सडक भत्कियो, सबै यातायात सेवा अवरुद्ध
जाजरकाेट । शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ । छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो । करिब ३० मिटरभन्दा बढी सडक भासिएपछि सबै प्रकारका यातायात सेवा अवरुद्ध भएको हो । त्यस्तै जाजरकोट सदरमुकामबाट डोल्पा जाने सबै यातायात सेवा ठप्प भएको छ । बीचबीचमा रहेका खोलामा पानीको मात्रा बढेपछि यातायात सेवा अवरुद्ध भएको हो । जाजरकोट–जुम्ला सडकखण्डको खलङ्गा–पाँचकाटियासम्म चल्ने यातायात सेवा अवरुद्ध भएको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । त्यस्तै छेडाबजार–थलह सडकखण्डको मोर्कखोलामा पानीको बहाव बढ्दा यातायात सेवा अवरुद्ध भएको छ । पानी नरोकिएकाले खच्चड सेवासमेत बन्द भएको छ । खोलामा पानी बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान मुस्किल भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । खलङ्गा– बारेकोट सडकसमेत अवरुद्ध भएको छ । गाउँमा टेलिफोन सेवा अवरुद्ध अविरल वर्षाका कारण जाजरकोट सदरमुकामदेखि अन्य स्थानीय तहको फोन सेवासमेत अवरुद्ध भएको छ । घाम नलाग्दा टावरमा विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । गाउँ–गाउँमा सूचना लिनसमेत मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । पानी परिरहेकोले गाउँगाउँमा रहेका क्वारेन्टाइनमा आवश्यक सेवा प्रवाहमा समेत समस्या भएको छ । रासस
सोनाक्षी सिन्हाले ट्विटरलाई गरिन् बिदाइ, मेटाईन अकाउन्ट
काठमाडौं । बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिइन । यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनसट राखेकी छिन् जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेकी छु । म आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरिरहेकी छु ।’ त्यस्तै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा । अलविदा ट्वीटर ।’ यस्तै यस अघि फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । उनका अनुसार यसले घृणा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ । हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो । थुप्रै मानिसहरुले करणले चर्चित अभिनेताका सन्तानलाई मात्रै काम गर्ने मौका दिन्छन् भन्ने आरोप लगाएका थिए । तत्पश्चात् करण जोहरले फिल्मी क्षेत्रसँग जोडिएका थुप्रलाई ट्वीटरमा अनफलो गरेका थिए । वास्तवमा सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, परिवारवादमाथिको बहस व्यापक चलिरहेको छ । स्रोतः बीबीसी
करेन्ट लागेर महिलाको मृत्यु
काठमाडाैं । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको वयानपछि सबै कुरो खुल्ने छ ।” गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ । करेन्ट लागेर मृत्यु भएकी निज महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन् । रासस
पूँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल
काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उनले पूँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए । पूँजीवादीहरु जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले साम्यवादीहरु पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको उल्लेख गरे । वरिष्ठ नेता पौडेलले गाउँको विकास, गाउँको उन्नति, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको उल्लेख गर्दै नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । काँग्रेसले पनि हलो क्रान्ति र मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको उनको भनाइ थियो । उनले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र शहरमा जनसङ्ख्याको चाप बढ्ने अनि गाउँ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए । वरिष्ठ नेता पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताउँदै महाकाली सन्धिका बारेमा प्रश्न उठेको सम्बन्धमा त्यसमा कुनै राष्ट्रघात नभएको स्पष्ट पारे । उनले महाकाली सन्धिमा महाकाली नदीलाई अधिकांश सीमा भनेर राष्ट्रघात भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदीमात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनी प्रश्न गरे । उनले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताउँदै महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको र पार्टी ‘भिजन’ एवं ‘मिसन’ सहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । रासस
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ४
काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहानै चार जिल्लाका थप १६ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । आइतबार संक्रमित हुनेहरुमा बाग्लुङ जिल्लाका ९ जना, म्याग्दीका ४ जना, तनहुँका १ जना र पर्वतका २ जना रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले बताएका छन् ।
संसारभर कारोना संक्रमितको संख्या ९० लाख नजिक, ४७ लाख भन्दा बढि निको भए
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६ हजार ६ सय ५५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६६ हजार २ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४७ लाख ३३ हजार १८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २१ हजार ९ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ३० हजार ३ सय ११ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको छ भने अहिलेसम्म १३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८ हजार ६ सय ५ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ५ सय ७८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
फेरि अनिश्चितकालका लागि बन्द भयाे सेयर बजार
काठमाडौं । सेयर बजार अनिश्चितका लागि बन्द गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शनिबार एक सूचना सार्वजनिक गर्दै सेयरबजार अनिश्चितका लागि बन्द गरिएको जनाएको हो । स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार असार ७ गतेदेखि धितोपत्रको दोस्रो कारोबार स्थगन गर्ने निर्णय गरिएको हो । नेप्सेले धितोपत्र बोर्डबाट अर्को सूचना नभएसम्मका लागि बन्द हुने सूचनामार्फत जनाएको छ । गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो । अब आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । तर शनिबार फेरि सूचना जारी गर्दै धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएको हो । अब बजार खुला हुने मिति अनिश्चित बनेको छ ।
४ राशीलाई लाभ, ८ राशीलाई हानी, के गर्न हुने ? के गर्न नहुने ?
काठमाडाैं । आषाढ कृष्ण औँसीका दिन असार ७ गते खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए । शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन । आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। प्रदेश नं. १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए । आइतबारको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ । आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए । चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो । ग्रहण सम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका वेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ । काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक विहान भएको पो हि कि भन्ने जस्तो महसुस हुने खगोलविद् आचार्यले बताए । कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ । असार छ गते साँझ सात बजे सूर्यग्रहण विषयमा जिज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्ने अध्यक्ष भट्टराईले बताए । सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइटीको प्रत्यक्ष सामाजिक सञ्जाल पेजमार्फत प्रत्यक्ष प्रसारणका बेला प्रश्न राखेका छन् । –रासस