विकासन्युज

१ खर्ब ८५ अर्ब बढीका सात परियाेजना स्वीकृत

काठमाडाैं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औं बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो । बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि ७८ अर्ब ६५ करोड रूपैयाँ, ४२.९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि ६ अर्ब ३० करोड रूपैयाँ, ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि १३ अर्ब ५७ करोड रूपैयाँ, ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत्का लागि १० अर्ब ३१ करोड रूपैयाँ र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । त्यसैगरी बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड रूपैयाँ र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १ सय २५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ । कोभिड–१९ का कारण नेपाल–चीन मैत्री औद्योगिक स्थल, दमक, मुक्तिनाथ केबलकार, मल्टिमोडल लजिस्टिक्स पार्क र प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज् परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि बैठकले थप गरेको छ ।   रासस

घोराहीका चार विद्यालय समायोजित

काठमाडाैं । दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए ।  त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिएका छन् । विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ । महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ । पाठ्यपुस्तक वितरण बन्दाबन्दी खुकुलो बन्दै गएपछि दाङका सामुदायिक विद्यालयले सामाजिक दूूरी कायम गर्दै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न शुरु गरेका छन् । विद्यालय नखुले पनि स्वाध्ययनका लागि पाठ्यपुस्तक वितरण शुरु गरिएको विद्यालयले जनाएका छन् । जिल्लाका १० स्थानीय तहका कक्षा १० सम्मका ४ सय २३ सामुदायिक विद्यालयमा पुस्तक वितरणशुरु गरिएको छ । विद्यालय क्वारेन्टिन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलब्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीलाई भनिएको छ । क्वारेन्टाइन नराखिएका विद्यालयमा भने विद्यालयबाटै सामाजिक दूूरी कायम गरी पुस्तक वितरण गरिएको स्थानीय पालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिएका छन् । जिल्लाका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी पुस्तक वितरणको काम अघि बढाएको जनाएका छन् । जिल्लाकै जेठो पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुरले जेठको अन्तिम सातादेखि पुस्तक वितरण गरिरहेको प्रधानाध्यापक रामप्रसाद जैसीले जानकारी दिए । प्रभावकारी बन्दै रेडियो स्कूल कक्षा राजापुर– बर्दियामा एक महिनादेखि रेडियो स्कूल कक्षा शिक्षा कार्यक्रममार्फत विद्यार्थी घरमै बसेर अध्ययन गरिरहेका छन् । कोरोना भाइरसको जोखिम