विकासन्युज

आइसोलेसन र क्वारेन्टिनकाे अभाव हुन नदिन सीसीएमसीले थप व्यवस्था गर्ने

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षीत रहन सचिव गुरागाईंले आग्रह गरे । भदौ १ गतेबाट हवाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए ।

नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढ्दाे

काठमाडाैं । शिलापत्रडटकमले आयोजना गरेको नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढेको छ । २० साउनदेखि सुरु भएको सो फेयरमा अहिलेसम्म ५० हजार विद्यार्थीले भिजिट गरेका छन् । एसईई परीक्षा दिएर ११ को भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर परामर्श दिन फेयरको आयोजना गरिएको हो । ‘अहिलेसम्म ५० हजारले भिजिट गरेका छन्,’ फेयरका संयोजक सुरेश सिम्खडाले भने, ‘नेपाल एडुफेयरबाट विद्यार्थीले परामर्श लिइरहेका छन् । कुन कलेज पढ्ने ? कुन विषय पढ्ने ? करियर बनाउन के गर्ने ? कुन कुन विषयको महत्व कस्तो छ ? लगायतका परामर्श विद्यार्थीले घरमै बसेर पाएका छन् ।’ शिलापत्र उज्ज्वल स्कलरशीपका लागि अहिलेसम्म १६ हजार विद्यार्थीले फारम भरेका छन् । नेपाल एडुफेयर डटकम भिजिट गरेर विद्यार्थीले स्कलरशीपका लागि फारम भरेका हुन् । ‘अहिलेसम्म १६ हजार विद्यार्थीले फारम भरेका छन्,’ संयोजक सिम्खडाले भने, ‘स्कलरशीपका लागि फारम भर्ने क्रम जारी छ । आर्थिक अवस्था कमजोर भएका, जेहन्दार तथा भौगोलिक क्षेत्रको आधारमा ३५ जना विद्यार्थीका लागि १ करोडको स्कलरशीप दिन्छौँ । यो स्कलरशीप प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ पूर्ण रुपमा निशुल्क अध्ययन गर्न पाउँछन् । स्कलरशीपका लागि विद्यार्थीले लिखित परीक्षा दिनु पर्ने हुन्छ र लिखितमा उत्कृष्ट गर्ने विद्यार्थीहले अन्तरवार्तामा सहभागि हुन पाउँछन् ।’ सिम्खडाका अनुसार लिखित र मौखिक परीक्षा तथा एसईईमा प्राप्त गरेका ग्रेड र उसको पारिवारिक अवस्था लगायतका मापदण्डलाई आधार बनाएर स्कलरशीप प्रदान गरिन्छ । स्कलरशीपका लागि फारम भरेका विद्यार्थीको परीक्षा पनि सुरु भएको छ । बिहीबारदेखि काठमाडौंका विभिन्न कलेजबाट अनलाइनको माध्यमबाट स्कलरशीपको फारम भरेका विद्यार्थीको परीक्षा लिन सुरु गरिएको हो । परीक्षाको नतिजा भदौको पहिलो साता सार्वजनिक गरिने छ । स्कलरशीपको परीक्षामा सहभागी विद्यार्थी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण विद्यार्थी परामर्शका लागि कलेजमा जाने अवस्था छैन । घरबाट नै सबै बुझ्न पाएकाले विद्यार्थी उत्साहित भएका हुन् । ‘नेपाल एडुफेयर फेसबुकबाट थाहा पाएर फारम भरेको हुँ,’ अनलाइन परीक्षामा सहभागी सर्लाहीका अरुण बुढाथोकीले भने, ‘अहिले काठमाडौं आउने स्थिति छैन । त्यसैले अनलाइनबाट नै परामर्श र परीक्षा दिएको हुँ ।’ सर्लाहीकै जानकी सिंहले पनि स्कलसिपका लागि परीक्षा दिएकी छन् । ‘परीक्षा राम्रो भएको छ । नतिजा पनि राम्रै आउँछ । आर्थिक अवस्था कमजोर भएका तर पढ्न चाहेका विद्यार्थीका लागि यो राम्रो अवसर हो,’ उनले भनिन् । सिन्धुलीका वीरविक्रम श्रेष्ठ पनि खुसी छन् । ‘अनलाइन परीक्षा राम्रो भयो । सेलेक्ट भएको भनेर म्यासेज पनि आयो । धेरै जनासँग प्रतिस्पर्धा गर्नु छ । स्कलरसिप पाएँ भने पढ्न निक्कै सजिलो हुनेछ ।’ उनले भने । स्कलरशीपका लागि फारम भरेका विद्यार्थीलाई अनलाइनबाट परीक्षा र अन्तर्वार्ता लिन सुरु गरिएको हो । ‘विद्यार्थी उत्साहित छन् । हिजो परीक्षा दिएँ । आज अन्तर्वार्ता भयो । विद्यार्थीसँगै अभिभावकसँग पनि हामीले आवश्यक छलफल गरिरहेका छौं ।’ टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका बिजनेस डेभलपमेन्टका निर्देशक नारायण पोखरेलले भने, ‘विद्यार्थीको अतिरिक्त गतिविधिको सर्टिफिकेट भयोे भने स्कलरशीपका लागि थप सहयोग हुन्छ ।’ काठमाडौं मोडेल कलेज बालकुमारीका प्रिन्सिपल सुरेन्द्र सुवेदीले उपत्यकाभन्दा बाहिरबाट धेरै विद्यार्थी सहभागी भएको बताए । ‘विद्यार्थीहरू उपत्यकाभन्दा बाहिरका छन् । स्कलरशीप पाइने भएकाले उत्साहित भएका हुन् । तर अहिले सवारी चलेको छैन । कतै स्कलरशीप गुम्ने त होइन भन्नेमा उनीहरू चिन्तित छन् । विद्यार्थीहरू राम्रो कलेज र पढाइको खोजीमा छन्,’ उनले भने । साउथ वेस्टर्न स्टेट कलेजका कार्यक्रम संयोजक राजेन्द्र लामिछानेले विद्यार्थीहरू कलेजमा पढ्न आउन आतुर रहेको बताए । ‘स्कलरशीपको परीक्षामा सहभागी विद्यार्थी पोजिटिभ छन् । भर्ना गर्न आतुर छन् । अब कसरी पढ्ने ? अनलाइनबाट भर्ना हुन्छ हुँदैन भनेर सोधिरहेका छन्,’ उनले भने । नेपाल एडुफेयर ३२ साउनसम्म चल्नेछ । अघिल्लो वर्ष स्नातक तहका विद्यार्थीलाई लक्षित गरेर ८ जना विद्यार्थीलाई स्कलरशीप प्रदान गरिएको थियो ।

