काठमाडौं । विभिन्न समय, कालखण्ड र परिस्थितिहरुको सामना गर्दै २४ वर्ष पार गरेको काठमाडौंको काठमाडौं प्लाजामा अवस्थित राजघराना रेष्टुरेण्ट माथि फेरि एक पटक संकटको अवस्था आइलागेको छ । वि.स २०५२ सालमा भएको माओवादी जनयुद्द, २०६२/६३ मा भएको जनआन्दोलन, २०५८ मा भएको राजदरवार हत्याकाण्ड र २०७२ को विनासकारी भुकम्पको कारण व्यहोर्नु परेको ठूलो क्षति राजघराना रेष्टुरेण्टलाई एकपटक पुनः थपिएको छ ।
यी विभिन्न कालखण्डहरुले सिर्जित समस्याहरुलाई अवसरका रुपमा लिएर समस्याहरुलाई सामना गर्दै आएको राजघराना रेष्टुरेण्ट अहिले बन्द गर्ने वा निरन्तरता दिने भन्ने विकल्पमा रुम्मलिएको छ । विश्व महामारीको रुपमा फैलिरेहको कोरोना भाइरसको लडाई सँग जुध्न प्रयत्न गरिरहेको बेला राजघराना रेष्टुरेण्ट पनि अहिले आफ्नो जीवन खोज्दै भौतारिहरेको छ ।
हुनत सरकारले यो महामारीको समयमा आम सर्वसाधारणदेखि ठूला उद्योगी व्यवसायीहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर विभिन्न राहतका निर्णय तथा औपचारिक वक्तव्य पनि राख्दै आएको छ । यो समयमा कसैलाई पनि घरबाट ननिकाल्न र घरवेटीलाई पनि भाडा छुट गर्न सरकारले वक्तव्य राख्दै आएको छ भने सरकार आफैले विभिन्न राहात प्याकेज पनि दिँदै आएको छ ।
तर, राजघराना रेष्टुरेण्ट जस्ता पाँच दर्जनभन्दा बढी व्यवसायीहरुका लागि भने स्वयम् सरकार नै बाधक बनेर आएको छ । अहिले २४ वर्षदेखि सञ्चालन हुँदै आएको सो रेष्टुरेण्ट बन्द गर्ने वा निरन्तरता दिने भन्ने कुराको दोसाधमा छ । नेपाल सरकारको स्वामित्व रहेको नेपाल ट्रष्टले काठमाडौं प्लाजामा रहेका सबै व्यवसायीहरुलाई तत्काल ठाउँ खाली गर्न निर्देशन दिएसँगै करिब २/३ दशकदेखि व्यापार व्यवसाय गर्दै आएका राजघराना जस्तै ६४ भन्दा बढी व्यवसायीहरु अहिले आतंकित बनेका छन् ।
राजघराना रेष्टुरेण्टका सञ्चालक शिव के.सी भन्छन्, ‘२४ वर्षको अवधिमा धेरै प्राकृतिक र कृतिम हण्डर/ठक्करहरु खाइयो, तर ती हण्डरहरुले एक खालको अवसर ठानेर अगाडि बढ्दै गयौं, अहिले भने स्वयमं सरकार नै हामीलाई हटाउने पक्षमा छ, अब के गर्ने ?’