बढेपछि सञ्चालन गरिएको रेडियो स्कूल कक्षा कार्यक्रमबाट विद्यालय खुल्न नसक्दा घरमै बसेका विद्यार्थीलाई फाइदा भएको छ । बर्दियाका स्थानीय तहको समन्वयमा रेडियो स्कूल कक्षा कार्यक्रम निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कूल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीका लागि सञ्चालन गरिएको रेडियो स्कूल कक्षाले सबै तहका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पुर्याएको बारबर्दिया नगरपालिकास्थित युवक मावि जोगीगाउँका विद्यार्थी राकेश चौधरीले बताए । रेडियोबाट कक्षा सञ्चालन भएपछि सुनेर पढिरहेको मधुवन नगरपालिकास्थित आनन्द आधारभूत विद्यालयका कक्षा ८ उत्तीर्ण विद्यार्थी बमबहादुर शाहीले बताए । पढ्ने बानी हराउन थालेका बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थी पढाइप्रति उत्प्रेरित भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीको भनाइ थियो । विद्यार्थीको पढाइ अवरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस् भनेर शुरु गरिएको रेडियो स्कूल कक्षा कार्यक्रम प्रभावकारी भएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । बर्दिया, मधुवनमा रहेको रामज्ञानु एफएम ८९ मेगााहर्ज, गुलरियामा रहेको रेडियो बबई १०६ मेगाहर्ज, भुरीगाउँको रेडियो टाइगर एफएम ९९.२ मेगााहर्ज र बाँसगढीमा रहेको रेडियो गुरुबाबा एफएम १०६.४ मेगाहर्जबाट रेडियो कक्षा कार्यक्रम सञ्चालन गरिएको हो । नमूना माविमा छात्रावास भवन बन्दै रुकुमपूर्व– सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको रुक्मिणी माविमा छात्रावास भवन निर्माणको काम शुरु भएको छ । कूल ९८ लाख रूपैयाँ बजेटमा निर्माण हुन लागेको छात्रावास भवन निर्माणको काम बन्दाबन्दीका कारण दुई साताअघि मात्र शुरु गरी असार मसान्तमा सक्ने लक्ष्य राखिएको छ । यस वर्ष ९८ लाख रूपैयाँ बजेटबाट एक तलाको १० कोठे भवन निर्माण गर्न लागिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए । विद्यालयको लक्ष्य तीन तलाको बनाउने छ । चालु आर्थिक वर्षमा एकतलाको काम सक्ने र अर्को वर्ष अर्को तला थप्ने गरी काम हुने छ । छात्रावास भवन नमूना विद्यालयअन्तर्गतको हो । देशभरिका २२० नमूना विद्यालयमध्ये रुक्मिणी मावि पनि एउटा हो । नमूना विद्यालयमा छनोट भएका सबै विद्यालयलाई केन्द्र सरकारले प्रत्येक वर्ष रु डेढ करोड बजेट पठाउने गरेको छ । पहिलो वर्ष विद्यालयमा आएको डेढ करोड बजेटबाट माविले एउटा बस किनेको विव्यसका अध्यक्ष समालले बताए । उनका अनुसार सेनेटरी प्याड राख्ने यन्त्र र विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ । चालु वर्षमा छात्रावास भवन निर्माणसँगै बिदाका समयमा पठनपाठन सञ्चालन गरी शिक्षकलाई भत्ता, फर्निचर खरीद, थप शिक्षक व्यवस्थापनलगायत काम गरिएको छ । रुक्मिणी मावि जिल्लाकै पुरानो विद्यालय मानिन्छ ।  रासस

