विकासन्युज

उपत्यकाबाट यस्ताे देखियाे सूर्यग्रहण (फाेटाेफिचर)

काठमाडाैं आज आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ। ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गरेको हो । दिउँसो १२ बजेर ३८ मिनेट जाँदा मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने छ। आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ । काठमाडौंको स्वयम्भू र भक्तपुरको मध्यपुर थिमिबाट आइतबार देखिएको सूर्यग्रहणका दृश्य:    

बजेट व्यवहारिक र कार्यान्वयनयोग्य :आर्थिक मामिलामन्त्री ज्वाला

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले ल्याएको बजेट ‘व्यवहारिक र कार्यान्वयनयोग्य’ भएको बताए । कर्णाली प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले बजेट प्रदेशको आवश्यकता र वर्तमान परिवेशअनुरुपको आएको दाबी गरे। उनले भने, “आगामी आवमा हामीले बजेट महामारी, भोकमरी र रोजगारी केन्द्रित गरेर ल्याएका छौँ । प्रशासनिक खर्च कटाएर यथार्थमा १५ प्रतिशतमा झारिएको छ भने चालू खर्च घटाएर ३४ प्रतिशतमा खुम्च्याइएको र पूँजीगत खर्च बढाइएको भन्दै प्रशासनिक एवं चालू खर्च करिब ६० प्रतिशतमा सीमित गरिएको छ ।” प्रदेश सरकार राजश्वका स्रोत खोज्ने र आन्तरिक स्रोतको पहिचान गर्ने काम लाग्ने बताउनुभएका उहाँले छ प्रतिशत आर्थिक वृद्धि गर्ने शर्तसहित बोलेको बताए । “हालको विषम परिस्थिति सामान्य हुनासाथ बजेट कार्यान्वयनबाट चालू एवं निर्माणाधीन आयोजनाका कार्यान्वयनमा तीव्रता आउनेछ । रणनीतिक भौतिक पूर्वाधारका काम अघि बढ्नेछन् । नागरिकको सहज जीवनयापनको वातावरण तयार हुनेछ, जसबाट छ प्रतिशत आर्थिक वृद्धिदर हुने अपेक्षा गरेका छौँ”, उनले भने । बजेटको आयतन घटेका कारण नयाँ कार्यक्रम समावेश नगरिएको भन्दै उनले कुनै पनि अधुरा र क्रमागत योजना सम्पन्नताका लागि योजनालाई प्राथमिकता दिइएको मन्त्री ज्वालाले बताए । योजनाको छनोट प्रक्रियामा सुधार ल्याउन केही अन्योलता भएको भन्दै उनले अझै छलफल गरेर अघि बढ्नुपर्नेमा जोड थियो । महिला केन्द्रित हुनेगरी ३७ प्रतिशत प्रत्यक्ष, ४१ प्रतिशत अप्रत्यक्ष र २२ प्रतिशत तटस्थ हुनेगरी लैङ्गिक उत्तरदायी बजेट ल्याइएको उनको भनाइ थियो । जनप्रतिनिधि र राजनीतिक पदाधिकारी उपभोक्ता समितिमा नरहने उनले उपभोक्ता समितिमा जनप्रतिनिधि र राजनीतिक पदाधिकारी नरहने गरी व्यवस्था किटानीका साथ कानूनीरुपमै गर्ने गरी सरकार अघि बढेको र यसमा घनिभूत छलफलको आवश्यकता रहेको बताउनुभयो । सरकारले जनप्रतिनिधि र राजनीतिक पदाधिकारीका परिवारका सदस्य उपभोक्ता समितिमा बस्ने नपाउने कुरा बजेटले ल्याएको छ । एक करोडसम्मका कार्यक्रममा डोजर प्रयोग नगरी नागरिकलाई श्रमसँग जोडेर रोजगारीको व्यवस्था गर्ने तर जटिल काममा कार्यविधि निर्माण गरेर डोजर प्रयोग गरिने उनको भनाइ थियो । मानिसलाई श्रमसँग जोड्न सकिए मात्र रोजगारी सिर्जना हुने बताउँदै उनले कार्यान्वयन निकै पेचिलो बन्दै जाँदा अपेक्षित प्रतिफल हात नपरेको बताए । उनले सङ्गठन संरचना र व्यवस्थापन काम अलि बढी समय लाग्दा पहिलो चौमासिकमा काम गर्न समय कम भएको, भौगोलिक विकटता र जाडोले दोस्रो चौमासिकमा काम हुन नसकेको र तेस्रो चौमासिक कोभिड–१९ बाट प्रभावित भएकाले चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयनमा ठूलो अवरोध आएको स्पष्ट पारे । मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित भएको भन्ने कुरा निराधार भएको उनको भनाइ थियो । सुर्खेत–हिल्सा सडकलगायतका राष्ट्रिय तथा प्रदेश गौरवका आयोजना निर्माणलाई प्राथमिकतासाथ जोड दिइने, स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी ऐन संशोधन गर्ने र उनीहरुलाई सुविधा उपलब्ध गराउने उनले बताए । उनले प्रदेश सरकारको विनियोजन विधेयक छलफलका लागि प्रदेशसभामा पेश गरेका थिए । रासस