यो महामारीको समयमा सरकारले नै कुनै पनि व्यवसायीलाई समस्या पर्ने खालका वातावरण सिर्जना नगर्न भनिरहेको बताएपनि आफुहरुर्लाइ भने स्वयमं सरकारी तवरबाटै विस्थापित गर्न खोजिएको उनको गुनासो छ । प्लाजामा विभिन्न प्रकृतिका व्यवसायहरु छन्, यी व्यवसायले कति रोजगारी सिर्जना गर्छ, यसले सरकारलाई कति लाभ पुग्छ, त्यो कुनै पनि कुरा मुल्याकंन नगरेरै सरकारले आफुहरुलाई हटाउन खोजिएको उनको भनाई छ ।
सरकारको यो प्रवृतिले आफुहरुलाई थप चिन्तित बनाएको केसीले बताए । सम्झौता जेठ मसान्तसम्मका लागि भएपनि छोड्नु भन्दा ३ महिना अगाडि नै आफुहरुलाई जानकारी गराउनु पर्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको भएपनि जानकारी बिनै एक्कासी हटाउन खोजिएको उनको भनाई छ ।
‘यो कोरोना महामारीको बेला सबै व्यवसाय चाैपट नै बनेका छन्, यो समयमा हामीले सरकारले केही भएपनि राहत दिन्छ, थोरै भएपनि खर्च चलाउन सक्ने सोचेको भएपनि उल्टै यताबाट निकाल्न खोजियो, यसले हामीलाई थप चिन्तित बनाएको छ, उनले भने ।
२४ वर्ष अगाडि नै १ करोडको लगानी
राजघराना रेष्टुरेण्ट आजभन्दा २४ वर्ष अगाडि सञ्चालनमा ल्याइएको थियो । राजपरिवारदेखि अन्य भद्र भलाद्मीहरुको खाना खाने मनोरञ्जन गर्ने उचित ठाउँको रुपमा राजघराना रेष्टुरेण्ट परिचित थियो । जसको सुरुमै १ करोडको लगानी गरिएको थियो । अहिले पनि राजघरानामा पुरातात्विक र फ्याम्ली इन्भाइरोमेन्टको व्यवस्था छ ।
सञ्चालक केसी भन्छन्, ‘पहिले अहिलेको जस्तो वरिपरी यति धेरै रेष्टुरेण्ट थिएनन्, राजघरानाको आफ्नै खालको परिचय थियो र छ पनि, अहिले आएर सरकारी सम्यन्त्रबाट नै अवरोध गर्न खोजिँदैछ ।’
अब यही संरचनाको व्यवस्थापन अन्य ठाउँमा गर्न नसकिने उनको भनाई छ । रेष्टुरेण्टको संरचना अनुसार नै सामानहरु निर्माण गरिएकोले त्यहाँका सामान अन्यत्र सारे पनि ती सामाानहरु त्यहाँ नमिल्ने उनको भनाई छ । यही अनुसारको रेष्टुरेण्ट अन्य ठाउँमा स्थापना गर्दा ५/६ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए ।
‘यो रेष्टुरेण्टमा भएको सामान अन्य ठाउँमा व्यवस्थापन गर्न सकिँदैन, यहाँ यही संरचना अनुसारको सामान तयार पारिएको छ, यो रेष्टुरेण्ट बन्द भयो भने करिब ५० जनाको रोजगारी गुम्छ,’ उनले भने ।
अहिले कोरोना महामारीको कारण धेरै कामदारहरु रेष्टुरेण्टमै बस्ने गरेको उनले बताए । सरकारले रेष्टुरेण्ट हटाए सबैको रोजगारी गुम्ने उनले बताए । गत वर्ष मात्रै कन्सेप्ट डेभ्लपर्ससँग कुरा गरेरै १ करोडको लगानी गरेर रेष्टुरेण्टको थप व्यवस्थापन गरेको उनले बताए । ‘मैले सरकारले यसरी हटाउन खोज्छ भनेर अपेक्षा पनि गरेको थिएनँ, बरु लकडाउनको समयमा भएको क्षति क मगर्न केही राहात देला सोचेको थिएँ, त्यसले पनि रेष्टुरेण्ट सञ्चालन गर्न केही मात्रमा भएपनि रिकोभर गर्न सकिन्छ सोचेको थिएँ, तर उल्टै यताबाट हटाउन खोजियो,’ उनले भने ।
काठमाडौं प्लाजामा अब महानगर बस्ने
नेपाल सरकार अन्तर्गत नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजालाई तत्काल खाली गर्न ट्रष्टले निर्देशन दिइसकेको छ । कन्सेप्ट डेभलपर्ससँग २०५० असार ३ गते २७ वर्षका लागि यो ठाउँ भाडामा दिइएको थियो । सो सम्झौता असार २ गते सकिएसँगै भाडा खाली गर्न निर्देशन दिइएको हो ।
। लिज सकिएपछि कार्यालयले काठमाडौं महानगरपालिकालाई भाडामा दिएको छ । मासिक करिब ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरि ट्रष्टको बैठकले महानगरलाई लिजमा दिएको बताइएको छ ।
कम्पनीले २५ वर्षका लागि लिज अवधि थप्न कार्यालयलाई प्रस्ताव गरेपनि नेपाल ट्रष्टले अस्वीकार गरेको हो । यसको मारमा प्लाजामा लामो समयदेखि भाडामा बस्दै आएका व्यवसायीहरु परेका छन् । यो संकटको समयमा उनीहरुलाई एक्कासी ठाउँ खाली गर्न निर्देशन आएसँगै उनीहरुको व्यवसाय पनि संकटमा परेको छ । अहिले उनीहरु व्यवसाय जोगाउन एक समिति गठन गरेर संघर्षमा उत्रिएका छन् ।
लकडाउनमा सरकारले नै उठायो भाडावाल, २४ वर्षदेखिको राजघराना संकटमा
Gepostet von Bikashnews.com am Sonntag, 21. Juni 2020