सनराइज बैंकले गर्याे बुढानिलकण्ठ वेद विद्याश्रमलाई सहयोग
काठमाडौं । सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्या आश्रमलाई सहयोग गरेको छ । शनिबार एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले संयुक्त रूपमा २ लाख २५ हजार नगदको चेकका हस्तान्तरण गरेका हुन् । ३५ जना विद्यार्थी बस्ने सो वेद विद्याश्रममा पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई प्रदान गरे । उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता रहेकोले सहयोग गरेको बैंकले जनाएको छ ।
शिक्षाविद् एवम् समाजसेवी जोशीको निधन
काठमाडौं । शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको शनिबार निधन भएको छ । ८९ वर्षिय जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा दिउँसो पौने ३ बजे निधन भएकाे हाे । तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो । उनलाई स्तन क्यान्सरसमेत भएको थियो । जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन् । जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् । जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् । जोशीको केही बेरमा पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।
बैंक र ऋणी
आज अफिसमा काम गरिरहँदा मेरो फ्याक्ट्रिको एकाउन्टटेन्टले मलाई फेरी सम्झाउँदै भने, “सर, हामीले कारोबार गरिरहेको बैंक चेञ्ज गरौं । मैले नयाँ अर्को बैंक चिनेको छु, शाखा प्रवन्धक पनि चिनेको छु । अहिलेको बैंकले भन्दा अलि सस्तोमा पनि लोन दिन्छ, ब्याज कम लाग्छ । त्यसो हुँदा हाम्रो कम्पनीको नाफा अलि बढ्छ ।” म मुसुक्क हाँसे र भने, “बिचार गरौंला नि ।” अनि ऊ फर्केर आफ्नै क्याबिनमा गयाे र काममा लाग्याे । हुनत उसको कामनै हिसाब किताब चुरुस्त र दुरुस्त राख्नु हो । कहाँ कसरी खर्च घटाउन सकिन्छ, कसरी नाफा बढाउन सकिन्छ, त्यसको सल्लाह सुझाव दिनु पनि उसैको कर्तव्य हुने भएकोले उसले बारम्बार मलाई कारोबार गरिरहेको बैंक छोडेर अर्कै बैंक रोजौं भनेको हो । सबै कुरा उसलाई भन्न त कहाँ मिल्छ र ! कति कुरा गोप्य पनि राख्नुपर्छ । फेरि यो समाज देखावा तिर बढि ढल्किँदै गइरहेको पनि छ । म सम्झन्छु आजभन्दा करिब पन्ध्र/सोह्र वर्ष अगाडि जतिखेर म न्युरोडको फुटपाथमा दैनिक गुजाराको लागि सस्ता चाइनिज सामानहरु चाइनाबाट ल्याउँदै बेच्ने गर्थें त्यही वेला चिनजानको साथीको सहाराले जीवनमा पहिलो पल्ट बागबजार पद्मकन्या क्याम्पस छेउमा रहेको बैंक छिरेको थिएँ । बैंकको कर्मचारीहरुको शिष्ट र नम्र व्यवहारको कारणले उनीहरुसँगको भेटघाट बाक्लिन थाल्यो । उनीहरुले “धनिराम जी, तपाईंलाई हामी लोन दिन्छौं ब्यापार थाल्नुस् । अलि ठूलो र ब्यवस्थित व्यापार गर्नुस्” भन्दै मलाई हौसला दिएको अझै राम्रो सम्झना छ । पैसाको संकट परेर सिजनमा चाइनिज सामान ल्याउन नसक्दा अनि साहुसँग सयकडा पाँच सम्मको ब्याज काडेर नाफाको धेरै हिस्सा साहुलाई नै बुझाउने गरेको स्थितिमा त्यहि बैंकबाट त होनि मलाई न्यूरोडमा ठूलो सटर खोल्ने हौसला मिलेको । म फेरी सम्झिन्छु, समयमै बैंक ऋणको किस्ता र ब्याज तिरेर होला बैंकले पनि “अलि ठूलो व्यापार थाल्नुस् हामी सघाउँछौं” भन्दै हौसला दिने गरेको र म पनि उत्साहित हुँदै प्रोडक्सन तिर लागेको । “आफ्नै जग्गामा फ्याक्ट्रि खोल्नु पर्यो धनिराम जी”, “सामान ढुवानीको लागि आफ्नै गाडी लिनु पर्यो धनिराम जी, अब घर पनि किन्नु पर्यो धनिराम जी, निजी कार पनि किन्नु पर्यो धनिराम जी”, “अर्को कम्पनी पनि खडा गर्नु पर्यो धनिराम जी”… यस्तै यस्तै । म जति पल्ट बैंक छिर्छु, बैंकले मलाई नयाँ–नयाँ व्यापारको जुक्ति र लोनको सुबिधा बताइदिने । म पनि हिजोकै जसरी ढुक्कसँग उसका आइडियाका पछि लागे फेरि मलाई र मेरो कारोबारलाई