विकासन्युज

सूचना तथा प्रविधिमैत्री शैक्षिक कार्यक्रम ल्याउँदै स्थानीय तह

काठमाडाैं । कैलालीको दक्षिणपूर्वी क्षेत्रका स्थानीय तह आगामी आर्थिक वर्षको शिक्षा नीति सूचनामैत्री बनाउने छलफलमा जुटेका छन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि लामो समय विद्यालय बन्द भएकाले विद्यालय सूचनामैत्री हुनुपर्ने महसुुस भएको उनीहरु बताउँछन् । सरकारले अनलाइन अध्यापन शुरु गर्न निर्देशन दिएको छ तर यहाँका विद्यालय सूचना तथा प्रविधिमैत्री नभएका कारण समस्या भएकाले आगामी वर्षका योजना छनोट गर्दा ध्यान दिने उनीहरुको भनाइ छ । जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षबाट लागू हुने गरी पाँच वर्षे गाउँ शिक्षा योजना बनाउने तयारी गरेको छ । जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख सङ्ग्रामसिंह धामी विद्यालय प्रविधिमैत्री नहुँदा समस्या भएकाले विद्यालयलाई प्रविधिमैत्री बनाउने बताए । “अब हामी पाँच वर्षपछि शैक्षिक दृष्टिकोणले जोशीपुर कस्तो बनाउने भनी छलफलमा छौं, दीर्घकालीन सोच राखेर योजना तथा कार्यक्रम ल्याउन थालेका छौं ।” जोशीपुर गाउँपालिकामा सामुदायिक २३ र संस्थागत १७ विद्यालय छन् । जोशीपुरजस्तै जानकी गाउँपालिकाले पनि आगामी वर्ष शिक्षा क्षेत्रमा ल्याउने कार्यक्रमबारे छलफल चलाइरहेको छ । जानकी गाउँपालिकामा सामुदायिक ३३ र संस्थागत १५ विद्यालय छन् । ‘दरबन्दी कम भएका विद्यालयमा दरबन्दी थप गर्ने, विद्यालय मर्ज गर्ने, अनुमति नपाएका विद्यालयलाई बन्द गर्ने योजना बनाइरहेका छौं’, गाउँपालिका शिक्षा शाखा प्रमुख कलम खड्काले भने, “योसँगै विद्यालयलाई सूचना र प्रविधिका हिसाबले सम्पन्न गराउने योजना छ । शिक्षामा गत वर्षभन्दा बढी बजेट हुनेछ ।” शिक्षा नै बालबालिकाको भविष्यको आधार हुने भएकाले स्थानीय तह शैक्षिक विकासका सवालमा गम्भीर छन् । लामो समय विद्यालय बन्द भएपछि यहाँका स्थानीय तहमा शैक्षिक कार्यक्रमबारे अझ बढी बहस हुन थालेको छ । कैलालीको भजनी नगरपालिकामा ३९ सामुदायिक १५ संस्थागत विद्यालय छन् । भजनी नगरपालिकाले यी सबै विद्यालयलाई सूचनामैत्री बनाउन योजना छनोट थालेको छ । अहिलेको परिस्थितिले शिक्षा क्षेत्रलाई पाठ सिकाएकाले अबका दिनमा यस्ता समस्या आउँदा विद्यार्थीको पठनपाठनमा बाधा नहोस् भनी विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउने भजनी नगरपालिका शिक्षा शाखा प्रमुख राजकिशोरलाल कर्णले बताए । “अघिल्ला वर्ष पूर्वाधारमा बढी खर्च गरिन्थ्यो, यस वर्ष विद्यालयमा ल्याब, इन्टरनेट जडानजस्ता कार्यमा बढी खर्च गर्ने योजना छ”, शिक्षा शाखा प्रमुख कर्णले भने, “सरोकारवालासँग छलफल चलिरहेको छ ।” स्थानीय तहले आगामी आर्थिक वर्षका लागि यही असार १० गते गाउँ तथा नगरसभामार्फत आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्नुपर्ने बताए ।