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

देवघाट । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको हो । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान गर्न नआउन आग्रह गरे । यसअगाडिका वर्षहरुमा ग्रहण लाग्दा ५० हजार हाराहारी भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उनले बताए । रासस

‘लकडाउन कडा बढाउनुपर्यो’

काठमाडाैं । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको एक ४६ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै थप सङ्क्रमण फैलिन नदिनका लागि ती दुई निकायको आग्रहमा अनिश्चितकाका लागि बजार बन्द गरिएको नगरप्रमुख हरिसिंह साउदले बताए । बजार खोल्दा सङ्क्रमण बढी फैलन सक्ने हुँदा अनिश्चितकालीन रूपमा बजार बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । कैलालीकै घोडाघोडी नगरपालिकामा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जनस्तरबाट लकडाउनलाई कडा बनाउनुपर्ने माग उठ्न थालेको छ । टोलटोलमा कोरोना सङ्क्रमित भेटिँदा पनि लकडाउन नहुनु दुःखद् भएको घोडाघोडी नगरपालिका–१ का व्यवसायी अनन्त जोशी बताए । घोडाघोडी–१० का सन्तोष बराल पनि अहिलेको परिस्थितिमा लकडाउन बढाउनुको विकल्प नभएको जनाए । सङ्क्रमण देखिएकाहरूलाई स्थानीय सरकारले जाँचै नगरी लक्षण नदेखिएको भन्दै घर पठाएको छ उनीहरू गाउँघरमा घुमिरहेका छन् यसले जोखिम बढाएको छ, त्यस कारण पनि लकडाउन बढाउनुपर्ने उनको भनाइ छ । नगरप्रमुख ममताप्रसाद चौधरी पनि लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्ने पक्षमा छ । उनले भने, “सङ्क्रमणको जोखिम बढ्दो छ यसको रोकथामका लागि सरकार मात्र सजग भएर हुँदैन । हरेक नागरिक सचेत रहनुपर्छ । सर्वपक्षीय छलफलपश्चात के कसरी अघि बढ्ने भन्ने विषयमा कार्यपालिकाले निर्णण गर्छ ।” बर्दगोरिया गाउँपालिका–१ का भरत ताम्राकार गाउँपालिकामा २५ कोरोना सङ्क्रमित देखिएको र सबै गाउँघरमा रहेको हुनाले जोखिम बढ्ने चिन्ता व्यक्त गरे ।  लम्किचुहा नगरपालिकाले सर्वपक्षीय छलफल गरेर आवश्यक कदम चाल्ने नगर प्रमुख महादेव बजगाईँले बताए ।  रासस

सुर्य ग्रहणकाे बेला यी ५ काम गर्नुस् शुभ हुन्छ

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लागिरहेकाे छ । बिहान १०ः५० बजेदेखि सुरु भएकाे सुर्य ग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने बताइएकाे छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । यी काम गरे शुभ हुने:  १. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ । २. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ । ३. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ । ४.ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ । ५ . ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।

सूर्य ग्रहण सुरु, यसरी हेर्न सकिन्छ

काठमाडाैं । नेपाली समय अनुसार १०ः५५ देखि  सूर्य ग्रहण सुरु भएको छ। अहिले बिहान १०ः५५ देखि सुरु भएको ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुनेछ। ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिने बताइएकाे छ । मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ। ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुने जानकारहरु बताउँछन्। सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। यसो गर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश पर्ने र रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण भइरहेकाे छ ।

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

काठमाडाैं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो । जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना सङ्क्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए । ‘दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो’, अध्यक्ष पाण्डेले भने । शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो । जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो । रासस

सुनकाे मूल्य ७ सयले बढ्याे, प्रतिताेलाकाे कति ?

काठमाडाैं । आज आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । गत शुक्रबारको तुलनामा सुनको प्रतितोलामा सो मूल्यको वृद्धि भएको हो । शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यस्तै, चाँदी शुक्रबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।