बहराईन एपबाट पठाएकाे रकम इसेवाबाट झिक्दा ५५ रुपैयाँ फिर्ता पाइने

काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ । दुई संस्थाबीच रेमिट्यान्स् सेवा सुरु भएसँगै नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको हाे । यससँगै, बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आईडी)मा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

देशका ४ सय ७६ विद्यालयमा बने ‘आइटी ल्याब’, साढे ३ अर्ब रुपैयाँ छुट्याएर पुनः निरन्तरता

काठमाडौं । देशका ४ सय ७६ सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याव) स्थापना गरिएको छ । नेपाल दूर संचार प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ७६ विद्यालयमा आइटी ल्याव स्थापना गरेको हो । प्राधिकरणले गत आवमा देशका विभिन्न ९ सय ३० वटा समुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ४ सय ७६ विद्यालयमा मात्र ल्याब स्थापना गर्न सकेको हो । ४ सय १४ वटा सामुदायिक विद्यालयहरुमा सामान डेलिभरी भइसकेको तर कोरोना भाइरसको कारण जडान गर्न नसकिएको बताइएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय एवं प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नको लागि प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएको थियो । सोही बजेटमा सो कार्यक्रमलाई पुन निरन्तरता दिइएको हो । गत आर्थिक वर्षमा विविध कारणले आइटी ल्याव स्थापनामा ढिलाई भएपनि प्राधिकरणले पुनः चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएर थप ७० आइटी ल्याब स्थापना गर्ने गरी १ हजार आईटी ल्याब स्थापना गर्ने उद्धेश्यले अगाडि बढेको छ । एनटीएले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पूर्ण विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आईटी ल्याब निर्माण गर्ने योजना बनाएको छ । सूचना प्रविधिको प्रयोग गरी सुविधा सम्पन्न विद्यालयमा गरिने शिक्षण विधिलाई सामूदायिक विद्यालयसम्म पुर्याउने कार्यक्रमको उद्धेश्य छ । प्राधिकरणका अनुसार यस कार्यक्रमले ग्रामिण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यायलमा पढ्ने विद्यार्थीहरु र शहरी क्षेत्रका निजी विद्यालयमा पढ्ने विद्यार्थीबीच विभेद कम गर्न कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्न सक्ने प्राधिकरण बताउँछ । सूचना प्रविधिको प्रयोग गरी सुविधा सम्पन्न विद्यालय र स्थानीयस्तरका सामुदायिक विद्यालयबीच शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई न्यूनिकरण गर्न कार्यक्रम सहयोगी बन्न सक्ने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए । प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सकारात्मक भूमिका खेल्ने यस कार्यक्रम उद्धेश्य रहेको उनको भनाई छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनपनि यस कार्यक्रमको धेरै भूमीका खेल्न सक्ने यस क्षेत्रका जानकारहरु बताउँछन् ।  अर्यालका अनुसार गत आर्थिक वर्षमा ५० प्रतिशत मात्र काम सकिएको र चालु आवमा बाँकी रहेको सबै काम सक्ने गरी तयारी भइरहेको छ । उनका अनुसार ती ल्यावका लागि प्राधिकरणले २० प्रतिशत रकम दिइसकेको छ । गत आवमै सबै विद्यालयहरुमा आईटी ल्याव स्थापना गर्ने गरी काम भइहरकेो भएपनि बिचमै कोरोना आएकोले त्यसले काम गर्न समस्या भएको र काम गर्न नपाएको उनी बताउँछन् । प्राधिकरणले स्थापना गर्ने एउटा प्रयोगशालामा २४ वटासम्म कम्प्यूटर रहेका छन् । जसमा २ सेट हार्ड डिस्क (एक्सर्टनल) पनि