करको दायरामा छैनन् अधिकांश व्यवसायी

काठमाडाैं । जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको संयुक्त अनुगमन टोलीले करको दायरामा नआएका व्यवसायीलाई कडाइ गरेको छ । नगरपालिकामा भएका व्यवसाय करमा दर्ता भए नभएको बारे अनुगमन गरिन थालेपछि अधिकांश व्यवसाय करमा दर्ता नभई सञ्चालन हुँदै आएको पाइएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताए । उनले भने, “अनुगमनका क्रममा हामीले अधिकांश व्यवसायीले करमा दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइयो, करमा दर्ता गर्न सुझाव दिएका छौं नगरे कानूनअनुसार कारवाही हुने छ ।” जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, सिलगढी, पुरानो एयरपोर्ट तथा कुल्पातेलगायत बजारमा गरिएको अनुगमनका क्रममा केही व्यवसायीले मात्र दिपायल सिलगढी नगरपालिकामा व्यवसाय दर्ता गरेको र कर तिर्ने गरेको भेटिएको थियो । “अधिकांश व्यवसायीले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिरहेको फेला पार्याैं नगरपालिकाका गुरुङले थप भने, “व्यवसाय दर्ता गरेकाले पनि नियमितरुपमा नवीकरण नगरेको देखिएको छ, पहिलोपटक दर्ता गर्न सुझाएका छौं, अटेर गरे कारवाही हुन्छ ।” दिपायल सिलगढी नगरपालिका नगर उपप्रमुख शिवराज खड्काले नगरमा सञ्चालन भएका व्यवसाय करको दायरामा ल्याउन नगरपालिकाले विशेष अभियान अघि बढाइरहेको बताए । उनले भने, “हाम्रा केही कर्मचारी व्यवसाय दर्ताका लागि बजारमै खटाउदै छौं, व्यवसायीले पनि सकरात्मक कुरा राख्नुभएको छ, अब सबै करको दायरामा आउने छन् ।” अनुगमनका क्रममा यहाँका अधिकांश व्यवसायी उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति र कर कार्यालयमा दर्ता नभएको पाइएपछि अहिले जिल्लामा भएका निजी क्षेत्रका अस्पताल, किराना पसल, सुनचाँदी पसल, होटलमा तीव्र अनुगमन बढाएको छ । जिल्लामा कर तथा व्यवसाय दर्तालगायत अन्य विषयमा वर्षेनी अनुगमन हुने भए पनि कारवाही नहुँदा यहाँका व्यवसायदर्तामा नआएको कतिपएको बुझाइ छ । व्यवसायीले कर नतिर्दा सरकारलाई वर्षेनी लाखौँ घाटा हुँदै आएको छ । सिलगढी, पिपल्ला, एयरपोर्ट बजार, राजपुरलगायत ठाउँका व्यापारीले नगरपालिकामा व्यवसाय दर्ता गर्न अस्वीकार गर्दै आएका थिए । नगरपालिकाले सङ्कलन गर्ने गरेको कर सदुपयोग नगरेकोमा आलोचना गर्दै उद्योग वाणिज्य सङ्घको आह्वानमा दर्ता तथा नवीकरण गर्न व्यवसायीले मानेका थिएनन् । “दुवै पक्षबीचको सम्बन्ध सुमधुर हुनु राम्रो हो”, अनुगमन टोली सदस्य तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य गणेशबहादुर साउदले भने, “व्यवसायीबाट उठेको करको पारदर्शिता र सदुपयोग हुन्छ भन्ने विश्वास दिनसकेमा व्यवसायी करको दायरामा जान उत्साहित छन्, उठेको रकम कहाँ र के कामका लागि खर्च भयो जानकारी त हुनु पर्यो ।” दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको कमला अफसेट प्रेसका सञ्चालक सर्वजित देउवाले कुन र कस्ता खालका व्यवसाय दर्ता गर्ने व्यवसायीले कुन तरिकाको दर्ता प्रक्रियामा जाने भन्ने कुरा नगरपालिकाले स्पष्ट नपारेका कारण पनि अधिकांश व्यवसायी दर्ता र करको दायरमा आउन नसकेको बताए । “एकजना व्यवसायीले एकभन्दा बढी फर्मबाट कारोवार गरिरहेको बताउँदै, देउवाले भने, “कुनै कुनैले नगरपालिकामा दर्ता भएको एउटा फर्मको आधारमा धेरै व्यवासाय सञ्चालन गरिरहेका छन्, सबै फर्मलाई दर्ता गर्ने कि एउटा मात्र भए पुग्छ, पहिले त्यो कुरो स्पष्ट हुन जरुरी छ ।” नगरपालिकाले व्यवसाय करमा बढी रकम लिने गरेका कारण पनि व्यवसायी व्यवसाय दर्ता प्रक्रियामा नजाने तथा कर तिर्न आनाकानी गर्ने गरेको दिपायल पिपल्लाका अर्का व्यापारी मोहन पातलीले बताए । उनले भने, “सामान्य व्यवसाय गर्ने र ठूला व्यवसाय गर्नेको कर करिब करिब एउटै छ, ठूलाले तिर्न सक्छन सानाले कसरी तिर्ने, कर लिने प्रक्रियामा सुधार हुनुपर्छ ।”  रासस

जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडाैं । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ । मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा २ हजार ७ सय ५० हेक्टर जमीनमा धान रोपिएको अनुमान रहेको बताए । अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो । जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ । तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताए । चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ । सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ । रासस

