गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए , मुस्ताङमा पनि काेराेना
कास्की/गण्डकी प्रदेशमा शनिकार मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला सङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन । मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एकजना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना सङ्क्रमितको भने मृत्यु भएको छ ।
लगानी बोर्डद्वारा पाैने २ खर्बका ७ परियाेजना स्वीकृत
काठमाडौं । लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको ४४ औं बैठकले ७ परियोजनाहरुका लागि सो रकमको विदेशी लगानी स्वीकृत गरेको को । विभिन्न ७ परियोजनाका लागि सो लगानी स्वीकृत गरिएको हो । लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग रहेका छन्। बैठकले बाँके कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहित १२५ मेगावाटका छुट्टाछुट्टै सौर्य उर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन अध्ययनको जिम्मेवारी रिसेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति प िनदिएको छ। जलविद्युत आयोजनाहरुमा ३२७ मेगावाटको अअपर मस्र्याङदी २ हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, म्याग्दी खोला हाइड्रोपावर, इसुवा खोला हाइड्रोपावर र १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावर रहेका छन् । बैठकले अपर मस्र्याङदी २ हाइड्रोपावरका लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोपावर लागि १३ अर्ब ५७ करोड र १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावरका लागि २८ अर्ब ६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । यस्तै, बोर्डको बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
सरकार ! लासमाथि राजनीति नगर्नू है
सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निस्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ ।। सरकार न सर्वोच्चको आदेश मान्छ । न नागरिक जोगाउन कुनै पहल गर्छ । कमिसनको चक्करमा फसेको यसले हामी भूइँमान्छेलाई माञ आँखा तर्छ चुनावको बेला यसो नजिक सर्छ ।। यो देशमा सरकार रहेको अनुभूति हामी गरिब जनताले कहिले गर्न पाउने ? हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले हाम्रो मर्म किन बुझ्दैन ?।। भोक भोकै सडक कति दिन नापिएला ? स्वार्थी सहरले त हामीलाई केही दिन पनि पाल्न सक्दो रहेनछ, सहरको रहर पाल्नु त बेकार रहेछ हामीले ।। बाँचे न रोगको डर हो रोग भन्दा पनि भोक विकराल बनेर देखिँदै छ हाम्रा लागि कानमा तेल हालेर सुतेको सरकारी संयन्त्र कतै भए सुनाइदिनुहोस् न हजुर ।। लकडाउनका लागि लगाइएको बार पार गर्न लाग्दा काका लडेर मरे अरे । रोग या भोक सबैले हामीलाई नै लखेट्ने त रहेछ । सरकार के रोगबाट बचाएर भोकको लास हेर्न चाहन्छ ? विपत्तिमा काम नलाग्ने जनताको पसिना, रगत चुस्ने महङ्गो यत्रा सरकारी संयन्त्र के का लागि ? जन्मथलोमा नपुग्दै देह ढलेछ भने सरकार ! हाम्रै लासमाथि फोहोरी राजनीति नगर्नू है ।। (यो कविता अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) तारकेश्वर गाउँपालिका–१, नुवाकोट हाल पोखरा–११ [email protected]
आइसोलेशन श्यया क्षमताभन्दा दोब्बर संक्रमित
