विकासन्युज

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

कास्की ।  गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आवमा शुरु गर्न ४२ करोड करोड ७५ लाख रुपैयाँ व्यवस्था गरिएको जनाइएको छ । सामुदायिक विद्यालय मध्येबाट छनोट भएका विद्यालयलाई आदर्श विद्यालय र नमूना आवासीय विद्यालयको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । उनका अनुसार गुरुकुल, गुम्बा, मदरसा, भाषिक पाठशाला जस्ता वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गरिएको छ । एमबीबीएसलगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका दलित, अल्पसङ्ख्यक तथा गरिब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको मन्त्री गुरुङले बताए । उच्चशिक्षा अध्ययनरत दलित, अल्पसङ्ख्यक तथा गरिब विद्यार्थीलाई प्रदेश सरकारको आवश्यकताका क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको हाे । शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रलाई रु सात करोड ९५ लाख बजेट व्यवस्था गरिएको मन्त्री गुरुङले बताए ।  रासस

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गरेका हुन् । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । ७ करोड ६१ लाख २४ हजार ५ सय ४३ रूपैयाँ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुने जनाइएको छ । गत जेठ ८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए । आर्थिक वर्ष २०६६/६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपल्ट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख बजेटबाट खार्मीको कालिका माविदेखि तापखोलासम्म स्तरोन्नति गरिएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डमा गत वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख दीपनारायण रिजालले बताए ।  “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभई उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ”, उनले भने, “यो सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिकासँग सहकार्य गरेर नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ ।” दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ ।  रासस

एउटाको गर्भ, अर्कोसँग विवाह

काठमाडाैं । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ । यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताए । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताइन्, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिए”, देवले भने, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।” पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उाीहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिए । प्रनाउ भारतीले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए । बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको बताउनुभयो । ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बोक्सी, बालविवाह, बलात्कार, बहुविवाह, चोरी, लागू औषध, कुटपिटलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताए । अधिवक्ता देवले धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुस गरेको बताएका छन् ।   रासस

स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना

काठमाडाैं । साेमबार विहान स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना भाइरसकाे पुष्टि भएको छ । स्याङ्जामा १२ जना र पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताए । याेसँगै गण्डकी  प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५ सय ४० पुगेकाे छ । स्याङजा कालीगण्डकी गाउँपालिका २ पुरुष, अर्जुनचौपारी गाउँपालिकाका २ महिला र ८ पुरुषमा र  पूर्वी नवलपरसी बौदिकाली गाउँपालिकाका निवासी  ८ पुरुषमा कोरोनामा पोजेटिभ देखिएको हो । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाकाे अस्पतालमा ल्याउने तयारी भइरहेकाे जानकारी दिँदै डा.शर्माले उनीहरू भारतबाट फर्किएका बताएका छन् ।

तेह्र वर्षीया बालिका बेचबिखन गर्ने दुई पक्राउ

काठमाडाैं । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले काममा लगाइदिने भन्दै ललाइफकाई गरी भारत पुर्याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरिएको जानकारी दिए । प्रवक्ता थपलियाले पक्राउ परेका मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पुर्याएको अनुसन्धानमा खुलेको बताए । पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ ।  रासस

‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’

काठमाडाैं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताए । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन माग गर्दै आन्दोलन शुरु गरेका बेला उहाँले चिया उद्योगीको कुनै समस्या भए बोर्ड छलफलका लागि तयार रहेको कार्यकारी निर्देशक भट्टराईले बताएका छन् । उद्योगीले विभिन्न बहाना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको भन्दै किसान आन्दोलित बनेका हुन् । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्ने खालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट भएका हुन् । किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ । उद्योगले नगरले तोकेको न्यूनतम समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले गत मङ्गलबार नगरपालिकामा छ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । किसानले नगरले लागू गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पुर्याएको हरियोपत्तीको मूल्य दिलाउन पहल गर्न, लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् । न्यूनतम समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रूपैयाँ तोकेको छ तर यहाँका उद्योगले किसानलाई प्रतिकिलो २० रूपैयाँदेखि ३० रूपैयाँमात्र दिने गरेका छन् । सूर्योदय टी प्रोड्युसर्स एशोसिएशनमा आबद्ध ६२ उद्योगमध्ये धेरैले किसानको चियाको मूल्य भुक्तान गर्न बाँकी छ । केही उद्योगले प्रतिकिलो २० देखि ३० रूपैयाँको मूल्य नै सार्वजनिक गरेका छन् । कतिपय उद्योगले २० देखि ३० रूपैयाँ नै मूल्य भुक्तान गरिरहेका छन् । हरियोपत्तीको दाम भुक्तान गर्न बाँकी केही उद्योगले चाहिँ ‘समस्या समाधान भएपछि मात्रै भुक्तान गर्ने’ भन्दै भुक्तानी रोकेका छन् । रासस

धेरै मृत्यु हुने देशमध्ये दोस्रो स्थानमा ब्राजिल, मृतककाे संख्या ५० हजारभन्दा बढी

काठमाडाैं । कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन् । संक्रमित व्यक्तिहरूको सङ्ख्या १० लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो  हाल त्यहाँ ५० हजार ६ सय ५९ जनाकाे काेराेना भाइरसबाट मृत्यु भएकाे छ । तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन् । संक्रमित यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६ सय ४१ जनाको मृत्यु भएको जनाएको थियो । त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार ६ सय १७ पुगेको हाे । विगत २४ घण्टामा १७ हजार नयाँ संक्रमित थपिएका छन् । मृतक र संक्रमित हिसाबले संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यहाँ अहिलेसम्म २२ लाख संक्रमणका घटना पुष्टि भएका छन् भने कोभिड-१९ बाट एक लाख २० हजार व्यक्तिले ज्यान गुमाएका छन् । मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ । यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन् । सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन् । ब्राजिलियास्थित संसद्‌ र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन् । संसद्‌ र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ । बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन् ।  (बीबीसीबाट)

संसारभर कोरोना निको हुनेको संख्या ५० लाख नजिक

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ३८ हजार ७ सय ९६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६९ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ भने ४८ लाख ३३ हजार ५ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ५६ हजार ६ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ भने अहिलेसम्म १३ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ७ सय ७२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)