विकासन्युज

सरिता गिरीलाई कारबाही गर्ने वा नगर्नेबारे छलफल गर्न समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरितालाई कारवाही गर्ने वा नगर्ने भन्ने सम्बन्धमा छलफल गर्न समाजवादी पार्टीको बैठक बस्ने भएकाे छ ।पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सांसद गिरी प्रकरणमा छलफल हुने बताइएको हाे। नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले सचिवालयमा संशोधन दर्ता गराएकी गिरीमाथि के कस्ताे कारवाही गर्ने भन्ने बारेमा पार्टीले छलफल गर्ने बताइएकाे छ । उनलाई यसअघि नै संसदीय दलबाट कारवाही गर्ने तयारी भइसकेको थियो ।संसदबाट निलम्बन र पार्टीका साधारण सदस्यबाट समेत हटाउने गरी कारवाही गर्न पत्र तयार भइसकेको थियो तर त्यसमा संसदीय दलको प्रमुख सचेतक उमाशंकार अरगरियाले हस्ताक्षर गर्न नमानेपछि तत्कालका लागि कारवाही टरेको थियो ।

गुहेश्वरी मर्चेण्ट फाईनान्स एससीटी नेटवर्कमा आवद्ध, डिजिटल भुक्तानी सेवा दिने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग आवद्ध भएको छ । फाईनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उदेश्यले आइतबार दुई संस्था बीच औपचारिक सम्झौता भएको हो । सम्झौतामा एससिटिका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरी फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्सका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछन् । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।

हवाई बीमा शुल्कमा छुट दिन छैन सजिलो, सरकारले कुटनीतिक माध्यमबाट कुरा राख्न सक्ने

काठमाडौं । बीमा क्षेत्रमा अहिले हवाई बीमा शुल्क घट्ने कि नघटने भन्ने विषय चर्चामा छ । विज्ञहरुका अनुसार हवाई बीमाको शुल्क हेरफेर गर्न असम्भव नभए पनि त्यति सजिलो पनि छैन । केही साताअघि इन्स्योरेन्स इन्स्टीच्युट नेपालले विभिन्न देशका विज्ञहरुसँग अन्र्तक्रिया कार्यक्रम संचालन गरेको थियो । सो कार्यक्रममा बोल्दै बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हवाई बीमा शुल्क घटाउने सम्बन्धमा छलफल चलिरहेको बताएका थिए । नेपालमा हवाई बीमाको रिटेन्सन १ प्रतिशतभन्दा कम छ । यस्तो अवस्थामा हवाई बीमाशुल्क घटाउने प्रस्ताव कार्यन्वय हुन त्यति सहज छैन । विश्वका विभिन्न देशका पूनर्बीमा कम्पनीहरुको सहमति जुटेमा हवाई बीमाको बीमा शुल्क हेरफेर हुनसक्छ । अहिले हवाई बीमाशुल्क हेरफेर हुने कि नहुने भन्ने विषयमा बीमा कम्पनी तथा हवाई सेवा संचालकहरुको संस्था नेपाल वायुसेवा संचालक संघले अध्ययन गरिरहेको बताएका छन् । विदेशी पूनर्बीमा कम्पनीहरुको समेत सहमतिमा हवाई बीमा शुल्क परिवर्तन गर्नुपर्ने हुन्छ । हवाई बीमाका एशोसियन, बीमा कम्पनी तथा पूनर्बीमा कम्पनीहरुले गर्ने निर्णय हेरेर बीमा शुल्क हेरफेर हुने नहुने निश्चित हुने बीमा समितिले बताएको छ । हवाई बीमाशुल्क भनेको अन्तराष्ट्रिय चासोको विषय पनि हो । यसले विश्व पूनर्बीमासँग सम्बन्ध राख्न पनि सघाउदै आएको छ । बीमा कम्पनीहरुले हवाई बीमाशुल्क सम्बन्धी ठोस निर्णय गरेमा आफूले समन्वयकारी भुमिका खेल्ने बीमा समितिको भनाइ छ । सबै २० वटै निर्जीवन बीमा कम्पनी तथा पूनर्बीमा कम्पनी मिलेमा केही प्रतिशत रिटेन्सन राख्न सम्भव रहेको सरोकारवालाले बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार विमान संचालकलाई मर्का परेको बीमा कम्पनीहरुलाई थाहा भएपनि बीमाशुल्क हेरफेर हुने सम्भावना न्यून नै छ । ‘विमानल संचालकहरुलाई अहिले ग्राउण्डेड गरेर विमान राख्दा ठूलै आर्थिक नोक्सानी परेको छ, बीमा कम्पनीहरुले बीमाशुल्कमा छुट दिन चाहेपनि यसको प्रक्रिया त्यति सहज छैन, विश्व बीमा बजार नै यसमा सहमत हुनुपर्छ,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । बीमा शुल्क छुट दिन सकिने अवस्था भएमा छुट दिने र नमिलेको अवस्थामा पनि शुल्क बुझाउन अवधि लम्वाएर राहत दिनुपर्ने क्षेत्रीको भनाइ छ । जहाज बीमा छुट दिनुपर्ने आवाज विश्वव्यापी रुपमा उठिरहेको छ । कोरोना भाइरस संक्रम रोक्न विभिन्न देशहरुले जारी गरेको अन्तराष्ट्रिय उडानमाथिको प्रतिबन्द कहिलेसम्म कायम रहने हो भन्ने कुरा पनि जहाज बीमाको शुल्क घटाउने वा अन्य के कस्तो सुविधा र सहुलियत दिने भन्ने यकिन हुने सरोकारवालाको भनाइ छ । बीमा विज्ञ सुकल्याण पराजुली जहाज बीमा शुल्क नेपाली बीमा कम्पनी र नेपाल सरकारको नियन्त्रणको विषय नभएको बताउँछन् । हवाई बीमा शुल्क मोटर बीमा जस्तो सम्पत्ति बीमा अन्तरगत नपरी सम्झौतामा आधारित हुने भएकोले सम्झौतामा उल्लेख गरिएका विषय अनुसार नै बीमा शुल्क छुट हुने नहुने विषय समावेश हुने उनको भनाइ छ । ‘नेपाल एयरलाइन्सले आफ्ना जहाजको बीमा शुल्क मात्रै वार्षिक ८० करोड रुपैयाँको हाराहारीमा तिर्छ, यो बीमा शुल्कमा नेपाली कम्पनीले बढीमा १ प्रतिशत मात्रै रिटेन्सन राखेका हुन्छन्, बाँकी रकम कुनै अर्काे विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गरिन्छ, त्यो पुनर्बीमा कम्पनीले अर्काे पुनर्बीमा गर्दै माकुराको जालो जस्तो गरी पुनर्बीमा भएको हुन्छ, त्यसैले हवाई बीमामा कुनै देशको कम्पनी वा नियामकको भन्दा पनि विश्व बीमा बजारको विषय हो, त्यसैकारण विश्वभरका जहाज कम्पनी र बीमा क्षेत्र यो विषयमा छलफलमै छन्, हाम्रा कम्पनीले भनेर मात्रै हुने विषय होइन, नेपाल सरकारले पनि कुटनीतिक माध्यमबाट यो विषयलाई विश्व बजारमा प्रवेश गराउन भने सक्छ,’ बीमा विज्ञ पराजुलीले भने ।