भीमदत्तनगर । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै संक्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३ सय ३३ जना संक्रमित राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म संक्रमितकाे सङ्ख्या ७ सय ७० जना पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेशन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना संक्रमणको शङ्कास्पद बिरामी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका संक्रमितहरु होम क्वारेन्टाइनमा बसिरहेको बताए । “लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरु अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरुसितको सम्पर्कमा छन् ।” निर्देशक डा अवस्थीले लक्षण देखिए मात्रै संक्रमितहरू आइसोलेशनमा राखेर उपचार गर्ने बताए । त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरुले आइसोलेशन कक्षको क्षमता बढाइरहेको उनकाे भनाइ छ । “यहाँ क्वारेन्टिनहरुलाई नै आइसोलेशन बनाउने काम भइरहेको छ”, डा अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेशन बनाउनेमै छ ।” सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा दुई सय आठजना सङ्क्रमित रहेका छन् । त्यस्तै डडेल्धुरामा १ सय ३१, बैतडीमा १ सय २०, कञ्चनपुरमा ९५, बाजुरामा ६९, अछाममा ५९, डोटीमा ५७, बझाङमा १९ र दार्चुलामा १२ जनामा सङ्क्रमित रहेका छन् । निर्देशनालयका अनुसार हालसम्म सङ्क्रमितमध्ये १ सय २४ जना अस्पतालबाट निको भएर फर्किसकेका छन् । यहाँको सेती प्रादेशिक अस्पतालमा ७४, डडेल्धुरा अस्पतालमा ४०, जिल्ला अस्पताल बझाङमा ३५, भीमदत्तनगरस्थित महाकाली अस्पतालमा ३३, टीकापुर अस्पतालमा ३२ र मालाखेती अस्पतालमा २० श्ययाको आइसोलेशन रहेको छ । त्यसैगरी जिल्ला अस्पताल अछाममा १७, बयलपाटा अस्पतालमा १३, बाजुरामा १२, डोटीमा १०, बैतडीमा आठ, जिल्ला अस्पताल दार्चुलामा १३, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार, चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच, गोकुलेश्वर अस्पतालमा चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, जोगबुढा अस्पतालमा आठ र सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन श्ययाको आइसोलेशन रहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी यहाँका ८८ वटै स्थानीय तहका दुई हजार ६८ स्थानमा क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । यी क्वारेन्टाइनमा शुक्रबारसम्म ३७ हजार २ सय ५ जना बसिरहेका छन् । प्रदेशमा पछिल्लो समय भारतलगायत अन्यत्रबाट आउनेहरुको सङ्ख्यामा कमी आए पनि कोरोना परीक्षणको दायरा भने बढाउन सकिएको छन् । शुक्रबारसम्म सुदूरपश्चिममा १० हजार २ सय ४५ जनाको पिसिआर विधि र ९६ हजार ७ सय ६० जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि लिइएको स्वाबमध्ये ४ हजार ७ सय ५९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २ सय ५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन् । यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ । प्रदेश सरकारले बैतडी र डोटीमा समेत पिसिआर मेशिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महिना बितिसके पनि अझै शुरु हुन सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालय भने पिसिआर मेशिन खरिद प्रक्रियामा गइसकेको र मेशिनहरु असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ । रासस
होम क्वारेन्टाइन बसेकी बालिकाको मृत्यु
प्युठान । प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टाइनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताएका छन्। बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ । मृत्यु भएकाको रिपोर्ट पोजेटिभ गुल्मी– जिल्लामा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । रासस
अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालमा
काठमाडाैं । अन्तर्राष्ट्रिय ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालका लागि आधिकारिक बितरक आईएमएस् ग्रुप अन्तर्गत आईएमएस् लिटिल स्माइल कम्पनीले ड्रिम बेबीका सामाग्री भित्राएको छ । गत असार ३ गते संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू अब नेपालमा भित्राएको हो । ‘ड्रिमबेबी’का सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रिमबेबीको सामानहरु : गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू जितेका छन् जस्तै प्रिफरड् च्वाइस् अवार्ड, अवार्ड अफ एक्सलन्स्, टप च्वाइस अवार्ड, प्रोडक्ट अफ द यिअर अवार्ड, फ्यामली च्वाइस अवार्डलगायतका अन्य अवार्डहरु समावेश छन् । ‘ड्रिमबेबी’का सामानहरू आईएमएस् लिटिल स्माइल शोरुम, सिटी सेन्टर, कमल पोखरीमा उपलब्ध छन् । साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्ट डोकोमा पनि उपलब्ध गराइनेछ । ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रिमबेबीका सामानहरूमा १०५ छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले ५ हजार वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको ९ सय ८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ । ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमा बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौँ’–आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने ।
निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐनसँगै संशोधनका लागि पहल गर्छु–मन्त्री नेम्बाङ
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई ऐन एक साथ संशोधनका लागि पहल गर्ने जानकारी दिए । मन्त्री नेम्बाङले व्यवसायीहरुका जायज माग पूरा गर्न सरकार तयार रहेको समेत बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कोरोना भाइरस (कोभिड–१९) ले निर्माण उद्योगमा पारेको असर र त्यसको समाधानको उपाय सहित आर्थिक वर्ष २०७७–७८ को बजेटले सम्बोधन गर्न नसकेका व्यवसायीहरुको मागका बारेमा जानकारी गराएको थियो । भौतिक पूर्वाधारका निर्माणाधिन र अधुरा आयोजनाहरुको निरन्तरता दिँदै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटलाई महासंघले सकारात्मक रुपमा लिएको अध्यक्ष सिंहले मन्त्री नेम्बाङलाई जानकारी गराए । पूर्वाधारको क्षेत्रमा चालू आर्थिक वर्षको तुलनामा कम बजेट विनियोजित भएको तर्फ महासंघको ध्यानाकर्षण भएको पनि अध्यक्ष सिंहले बताए । महासंघले माग गरेको पुर्नकर्जालाई बजेटमा एकमुष्ट १ खर्ब छुट्याईकोमा त्यो भित्र कोभिड १९ को कारणबाट गम्भिर रुपमा प्रभावित निर्माण व्यवसायलाई समावेश गरिएको हो भन्ने कुरामा महासंघ विश्वस्त रहेको अध्यक्ष सिंहले भने । बजेटमा उल्लेख भए बमोजिम सार्वजनिक खरिद ऐनमा समसामयिक संशोधन गरिने व्यवस्था एकतर्फी रुपमा नगरी ऐन संशोधन गर्दा अनिवार्य रुपमा महासंघ लगायत निजी क्षेत्रका सरोकारवालाहरुको सहभागितामा हुनुपर्ने महासंघले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सम्बोधन नभएको निर्माण व्यवसाय ऐन २०५५ संशोधन सम्बन्धमा महासंघले समयानुकुल निर्माण व्यवसाय ऐन २०५५ को पहिलो संशोधन आवश्यक भएको हुँदा महासंघको सहभागितामा संशोधन गर्ने व्यवस्थाको लागि अनुरोध गरेको छ । त्यस्तै भुक्तानी सम्बन्धमा निर्माणाधिन आयोजनाहरुको सार्वजनिक खरिद नियमावलीको आठौं र नवौं संशोधन अनुसार म्याद थप भई हाल कोभिडको बीचमा निर्माण व्यवसायीको कारणले नभई महामारीको कारणले सो को म्याद समाप्त भई भुक्तानी हुन बाँकी रहेको हुँदा त्यस्ता निर्माण कार्यहरुको पुनः एकमुष्ठ म्याद थप गरी यथाशिघ्र भुक्तानीको व्यवस्था गरिनु पर्ने माग गरेको छ । यसरी समयमा भुक्तानी भएमा बजारमा रहेको नगद तरलता कम भई अर्थतन्त्र चलायमान हुने महासंघले जनाएको छ । निर्माण खरीद कार्यको म्याद थप सम्बन्धमा कोभिड १९ को कारणले गर्दा देशमा