राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध भएका थिए । सिंहदरबारमा आज शपथग्रहणपछि पत्रकारसँग कुराका क्रममा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति बिडारीले महामारी रोग फैलिरहेको र संसद् बैठक पनि नभएका बेलामा संसदीय समिति नै संसद्को काम गर्ने मुख्य थलो रहेको उल्लेख गर्दै सरकार, संवैधानिक अङ्ग र कानूनानुसार स्थापित संस्थालाई सदनप्रति उत्तरदायी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले वर्तमान परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर मुलुकको कानून देश र जनताको हितका निम्ति मात्रै बन्छन्, राष्ट्रिय महत्वका विषय संरक्षित हुन्छन् र सरकारले बोलेका कुरा लागू गरिन्छ भन्ने कुराको अनुभूति दिलाउने विषय मुख्य चुनौती रहेकाले त्यसतर्फ समिति केन्द्रित हुने बताए । सोही क्रममा राष्ट्रिय सरोकार समितिका सभापति रावलले राष्ट्रिय गौरवका योजना भनिए पनि २०÷२५ वर्षसम्म सम्पन्न नहुने जटिलता कायमै रहेका सन्दर्भमा गुणस्तरयुक्त बनाएर समयमै सम्पन्न गर्न सके समृद्धिको योजना साकार पार्न कोसेढुङ्गा सावित हुने भएकाले त्यसतर्फ समितिको ध्यान गएको बताए । उनले राष्ट्रिय सुरक्षा, मानवाधिकार र पछाडि पारिएका समुदायको अधिकारको विषयलाई ध्यान दिँदै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाए । तीन तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको कानून पारित भएको स्मरण गर्दै सभापति रावलले त्यसलाई कार्यान्वयन गर्न वर्तमानमा देखिएको समन्वय, योजना कार्यान्वयन र कर्मचारी व्यवस्थापनमा देखिएको कमजोरीका विषयमा केन्द्रित गरेर विशेष योजनाका साथ समिति अघि बढ्ने बताए । राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन् । पुनःनिर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनीत सांसद छन् ।
सिटिजन्स लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ७१ प्रतिशतले बढ्यो, नाफा कति ?
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ७१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको बीमा शुल्कसँगै खुद नाफामा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले१५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, खुद दाबी भुक्तानी पनि अघिल्लो वर्षको भन्दा बढेर ११ करोड २ लाख रुपैयाँ पुगेको । जुन अघिल्लो वर्षमा जम्मा ३ करोड ७० लाख रुपैयाँ रहेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ३ करोड ४५ लाख ९४ हजार रुपैयाँबाट बढेर ४ करोड ६६ लाख ६२ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोषमा एक अर्ब ६७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीले कूल १ लाख २४ हजार ६८२ बीमालेख जारी गरी ३ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, १ सय १५ वटा दाबी बापत १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले २ करोड ४९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ । ३० प्रतिशतको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने तयारीमा रहेको यस कम्पनीको चुक्ता पुँजी आईपीओ पश्चात २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।
विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी, ४६ हजार ३१२ फर्किए
काठमाडाैं । कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, बर्माबाट २६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् । फिलिपिन्सबाट २०१, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । सङ्घले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँद नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन । यसैबीच विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ । शनिबार साँझसम्म नेपालसहित विश्वभर २६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ सङ्क्रमण देखिएको छ । सङ्घको स्वास्थ्य समितिलाई उद्धृत गर्दै सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायत देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हँुदै गएका छन् । सङ्घका अनुसार लग्जेम्वर्गमा करीब दुई दर्जन नेपालीमा कोरोना सङ्क्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप सङ्क्रमण देखिएको छैन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घले जनाएको छ । रासस
सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा २० करोड
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० कराेड रुपैयाँ खुद नाफा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड २२ लाख ५ हजार रुपैयाँ खर्च गरी २० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको हाे । अघिल्लाे आवमा कम्पनीको खुद नाफा १५ करोड ३६ लाख ६ हजार रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तमा २७ करोड १९ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको असार मसान्तमा २० करोड ५२ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी भएकाे थियो । यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा ७ कराेड रुपैयाँ आम्दानी वृद्दि गरेकाे छ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा साे आम्दानी वृद्दि गरेकाे हाे । कम्पनीले गत आावमा १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशुल्क १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको थियो । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ तथा जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क तीन अर्ब नाघ्याे, यस्ता छन् अन्य सूचक