आर्थिक वर्षको अन्त्यमा टालटुले काम, आधा योजना अलपत्र

काठमाडाैं । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति अझै छँदैछ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा यतिखेर उपभोक्ता समिति गठन गरेर विकास निर्माणका काम धमाधम भइरहेको छ । यस वर्ष जिल्लाका अधिकांश स्थानीय निकायले सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा पारेका छन् । विकास निर्माणका लागि जिल्लाका स्थानीय निकायले  ८० लाखदेखि १ करोड २५ लाख रूपैयाँसम्म बजेट वडा कार्यालयका लागि साना तथा ठूला योजनाको काम धमाधम भइरहे पनि ठूला योजना गर्न छुट्याएको योजना अलपत्र छन् । चालू आर्थिक वर्ष २०७६/७७ सकिन अब करिब एक महिना बाँकी छँदा स्थानीय निकाय धमाधम बजेट सक्ने कसरतमा लागेका छन् । नगरपालिकाहरुले प्रत्येक वडालाई ८० लाखदेखि १ करोड २५ लाख रूपैयाँसम्म बजेट भागबण्डा लगाएर सकाउन निर्देशन नै जारी गरेको केही वडाध्यक्षहरुले बताएका छन् । त्यही बजेटले वडाध्यक्षले भित्री गाउँहरुमा नयाँ सडक बनाउने, पिसीसी ढलान गर्ने, कालोपत्र गर्ने काम शुरु गरेका छन् । हतारमा उपभोक्ता समिति गठन गर्ने तथा ठेक्का लगाउने समिति गठन गर्दा तथा ठेक्का लगाउँदा नगरप्रमुख तथा उपप्रमुखका आसेपासेहरु र कतिपय वडाध्यक्षहरुलाई पार्ने प्रवृत्तिका कारण काम जति गुणस्तरीय हुनुपर्ने हो सोअनुसार नहुने गरेको देखिएको छ । जिल्लाका विभिन्न स्थानीय निकायहरुले ठेक्कामार्फत तथा निर्माण उपभोक्ता समितिमार्फत गरेका विकास निर्माणका काम गुणस्तरहीन हुँदा निर्माण सम्पन्न भएको केही समयमै भत्किन थालेका छन् । त्यस्तै जिल्लाका अधिकांश स्थानीय निकायले गरेको काम गुणस्तरीय नभएको भन्दै चैतर्फी विरोधसमेत भएका छन् । चालू आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय निकायले सडकलाई विकासको प्राथमिकतामा राखेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए। परिषद् ढिलो हुँदा कतिपय स्थानीय निकायले समयमै काम शुरु गर्न नसक्दा काम भइरहेको सभापति चौधरीले बताएका छन् । अहिले स्थानीय प्रदेश तथा केन्द्र सरकारका योजनाअन्तर्गत विभिन्न सडकको काम भइरहेको छ । चालू आर्थिक वर्षमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा परेपछि आफूहरुले सोचेअनुसारको काम गर्न नपाएको स्थानीय निकायका प्रमुखहरुले बताएका छन् भने बलरा नगरपालिकालगायतका स्थानीय निकायमा नगरप्रमुख तथा उपप्रमुख र जनप्रतिनिधिबीचमा उत्पन्न विवादले नगरको कुनै पनि विकास निर्माणका काम नै हुन सकेनन् । एघार नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लामा हजारौं योजना ठेक्का प्रक्रियामार्फत सञ्चालित छन् भने कतिपय योजना निर्माण उपभोक्ता समितिमार्फत सञ्चालित छन् । जसमा केही योजना बहुवर्षे भए पनि धेरै योजना एकवर्षे रहेका छन् । वर्षायाम शुुरु भइसक्दा र दैनिक पानी परिरहँदा पनि सडक निर्माणको काम निरन्तर भइरहँदा दिगो निर्माण नहुनेमा स्थानीयवासी चिन्तित छन् । ठेकेदार कम्पनी र निर्माण उपभोक्ता समिति जति चाँडो काम सकाएर बिल फछ्र्योट गर्ने दाउमा रहेका छन् । विकास निर्माणको काम समयमै नहुँदा दिगो नहुनेमा स्थानीयवासीको चिन्ता भइरहँदा दिनमा एक/दुई किलोमिटरसम्म सडकको काम सकाउने दाउमा ठेकेदार र निर्माण उपभोक्ता समिति रहँदा हरेक वर्ष टालटुले काम हुने गरेको स्थानीय जानकारले बताएका छन् ।  रासस