गण्डकीका सात जिल्लामा ५८ सङ्क्रमित थपिए, ४ सय ३८ पुगे

काठमाडाैं । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा पाँच, बाग्लुङमा आठ तथा म्याग्दी र स्याङ्जामा १/१ जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । कास्कीको मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र १९ महिनाका बालिका छन् । तनहुँको ऋषिङ गाँउपालिकाका २८, २८, २८, ३७, २०, २३, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३ २०, २३, २४, २८ ब्यास नगरपालिकाका २४ र २८ तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षीय पुरुष रहेका छन् । नवलपुरको बुलिङटार गाउँपालिकाका १७, ३६, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ वर्षीय पुरुष, बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ तथा विनयी त्रिवेणी गाउँपालिकाका २१ वर्षका पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुष छन् । त्यसैगरी गोरखाको भीमसेन गाउँपालिकाका ३६, ३३, २२, ३५ र २८ वर्षका पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष तथा स्याङ्जाका पालिका नखुलेको २९ वर्षीय पुरुष रहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २३, ३३, ३६, २४, ३४, ३९ र २२ वर्षका पुरुष तथा ३० वर्षीया महिला रहेका छन् । नयाँ सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ सय ३८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपुरमा ११५, बागलुङमा ७४, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ६८, कास्कीमा १५, म्याग्दीमा ४ तथा लमजुङ र मनाङमा १/१ जना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म ८ हजार ७ सय ५१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा ६ हजार ९ सय १९ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशलामा अझै १ हजार ४ सय ५२ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।    रासस

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए । सरकारले सङ्घीय शिक्षा ऐन जारी नभएको र बोर्डको प्रदेशस्तरमा संरचना तयार नभएकाले कक्षा १० को एसइईलाई निरन्तरता दिइ राष्ट्रियस्तरमा सञ्चालन गर्दै आएको थियो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १० को एसइई परीक्षालाई राष्ट्रियस्तरमा गरिरहन नपर्ने गरी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ । शिक्षा ऐन, २०२८ (आठौं संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ । विगतमा प्रवेशिका परीक्षा (एसएलसी) भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९० बाट शुरु भएको हो । बोर्ड मातहत हालसम्म कक्षा १० तथा कक्षा ११ र १२ का लागि अलगअलग परीक्षा नियन्त्रण कार्यालय सञ्चालित छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन तर्जुमाका लागि हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेकाले सो नयाँ ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा नयाँ व्यवस्थापन हुने बताए । गत चैत ६ गतेदेखि एसइई सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भएकामा कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थगित भएको थियो । शिक्षा मन्त्रालयले परीक्षाका विकल्पबारे सुझाव दिन बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो भने उक्त सुझावलाई मन्त्रिपरिषद्मा पेश गर्नुपूर्व सहसचिव दीपक शर्मा संयोजक रहेको कार्यदल गठन गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यालय तहको अन्त्यमा लिइने परीक्षा कक्षा १२ लाई उपयुक्त नाम दिई राष्ट्रिय परीक्षा बोर्डबाट केन्द्रीय तहको व्यवस्थापन सञ्चालन र प्रमाणीकरण गर्ने  र हालसम्म प्रचलनमा रहेको कक्षा कक्षा १० को अन्त्यमा लिइने परीक्षालाई एसइईका नामबाट नै प्रदेश तहबाट व्यवस्थापन, सञ्चालन र प्रमाणीकरण गर्ने गराउन उपयुक्त हुने बताए । बोर्ड मातहतको कक्षा १० का परीक्षा नियन्त्रक तथा सुझाव कार्यदलका सदस्य रामराजा खकुलरेलले कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्व निर्धारित केन्द्रमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सरकारको निर्णयबमोजिम सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिने विधि तयारी भइरहेको जानकारी दिए । शिक्षा ऐन (२०२८) को आठौं संशोधनमा ‘माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुनेछ तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने’ उल्लेख छ । कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिने र परीक्षा सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ । शिक्षा अधिकारकर्मी एवं लुः निभा बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले माध्यमिक शिक्षाको अन्तिम परीक्षा कक्षा १२ लाई मान्यता दिने भएकाले कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिँदा विद्यार्थीलाई परीक्षाका कारण मनोवैज्ञानिक त्रास हुने बताए । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित भएका हुन् । गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । गत चैत ८ गतेदेखि हुने भनिएको कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । कक्षा ११ र १२ को परीक्षाका बारेमा सरकारले चाँडै निर्णय गर्ने जनाइएको छ ।  रासस

कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८७ लाख ५० हजार ३ सय ४६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६१ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ४६ लाख २० हजार २ सय ८३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २१ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ९६ हजार ७ सय १८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय १२ पुगेको छ भने अहिलेसम्म १२ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८ हजार २ सय ७४ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४ सय २ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

काठमाडौं । १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने भएको छ । नयाँ कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ । १० अर्ब रुपैयाँमा प्रवद्र्धकको लगानी ७ अर्ब ५० करोड र सर्बसाधारणको लगानी २ अर्ब ५० करोड राख्ने प्रस्ताव गरिएको छ । जहाँ प्रवद्र्धकको हिस्सा ७५ प्रतिशत र सर्बसाधारणको हिस्सा २५ प्रतिशत हुनेछ । नयाँ कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । नयाँ कम्पनी खोल्न डा. उपेन्द्र महत्तो, उनका भाई डा. बीरेन्द्र महत्तो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लगायत व्यक्तिहरु सक्रिय रहेका छन् भने कानुनी प्रक्रियाको काम शंकर ल र्फमले गरिरहेको छ । ‘अहिले पुँजी जुटाउन प्रतिवद्धता लिईरहेका छौं । प्रस्तावित लगानीकर्ता उत्साहित पाएका छौं । पहिला कम्पनी दर्ता गरेर लाइसेन्सको लागि बीमा समितिमा जान्छौं’ स्रोतले भन्यो । ‘नयाँ कम्पनी खुल्ने तयारी भएको हामीले अनौपचारिक रुपमा सुनेका छौं । औपचारिक रुपमा निवेदन आएको छैन’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो । सरकारले भौगोलिक र क्षेत्रगत हिसावले बीमा सेवा विस्तार गर्न चाहेको, अर्थतन्त्रको विस्तार, व्यवसायिक गतिविधिको विस्तारसँगै बीमा सेवाको विस्तार हुँदै गएको, पुनर्बीमाको लागि ९५ प्रतिशत निर्भरता विदेशी कम्पनीमा रहेकोले नयाँ पुनर्बीमाको सम्भावना रहेको प्रस्तावित व्यवसायिक योजनामा उल्लेख गरिएको छ । प्रस्तावमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिने उल्लेख गरिएको छ । सरकार नयाँ कम्पनीको पक्षमा स्रोतमा अनुसार अर्थमन्त्रालय नयाँ पुर्नबीमा कम्पनी खोल्ने पक्षमा रहेको छ । गत जेठ १ गते बीमा समितिको ५२ औं वार्षिकउत्सवको भच्र्युअल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले पुनर्बीमा सेवा विस्तारको लागि नयाँ कम्पनी पनि खोल्न सकिने बताएका थिए । साेही दिन उनले नेपाल पुर्नबीमा कम्पनीले सेवा विस्तार गर्न नसके नयाँ कम्पनी खाेलेर जाने पनि बीमा समितिलाई निर्देशन दिएका थिए । भिडियो हेर्नुहोस् । Yubraj Khatiwada बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा यसो भनेका थिए अर्थमन्त्रीले Gepostet von Bikashnews.com am Freitag, 19. Juni 2020 यसअघि बीमा समितिले तयार गरेको पुर्नबीमा पोलिसीको प्रस्तावलाई पनि अर्थमन्त्रालयले संशोधन गर्न निर्देशन दिएको थियाे । ‘हामीले पुर्नबीमा पोलिसी बनाएर अर्थमन्त्रालयलाई पठाएका थियौं । त्यसमा नयाँ पुर्नबीमा कम्पनी आएको अवस्थामा उसका गतिविधिलाई पनि सम्बोधन गर्ने खालको बनाउनु भन्ने निर्देशन आयो । हामीले निर्देशन अनुसार परिमार्जन गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाएका छौं’ बीमा समिति सम्बद्ध स्रोतले भन्यो ।