गर्ने देश हाम्रो मुलुक हो । कारोबार शुरु गर्दा सेयर बजार घट्छ भनेर अनुमान लगाएको भरमा वा घटेको आधारमा खुला बजारलाई बन्धक बनाउन पाईदैन । नियमक निकायको यो निर्णयले के सबै लगानीकर्ताको हकलाई सम्बोधन गरेको छ ? बजार घट्दा कारोबार नै अनिश्चतकालको लागि बन्द गर्ने तरिका के ससांरको प्रचलित प्रचलन हो ? केही सीमित लगानीकर्ताको बजार बन्द गराउने ईच्छाको मतियार नियमक निकाय बन्न मिल्छ ? भन्ने जस्ता धेरै प्रश्न अहिले उब्जिएका छन् । अहिलेको नियमक निकायको गतिबिधि हेर्दा नियमक निकाय नै केही सीमित लगानीकर्ताको चङ्गोलमा परेको प्रष्ट हुन्छ । सेयर बजारको विकासका लागि चाहिने भौतिक पूर्वाधारको विकासका लागि ध्यान नदिने तर केही सीमित लगानीकर्ताको समूहको पछि लागेर बजार बन्द गरिएको कार्यले मुलुकको अर्थतन्त्रलाई फाईदा पुग्दैन । केही व्यक्तिहरुको लहडको भरमा बजारलाई लामो समय सम्म बन्द गर्नु भनेको नियमक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वकोे असक्षमता हो । अहिलेको समय भनेको हचुवाको भरका कुनै समूहले बजार बन्द गर्न आवश्यक भनेर हल्ला गरेको भरमा बजार बन्द गर्ने समय होइन । लामो समयसम्म बजार बन्द हुँदा त्यसको असर राज्यलाई कति परेको छ भनेर लेखाजोखा गर्ने समय अहिले आएको छ । लामो समय बजार बन्द हुँदा सेयर बजारमा करिअर छ भन्ने लगानीकर्तामा निराशा छाउन थालेको छ । अझै पनि नेपालको सेयर बजारलाई सीमित लगानीकर्ताको चाहानामा बढाउने र घटाउने गरेको देखिन्छ । नेपालको सेयर बजार स्वार्थी समूहले चलाएको हल्ला र लहडको भरमा चल्ने गरेको देखिन्छ । हो केही समय मुलुकमा आईपरेको असहज परिस्थितिका कारण सेयर बजार पनि खुल्न सक्ने अवस्थामा थिएन । सिङ्गो मुलुक नै ठप्प थियो । तर अहिले लकडाउन खुकुलो भएर प्रायः सबै कार्यालयहरु खुल्न थालिसकेको अवस्थामा शेयर बजार भने खुल्न सकेको छैन । अहिले सरकारले नै खोल्न नदिने भनेको सार्वजनिक यातायात, डिस्को, क्लब सिनेमाघर र विद्यालय बाहेक सबै क्षेत्र खुलेको अवस्था छ । यस्तो अवस्थामा पनि शेयर बजारलाई बन्द गर्नु भनेको देशको अर्थतन्त्रलाई चलायमान हुन नदिने र सीमित समूहको स्वार्थसिद्ध गर्ने षडयन्त्र मात्र हो । लेखक चैत ११ अगाडि जुन तरिकाले सेयर खरिदबिक्री भएको थियो त्यसरी सेयर खरिदबिक्री गर्न अब कुनै समस्या छैन । विभिन्न बाहनामा यति लामो समय बजार बन्द गराउँदा मुलुकको अर्थतन्त्र नै अहिले ठप्प रहेको छ । सेयर बजारलाई अर्थतन्त्रको मापकको रुपमा पनि लिइन्छ । त्यसकारण पनि यसलाई चलायमान गराउनु जरुरी छ । अहिलेको समयमा सेयर बजारको नीतिगत सुधारको काम छिटो हुन जरुरी छ । पूर्णअनलाइन समयको माग हो । यसमा नियामक निकायले ध्यान दिन सकेको छैन । कनेक्ट आइर्एपीएइसबाट कारोबार गर्दा अनलाइन कारोबारको सीमा तोक्नु नहुने, हालकै अवस्थामा बजार खोलिए लगानीकर्ताले ब्रोकर कार्यालय नै पुग्नु पर्ने अवस्था भएको हुनाले असहजता पैदा हुने, सेयर लोनमा रहेको चर्को ब्याज घटाउनुपर्ने, मार्जिक लोनको सीमा ८० प्रतिशत राख्नुपर्ने माग लगानीकर्ताको छ । लामो समयदेखि लगानीकर्ताले सेयर कारोबार गर्दा तिर्ने करलाई अन्तिम कर मान्न आग्रह गरिरहेका थिए । उनीहरूको माग बमोजिम नै अर्थ मन्त्रालयले उक्त व्यवस्था गरिदिएको भनाई छ । लगानीकर्ताका जायज मागलाई राज्यका निकाय पनि सम्बोधन गर्न ढिलाई गर्नु हुदैन । तर यही मागको निहुमा अनिश्चितकालसम्म बजार बन्द गराउन खोज्नु राम्रो पक्ष होइन् । कारोबार नै नगरेपछि कस्तो राहत सेयर बजारलाई चाहिने हो त्यो नै प्रष्ट देखिन्न । त्यसकारण पनि पहिला कारोबार शुरु गर्न जरुरी छ । अहिले दवाव समूहमा रहेका बाहेकका लगानीकर्ताहरु बजार खोलेरै सुधारका कामहरु गर्नुपर्छ भन्ने मनस्थितिमा देखिएका छन् । शेयर बजारको सबै भन्दा सुन्दर रुप भनेको कारोवारमा हुने मूल्यको घटबढ हो । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । बजार धेरै नघट्न पनि सक्छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । लगानीकर्ताले जहिले पनि जोखिम बहन गर्न सक्नुपर्दछ । सेयर बजार भनेको जोखिमको क्षेत्र पनि हो । जोखिम लिन सक्ने क्षमता भएकाहरु मात्र सेयर बजारमा प्रवेश गर्ने हो । लगानीको पछाडि सधैभरी नाफा मात्र हुदैन । स्वभाविक हो आफूले गरेको लगानीमा नोक्सान हुदाँ सबैलाई दुःख लाग्छ । तर,जोखिमको क्षेत्रमा लगानी गर्ने भनेर आएपछि जोखिम लिन पनि सक्नुपर्छ । अहिले ससांरभर कोरोना भाइरसका कारण हजारौ कम्पनीहरु बन्द भएका कारण लाखौले रोजगारी गुमाएका छन् । ससांरभर अर्थतन्त्रमा कल्पना गर्न नसकिने क्षति पुगेको छ । यस्तो अवस्थामा सेयर बजार घट्न हुँदैन, बढ्ने ग्यारेन्टी नहुँदासम्म खोल्न दिनु हुँदैन भनेर माग राख्नु तर्कपूर्ण हुदैन । यस्ता मागले सेयर बजारको बिकासलाई टेवा पुयाउदैन । अर्थतन्त्रमा सामान्य सुधार आउन साथ सबैभन्दा छिटो सुधार सेयर बजारमा नै हुने हो । त्यसको पछिल्लो उदाहरण भारतको सेयर बजारलाई हेरेमा पुग्छ । पछिल्लो अवस्था संसारका धेरै देशमा सेयर बजारले गति लिदै गएको छ । धेरै लगानीकर्ताको लगानी बैंक तथा वित्तीय संस्थामा रहेको र राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने छ । बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन । नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् । नेपालको सेयर बजारबारे कुनै समय अर्थमन्त्री डा बाबुराम भटराईले जुवाघर जस्तो भनेर प्रतिक्रिया दिदाँ उनको धेरैले बिरोध गरे । उनको भनाइले लगानीकर्ता डराए । सेयर बजार ओरोलो लाग्यो । तर लगानीकर्ताले आफनो धैर्यता कहिल्लै गुमाएनन् । लगानीकर्ताको उच्च मनोबलका कारणले बजार पुनः बुलिस ट्रेनमा गयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो बनाएर व्यापार व्यवसाय सहज बनाउन व्यवसायिक संस्थाहरुले माग गरे । उनीहरुको पहिलो माग आफ्नो व्यवसाय खोल्न दिनुपर्छ भन्ने थियो । तर, नेपालको सेयर बजारमा त्यसको विपरित भयो । यसले नेपालको सेयर बजार अझै पनि परिपक्क भएको छैन भनेर प्रष्ट देखाएको छ । अहिले दोस्रो बजारमा सेयर कारोबार गर्नको लागि ब्रोकरकोमा जानको लागि समस्या देखाईएको छ । अधिकांश लगानीकर्तासँग निजी नै सवारीसाधन छ । अर्को सेयर कारोबार गर्नका लागि ब्रोकरको कार्यालयसम्म जानुपर्ने अनिवार्य बाध्यता छैन । यदि जानु परे पनि ब्रोकर कार्यालयले पनि सामाजिक दूरी कायम राखेर सेवा दिन सक्छन् । सेयर बजारको कारोबार शुरु भयोे भने घट्छ भन्ने डरले बजार नै बन्द गर्ने ढिपी केही लगानीकर्ताको पाइन्छ । तर बजार नखुल्दासम्म लगानीकर्ताले राखेका सुधारका कार्यक्रम नआउने जस्तै देखिन्छ । बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन । नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् । यस प्रकरणमा सबैभन्दा बढी दोषी धितोपत्र बोर्ड रहेको छ । सम्बन्धित निकायका यस्ता गतिविधिले नेपालको सेयर बजार सट्टेवाजी मात्रै त होइन भन्ने प्रश्नलाई बलियो बनाएको छ ।

