विकासन्युज

दुई घण्टाको काम दुई मिनेटमा !

चिप्लेढुङ्गा । कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए । “हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री बनाउनका लागि ‘नापी पोखरा एसओकेपी’ एप्सको ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ, कोरोना सङ्क्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोेगबाट सेवा लिन थाल्नुभएको छ ।” उनले सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिने काम एप्सबाट भएको बताए । विचौलियालाई रोक्न कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरु एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ । जग्गा प्रशासनको क्षेत्रमा पहिलोपटक शुरु गरिएको सो एप्सले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रण साथै समयको बचत अनि विचौलियाको बिगबिगी रोक्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । “नक्सा लिन दुई घण्टा लाग्ने काम अहिले दुई मिनेटमा हुन थालेको छ, सेवाग्राहीले ‘रिक्वेस्ट’ पठाएर टोकन लिन्छन्, त्यहीअनुसार आफ्नो काम र समय तोकेर सेवा प्रवाह हुन्छ”, उहाँले यसबाट कर्मचारी र सेवाग्राही दुवै लाभान्वित भएको बताए । उनी अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि दुई सयभन्दा बढीलाई सेवा दिइसकेको छ भने अहिले आधाभन्दा बढी काम एप्सबाट हुने गरेको छ । कोभिड–१९ भन्दा अघि एप्सको प्रयोगाभ्यास त्यति हुन नसकेकामा अहिले एप्सको प्रयोग गर्ने बढ्न थालेका छन् । कार्यालयमा बन्दाबन्दी अघि दैनिक दुई सय सेवाग्राही आउने गरेको तथ्याङ्क छ । उनले बन्दाबन्दीमा पनि कार्यालय बन्द नगरी राष्ट्रिय योजनाका कामहरु आन्तरिक रुपमा गरिरहेको जानकारी दिए । एप्सबाट सेवा लिनुभएका पोखराको मेगा बैंकमा कार्यरत कर्मचारी बिमला गुरुङले छिटोछरिटो सेवाका लागि एप्स निकै प्रभावकारी भएको बताए । उनले भने, “ एप्सले कार्यालय गएर घण्टौँ कुरेर बस्नुपर्ने समय बचत भएको छ, अहिले झन् एप्सको प्रयोग उपयुक्त छ ।” उनले अनलाइनमा ‘रिक्वेस्ट’ पठाएलगत्तै सम्पूर्ण विवरणसहितको जानकारी आउने र केही समस्या भएमा कार्यालयबाट फोन गरेर पनि जानकारी दिने गरेकाले सेवा निकै प्रभावकारी भएको बताए ।

लकडाउनमा सरकारले नै उठायो भाडावाल, २४ वर्षदेखिको राजघराना संकटमा

काठमाडौं । विभिन्न समय, कालखण्ड र परिस्थितिहरुको सामना गर्दै २४ वर्ष पार गरेको काठमाडौंको काठमाडौं प्लाजामा अवस्थित राजघराना रेष्टुरेण्ट माथि फेरि एक पटक संकटको अवस्था आइलागेको छ । वि.स २०५२ सालमा भएको माओवादी जनयुद्द, २०६२/६३ मा भएको जनआन्दोलन, २०५८ मा भएको राजदरवार हत्याकाण्ड र २०७२ को विनासकारी भुकम्पको कारण व्यहोर्नु परेको ठूलो क्षति राजघराना रेष्टुरेण्टलाई एकपटक पुनः थपिएको छ । यी विभिन्न कालखण्डहरुले सिर्जित समस्याहरुलाई अवसरका रुपमा लिएर समस्याहरुलाई सामना गर्दै आएको राजघराना रेष्टुरेण्ट अहिले बन्द गर्ने वा निरन्तरता दिने भन्ने विकल्पमा रुम्मलिएको छ । विश्व महामारीको रुपमा फैलिरेहको कोरोना भाइरसको लडाई सँग जुध्न प्रयत्न गरिरहेको बेला राजघराना रेष्टुरेण्ट पनि अहिले आफ्नो जीवन खोज्दै भौतारिहरेको छ । हुनत सरकारले यो महामारीको समयमा आम सर्वसाधारणदेखि ठूला उद्योगी व्यवसायीहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर विभिन्न राहतका निर्णय तथा औपचारिक वक्तव्य पनि राख्दै आएको छ । यो समयमा कसैलाई पनि घरबाट ननिकाल्न र घरवेटीलाई पनि भाडा छुट गर्न सरकारले वक्तव्य राख्दै आएको छ भने सरकार आफैले विभिन्न राहात प्याकेज पनि दिँदै आएको छ । तर, राजघराना रेष्टुरेण्ट जस्ता पाँच दर्जनभन्दा बढी व्यवसायीहरुका लागि भने स्वयम् सरकार नै बाधक बनेर आएको छ । अहिले २४ वर्षदेखि सञ्चालन हुँदै आएको सो रेष्टुरेण्ट बन्द गर्ने वा निरन्तरता दिने भन्ने कुराको दोसाधमा छ । नेपाल सरकारको स्वामित्व रहेको नेपाल ट्रष्टले काठमाडौं प्लाजामा रहेका सबै व्यवसायीहरुलाई तत्काल ठाउँ खाली गर्न निर्देशन दिएसँगै करिब २/३ दशकदेखि व्यापार व्यवसाय गर्दै आएका राजघराना जस्तै ६४ भन्दा बढी व्यवसायीहरु अहिले आतंकित बनेका छन् । राजघराना रेष्टुरेण्टका सञ्चालक शिव के.