कीर्तिपुरले कर नबढाउने

काठमाडाैं । कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ । परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७/७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो । प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म ८ करोड ४५ लाख रूपैयाँ मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिए । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौं”, उनले भने । पिसिआर ल्याब स्थापना तयारी त्रिभुवन विश्वविद्यालय परिसरमा लायन्स क्लबले स्थापना गरेको ब्लड बैंकको भवनमा नगरपालिकाले पिसिआर ल्याब स्थापनाको तयारी गरेको छ । त्रिविमा रहेको पिसिआर मेसिन प्रयोग गरी नगरपालिकाले ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले जानकारी दिए। नेपाल सरकारको स्वीकृतिअनुसार ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ बाट नै खर्च हुने गरी आवश्यक उपकरण खरीद गरिएको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डानुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत उपकरण खरीद गरिएको छ । दुई चरणमा नगरपालिकाले उक्त कोषमा १ करोड ५० लाख रूपैयाँ जम्मा गरेको छ भने सहयोगसमेत आइरहेको जनाइएको छ । कोरोनाका विषयमा नगरपालिकाबाट हुने सम्पूर्ण खर्च उक्त कोषबाट गरिँदै हुँदै आएको छ ।  रासस

गुराँस लाइफ इन्स्योरेन्सले असार १४ गतेदेखि हकप्रद निष्काशन गर्दै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी असार १४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । परिस्थिति सहज भएसँगै कम्पनीले पुनः अर्को सुचना जारी उक्त दिनदेखि साउन ४ गतेसम्म १ बराबर १ को अनुपातमा हकप्रदको बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले २०७६ चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर काेभिड-१९ नियन्त्रणकाे लागि लकडाउन भएसँगै स्थिगित भएकाले कम्पनीले नयाँ सूचना मार्फत जानकारी गराएको छ । कम्पनीले फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुका लागि प्रति साधारण सेयर कम्पनीले १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे लागि  फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुले असार १४ गतेदेखि साउन ४ गते बैंकिङ्ग समयभित्र आवेदन दिन सक्ने छन् । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

साेल । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको समाचारमा जनाएको छ । दक्षिण कोरियाले तर पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने पनि जनाएको छ । दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् । सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो ।  शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए । गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३ सय ७३ जना संक्रमित छन् । साथै यहाँका २ सय ८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।   रासस/एएनआई

युएइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

दुबइ । युएइ (दुबइ)ले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । त्यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ । त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ । यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम पनि बनाएको सो समाचारमा जनाइएको छ ।  रासस/एएनआई

चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिए । “विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौं”, उनले भने । नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ । चन्द्रागिरीमा १५ वडा छन् । आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७४ करोड रूपैयाँको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७० करोड रूपैयाँ हाराहारीको वजेट प्रस्तुत गर्दैछ ।   रासस