अब पुँजीगत लाभकरलाई अन्तिम मानिने, हट्यो वर्षौदेखिको अन्योलता

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारको पुँजीगत लाभकरलाई अन्तिम मान्ने भएको छ । वर्षौदेखि कर कार्यालय र लगानीकर्ताबीच रहेको अस्पष्टतालाई मेटाउँदै विभागले एक पत्र जारी गरी थप स्पष्ट बनाएको हो । यससँगै उनीहरुबीच रहेको अन्यौलता हटेको छ । साथै, लगानीकर्ताले आफूलाई पायक पर्ने आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने विभागका शाखा अधिकृत युवराज बस्नेतले जानकारी गराएका छन् । हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । उक्त करलाई अन्तिम मान्न लगानीकर्ताहरुले वर्षौ अघिदेखि माग गर्दै आएका थिए । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि यो करलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय समक्ष आग्रह गरेको थियो । सम्बन्धित समाचारः पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?

वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प

काठमाडौं । कोभिड–१९ र सरकारले जारी राखेको बन्दाबन्दीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प बनेका छन् । वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले निर्माण ठप्प बनेको हो । गत चैतको पहिलो साता रोकिएका योजना तत्काल सञ्चालन गर्ने अवस्था नरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । सरकारले तत्काल अन्तरराष्ट्रिय उडान खुलाउने अवस्था नभएकाले आफ्नो देश फर्किएकाहरु नेपाल आउन नसक्ने महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । त्यसो त नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरु आफैँ पनि निर्माणका लागि नेपाल नआउन सक्छन् । उनले भने, “सङ्क्रमण कम भएर अवस्था सामान्य नहुँदासम्म काम शुरु नहुन सक्छ ।” हाल नेपालमा वैदेशिक सहयोगमा कतिपय योजना निर्माणाधीन छन् भने कतिपय अध्ययनका क्रममा र कति अध्ययन सकिएर ठेक्का प्रक्रियामा जाने अवस्थामा छन् । सबै अवस्थामा रहेका योजनामा बन्दाबन्दीको प्रभाव परेको छ । नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौँ चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् । सरकारले गत चैत ११ मा बन्दाबन्दी घोषणा गरेसँगै देशभरका अधिकांश सडक योजनासहितका वैदेशिक सडक योजनाको पनि निर्माण रोकिएको थियो । सरकारले अन्तरराष्ट्रिय उडान बन्द गर्नु पहिले निर्माणस्थलमा रहेका विदेशी आआफ्नो देश फर्किएको प्रमुख थापाले बताए । उनले भने, “यहाँ भएका कम्पनीले पनि काम शुरु गर्न सकिरहेका छैनन् ।” बन्दाबन्दीको कही सातापछि सरकारले कृषि, उद्योगसँगै विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेको थियो । सम्बन्धित जिल्ला प्रशासनसँगको समन्वयमा निर्माण शुरु गरिए पनि विरोधका कारण निरन्तरता दिन नसकिएको उनले बताए । बन्दाबन्दीसँगै निर्माण कम्पनीले स्थानीय कामदारलाई सम्बन्धित जिल्लामा पु¥याएको थियो । बन्दाबन्दीमै सरकारले निर्माण जारी राख्ने निर्णयसँगै उनीहरुलाई निर्माणस्थलमा फर्काइएको प्रमुख थापाले बताउनुभयो । कामदारको आरडिटी विधिबाट कोभिड–१९ परीक्षण भए पनि स्थानीय तहले निर्माण जारी राख्दा सङ्क्रमण फैलने भन्दै त्यसको विरोध गरेका थिए । उनले भने, “स्थानीय तह र स्थानीयवासीले हुँदैन भनेकाले काम शुरु गर्न सकिएको छैन ।” चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले दोस्रो खण्ड बिस्तारका लागि अध्ययन गरिसकेको छ । पहिलो खण्डमा संरचना हटाउँदै