सी भन्छन्, ‘२४ वर्षको अवधिमा धेरै प्राकृतिक र कृतिम हण्डर/ठक्करहरु खाइयो, तर ती हण्डरहरुले एक खालको अवसर ठानेर अगाडि बढ्दै गयौं, अहिले भने स्वयमं सरकार नै हामीलाई हटाउने पक्षमा छ, अब के गर्ने ?’ यो महामारीको समयमा सरकारले नै कुनै पनि व्यवसायीलाई समस्या पर्ने खालका वातावरण सिर्जना नगर्न भनिरहेको बताएपनि आफुहरुर्लाइ भने स्वयमं सरकारी तवरबाटै विस्थापित गर्न खोजिएको उनको गुनासो छ । प्लाजामा विभिन्न प्रकृतिका व्यवसायहरु छन्, यी व्यवसायले कति रोजगारी सिर्जना गर्छ, यसले सरकारलाई कति लाभ पुग्छ, त्यो कुनै पनि कुरा मुल्याकंन नगरेरै सरकारले आफुहरुलाई हटाउन खोजिएको उनको भनाई छ । सरकारको यो प्रवृतिले आफुहरुलाई थप चिन्तित बनाएको केसीले बताए । सम्झौता जेठ मसान्तसम्मका लागि भएपनि छोड्नु भन्दा ३ महिना अगाडि नै आफुहरुलाई जानकारी गराउनु पर्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको भएपनि जानकारी बिनै एक्कासी हटाउन खोजिएको उनको भनाई छ । ‘यो कोरोना महामारीको बेला सबै व्यवसाय चाैपट नै बनेका छन्, यो समयमा हामीले सरकारले केही भएपनि राहत दिन्छ, थोरै भएपनि खर्च चलाउन सक्ने सोचेको भएपनि उल्टै यताबाट निकाल्न खोजियो, यसले हामीलाई थप चिन्तित बनाएको छ, उनले भने । २४ वर्ष अगाडि नै १ करोडको लगानी राजघराना रेष्टुरेण्ट आजभन्दा २४ वर्ष अगाडि सञ्चालनमा ल्याइएको थियो । राजपरिवारदेखि अन्य भद्र भलाद्मीहरुको खाना खाने मनोरञ्जन गर्ने उचित ठाउँको रुपमा राजघराना रेष्टुरेण्ट परिचित थियो । जसको सुरुमै १ करोडको लगानी गरिएको थियो । अहिले पनि राजघरानामा पुरातात्विक र फ्याम्ली इन्भाइरोमेन्टको व्यवस्था छ । सञ्चालक केसी भन्छन्, ‘पहिले अहिलेको जस्तो वरिपरी यति धेरै रेष्टुरेण्ट थिएनन्, राजघरानाको आफ्नै खालको परिचय थियो र छ पनि, अहिले आएर सरकारी सम्यन्त्रबाट नै अवरोध गर्न खोजिँदैछ ।’ अब यही संरचनाको व्यवस्थापन अन्य ठाउँमा गर्न नसकिने उनको भनाई छ । रेष्टुरेण्टको संरचना अनुसार नै सामानहरु निर्माण गरिएकोले त्यहाँका सामान अन्यत्र सारे पनि ती सामाानहरु त्यहाँ नमिल्ने उनको भनाई छ । यही अनुसारको रेष्टुरेण्ट अन्य ठाउँमा स्थापना गर्दा ५/६ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए । ‘यो रेष्टुरेण्टमा भएको सामान अन्य ठाउँमा व्यवस्थापन गर्न सकिँदैन, यहाँ यही संरचना अनुसारको सामान तयार पारिएको छ, यो रेष्टुरेण्ट बन्द भयो भने करिब ५० जनाको रोजगारी गुम्छ,’ उनले भने । अहिले कोरोना महामारीको कारण धेरै कामदारहरु रेष्टुरेण्टमै बस्ने गरेको उनले बताए । सरकारले रेष्टुरेण्ट हटाए सबैको रोजगारी गुम्ने उनले बताए । गत वर्ष मात्रै कन्सेप्ट डेभ्लपर्ससँग कुरा गरेरै १ करोडको लगानी गरेर रेष्टुरेण्टको थप व्यवस्थापन गरेको उनले बताए । ‘मैले सरकारले यसरी हटाउन खोज्छ भनेर अपेक्षा पनि गरेको थिएनँ, बरु लकडाउनको समयमा भएको क्षति क मगर्न केही राहात देला सोचेको थिएँ, त्यसले पनि रेष्टुरेण्ट सञ्चालन गर्न केही मात्रमा भएपनि रिकोभर गर्न सकिन्छ सोचेको थिएँ, तर उल्टै यताबाट हटाउन खोजियो,’ उनले भने । काठमाडौं प्लाजामा अब महानगर बस्ने नेपाल सरकार अन्तर्गत नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजालाई तत्काल खाली गर्न ट्रष्टले निर्देशन दिइसकेको छ । कन्सेप्ट डेभलपर्ससँग २०५० असार ३ गते २७ वर्षका लागि यो ठाउँ भाडामा दिइएको थियो । सो सम्झौता असार २ गते सकिएसँगै भाडा खाली गर्न निर्देशन दिइएको हो । । लिज सकिएपछि कार्यालयले काठमाडौं महानगरपालिकालाई भाडामा दिएको छ । मासिक करिब ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरि ट्रष्टको बैठकले महानगरलाई लिजमा दिएको बताइएको छ । कम्पनीले २५ वर्षका लागि लिज अवधि थप्न कार्यालयलाई प्रस्ताव गरेपनि नेपाल ट्रष्टले अस्वीकार गरेको हो । यसको मारमा प्लाजामा लामो समयदेखि भाडामा बस्दै आएका व्यवसायीहरु परेका छन् । यो संकटको समयमा उनीहरुलाई एक्कासी ठाउँ खाली गर्न निर्देशन आएसँगै उनीहरुको व्यवसाय पनि संकटमा परेको छ । अहिले उनीहरु व्यवसाय जोगाउन एक समिति गठन गरेर संघर्षमा उत्रिएका छन् । Raj Gharana Restaurant लकडाउनमा सरकारले नै उठायो भाडावाल, २४ वर्षदेखिको राजघराना संकटमा Gepostet von Bikashnews.com am Sonntag, 21. Juni 2020