बेसारको मजाक उडाए, मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे । विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔं ।’ नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेको बताए । प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए । ‘व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’ प्रधानमन्त्री ओलीले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न सकिन्छ भने । उनले भने, ‘समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ । यसका लागि स्वास्थ्य अनिवार्य पूर्वशर्त हो, त्यसैले निरोगी नेपालको अभियान सञ्चालन गर्ने भनेका छौं। आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाऔं ।’ सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योगाभ्यासक्रम’ पुस्तकको लोकार्पण गरे । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योगाभ्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योगाभ्यासक्रमको प्रकाशनले योगलाई जीवनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए । शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले राष्ट्रियस्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए । स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले मानसिक समस्या भएमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा योगगुरु डा. हरिप्रसाद पोखरेल, नायक निखिल उप्रेती, साधक सोनाम साथीलगायतले योगको व्यापकताका लागि आग्रह गरे । नेपालले हरेक माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । रासस

गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे

दमक । गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिए । सर्पदंश उपचार केन्द्रमा वार्षिक १ हजार ५ सयका हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् । चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उनले बताए । तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पले टोकेका बिरामी यहाँ आउने गरेको उपचार केन्द्र इन्चार्ज देवी भण्डारीले बताए । गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गरे । त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने, दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उनकाे भनाइ छ । त्यसैगरी विशेषगरी करेत सर्पले घरभित्रै टोक्ने भएकाले राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उनले बताए । गौरादह नगरको नीति तथा कार्यक्रम सार्वजनिक झापाको गौरादह नगरपालिकाले शनिबार छैटौँ नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा नगरप्रमुख रोहितकुमार साहले नगरको एकवर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरे । नगरप्रमुख साहले नगरमा स्वास्थ्य एप्स, पशुपालन, कृषि, शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अतिविपन्न गरिब तथा लक्षित समुदायको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रममा जोड दिइएको बताए । त्यस्तै युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकूद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवं धर्मसंस्कृतिको जगेर्नालगायतका सर्वाङ्गीण विकास गर्ने लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरप्रमुख साहले कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी उत्पादनमुखी कार्यक्रम ल्याइएको बताए । उले युवालाई स्वरोजगारमूलक बनाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिनुका साथै नगरमा बाली राहत कोष, घाँसको स्रोत केन्द्र स्थापना, नगरबाट सबै प्रकारका करहरुमा केही वर्षलाई छुट, पशुहित कोष स्थापना गरिने कार्यक्रम रहेको बताए । त्यस्तै नगर शिक्षा ऐन तयार गरी लागू गर्ने, सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने, नगरमा शववाहन सञ्चालन गर्ने, प्रत्येक वडामा योग तथा फिटनेस सेन्टर स्थापना गर्ने, आँखा अस्पतालसँग समन्वय गरेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने, विपन्न वर्गलाई निःशुल्क ट्युबवेल वितरण गर्नेलगायतका मुख्य योजना तथा नीतिहरु रहेको साहले बताएका छन् ।

