सिजी ब्राण्डको १ लाख ५० हजारसम्मको कोभिड बीमा योजना
काठमाडौं । सिजी ब्राण्डले सबै ग्राहकहरुमा कोरोना भाइरससँग सम्बन्धित ‘कोभिड बीमा योजना’ प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सिजी एलइडी टिभि तथा होम अप्लाइअन्स्को खरिदमा १ लाख ५० हजारसम्मको सुरक्षा पाउने छन् । योजना सबै स्टोरस् तथा अनलाइनमा पनि ३१ चैत, २०७७ सम्म लागु हुनेछ । सिजी ब्राण्डका सामग्रीहरुमा यस्ता गुणहरु छन् जसले घर स्वस्थ्य र सुरक्षित राख्न मद्दत गर्दै किटाणु रहित जीवनयापन गर्न सहजता प्रदान गर्छ । कोभिड बीमा योजना अनुरुप ग्राहकहरुले ५० हजार प्रतिव्यक्ति प्राप्त गर्नेछन् । यो योजना सिजीले कोरोना कोरोना भाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुको स्वास्थ्य प्रति चासोको सपना पस्किएको छ ।
बुक बिल्डिङ्ग मस्यौदामा बोर्डले माग्यो सबैसँग राय, कहिलेसम्म पेश गर्नुपर्ने ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ । संगठित संस्थाले बजारमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दा मूल्य निर्धारण गर्नकाे लागि बाेर्डले उक्त मस्यौदा तयार पारेको हो । सेयरको मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी तथा प्रतिस्पर्धी बनाउनको लागि थप व्यवस्था गर्न बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको बोर्डले जानकारी गराएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधन सहित)को नियम २५ग को प्रयोजनको लागि उक्त निर्देशिका बनाएको हो । यस सम्बन्धमा बोर्डले बजारका सबै सरोकारवालाहरुसँग राय सुझाव मागेको छ । यससँगै उनीहरुले आगामी असार १४ गते भित्र बोर्डको इमेल आईडी (यसमा)मा पेश गर्न सक्नेछन् । उक्त बुक बिल्डिङ्ग प्रणाली कार्यान्वयनमा आएमा अहिलेको जस्तो प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ पाइने व्यवस्था हट्ने छ । बोर्डले आगामी साउनदेखि उक्त प्रणाली लागु गर्ने तयारी गरेकाे छ ।
जुनीचाँदेमा छोरी जन्मिए १० हजार !
जाजरकाेट । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरे । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएकाे समेत शाहीले बताए । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी १ हजार ५ सय, स्थानीय तोरीको तेलका लागि ५ सय र बच्चाको कपडा किन्नका लागि ५ सय दिनुभयो”, शाहीले भने । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थपे, “मैले छोरीको जन्म दिएकै कारण थप १० हजार रूपैयाँसमेत पाएकी छु ।” उनीजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घरघरमा पुगिरहेका छन् । उनी सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको २ हजार ५ सय रूपैयाँ दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहेका छन् । भौगोलिकरूपमा विकट र सबै ठाउँमा यातायातको पहुँच नभएको जुनीचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने कामसमेत भएको छ । यो शीर्षकमा मात्र १४ लाख ७० हजार रूपैयाँ रकम विनियोजन गरी सोहीअनुसारको काम भइरहेको छ । सुत्केरी हुने बित्तिकै आचार्यको मोबाइलमा फोन आउने गरेको छ । गाउँपालिकाभरि जम्मा ४ सय सुत्केरी महिला भएको आँकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तीव्र