सर्वगुणी बेसारः महिमा अपार

चितवन । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउँछन् । उनले भने, “बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।” कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उनले बेसारले भाइरसविरुद्ध लड्न केही न केही सहयोग पु¥याउने बताए । बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस(प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । प्रा डा अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी हुने बताउँछन् । यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । उनले भने, “शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।” शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उनले बताए । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन( आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउँछन् । विशेषतः व्याधिक्षमत्व(रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय(रुघा),प्रमेह(मधुमेह), पाण्डु(रक्तअल्पता), व्रण(घाउखटिरा), कृमी(जुका)नाश र सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उनको भनाइ छ । मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फिटेर खानु उत्तम हुने उहाँ सुझाव दिन्छन् । डा अधिकारी भन्छन्, “वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं(आँखासम्बन्धी रोग) जीर्ण व्रण(घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।” कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षणबाट सङ्क्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका र हेमोग्लोबिनको सङ्ख्या घटेको पाइएको छ । यसले गर्दा सङ्क्रमितमा खतराका लक्षण देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो सङ्ख्यामा वृद्धि भएको र खतराका चिह्न पनि नदेखिएको पाइएको उहाँ बताउनुहुन्छ । उनले भने, “कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।” छिमेकी मुलुक भारतले आयुर्वेद र योग तथा चीनले परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस सङ्ख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारी बताउँछन् । उनले भने, “हामीले पनि नेपालमा उपलब्ध हरिद्रार(बेसार), तुलसीलगायत भाइरसविरुद्ध सक्रिय औषधीय गुण भएका एवं गुर्जो, अश्वगन्धालगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडीबुटीको नियमित सेवन, योग, प्राणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने जिकिर गर्छन् । मानिसमा रोगप्रतिरोधी क्षमता बढाउन बेसार उपयोगी हुने उनको भनाइ छ । छाला र रुघाखोकीको समस्या हटाउन तथा रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगिता बढी भएको डा पण्डितको भनाइ छ । परापूर्वकालमा मसलाका रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यका लागि हुँदै आयुर्वेद औषधिका रुपमा प्रयोग हुन थालेको उनको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरि पनि बेसारले सङ्क्रमणलाई कम गर्न सहयोग पुग्ने जिकिर गर्नुहुन्छ । यसले चिसोबाट हुने सङ्क्रमण रोक्ने काममा भूमिका खेल्ने उनको भनाइ छ ।

सेयर बजार बन्धक बनाएर करोडौं कुम्ल्याउने दाऊ, अर्थमन्त्रीमाथि पनि हावी हुने व्यक्ति को हो ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको चैत ११ गतेदेखि नेपाली सेयर बजार बन्द छ । सरकारले लकडाउन खुकुलो पारेपछि सामान्य चिया पसलसमेत खुलिसक्दा पनि दैनिक अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने बजार अनिश्चित कालको लागि बन्द भएको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले बजार बन्द गर्नुका पछाडि दुईटा कारण देखाएको छ । एउटा कारण, कनेक्ट आइपीएसबाट दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने भएकोले यो सीमा नेपाल राष्ट्र बैंकले हटाइदिएपछि मात्रै बजार खोल्न सकिन्छ । अर्काे, सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्नेमा