२६ हजार नेपालीलाई काेराेना संक्रमण, ४० वटा शव विदेशबाट नेपाल ल्याइयाे

काठमाडाैं । देश विदेशमा गरी कुल २६ हजार ३९७ जना नेपालीलाई काेराेना संक्रमण भएकाे छ । गैर आवासीय नेपाली संघका अनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभित्र ८ हजार ६०५ जना नेपाली संक्रमित भएका छन् । काेराेना संक्रमणका कारण नेपालमा २२ जनाकाे निधन भएकाे मन्त्रालयले जनाएकाे छ भने गैर आवासीय नेपाली संघका अनुसार विदेशमा १ सय ३० जना नेपालीकाे निधन भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमित मध्ये १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।  संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।   विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत  ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १  सय ८ जना नेपाली घर फर्किसकेका छन् ।  मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट  ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र  अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बंगलादेशबाट २५८  जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना,  कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना  नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।   ४० जना नेपालीको शव नेपाल फिर्ता यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ ।  लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ । यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ ।  ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।

त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले  जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए । “शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार/पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उहाँको अनुमान छ । आइसोलेसन निर्माणमा उपमहानगरपालिका धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा निर्माण भइरहेको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको खाली भवनमा अहिले झण्डै २८ श्ययाको आइसोलेसन कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए । धनगढी नगरका कोरोना सङ्क्रमितलाई उपचार गर्न आवश्यक पर्ने जति श्यया राखिने उनको भनाइ छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ अभाव भएपछि उपमहानगरपालिका आफ्नै आइसोलेसन कक्ष निर्माणमा जुटेको बताइएको छ । आइसोलेसनको तयारीका लागी श्यया मिलाउने, बिजुलीबत्ती तथा उपकरण जडान गर्ने काममा नगरका स्वास्थ्यकर्मी र प्राविधिक टोली रातदिन खटेर काम गरिरहेको बताइएको छ । “सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रूपमा तयार गरे पनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्”, प्रमुख वडले भने, “सबै स्थानीय तहहरुले आफैं आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।” उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायण बरालले एक/दुई दिनमै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताए । बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितको उपचारमा समस्या भएको संयोजक बरालको भनाइ छ । उपमहानगरपालिकाभित्रका कोरोना सङ्क्रमितको मात्रै उपचार गरिने आइसोलेसन कक्षभित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताइएको छ ।  रासस

साउदी अरेबियाले हटायो देशव्यापी कर्फ्यू, धार्मिक यात्रामा भने प्रतिवन्ध

काठमाडौं । साउदी अरेबियाले आइतबार देखि कफ्यू हटाउने भएको छ । राष्ट्रव्यापी रुपमा घोषणा गरेको कर्फ्यू हटाउने भए पनि अन्य प्रतिबन्ध अझै बाँकी रहने छन् । साउदी प्रशासनले भनेका छ कि सबै आर्थिक र व्यापारिक गतिविधिहरू सुरु गरिनेछ तर अन्तर्राष्ट्रिय भ्रमण र धार्मिक यात्रामा प्रतिबन्ध लगाइनेछ । साउदी अरेबियाले जुलाईमा कुनै पनि हज यात्रा शुरू गर्ने घोषणा गरेको छैन । यद्यपि मलेसिया र इन्डोनेसिया जस्ता धेरै देशहरूले भनेका छन् कि यसले आफ्ना जनतालाई हज यात्रामा जाने अनुमति दिदैन । २५ लाख भक्तहरू हरेक वर्ष हज यात्राको लागि मक्का शहरको भ्रमण गर्छन् । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार साउदी अरेबियामा हालसम्म १ लाख ५५ हजार जनामा कोरोना संक्रमण भएको छ भने १ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।

कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना

काठमाडाैं । कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । सङ्क्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो । यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टाइनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । सङ्क्रमित प्रहरीको परिवारमा कोरोना नेगेटिभ गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उनले जानकारी दिए । परिसरका नौ प्रहरी र भक्तपुर नपा–५ भोलाछेंका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ ।   रासस