बनाइएको छ । वडा नं १ मा ७०, २ मा ४७ र ३ मा ३६ सुत्केरीसँग बढी छलफल भएको कावा अध्यक्ष आचार्यले बताए । गाउँपालिकाभरि चार ठाउँमा मात्र बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकीको सङ्ख्या चार, उपस्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य केन्द्र ११ वटा रहेका छन् । महिला स्वयंसेविकालाई प्रोत्सहानस्वरुप गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ । स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको गाउँपालिका–११ की महिला स्वयंसेविका गौरीकला बस्नेतले जानकारी दिए । प्रत्येक महिनामा एक पटक गाउँमा स्वयंसेविकाको उपस्थितिमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिए । गाउँपालिकाले २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई १० हजारका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताए । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । यो कार्यक्रम लागू भएसँगै छोरी जन्मिने बित्तिकै हेला गर्ने प्रवृत्ति ह्वात्तै घटेकोसमेत उनकाे भनाइ छ । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाहा प्रवृत्ति देखाउने भन्दै स्थानीयवासी आफूहरुले गलत दृष्टिकोण राखेको गाउँपालिका–५ का पदम खड्काले बताए । रासस
विकासको ओझेलमा सिमल्टार बस्ती
काठमाडाैं । काठमाडौं महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती ओझेलमा परेको स्थानीवासीको गुनासो छ । करिब ५ सय घर र ५ हजारभन्दा बढीको जनसङ्ख्या बसोबास गर्ने सिमल्टारको विकास निर्माणमा वडा एवं महानगरपालिकाको ध्यान नगएको साहित्यकार रामकुमार पण्डितले बताए । कुना काप्चामा परेको भागको सन्तुलित विकास गर्ने उद्देश्यले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा तीन तहको सरकार गठन भए पनि राजधानीकै काँठ क्षेत्रका विकासमा जनप्रतिनिधिको ध्यान जान सकेको छैन । जनप्रतिनिधि मत केन्द्रित राजनीतिमै रमाइरहेका छन् । यस्ता स्थलको विकासमा कुनै पनि दलको ध्यान जाने गरेको छैन । अहिलेसम्म सिमल्टारबाट वडा तहमा निर्वाचन लड्नसमेत कुनै दलबाट स्थानीयवासीले टिकट समेत पाउँदैनन् भन्ने गुनासोसमेत यहाँका बासिन्दाको छ । महानगरपालिका–६ मा विश्वमै चर्चित ऐतिहासिक एवं सांस्कृतिकस्थल बौद्ध पर्छ । बौद्ध क्षेत्रमा स्थानीयवासीको सांस्कृतिक गुठी छ । तिनै गुठीका सदस्यको मत स्थानीय निर्वाचनमा निर्णायक हुने भएकाले परका बस्ती ओझेलमा पर्ने गरेको हो । जनप्रतिनिधि मतको राजनीतिभन्दा माथि उठ्न सकेनन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै वितृष्णा फैलने भएकाले सचेत हुनुपर्ने स्थानीयवासी विश्वराम पुडासैनी बताए । सिमल्टारमा सडक राम्रो छ्रैन । सडक बत्ती बिग्रिएको वर्षौं भए पनि बनाउनेतिर कसैको ध्यान गएको छैन । ढलको राम्रो प्रबन्ध छैन । खानेपानीको समेत समस्या छ । न्यूरोड, दरबारमार्गकै जत्ति कर तिर्ने सिमल्टारवासी सुविधामा भने त्यहाँका मानिसभन्दा फरक अनुभव गरेकोप्रति महानगरपालिकाको समेत ध्यान गएको देखिँदैन । विगत तीन वर्षमा वर्षमा वडाले सबैभन्दा बढी काम सिमल्टारमा गरेको वडाध्यक्ष दीपेन्द्रकुमार लामा बताए । यस वर्ष पनि त्रिवेणी मार्गमा ढलान भइरहेको, ब्लक छाप्ने