अन्योल छ, अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम हो भनेर स्पष्ट पारेपछि लगानीकर्ता सेयर कारोबार गर्न तयार हुन्छन्, अनिमात्र बजार खोल्न सकिन्छ । धितोपत्र बोर्डले सार्वजनिक रुपमा देखाएका यी कारण सेयर बजार बन्द गर्नुपर्ने तहका छैनन् । किनभने दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने कनेक्ट आइपीएसको व्यवस्था र पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने अन्योलले मात्रै बजार खोल्न नसकिने होइन भन्ने सरोकारवालाको दाबी छ । एक व्यक्तिले दैनिक १० लाख रुपैयाँसम्मको कारोबार गर्ने सीमा भनेको अहिलेको नेपाली बजारका लागि पर्याप्त रहेको लगानीकर्ता बताउँछन् । १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको लागि पनि अहिले कुनै समस्या नभएको ब्रोकरको भनाई छ । ‘दैनिक १० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच गर्ने व्यक्ति सामान्यतः हामीले चिनेकै हुन्छन्, उनीहरुसँग सो परिमाणको सेयर किनबेचको अर्डर स्वीकार गर्ने कि नगर्ने भन्ने हामीले सजिलै निक्र्योल गर्न सक्छौं, र १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिले चेक लिन आऊ भनेर हामीलाई भन्छ भने काठमाडौं उपत्यकाको कुनै पनि ठाउँमा कर्मचारी पठाएर चेक ल्याउने व्यवस्था मिलाउँछौं, त्यसैले दैनिक १० लाख रुपैयाँसम्मको मात्रै भुक्तानी गर्न सकिने सीमाको कारण असजिलो भएर बजार बन्द गरियो भन्ने तर्क मलाई त सुन्दै हाँसो लाग्छ,’ एक ब्रोकरले भने । अब पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने ‘अन्योल’को कुरा गरौं । यो विषय उठेको लकडाउनको बीचमा मात्रै होइन । विगतदेखि नै चल्दै आएको यो वहसले अहिले बजार बन्द गर्ने अवस्थामा पुर्याएकै छैन । र, अहिले बजार बन्द भएको पनि पुँजीगत लाभकरको अन्योलताको कारण होइन । बजारमा लगानीकर्ताको विश्वास बृद्धि गर्न अस्पष्ट भएका विषय प्रष्ट पार्दै जाऔं भन्ने लगानीकर्ताको माग हो । पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने दुविधा बजार खुलाएर पनि प्रष्ट पार्न सकिन्छ । अर्थमन्त्री रमिते पुँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर आलोचना गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडा बजारलाई बन्दक बनाउने अहिलेको खेलमा रमिते बनेका छन् । धितोपत्र बोर्डले सार्वजनिक रुपमा बताएका दुबै समस्या समाधान गर्ने सबैभन्दा माथिल्लो जिम्मेवारीमा अर्थमन्त्री खतिवडा नै छन् । बोर्डले भनेको कनेक्ट आइपिएसबाट दैनिक १० लाख रुपैयाँ मात्रै भुक्तानी हुने अहिलेको व्यवस्था नै बजार खुल्ला गर्नको लागि बाधक हो भने अर्थमन्त्री डा. खतिवडाले नेपाल राष्ट्र बैंकलाई भनेर सो सीमा हटाउने व्यवस्था गराउन सक्थे । एउटा बैंकको एउटा खातावालाको पैसा बैंककै अर्काे खातावालकोमा जाने व्यवस्था रहेको कनेक्ट आइपिएसको भुक्तानीमा सीमा तोकेर अनावश्यक झन्झट कायम राखिरहनु पर्ने नै थिएन । अर्थमन्त्री खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई एक कल फोन गरे मात्रै पनि यो सीमा हटाउन काफी हुन्छ । र, गभर्नरले सम्बन्धित विभागको कार्यकारी निर्देशकलाई तत्काल निर्देशन दिन सक्छन् । यो समस्या समाधान गर्न एक घण्टा पनि समय नलाग्नु पर्ने हो । तर, सरोकारवाला भने कनेक्ट आइपिएसबाट १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइने सीमा नै बजार खोल्नको लागि बाधक हो भनेर स्वीकार गर्न तयार छैनन् । पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर प्रष्ट पार्ने काम पनि अर्थमन्त्रालय अन्तरगतकै निकायको हो । नेपालको कर कानुनले कर ऐनमा भएका व्यवस्थाको व्याख्या गर्ने अधिकार सम्बन्धित विभागको महानिर्देशकलाई दिएको छ । भन्सार महसुल सम्बन्धी विषयमा कुनै अस्पष्टता वा दुविधा भयो भने भन्सार विभागको महानिर्देशकले र आयकर तथा पुँजीगत लाभकर सम्बन्धी विषयमा कुनै दुविधा उत्पन्न भयो भने त्यसको व्याख्या आन्तरिक राजस्व विभागका महानिर्देशकले गर्ने व्यवस्था कानुनमै छ । त्यसैले पुँजीगत लाभकरको विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशकले एक घण्टा पनि समय नलगाई स्पष्ट पार्न