विश्वास गरेर यत्रो लोन दिँदा पनि कुनै कर्मचारीले आर्थिक लोभमा म सँग एक रुपैयाँसम्म मागेनन् । बरु त्यहाँ जाँदा उल्टै मलाई कालो चिया खुवाएर पठाए । हुनत बैंककै कर्मचारीको मिहिनेत अनि जोस देखेर नै ममा पनि परिवर्तन आएको हो । यो बैंक नहुँदो हो त आज म यत्रो ठूलो व्यापारी कसरी हुन्थेँ हाला र ! भूकम्पको वेला मेरो ब्यापार अलि मन्दि हुँदा त्यही बैंकले नै मलाई सघाएको थियो । फेरी आज कोरोनाले दुई महिना देखि ब्यापार बन्द हुँदा पनि धनिराम जी केही समस्या छ ? छ भने भन्नुस्… पैसाको खाँचो छ भने पनि भन्नुस्… भन्दै हिजो मात्र फोन गरेको म कसरी बिर्सिउँ ? कुनै दिन न्यूरोडको फुटपाथमा हल्ला गर्दै “लौ आयो सस्ता सस्ता चाइनिज सामान, लि हाल्नुस, दुइटा किन्दा एउटा सित्तैमा” भन्दै कराउने यो गरिब धनिराम र आज दुईटा कम्पनी, आफ्नै गाडी, बंगला र दुई हजार जना मजदूरलाई रोजगारी दिने यो धनिराम । यो बीचमा मेरा लागि कोहि सहयात्री छ भने त्यो त्यहि बागबजारकै बैंक त हो नि । मेरो लागि मात्र होइन, एउटा फुटपाथको ब्यापारीलाई, एउटा आम किसानलाई, एउटा बेरोजगारलाई वा भनौं कैयौं सानो मान्छेलाई धनिराम बनाउने कोहि छ भने त्यो बैंक नै त हो । मेरो एकाउन्टेन्टले भनेजस्तै आज एक प्रतिशत सस्तोमा ऋण पाइयो भन्दैमा म कहाँ अर्कै बैंकको ऋणी हुन्छु र ! कहाँ बर्षौं देखिको सम्वन्ध तोड्छु र ! म यो बैंकको ऋणी मात्र कहाँ हो र ! एक अर्थमा मेरो लागि पनि त यो बैंक सधैं नै ऋणी रहनेछ । ऊ र म दुबै एक आपसमा ऋणी नै त हौं नि, होइन र ? [email protected]
संक्रमित महिलाको सफल शल्यक्रिया
राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ । जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रोस्तरको कोरोना अस्पताल तोकेर जिम्मेवारी दिएपछि शिक्षण अस्पताल कोहलपुरले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेर कोरोना अस्पतालको काम शुरु गरेको थियो । अस्पतालमा कोरोना सङ्क्रमित तीन जनाको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताए । रासस
बजेटको अभावमा सिँचाइ सुविधा अधुरै
जाजरकाेट । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुँन सकेको छैन । जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलव्ध गराएको २५ लाख रुपैयाँमा मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो । बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो । त्रिपुरासुन्दरी–९ चुका रामप्रसाख खत्रीले भने, “ सरकारले सबै वजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस ।” कार्यालयको २५ लाख रुपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भएपनि योजना अझै अधुरो रहेको छ । अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुँन सके यहाँका कृषकलाई राम्रो हुँने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिए । अझै २० लाख भएमा मात्र योजना सम्पन्न हुँने उनले जानकारी दिए । यहाँका अनुसार प्रदेशबाट सिँचाइका लागि आएको अधिकांश योजनाको बजेट अपुग हुँदा योजना सम्पन्न हुन सकेका छैनन् । गावु खोलाबाट पानी ल्याएर सिँचाइ सुविधा पुर्याउने प्रयास भएपनि असफल हुँदै आएको उपभोक्ता समितिका अध्यक्ष लालभक्त बोहोराले जानकारी दिए । अव यो पटकको योजनाले केही आशा जगाएको उनले भने । नहर ल्याउनका लागि निकै अप्ठ्यारो भुभाग रहेको सो खोलामा धेरै मेहिनेत गर्नुपरेको वडा नं ९ का अध्यक्ष रमा बोहोराले बताए । त्यस्तै सोही २५ लाखभित्रबाट यहाँका कृषकलाई टर्किबाट ल्याएको च्यान्दलर जातको तीन सय बोट ओखरका विरुवासमेत वितरण गरिएको छ । रासस
पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध
लमजुङ । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए । उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए । बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । रासस
आयातित तरकारी भान्सामा: स्वदेशी खेत बारीमै कुहिए
नवलपुर । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौं मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन् । जिल्लामा उत्पादन हुने अधिकांश तरकारी नेपालगञ्ज, नारायणगढ, बुटवल, पोखरा, काठमाडौंलगायतका शहरमा बिक्री हुँन गर्दथ्यो । लकडाउन खुकुलो भएपनि यहाँका कृषकले उत्पादनलाई बजारसम्म पुर्याउन सकिरहेका छैनन् । जिल्लामा टमाटर, बोडी, घिरौँला, करेला, लौका, काँक्रा, फर्सी, चिचिन्डो, भिन्डी, सिमला मिर्च (क्याप्सिकन)लगायतका तरकारी धेरै उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति १० बिघासम्म बारीमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । मध्यविनदु नगरपालिका–३ लेढाका जुगतबहादुर थनेतले ३५ कठ्ठा क्षेत्रफलमा लगाएको घिरौँला, लौका, काँक्रा, टमाटरलगायतका तरकारीले बजार नपाएको गुनासो गरे । यस सिजनमा करिब ४ लाख खर्च गरेको भएपनि तरकारी बिक्री नहुँदा घाटा हुने अवस्था आएको उनले बताए । अघिल्लो वर्षमा खाद्यान्न बालीबाट भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि यस वर्ष पनि आफ्नो सबै खेतबारीमा तरकारी खेती गरेको उनको भनाइ छ । यहाँ अरुको जग्गा भाडामा लिएरसमेत कृषकले व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । अरुको बारीमा तरकारी खेती गर्ने कृषकलाई भने बैँकको ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको छ । कावासोती नगरपालिका–१७ गोछडाटारका कृषक रामेश्वर न्यौपानेले आफूले विभिन्न स्थानमा गरी पाँच बिघा जमिनमा व्यवसायिकरुपमा तरकारी खेती गरेको बताए । “बैँकबाट ऋण लिएरै भएपनि तरकारी खेती गरेको थिएँ” उनले भने, “अहिलेको अवस्थाले तरकारी बिक्री नहुँदा उत्पादन भएका अधिकांश तरकारी बारीमै कुहिन थालेका छन् ।” बिक्रीका लागि तयार भएका तरकारी भण्डारण गर्ने स्थानको अभावका कारणसमेत आफूले नोक्सान व्यहोर्नु परेको उनको भनाइ छ । “ताजा तरकारी टिपेर बजार पठाउन पाइएन भने दुई/तीन दिनमा कुहिन शुरु गर्छ” उनकाे गुनासो छ, “हाम्रो बारीमा उत्पादन भएका तरकारी बिक्री नभएको अवस्थामा भण्डारण गर्ने व्यवस्था हुन सके केही समय भएपनि ताजै राख्न सकिन्थ्यो ।” यस पटक उत्पादनमा घाटा भएपछि ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोलिरहेको उनको भनाइ छ । कावासोती १३ का किसान सोमबहादुर विश्वकर्माको समस्या पनि फरक खालको छैन । उनले साढे दुई बिघा जमिन भाडामा लिएर करिब ५ लाख रूपैयाँ लगानी गर्दै तरकारी खेती गर्दै आएका थिए । सामान्य अवस्थामा एक सिजनमै लगानी कटाएर ३/४ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरेको भए पनि लकडाउनका कारण लगानी समेत डुबेको उनले गुनासो गरे । बारीमा उत्पादन भएको तरकारी केही दिन साइकलमै बोकेर गाउँघरतिर बेच्न हिँडेको भएपनि गाउँमा खासै बिक्री नहुने भन्दै उनले भने, “यत्रो धेरै तरकारी एक्लै बेचेर नसकिने भएपछि साइकलमा बेच्न हिड्न समेत छाडिदिएँ ।” यस पटकको तरकारी खेतीबाट अर्को पटकलाई बीऊ जोगाएर राख्ने काम बाहेक अन्य हुन नसकेको उनले बताए । यहाँ करिब तीन सयको हाराहारीमा व्यवसायिक तरकारी कृषक छन् । उनीहरु सबैले लकडाउन कारण तरकारी बिक्री गर्न नपाउँदा लाखौंको नोक्सानी बेहोर्नु परेको बताएका छन् । उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट आएका तरकारी भने निर्वाधरुपमा ठूला बजारमा प्रवेश पाउनुले किसान मारमा परेका हुन् । रासस
थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताएका छन् । नेपालमा काेराेनाबाट २२ जनाको मृत्यु भइसकेकाे छ भने १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन् ।