भएको लकडाउनले गर्दा २०७६ चैत्रबाट २०७७ कार्तिक सम्म कोभिड—१९ को कारणबाट विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले माहामारीलाई विषम परिस्थिति परिभाषित गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः ८ महिना एकमुष्ठ थप हुने गरी नेपाल सरकारबाट नीतिगत निर्णय हुनु पर्ने महासंघको माग छ । हाल निर्माणधिन आयोजनाहरुको आठौं र नवौं संशोधनबाट म्याद थप भई हाल म्याद समाप्त भएको कारणले काम भएका कार्यहरुको भुक्तानी बाँकी रहेको हुँदा ती निर्माण आयोजनाको म्याद थप गरि यथाशिघ्र भुक्तानीको व्यवस्था गरिनु पर्ने माग पनि महासंघले अघि सारेको छ । कोरोनाको लामो प्रभाव रहने हुँदा स्थानीयलाई रोजगारी दिने र विदेशबाट स्वदेश फर्कने र अन्य क्षेत्रबाट बेरोजगार हुने थप करिब पन्ध्र लाख श्रमिकहरुलाई रोजगारी सृजना गर्नका लागि स्थानीय जिल्लामा ५ करोड रूपैयाँसम्मका निर्माण कार्यहरु खुल्ला बनाई स्थानीय स्तरमा प्रतिस्पर्धा गराउन गरी प्याकेज बनाउनु पर्ने महासंघले जनाएको छ । यसैगरी २५ करोड रूपैयाँसम्म प्रदेश स्तरमा र १ अर्वका राष्ट्रिय स्तरका बोलपत्रका प्याकेज बनाउनु पर्ने माग पनि महासंघले अघि सारेको छ । महासंघले पेश्की रकम, डिजेलको भुक्तानी, जरिवाना, ब्याज र थप दस्तुर छुट, लो बिडिङ, बैंक ऋण र किस्ता, पुर्नकर्जाको बैंक ब्याज, क्रेडिट लाइन कमिशन, लागत थप, शान्ति सुरक्षा लगायतका विषयमा आफ्नो धारणा मन्त्री नेम्बाङ समक्ष राखी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य जिपछिरिङ लामा, बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता थियो ।
कोरोना रोकथाममा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?
काठमाडाैं । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकार के गरिरहेको छ ? परीक्षणको दायरा किन व्यापक भएन र ?विदेशबाट फर्कने नेपालीको स्वदेश फिर्ता, क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा के भइरहेको छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कतै आफैंभित्र अल्मलिएको त होइन ? कोरोना रोकथाम र नियन्त्रणमा विश्वका शक्तिशाली मानिने मुलुकहरुले गरेका कामसमेत सोचेजस्तो प्रभावकारी नभएका बेला स्वास्थ्य क्षेत्रको समग्र पूर्वाधार विस्तार हुने क्रममा रहेको नेपालमा जनस्तरमा यस्ता प्रश्नहरु उठ्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंमा के गरिरहेको छ त ? मन्त्रालयका सचिव र विभागीय प्रमुखसहितको उपस्थितिमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने, “हामी यही असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको सङ्ख्यामा परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गर्दैछौं । सङ्क्रमितको सङ्ख्या क्रमशः बढेकाले विज्ञहरुको परामर्शमा ‘होम आइसोलेशन’का लागि मन्त्रिपरिषद्बाट स्वीकृत गराई मार्गदर्शन जारी गर्दैछौँ । करीब करीब कोरोना महामारीलाई जित्न युद्धकै शैलीमा समन्वयात्मकरुपमा काम गरिरहेका छौं।” मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियमकानूनअनुसार नै सम्बन्धित निकायबाट प्रक्रियाअनुसार काम भएकाले कुनै अनियमिता नभएको स्पष्ट गरे । “म इमान र निष्ठाका साथ राजनीति गर्दै आएको छु । यसमा म आज पनि अडिग छु र भोलि पनि अडिग रहनेछु । मलाई अनियमितामा जोडेर टिप्पणी गर्नेहरु यथार्थ बुझेपछि भविष्यमा आफैँ पश्चातापमा पर्नेछन् ।” ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि जनशक्ति थपिँदै सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि कूल ३ हजार २ सय २५ जनाको जनशक्ति टोली तयार पार्दैछ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत विधिअनुसार यस जनशक्तिको हाल कायम रहेको दुई तिहाइस्वास्थ्य जनशक्ति र बाँकी जनशक्तिमा नयाँ भर्ना गरिनेछ । कुनै सङ्क्रमितको नजीकको कुन कुन व्यक्तिको सम्पर्क भएको थियो र तिनीहरुमा सङ्क्रमण छ/छैन भनेर गरिने खोज कन्ट्याक्ट ट्रेसिङ हो । थप पाँच प्रयोगशाला स्थापना हुँदै मन्त्रालयका सचिव अर्यालले परीक्षणको दायरा बढाउन थप पाँच ठाउँमा पिसिआर मेशिन जडान गरी प्रयोगशाला स्थापना गर्न थालिएको बताए । उनका अनुसार नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पतालका साथै दैलेख र डडेल्धुरामा प्रयोगशाला थपिनेछ । “अहिले रहेका प्रयोगशालाको स्तरवृद्धि र नयाँ थप पाँच प्रयोगशाला स्थापना गरेपछि हामीले दैनिक १० हजारको दरमा परीक्षण गर्न सक्छौं। स्थानीय तहपिच्छे पिसिआर मेशिन खरिद गर्न आवश्यक छैन”, उनले भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले अहिले धेरै नमूना सङ्कलन गरिएकाले रिपोर्ट आउन ढिलाइ भएको स्वीकार्दै अबको एक हप्तामा सङ्कलन गरिएका सबै नमूना परीक्षण गरिसक्ने बताए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री पर्याप्त रहेको जनाउँदै व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), एन ९५ मास्क र सर्जिकल माक्स एक महिनाका लागि सञ्चित रहेको जनाउँदै सङ्क्रमितको सङ्ख्या हेरेर खरिदको प्रक्रिया जारी रहने बताए । भदौसम्म ४० हजारसम्म सङ्क्रमित हुने अनुमान शनिबारसम्मको परीक्षणमा ८ हजार ६ सय ५ सङ्क्रमित छन् भने भारतसहित विदेशबाट आउने नेपालीको आँकलन गर्दा आउँदो भदौ २ गतेसम्ममा बढीमा ४० हजारसम्मलाई सङ्क्रमण हुने प्रक्षेपण गरिएको मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले बताए । यसबीचमा कारोनो परीक्षणको प्रयोगशाला २२ स्थानामा स्थापना भएको छ भने कोरोना विशेष अस्पताल विस्तार गरिएको छ । हाल एक हजार भेन्टिलेटर र १ हजार ८सय सघन उपचार कक्षको क्षमता विस्तार भएको छ । हालसम्म दैनिक ६/७ हजारको सङ्ख्यामा परीक्षण हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सम्बोधनमा सामान्य अवस्थामा कूल जनसङ्ख्याको दुई प्रतिशत ९छ लाख० जनासम्मको परीक्षा गराउने उद्घोष गरेअनुसार नै मन्त्रालयले तयारी गरेको छ । जनस्वास्थ्य विपद् अवस्था’ घोषणा अध्ययनमा सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गर्नुपर्ने भएमा आवश्यक प्रक्रिया तयारी अवस्थामा राखेको छ । मन्त्री ढकालले ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा अध्ययनकै क्रममा रहेकाले तत्कालका लागि निर्णय नगरिने बताए । सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेपछि मन्त्रालयको गत जेठ २२ गतेको मन्त्रीस्तरीय बैठकबाट ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो । ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि अनुसार ‘लेभल–२’ मानी विपद् घोषणा गर्न सक्ने प्रावधान छ । उनले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) र मन्त्रालयबीच समन्वय गरेर नै कोभिड–१९ को रोकथाम र नियन्त्रण भइरहेकोसमेत बताए । निजीमा तोकिएको सङ्ख्यामा परीक्षण मात्रै मन्त्रालयले कोरोना परीक्षणका लागि सरकारी संयन्त्रबाट सङ्कलित नमूनालाई कूल सङ्ख्याको दैनिक २५ प्रतिशत नमूना परीक्षणका लागि दिने गरी मापदण्ड तय गरेको छ । यसका लागि सरकारले परीक्षणको लागत खर्चप्रति ती निजी अस्पताललाई दिनेछ । हाल परीक्षणका लागि प्रतिनमूना तीनदेखि चार हजारसम्म लाग्नेछ । पिसिआर मेशिनमा एकैपटक धेरै नमूना प्राप्त भएमा कम खर्च लाग्नेछ । मन्त्रालयका सहसचिव डा विकास देवकाटाले आवश्यकता भएकाभन्दा बढीको परीक्षण भई स्रोतसाधन खर्च नहोस् र निजीले आफैँ शुल्क लिन नसकून् भनेर यस्तो नीति ल्याइएको बताए । रासस