सक्छन् । समस्या समाधान गर्न साँच्चिकै तयार हुने भने एक घण्टा पनि समय नलाग्ने विषयलाई देखाएर ३ महिनादेखि बजार बन्द हुनसक्नु भनेको अर्थमन्त्री रमित बनेकैले हो । यसमा अर्थमन्त्री डा. खतिवडालाई मनको बाघले खाएको आभाष मिलेको लगानीकर्ता बताउँछन् । गैरसांसदको रुपमा फागुन तेस्रो सातादेखि अर्थमन्त्री पदमा बहाल रहेका डा. खतिवडालाई आफ्नो पद जोगाईराख्न भदौ तेस्रो साताभित्रमा सांसद बनिसक्नुपर्छ । सत्तारुढ नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्रीलाई भनिसकेकोले उनले पार्टीको विश्वास पाएका छैनन् । भलै, प्रधानमन्त्री केपी शर्मा ओली दाहिना भएकोले मात्रै डा खतिवडा अर्थमन्त्री पदमा बहाल छन् । सेयर बजार धेरै घट्यो भने आफूविरुद्ध अर्काे नकारात्मक अंक थपिने आकलन अर्थमन्त्रीको छ । ‘बजार खुल्यो भने सेयरको मूल्य घट्छ, सेयर बजार घटेपछि आफूविरुद्ध नाराबाजी र मोर्चाबन्दी हुन्छ, त्यो मोर्चाबन्दी र नाराबाजीले मेरो पद धरापमा पर्छ भन्ने त्रास अर्थमन्त्रीमा देखिएको छ,’ एक लगानीकर्ताले भने । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । अर्थमन्त्री तर्सिए जस्तै गरी बजार धेरै घट्ने सम्भावना पनि कम छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । बैंकको व्याज घट्दो क्रममा छ । भन्सार महसुल बढेको कारण सुन महंगिएको छ । लगानीका अन्य क्षेत्र प्रायः सबै बन्द छन् । यस्तो बेलामा घर बसेर लगानी गर्न पाइने क्षेत्र भनेको सेयर बजार मात्रै हो । र, संसारका धेरै देशमा सेयर बजारले गति लिदै गरेको पछिल्लो अवस्था पनि देखिएको छ । अर्कै छ प्रपञ्च सेयर बजार बन्दक बनाएर अनुचित लाभ लिन ठूलै योजना तयार भएको स्रोतको दाबी छ । यो योजना कार्यान्वयन गर्नको लागि नेपाली बजार जस्तै संसारभरको इक्वीटी क्यास डेलिभरी प्रणालीमा लागू नभएको रियल टाइम सेटलमेन्ट अर्थात ‘टी प्लस जेरो’ प्रणालीको विषय उठाइएको छ । ‘संसारको सबैभन्दा विकसित र पुँजीबादी देश भनिने अमेरिकामा हाम्रो जस्तो इक्वीटी क्यास डेलिभरीमा २ दिन (टी प्लस टू) मा सेटलमेन्ट हुन्छ, हाम्रोमा रियल टाइम सेटलमेन्ट (टी प्लस जेरो) लागू गर्ने कुरा किन आयो ? यसको पछाडिको कारण खोज्ने हो भने सेयर बजार किन बन्द भइरहेको छ भन्ने प्रश्नको जवाफ भेटिन्छ,’ अर्का एक लगानीकर्ताले भने । ती लगानीकर्ताको शंका पुष्टी गर्ने केही गतिविधि पनि देखिएको छ । जस्तो कि सरकारले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । सो निर्णय गर्दा कोरोेना भाइरस संक्रमण रोक्न सावधानी अपनाउँदै सेयर बजार पनि खोल्ने प्रस्ताव अर्थमन्त्रालयबाट मन्त्रिपरिषदमा गएको स्रोतको दाबी छ । तर, मन्त्रिपरिषदबाट निर्णय भएर आउँदा सहकारी संस्था खोल्ने भनियो, सेयर बजार खुल्ला गर्ने विषय समावेश भएन । त्यसैले अर्थमन्त्रीभन्दा पनि माथि कसैले सेयर बजारका बारेमा केही योजना बनाइरहेकोे शंकालाई बल मिलेको छ । अर्थमन्त्री डा. खतिवडाले सेयरको अनलाइन कारोबारमा बेग्लै कम्पनी आवश्यक भएको आशय धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई गरेको सम्बोधनमा समावेश गरेका थिए । सो सम्बोधनमा उनले अनलाइन कारोबारमा बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गर्न अहिलेको संरचना बाधक भए छुट्टै कम्पनी स्थापना गरेर भएपनि अघि बढ्नुपर्ने बताएका थिए । अर्थमन्त्री खतिवडाले यस्तो आशय व्यक्त गर्ने वित्तिकै धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि रियल टाइम सेटलमेन्टको लागि तयार रहन सरोकारवाला सबैलाई निर्देशन जारी गरेको छ । बोर्डको यस्तो निर्देशनपछि रियल टाइम सेटलमेन्टको काम अहिलेको संरचनाबाट नहुने भन्दै बेग्लै सिस्टम बनाउने तयारी भएको स्रोतको दाबी छ । यसमा सिडिएसमा काम गरिसकेका एकजना व्यक्तिको समेत संलग्नतामा नेपालकै सबैभन्दा प्रभावकारी भनिने एक भुक्तानी सेवा प्रदायक कम्पनीकाे माउ कम्पनी, भारतीय ब्रोकरलाई सफ्टवयर प्रदान गर्ने भनिएको एक भारतीय सफ्टवयर कम्पनीको नेपाली एजेन्ट र एक श्रीलंकाली सफ्टवयर कम्पनीको नेपाली एजेन्ट दौडधुपमा रहेको बताइएको छ । यसरी रियल टाइम सेटलमेन्टको लागि बेग्लै सिस्टम बनेर लागू भएमा त्यस्तो सिस्टम बनाउनेले करोडौं रुपैयाँ आम्दानी गर्ने सरोकारवालाले बताए ।

महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत उनीहरुलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए । यसका लागि प्रदेश सरकारले रु ६ लाख ७५ हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर गिरीले बताउनु भयो । अध्यक्ष भण्डारीले भने, “ रकमले उनीहरु उत्साहित छन् । स्वयम्सेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । जुनसुकै अवस्थामा स्वास्थ्य स्वयम्सेविका खटिने गर्छन् तर सेवासुविधा पाउन सकिरहेका छैनन् । स्वास्थ्य स्वयम्सेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको हो ।” भत्ता पाउँदा घरायसी खर्च जुटाउन सजिलो भएको वडा नं ३ का महिला स्वास्थ्य स्वयम्सेविका धनलक्ष्मी कठायत (महताराको) भनाइ छ । स्वयम्सेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिँदै आइरहेका छन् । रासस

विद्यार्थी र शिक्षकलाई लक्षित गर्दै भायानेटले ल्यायो हाई स्पीडको प्याकेज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले ई-लर्निङ्ग र टिभीप्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो । भायानेटको नयाँ ई-लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म दोब्बर गर्न सक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुन्छ । यस प्याकेजमा ‘फोकस मोड’ विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश छन् । ‘फोकस मोड’ विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्छ । यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आफ्नो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ । यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन् । ई-लर्निङ्ग प्याकेज प्रति महिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध छ ।

काेराेना महामारीको जोखिममा समेत घटेन महिला हिंसा

काठमाडाैं । कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेयता सात वर्षीया बालिकादेखि क्वारेन्टाइनमा बसेकी महिलासमेत बलात्कारको शिकार भएका छन् । यस्ता अमानवीय घटना बढ्नुले महामारीजस्तो विपद्मा पनि महिलाहरु झन् आपतमा परेको देखिएको छ । गत जेठ ३२ गते शनिबार राति कैलालीस्थित लम्कीचुहा नगरपालिका वडा नं १ स्थित शहीदस्मारक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकी ३१ वर्षीया महिलामाथि सामूहिक बलात्कार भयो । महामारीबाट बाँच्न आफ्नो थातथलो सम्झेर भारतबाट आएर जेठ २० गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी उनीमाथि क्वारेन्टिनमै यस्तो जघन्य अपराध भयो । यसमा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी किशोर परियार र स्वयंसेवकहरु लक्ष्मण विक र सर्जन विकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । पर्साको ठोरी गाउँपालिकास्थित स्याउली बस्तीमा आफ्नै ११ वर्षीय छोरीलाई ४५ वर्षीय बाबुले गत आइतबार बलात्कार गरेका छन् । आफ्नै बाबुले मदिरा सेवन गरी बलात्कार गरेपछि बालिका चिच्याएको आवाज सुनेर छिमेकी र आफन्तले बालिकाको उद्धार गरेका थिए । बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । मदिराको नशामा बाबुले आफूलाई पटकपटक बलात्कार गरेको बालिकाको भनाई छ । कैलालीको गौरीगंगा नगरपालिका–४, मा ७ वर्षिया बालिकालाई दुईसाता अघि ८० वर्षीय बालाराम सुवेदीले बलात्कार गरे । बलात्कार गरेको आरोप लागेका ८० वर्षीय सुवेदीलाई जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । पीडकको उमेरको अवस्था हेर्दा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको र प्रमाणहरु पर्याप्त नभएको उल्लेख गर्दै धरौटीमा छाड्ने आदेश गरेको छ । तर यौनजन्य अपराधसम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनमा बालिकाको यौनीमा यौनजन्य पदार्थ थुप्रिएको र योनी च्यातिएको भन्ने उल्लेख रहेको बताइएको छ । गतसाता कैलालीमा १४ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भइन् । बलात्कारमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । माथिका यी चार घटना प्रतिनिधि घटना मात्र होइन कोभिड १९ को जोखिमपूर्ण अवस्थामा भएका गम्भीर प्रकृृतिका अपराध हुन् । बन्दाबन्दीका अवस्थामा परिवारसँगै भएका बेला होस् वा संरक्षित स्थानमै पनि यस्ता बलात्कारका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२) भित्र देशभर महिला बालबालिका विरुद्ध १ हजार ९ सय ४६ वटा आपराधिक घटना भएका छन् । यस अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना र त्यसपछि घरेलु हिंसाका घटना भएका छन् । यस अवधिमा १ हजार १ सय ५५ जनाले झुण्डिएर र विष खाएर १ सय ९६ ले आत्महत्या गरेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग १ सय ६६, कर्तव्य ज्यान १ सयओटा घटना भएका छन् भने हाम फालेर १० जनाको मृत्यु भएको छ । त्यस्तै यस अवधिमा जवर्जस्ती करणी ३ सय ७३, बालयौन दुराचार ४६, बोक्सीको आरोप नौ, विद्युतीय कसुर तथा साइवर अपराध १०, मानव बेचविखन तथा ओसारपसार नौ, बहुविवाह ३४ र बालविवाहका नौ घटना भएका छन् । बन्दाबन्दीको अवस्थामा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । “बन्दाबन्दीको अवधिमा पनि बलात्कार, महिला हिंसाजस्ता घटना बढ्नुले राज्यको सुरक्षा प्रबन्ध कमजोर छ, एउटी चेलीको सामूहिक रुपमा अस्मिता लुट्ने जस्ता जघन्य अपराधिक कार्यले प्रश्रय पाएको छ” मानव अधिकारकर्मी चरण प्रसाईँले भने,“ “क्वारेन्टाइनको व्यवस्थापन अत्यन्त कमजोर भएको, कहीँ खुल्ला चउरमा सुत्नुपर्ने, कतै चुकुल नभएको ढोकाहरु भएको, एउटै कोठामा धेरै जनालाई राख्ने गरिएको, एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको, खाना तथा शुद्ध पिउने पानीको अभाव रहेको, यौैन हिंसा हुने गरेको अवस्था छ भने महिला तथा वालिकाहरु उच्च जोखिममा रहेका छन् ।” बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा मानवका आधारभूत अधिकार पनि सङ्कटमा परेको मानवअधिकार अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बन्दाबन्दीका अवधिमा महिला हिंसा र आत्महत्या बढेको, सुत्केरी, गर्भवती, शारीरिक रुपमा अशक्त र जातीय छुवाछुतका कारण छ जनाको ज्यान जानेजस्तो जघन्य अपराधको घटना भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यो अवधिमा ६० सुत्केरीको मृत्यु भएको छ भने अन्तरजातीय प्रेमसम्बन्धका कारण छ जनाको मृत्यु भएको जनाएको छ । आयोगले बन्दाबन्दी प्रारम्भ भएदेखि यही जेठ १० गतेसम्म ‘बन्दाबन्दीको ६० दिन’ का अवधिमा देशभर गरिएको अनुगमनमा आधारित मानवअधिकार प्रतिवेदनले गत जेठ २९ गते आयोगका अध्यक्ष अनुपराज शर्माबाट सार्वजनिक भएको थियो । “बन्दाबन्दीका अवधिमा महिला हिंसाको घटना बढेका छन्” अध्यक्ष शर्माले भने, “कोरोना भाइरसबाट बचाउन बनाइएका क्वारेन्टिन शौचालय अभाव, सामाजिक दुरीको अभाव तथा दलित र गैरदलितका समस्या भएको पाइएको छ ।” महामारीको विषम परिस्थितिमा समेत मानवअधिकारको अवस्था चूनौतीपूर्ण घडीमा रहेकाले स्थानीय तहको भूमिका सशक्त हुनुपर्ने भएपनि बजेटको अभावका कारण काम गर्न नसकेको बताइएको छ । आयोगले बन्दाबन्दीमा कोरोना भाइरसको जोखिमका बेलामा नागरिकको मानवअधिकार संरक्षण गर्न आयोगका सदस्य गोविन्द शर्मा पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङकअनुसार (शुक्रबार दिउसोसम्म) कोरोना भाइरसको सङ्क्रमणका कारण २२ नेपालीले ज्यान गुमाइसकेका छन । ७ हजार ९ सय ४ जना सङ्क्रमित छन् । तीमध्ये १ हजार १ सय ८६ निको भएर घर फर्किएका छन् । यसरी नेपालमा प्रतिदिन सङ्क्रमण बढ्दै गएको छ भने अर्कातर्फ योसँगै यस्तो जोखिमको बेलामा पनि हिंसाका घटना बढ्दै जानु झनै दुःखद छ । सर्वोच्च अदालतले गत २७ जेठ गते बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गर्यो । न्यायाधीशहरु डा।