काम भइरहेको बताएका छन् । महामृत्युञ्जय मन्दिर क्षेत्रमा खानेपानी, ढल, सडक बत्तीको काम भइरहेको पनि उनले जानकारी गराए । विगतमा सिमल्टार महानगरपालिकाकै विकट बस्तीका रूपमा रहेको वडा कार्यालयले जनाएको छ । कुनै ठाउँमा केही काम गर्नुपर्नेमा ध्यान जान नसकेको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाध्यक्ष लामाको आग्रह छ । समग्र वडाको समुचित विकास गर्न वडा कार्यालय लागिपरेको जनाइएको छ । बन्दाबन्दीका बेलामा राहत वितरणमा समेत वडा कार्यालय सिमल्टार क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । रासस
हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा पहिरो, हटाउन शुरु
हेटाैंडा । हेटौंडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए । लमजुङ– पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ । शनिबार बिहानबाट गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट पुनः शुरु भए पनि आज बिहान यस सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, “सडक अवरुद्ध भएपछि यतिबेला स्काभेटरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिस रोकिएको उनले भनाइ छ । सडक कति बेला शुरु हुने भनेर यकिन भन्न नसकिने प्रहरीको भनाइ छ । बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटरको रहेको छ । रासस
कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि सार्वजनिक
काठमाडाैं । कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ । वेबसाइटमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मूल्याङ्कन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय जोखिम पनि हेर्न सकिन्छ । एशोसिएशनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए । बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्याङ्कन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताए ।अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्याङ्क विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेशन’ भएको दाबी गरिएको छ । बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्नेबारे प्रस्तुति दिएका थिए । यस विधिले कोभिड सङ्क्रमण भएमा पनि उमेर, लिङ्ग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्नेबारे आँकलन गर्नेछ । साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला विश्वविद्यालयका डा.भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिए। साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्याङ्क समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेशन’ निर्माण गर्ने जनाइएको छ । कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने ? कोभिरा, हाल चलिरहेको कोभिड–१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सकिनेछ । यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्याङ्कन गर्नेछ । यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्याङ्कन नक्सा पनि राखिएको छ । सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिनेछ । व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ । यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ । नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गरे । रासस