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७८ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्षको २०७५/७६को असार मसान्तसम्ममा २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद दाबी भुक्तानी पनि अघिल्लो वर्षको भन्दा बढेर ६५ करोड ३२ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षमा ३९ करोड ६८ लाख ७० हजार रुपैयाँ रहेको थियो । कम्पनीले सार्वजनिक गरेको गत आवको लेखा परीक्षण नभएको असार मसान्तको कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आवमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ५ करोड ३२ लाख २९ हजार रुपैयाँबाट बढेर ५ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ११ अर्ब ४७ करोड छ भने जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा करिब १४ करोड रुपैयाँ रहेको छ ।
१ अर्ब ६९ कराेडले बढ्यो राजश्व, शिक्षा सेवा शुल्क भने उठ्नै सकेन
काठमाडाैं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ६९ कराेड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा ८ खर्ब ४१ अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली गरेको भने अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुल गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ०.२० प्रतिशतले बढी हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा राजस्व सामान्या मात्रामा बढेको हो । मन्त्रालयले सार्वजसनक गरेको विवरणका अनुसार भन्सार महसुल भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११.१८ प्रतिशतले कम उठेको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५५ अर्ब रूपैयाँ मात्रै उठेको भन्सार महसुल गत आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ रूपैयाँ उठेको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको भन्दा मूल्य अभिवृद्धि करमा पनि गिरावट आएको छ । मूल्ःय अभिवृद्धी करमा ७.२६ प्रतिशत कम भएको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँ मूअ कर संकलन भएको छ भने गत आवमा २ खर्ब २४ अर्ब ७ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै, अन्तशुल्कमा पनि १७.४३ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा वर्षमा १ खर्ब २१ अर्ब ८५ करोड रुपैयाँ असुल भएको अन्तशुल्क गत आर्थिक वर्षमा भने १ खर्ब ६२ करोड रूपैयाँ अन्तशुल्क संकलन छ । शिक्षा सेवा शुल्क तर्फ पनि ४५.८० प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७ करोड रुपैयाँ संकलन भएको शिक्षा सेवा शुल्क गत आर्थिक वर्षमा भने ५८ करोड रुपैयाँ मात्र संकलन भएको छ । कोरोना भाइरसको महामारी भइरहँदा बन्द भएका शैक्षिक संस्थाको कारण सरकारले शिक्षा सेवा शुल्क उठाउन नसकेको बताएको छ । यस्तै, नेपाल सरकारले आय कर तर्फ भने केही प्रगति गरेको छ । आयकरतर्फ १३ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रूपैयाँ आयकर संकलन गरेको सरकारले गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब रूपैयाँ आयकर संकलन गरेको छ । सरकारले गत आर्थिक वर्षमा ७ खर्ब ८६ अर्ब रुपैयाँ चालु खर्च गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ।
अब मोटरसाइकल कार्यालयले पनि जोरबिजोर अनुसार नै सेवा दिने
काठमाडाैं । अब यातायात व्यवस्था कार्यालय सतुङ्गलले आफ्ना सेवाहरु पनि जोर बिजोर अनुसार नै दिने भएको छ । कार्यालयले नवीरकणको कार्य र इम्बोस्ड नम्बर प्लेटको काम जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलको काम हुने जनाएको हो । कार्यालयले एक सूचना जारी गर्दै कार्यालयले दिने सेवामा जोरबिजोर अनुसार नै दिने भएको को हो । काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस संक्रमणको विद्यमान अवस्था र जोखिमलाई मध्यनजर गर्दै साउन २६ देखि अर्को सूचना नभएसम्मको लागि सो सेवाहरु बाहेक अन्य बन्द गरिएको बताएको छ ।
भेरी अस्पतालको प्रसूति वार्ड बन्द
कोहलपुर । नेपालगञ्जमा कोरोना सङ्क्रमण बढदै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो । भेरी अस्पतालमा रुकुम (पश्चिम) चौरजहारी निवासी महिलालाई बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएको थियो । गर्भवतीको महिना पुगिसकेकाले बिहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो । शल्यक्रियाका बेला महिलालाई एक्कासि ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । गर्भवतीमा कोरोना देखिएपछि यतिबेला भेरी अस्पतालको प्रसूति वार्ड सिल गरेर बिरामीलाई कोहलपुर मेडिकल कलेज पठाउने तयारी गरिएको र आवतजावत बन्द गरिएको उनले बताए ।