आनन्दमोहन भट्राई र सुष्मालता माथेमाको संयुक्त इजलासले कोरोना भाइरसको महामारीका बेलामा खाशगरी सुत्केरी, गर्भवती र स–साना बालबालिकाको अवस्था बारेमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक माहाकारीका समयमा जोखिममा परेको उल्लेख गर्दै अधिवक्ता रोशनी पौडेललगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइमा अदालतले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य परीक्षणमा पनि विशेष ध्यान दिन भनेको छ । आदेशमा नाबालक शिशु र बालबालिकालाई दिनुपर्ने खोप नियमित गर्न र नेपालको संविधानले सुरक्षित मातृत्व र प्रजनन् अधिकारलाई महिलाको हकको रुपमा प्रत्याभूत गरेको उल्लेख छ । सीमा प्रवेश गर्दादेखि नै क्वारेन्टाइन वा आइसोलेसनमा रहँदासम्म महिलाको विशेष सुरक्षा गर्न, क्वारेन्टाइनमा रहेका महिलालाई सुरक्षाका साथ अलग राखी विशेष हेरचाहको व्यवस्था गर्न र बन्दाबन्दीका बेलामा घरेलु हिंसा भएमा सम्बोधन गरी उजुरी दर्ता तथा कानूनी उपचारको बाटो प्रभावित नगर्न भनिएको छ । सर्वोच्च अदालतले क्वारेन्टाइनलाई व्यवस्थित गर्न र त्यहाँ रहेकालाई कोरोना भाइरसको पिसिआर अनिवार्य परीक्षण गर्न समेत आदेश जारी गरेको थियो । बन्दाबन्दीका बेलामा महामारीबाट बच्न अदालतले दिएको आदेश कायान्वयनमा भने कमजोर अवस्था रहेको देखिन्छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पार्वत गुरुङले महिलाहिंसाजन्य घटना भएमा तत्कालै उद्धार गर्ने काम गरिरहेको बताए । “महिला हिंसा घटना हुने बित्तिकै प्रहरीलाई खबर गरेर उद्धार गर्ने काम मन्त्रालयमार्फत भइरहेको छ, अहिलेसम्म धेरैको उद्धार पनि गरिएको छ”, मन्त्री गुरुङले भने, “पुनस्र्थापन गर्नुपर्ने अवस्थामा भएमा त्यसमा पनि काम गरिरहेका छाैं, यस्ता घटना न्यूनीकरणका लागि पूर्ण रुपमा प्रयास गरिरहेका छौँ ।” मानवअधिकार आयोगले कोरोना भाइरस र बन्दाबन्दीको अवधिको अनुगमनबाट प्राप्त तथ्यका आधारमा सरकारलाई कार्यान्वयनका लागि २२ बुँदे सिफारिश गरेको छ । “बन्दाबन्दीकोे अवधिमा हुन सक्ने लैङ्गिक हिंसा रोकथाम र न्युनीकरणका लागि प्रभावकारी कदम चाल्न, घरेलु हिंसाको रोकथाम र यसबाट बच्न आवश्यक उपाय अवलम्बन गरी महिलालाई हिंसाबाट बचाउनुपर्छ” सिफारिश पत्रमा भनिएको छ, “क्वारेन्टीनमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक सेवा सुविधा तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउनु बन्दाबन्दीकोे अवधिमा राहत वितरणमा देखिएका समस्याको उचित व्यवस्थापन गर्नु ।” अपाङ्ग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्वासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्याउन पनि सो सिफारिश पत्रमा भनिएको छ । बन्दाबन्दीको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टीनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सिमानामा आई लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानवअधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय गर्न भनिएको छ । महामारीको अवस्थामा पनि बलात्कार, महिलामाथि कुटपीटलगायत घटना भइरहेको हुँदा महिलाहरु अझबढी जोखिममा परेको देखिएकोले सरकारका सम्बद्ध निकायहरुले यसतर्फ बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ ।   रासस

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब

ओक्लाहोमा । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरे । स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् । ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भने, “हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।” उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए । उक्त अवसरमा उनले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन् । उनको अभियानमा सहभागी हजारौं शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् । आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने । “जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक सङ्क्रमित भएको भेटिनेछ, “त्यसैले मैैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौं तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ ।” ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (२ करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो ।चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।” अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६ सय ६२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १ लाख १९ हजार ७ सय १९सङ्क्रमितको मृत्यु भएको छ ।  रासस/एएन्आई