विपत्तीलाई जित्न खोजौ बिकल्प
जीवनको परिभाषा सोध्ने हो भने हरेकले आ–आफ्नै किसिमको उत्तर दिन्छन । जस्ले जस्तो भोग्यो उसले जीवनलाई त्यसरी नै परिभाषित गर्दछन् । साच्चै जीवन भोगाईहरुको प्रतिबिम्ब हो । जन्म र मृत्युबीचको छोटो अवधि जहाँ धेरै संर्घष, दुःख, पिडा अनि ती नै पिडा भित्र लुकेको थोरै खुसी यी सबैको साझा थलो जीवन हो । जीवन एक रङ्गमञ्च जहाँ हरेक पात्रले आ–आफ्नो अभिनय कुशलतापूर्वक निर्वाह गर्छन, निर्देशकले तोकिदिएको समयावधि समाप्त हुन्छ सबै आ–आफ्नै गन्तव्यमा फर्कन्छन । त्यस्तै नै हो हरेकको जीवन । यहि जन्म मृत्युबीचको छोटो अवधि यसै बीच मान्छेले अनेकौ अवरोधहरुको सामना गर्नु पर्छ । जब मान्छेले सोचेको, इच्छाएको र खोजेको भन्दा विपरित अवस्था आउँछ त्यो नै विपत्ती हो । विपत्तीले नै मान्छेलाई सर्घष गर्न सिकाउँछ । विकल्पको बाटो पहिचान गराउँछ, यो एक युद्ध हो सक्षमले विपत्तीलाई जितेर अगाडी बढछ, विजय प्राप्त गर्छ कमजोरले जीवन समर्पण गर्छ । यो सृष्टिमा अनेक प्रकारका जीवाणुदेखि लिएर किटपतङ्ग, प्राणी वनस्पति सबैको आ–आफ्नै अस्तित्व विद्यमान हुन्छ । जसमध्ये सर्वश्रेष्ठ प्राणी हामी मानव सृष्टिकै अनुपम रचना हौ । सायद मनुष्य जीवन अथक प्रयत्न र संघर्ष पछि जो कोहिलाई मिल्न सक्छ तर जीवनको महत्व नबुझेर कतिले विपत्तीको सामना गर्नु भन्दा जीवन नै त्याग गरिदिन्छन । कति बाँच्ने संर्घष गर्दा गर्दै पनि सुरक्षा, उपचार र गाँस बासको अभावकै कारण मृत्युवरण गर्न बाध्य हुन्छन । यसैबीच मान्छेले स्वार्थको चरम सिमा नाघेर अथाह फाइदा लिने प्रयत्न पनि गरिरहेका हुन्छन । घुस, कमिसन,चोरि, डकैत आदी घिनलाग्दा घटना पनि यसैबीच घटिरहेका हुन्छन । ठूलो, सानो, तेरो, मेरोको लडाई घर, परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमा मौलाएका खबरहरुले साँच्चै मानवमा पशुवत व्यबहारको घिनलाग्दो पक्ष उदाङ्गो भएको महसुश हुन्छ । “मै खाउँ मै लाउँ सुख सयल मोज म गरौं” उक्ति अनुरुप निर्धो र कमजोर माथि जहाँ कहि शोषण, दमन, अत्याचार हिंसा हत्या, बलत्कार भ्रष्ट्राचारका घटनाले मानवता हराएको भान हुन्छ । धनी र गरिब बीचको दूरी बढदो छ । फलस्वरुप विपतको समय घरबार विहिन, ज्याला मजदुरीमा जीविकोपार्जन गर्दै आएका अधिकांस मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । लेखक मानव विकासको क्रमलाई फर्केर हेर्दा विभिन्न समयमा अनेक प्रकारका प्राकृतिक तथा कृतिम विपत्तीको सामना मानव जातीले भोग्दै आएको देखिन्छ । प्लेग,दबिफर,दएड्स, इबोला, स्वाइन फ्लु हुँदै हाल सन २०१९ को अन्त्यमा चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मान्छेमा देखिएको कोरोना भाईरस (कोभिड १९) ले विश्वका अधिकांश देशमा कब्जा जमाई सकेको छ । विश्वका शक्ति राष्ट्रहरु दिनरात औषधि, भ्याक्सिनको अनुसन्धान गरिरहेका छन् तर सफल हुन सकेका छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा उलेख्य प्रगति हाँसिल गरेका राष्ट्रहरु पनि कोभिड १९ संग हार खाएको देखिन्छ । हालसम्म विश्वमा ९० लाख भन्दा बढीमा संक्रमण भएकाे छ । साढे तीन लाख भन्दा बढि मानिसले ज्यान गुमाई सकेका छन । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वको स्वास्थ्य र आर्थिक क्षेत्रमा ठूलो चुनौती देखापरेको छ । साथै सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर थपिदै गएको छ । विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा विश्व महामारीको घोषणा गरेसंगै धेरै राष्ट्रहरु बन्दाबन्दीको अवस्थामा छन्। औषधी, भ्याक्सिन तयार नभएसम्म सुरक्षा अपनाउनुको विकल्प छैन ।संगै लगडाउनले आर्थिक क्षेत्रमा पुर्याएको असरका कारण गरीव, विपन्न वर्ग, मजदूर भोकमरीको चपेटामा पर्न थाली सकेका छन् । विगतका महामारीको अवस्थालाई हेर्दा कोरोनाको अन्त्य त्यतिछिटो र सजिलो देखिन्न । भाईरसले आफ्नो स्वरुप फेरिरहने र अझ सुक्ष्म रुपमा गति बढाई रहेको कारण यसको उपचार जटिल बन्दै गएको बैज्ञानिकहरुले बताईरहेका छन । यस्तो अवस्थामा हरेक व्याक्तिले व्यक्तिगत सुरक्षा अपनाएर स्वस्थ जीवन जीउने कला सिक्नु अत्यावश्यक देखिन्छ । अन्य देशहरुको अवस्थालाई हेर्दा अझसम्म नेपालको अवस्था त्यति भयावह छैन । तर केहि दिन यतातिव्र रुपमा बढेको संक्रमितको संख्या हेर्दा ढुक्क हुने अवस्था देखिन्न । पूर्वमा झापा देखि पश्चिम कञ्चनपुर र तराईका जिल्लाहरुमा बढेको संक्रमण हेर्दा भित्र भित्रै भूसको आगो झै सल्किएको अनुमान गर्न सकिन्छ । थोरै मात्र हेलचेक्र्याई गर्ने हो भने स्थिति भयावह हुने अवस्था आउन सक्छ । कमजोर स्वस्थ्य सेवा औषधि उपकरणकाबीच सम्हाल्न गाह्राे हुनेछ । निरन्तरको बन्दाबन्दीले देशभित्र र बाहिर रहेका हजारौ जनताको जीवन कष्टकर भैसकेको छ । विभिन्न देशबाट नेपाल फर्कन चाहनेहरुले हारगुहार गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले सुरक्षित साथ क्वारेन्टाईन, स्वास्थ्य सेवा सुविधाको प्रबन्ध गरी अति पिडामा रहेका जनतालाई यथासिघ्र फर्काउनु पर्ने हुन्छ । तर केहि समय देखि तराईका जिल्लामा भारतबाट लुकीछिपि नेपाल प्रवेश गरेकाहरुद्धारा तराईमा संक्रमण बढेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थालाई हेर्दा केहि समय जो जहाँ छौ त्यहि रहेर बाँच्ने प्रयत्न गरौ भन्नु पर्ने बाध्यता पनि सँगै छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि काेराेनाला जित्न सक्छौ । हरेक कुराको सुरु छ त अन्त्य पनि अवश्य हुन्छ, कोरोनाको अन्त्य पनि हुनेछ तर कहिलेसम्म भन्न सकिन्न । कोरोना मात्र होईन समयसँगै अनेक प्रकारका विपत आउँछन तीनको सामना गर्न सिक्नु पर्दछ । विपतले केहि चुनौती सिर्जना गरेता पनि केहि अवसरहरु पनि पक्कै दिएको हुन्छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि जित्न सक्छौ । त्यसकै प्रतिफल भनौ विकशित देश जहाँ स्वास्थ्य सेवा सुविधाको राम्रो प्रबन्ध हुँदाहुदै पनि हजारौले ज्यान गुमाईरहेका छन, तर हामी कहाँ लक्षण नै नदेखिई कोरोना पोजेटिभ देखिएका छन् । संक्रमितहरु पनि छोटो समयमा ठिक भएर फर्किएका छन् । यसैबीच नेपालमा धेरै प्रकारका अवसरहरुको सिर्जना भएको छ । माहामारीको अन्त्यसँगै देशले नयाँ रणनीतिका साथ अगाडी बढनु पर्ने देखिन्छ । आज सारा विश्वको ध्यान विकशित राष्ट्रहरुले कहिले भ्याक्सिन पत्ता लगाउछन भन्ने तर्फ केन्द्रित छ । हाम्रो देशको २१ प्रतिशत भूभाग ओगटेको हिमाली