निर्माण अघि बढाउँदा समयभन्दा केही ढिलाई भएको थियो । दोस्रो खण्डमा भने सरकारले सडक निर्माणस्थल खाली गरेपछि मात्रै निर्माण शुरु गर्ने चिनियाँ पक्षसँग सहमति भएको थियो । सरकारले निर्माणस्थल खाली गरेर चिनियाँ पक्षलाई हस्तान्तरण गर्नुभन्दा पहिले नै कोभिड–१९ को त्रासका कारण उनीहरु चीन फर्किएका थिए । आगामी आवमा सो सडकमा चिनियाँ पक्षले काम शुरु गर्ने उनको भनाइ छ । उनले भने, “सामान्य अवस्था भएपछि उनीहरु आएर काम शुरु गर्नेछन् ।” जापान सरकारको सहयोगमा निर्माण शुरु भएका र अध्ययन भइरहेका योजना पनि अघि बढेका छैनन् । काठमाडौँ उपत्यकाको सबैभन्दा बढी जाम हुने जडिबुटीमा फ्लाई ओभर वा सुरुङमार्ग निर्माणका लागि जापान सहयोग नियोग (जाइका) ले अध्ययन गरिरहेको थियो । त्यस्तै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकासँग सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागिसमेत सरकारसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँ भित्रने मुख्य नाका नागढुङ्गाको सडक चापको समस्या समाधानको उपायका रुपमा अघि बढाइएको नागढुङ्गा सुरुङमार्ग निर्माण पनि अहिले ठप्प छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग निर्माण शुरु भएको केही महिनामा नै रोकिएको छ । अहिले पनि थोरै व्यक्ति त्यहाँ कार्यरत रहेका प्रमुख थापाले बताए । विश्व बैंकको सहयोगमा नौबिसे–नागढुङ्गा सडक विस्तारका लागि अध्ययन भइसकेको छ । उनले भने, “यो सडकमा आगामी आवमा ठेक्का सम्झौता भएर काम अघि बढाइनेछ ।” सरकारले निर्माण गरिरहेका सडकमा समेत बन्दाबन्दीको प्रभाव परेको छ । सङ्घीय सरकारले निर्माण गरिरहेका अधिकांश सडक र पुल निर्माण अपेक्षानुसार अघि नबढेको सडक विभागले जनाएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तर–दक्षिण करिडोरलगायतका राष्ट्रिय गौरवका आयोजनामा निर्माण जारी राख्ने सरकारले निर्णय गरे पनि थोरै स्थानमा मात्रै निर्माण शुरु गरिएको आयोजना निर्देशनालयले जनाएका छन् । सरकारको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले गत फागुनसम्ममा ५५९ किमी सडक कालोपत्र, ६५७ किमी ग्राभेल र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । चालू आवको गत फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मत भएको थियो ।

बीमा कम्पनीले कोषको रकम वाणिज्य बैंकमा राख्न समितिकाे निर्देशन

काठमाडाैं । बीमा कम्पनीहरुले टेक्निकल रिभर्ज कोषको रकम अब सिधैं क बर्गका बाणिज्य बैंकमा राख्न बीमा समितिले निर्देशन दिएकाे छ । आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको कारण पूर्व स्वीकृति दिन नसकिएकोले सिधैं वाणिज्य बैंकमा मुद्दति निक्षेपमा राख्न निर्देशन दिएकाे हाे । समितिले कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा यस्ताे व्यवस्था गरिएकाे हाे । ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानी सोको सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा बीमकहरुलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गर्न दिई सो रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुने गरी गर्न निर्देशिन दिने निर्णय भएकोले सोही बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ,’ विज्ञप्तीमा भनिएकाे छ ।

भारतमा बालिका बिक्री गर्ने दुई पक्राउ

काठमाडौं । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो । उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । रासस