दिइको छ । प्रयोगशालामा इन्टरनेट पनि जोडिएको छ । डिजिटल शिक्षा प्रभावकारी हुने नेपाल सरकारले डिजिटल नेपाल निर्माणको अवधारणा अघि सारेको छ । यही समयमा विद्यालयहरुमा आईटी प्रयोगशालाले सरकारको सो अवधारणालाई सघाउने एनटीए बताउँछ । आईटी प्रयोेगशालाबाट विद्यार्थीहरुलाई सामान्य सिकाई बुझाईका कुरादेखि ठूला किसिमका तालिममा समेत सहयोग पुग्ने एनटीएको दावी छ । सिकाई छिटो र प्रभावकारी बनाउने भएकाले यसले शिक्षक तथा विद्यार्थी दुबैलाई लाभ गर्ने एनटीएको भनाई छ । साथै, अहिलेको कोरोना महामारीको अवस्थाले ई शिक्षाको महत्व बढाएको छ । डिजिटल प्रणालीबाट अध्ययन, अध्यापन गराउन समेत यो कार्यक्रम फलदायी हुने देखिन्छ ।

सनराईज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा

काठमाडाैं । सनराईज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उक्त सेवाकाे उद्घाटन भएकाे थियाे  । सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे कार्यक्रम संचालन गरिएकाे थियाे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले बताएकाे छ ।

कर्णाली राजमार्ग पुन: अवरुद्ध

जुम्ला। अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । “शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।” त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ । रासस

उपत्यकामै २१ प्रतिशतले लगाउँदैनन् मास्क

काठमाडौं । काठमाडाैं उपत्यकामै २१.१ प्रतिशत मानिसहरुले मास्क नलाउने गरेकाे पाइएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्यकामा गरेको सर्वेक्षणमा २१.१ प्रतिशतले मास्क नलगाउने देखाएको हाे उक्त सर्वेक्षण उपत्यकाको विभिन्न २३ वटा सार्वजनिक स्थल तरकारी बजार, बैक, सरकारी तथा निजि अस्पताल, सपिङ मलमा गरेकाे सर्वेक्षणमा साे नतिजा आएकाे हाे । ४५ सय २ जनामा गरेको सर्वेक्षण मात्र ७२.२ ले मास्क लगाएको पाइएको सर्वेक्षणले देखाएको छ । सर्वक्षमा ४६ जना तालिम प्राप्त व्यक्ति र ६ जनाको विज्ञ टोली खटेका थिए । मास्क लगाउनेमा पनि कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेकाे परिषद्का सदस्य सचिव प्रदिप ज्ञवालीले बताए । यस्तै, सार्वजनिक स्थलमा जम्म २७ सय ३ जनामा गरिएको सर्वेक्षणमा सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको छ ।  मास्कलाई नाक मुनी, चिउँडाेमा लाउने, हातमा राख्ने र सही तरिकाले नलगाउनेको संख्या २७.३४ प्रतिशत रहेको पाइएकाे छ ।

विद्युत प्राधिकरणले जडान गर्न थाल्याे ‘स्मार्ट मिटर’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । ‘सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उनले पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताए । स्मार्ट मिटर जडान भएपछि विहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी लगायतका काम गर्न सकिने उनले बताए । ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने अप्सन समेत रहेको छ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानहरुमा उत्कृष्ठ काम गर्दै आएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उनले बताए । मन्त्री पुनले नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरी भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्रि स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनले बताए । प्राधिकरणले पछिल्लो समय विद्युत महसुल केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।