प्रदेश औषधि जडिबुटिको भण्डार हो । यहि समयमा राज्यले यी जडिबुटिको अनुसन्धान तथा परिक्षण कार्यलाई बढावा दिएर अथाह फाईदा लिने समय आएको छ । देशको अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको कृषिबाट हाल ३१ प्रतिशत मात्र कुल ग्राह्स्थ उत्पादनमा योगदान रहेको परिप्रेक्ष्यमा कृषिमा आधुनिकिकरण , व्यवसायिकरण तथा बजारीकरणलाई प्राथमिकता दिनु पर्ने समय आएको छ । जापान कोरिया जस्ता देशबाट कृषि क्षेत्रमा आवश्यक सिप र दक्षता हाँसिल गरेर फर्किएका युवा जनशक्तिको प्रयोग साथै खाडीमा बगाएका युवाको श्रम यहि माटोमा लगाई अर्थतन्त्रले फड्को मार्ने बेला भएको छ । हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । साना तथा लघु उद्योगलाई प्राथमिकता दिँदै शहर केन्द्रित जनशक्तिलाई गाउँ फर्काउने समय आएको छ । स्थान विषेश उत्पादन, व्यवसाय र बजारीकरणको राम्रो प्रबन्ध गरी स्थानीय स्तरमा नै रोजगारीको सिर्जना गर्नु अत्यावश्यक छ । त्यसै गरी हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । अब समय भएको छ हरेक जात जाती, भाषा ,संस्कार संस्कृतिको जर्गेना गर्ने ,प्रवद्धन गर्ने । साथै हाम्रा पूर्वजहरुले सिकाएको, अपनाएको सरल जीवनशैली, अर्गानिक उत्पादनमा जोड, प्रकृतिको संरक्षण, प्राकृतिक भोजन, जडिबुटिको प्रयोग, सात्विक भोजन, योग ध्यान, साधनालाई नित्य र निरन्नतरता दिनु आजको आवश्यकता रहेको छ । हामी आवश्यकता भन्दा धेरै भौतिकवादी आधुनिक बनेर विर्सिएका हाम्रा परम्परा रितीरिवाज, संस्कार संस्कृतिलाई पुनः अवलम्वन गर्न सुझाएको छ,ब्युँझाएको छ कोरोनाको कहरले । हाम्रो नेपालीपन यहाँको माटो,पानी यहाँको हरेक संस्कार भित्र लुकेको अथाह शक्तिले हामीलाई मजबुत बनाउने छ । कोरोना जस्ता विषाणुसँग लडन सक्ने शक्ति सामर्थ्य हामी आफैले सिर्जना गर्न सक्छौ सञ्चय गर्न सक्छौ । आज भौतिकताको चरम उपलब्धि हासिल गरेका राष्ट्रका नागरिक आध्यात्मिक चिन्तनको खोजिमाछन । यसैबीच अध्यात्म विज्ञान भौतिक विज्ञान भन्दा शक्तिशाली भएको पुष्टि गर्ने पालो आएको छ । हरेक क्षेत्रमा परनिर्भर रहने हाम्रो बानीका कारण आफूसँग भएका अथाह सम्भावनालाई देखेका छैनौ, चिनेका छैनौ तर अब पालो आएको छ । अब पनि गरेनौ भने समयले धिकार्ने छ । अति भोग, अति महत्वकांक्षा, विलासिता, भौतिकता र प्रकृति माथिको अत्याचारको प्रतिफल स्वरुप हामीले भोग्दै आएका हरेक विपत्तिले केहि न केहि ज्ञान दिएकै छन तर बारम्बार हामी बुझपचाईरहेका छौ पुन सारा मानव जातीलाई कोरोनाले मानब भएर बाँच्न सन्देश दिएको छ । सामूहिक सहकार्य र विश्वबन्धुत्वको भावना जागृत गराएको छ ,यसैबीच समभाव र सम्मान भावका साथ सत्कर्म गर्दै विपत लाई जितेर देशलाई समृद्धिको बाटोमा लैजाने समय भएको छ । (यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) [email protected]
मनसुनी वायुकाे प्रभाव, देशभर मध्यम वर्षात हुने
काठमाडाैं । साेमबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको माैसम महाशाखाले जनाएको छ । देशमा मनसुनी वायुको प्रभाव भएसँगै वर्षात हुनेछ । महाशाखाकाे पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ,भने सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ ।