विकासन्युज

सेती नदी जलविद्युत् आयोजना: २७ महिनामा विद्युत् उत्पादन गरिसक्ने लक्ष्य

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ । माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम जारी रहेको छ । अगामी भदौ १५ देखि थप जनशक्ति, मेशिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा प्रालिले जनाएको छ । गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाको रु तीन अर्ब ५० करोड तथा कम्पनीको स्वपूँजी रु एक अर्ब ५० करोड गरी रु पाँच अर्ब लागतमा आयोजना शुरु गरिएको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । स्थानीयवासी ३२७ जनाले आयोजनामा लगानी गरेका छन् । “लकडाउनले अरु आयोजना प्रभावित हुँदासमेत यस आयोजना अघि बढाउन सफल भयौँ, स्थानीयवासी, जनप्रतिनिधि तथा कम्पनीका व्यवस्थापक आयोजना सफल बनाउन खटिइरहेका छन् ।” उनले भने, “आगामी भदौ १५ देखि थप ३५० मजदूर परिचालन गरेर आयोजनाको पूर्ण क्षमतामा काम शुरु गर्ने योजनामा छौँ ।” उनका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), जेनेरेशन लाइसेन्स पास भएको तथा आयोजनालाई आवश्यक पर्ने निजी साढे तीन हेक्टर जमिनमध्ये ९० प्रतिशत प्राप्त भइसकेको र सरकारी १३ हेक्टर जमिन लिने प्रक्रियासमेत शुरु भइसकेको छ । अध्यक्ष पोखरेलले जेनेरेशन लाइसेन्स प्राप्त हुनुअघिनै आयोजनाको पाँच प्रतिशत हाराहारीमा काम सम्पन्न भएकाले समेत निर्धारित समय भन्दाअघिनै आयोजना सम्पन्न भएरु विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको डिजाइन गरेको हाइड्रो कन्सल्ट्यान्ट इञ्जिीनयरिङका डिजाइन प्रमुख श्यामप्रसाद भुसालले नदी जल प्रवाहमा आधारित आयोजना रहेकाले सेती नदीको पानी पाँच मिटर बाँध बाँधेर एप्रोच कल्भर्डबाट ६० मिटर लम्बाइ, २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत विद्युत्गृहमा पठाइने जानकारी दिए । सेटलिङ बेसिनबाट सफा पानी भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत्गृहमा १८७ मिटर उचाइबाट खसालिने छ । सेटलिङ बेसिन रहने राजबगरबाट खारपानी, चिप्लेटी, चौरखरबारी, कसेरी गाउँ, राातोपानी हुँदा चिन्तेबगरमा निर्माण गरिने पावर हाउससम्मको दूरी छ किलोमिटर ४०० मिटर लामो छ । चिन्तेबगरमा विद्युत्गृहका लागि आवश्यक जमिन अधिग्रहण तथा निर्माणको प्रक्रियासमेत शुरु भएको आयोजना सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले बताए । उत्पादित विद्युत् प्रसारण लाइनमार्फत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता छ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो । जलविद्युत् निर्माणबाट आफ्नो क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकास हुनेमा स्थानीयसमेत विश्वस्त छन् । वडा कार्यालय र प्रवद्र्धक कम्पनीका बीच गत वर्ष वडाको सामाजिक विकासलगायतमा १४ बुँदै सम्झौता भएको थियो । स्थानीय स्रोत साधनको उपयोगबापत आयोजनाले वडालाई रोयल्टीबाहेक वार्षिक रु ९० लाख सहयोग उपलब्ध गराउने सहमति भएको वडाध्यक्ष विक्रम गुरुङले बताए । “जलविद्युत् कम्पनीले यहाँको स्रोत परिचालन गरेबापत समाजका लागि वार्षिक रु ९० लाख दिनुपर्दछ भनेर सम्झौता गरेका छौँ, सो रकम वडाको सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा लगानी गर्नेछौँ ।” वडाध्यक्ष गुरुङले भने, “यसका साथै आयोजनामा लगानी गरेका स्थानीयवासीको लगानी सुरक्षित गर्नका लागि वडा कार्यालयले काम गरिरहेको छ ।”

पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

रसुवा । पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनरमा स्याउ रहेका छन् । पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए । रासस

भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता कार्य शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले जानकारी दिए । सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा दुईवटा बुथबाट विवरण दर्ता शुरु भएको छ । एकवटा बुथबाट यही साउन ४ गतेबाट श्ुरु भएको र अर्को बुथ आइतबारबाट शुरु भएको हो । दुईवटा बुथमा दुई वटा कम्प्युटरलगायतका आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले जानकारी दिए । नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् । पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई यसबारेमा अभिमुखीकरण दिएको जानकारी दिँदै उनले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन शुरु गरिने जानकारी दिए । तत्काल भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु गरे पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायतका प्रविधि जडानका लागि एकसाता समय लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ । रासस

उपभोक्ता ठगिएपछि भाटभटेनी सुपरमार्केट दुई शाखा कारवाहीमा

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गत चैत ११ गते कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारवाहीमा परेको विभागले जनाएको हो । यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारवाहीमा परेका हुन् । भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ । भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताए । अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी रु ९० कम फिर्ता दिएको उनले जानकारी दिए । भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उनले सुनाए । कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ । भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ । सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ताको गुनासो छ । भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्नुहुन्छ । कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहोर्याए कारवाही गर्ने चेतावनी दिइएको पनि उनले बताए । ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गर्नुभयो । भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उहाँको भनाइ छ । भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ । यस्ता सुपरमार्केटलाई पारदर्शीरुपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन् । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल ठूला सुपरमार्केटमा बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुने गरेको सुनाउनुहुन्छ । यस्ता सुपरमार्केटमा जोडिएका राजनीतिक व्यक्तित्वका कारण पनि विभाग अनुगमनका लागि हच्कने गरेको उहाँको आरोप छ । लाखौँ उपभोक्ता पुग्ने र सबै खाले सामान राखिएका यस्ता बजारको नियमित अनुगमन गर्ने गरी जनशक्तिको व्यवस्थापन हुन नसकेको उपभोक्ता हितमा कार्यरत संस्थाको भनाइ छ । गतचैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारवाही गरेको थियो । केही समय अघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारवाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । “अनुगमनका क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारवाहीबाट उम्कन खोज्छन्”, उहाँले भन्नुभयो । यस सम्बन्धमा प्रतिक्रियाका लागि भाटभटेनीको मुख्य शाखा नक्सालका अधिकारीसँग प्रतिक्रियाका सम्पर्क गर्दा अधिकारी एकापसमा पन्छिए । भाटभटेनीका उपत्यकाका अनामनगर, नक्साल, महाराजगञ्ज, त्रिपुरेश्वर, पाटन, सातदोबाटो, कोटेश्वर, भक्तपुर, बौद्ध र कलङ्कीमा गरी १० स्थानमा शाखा छन् । यसैगरी उपत्यका बाहिर धरान, विराटनगर, बुटवल, नारायणघाट, पोखरा, भैरहवा र नेपालगञ्ज गरी सात स्थानमा शाखा छन् । भाटभटेनीका देशभर १७ स्थानमा आफ्नै भव्य भवनसहित शाखा स्थापना भएका छन् ।

जीवन बीमामा अभिकर्ता किन राख्ने ?

काठमाडौं । सामान्यतः तपाईंले अभिकर्तामार्फत २० वर्ष अवधिको २० लाख रुपैयाँ बराबरको जीवन बीमा गर्नुभयो पहिलो दुई वर्षमै अभिकर्ताले ५० हजार रुपैयाँ कमिसन पाउँछ । त्यसपछिका ८ वर्षसम्म अभिकर्ताले वार्षिक ५ हजार रुपैयाँका दरले ४० हजार रुपैयाँ पाउँछ । किनभने जीवन बीमामा अभिकर्ताले पहिलो २ वर्ष २५ प्रतिशत र त्यसपछिको ८ वर्षसम्म वार्षिक ५ प्रतिशतका दरले कमिसन पाउँछ । तपाईंले बीमा गराएको १० वर्षभित्रमा अभिकर्ताले ९० हजार रुपैयाँ पाइसकेको हुन्छ । त्यसपछिको १० वर्षसम्म अभिकर्ताले केही पाउँदैन । तपाईं आफै कुनै बीमा कम्पनीको कार्यालयमा छिर्नुभयो र जीवन बीमा गराउनु भयो भने पनि तपाईंले २० वर्षसम्म वार्षिक १ लाख रुपैयाँका दरले नै बीमाशुल्क तिर्ने हो । फरक के हुन्छ भने अभिकर्ताले पाउने ९० हजार रुपैयाँ तपाईंले केही गरी पाउनु हुन्न । कम्पनीलाई फाइदा हुन्छ । यति तथ्य थाहा पाएपछि तपाईंको मनमा अभिकर्ताले पाउने कमिसन आफै गएर बीमा गराउँदा छुट पाउने व्यवस्था किन नभएको होला भनेर प्रश्न उठ्दैन ? जीवन बीमामा अभिकर्ता प्रणाली नै हटाएर सिधै बीमा गर्न पाइने र त्यसको सुविधा बीमा गर्ने व्यक्ति (बिमित) र कम्पनी (बिमक) ले लिए हुदैन ? बीमा क्षेत्रका सरोकारवाला अभिकर्ताबिना जीवन बीमाको चक्र नै नचल्ने बताउँछन् । र, यो पनि भन्न छुटाउँदैनन् कि बीमा भनेको सबै मानिसका लागि अत्यावश्यक विषय हो । जीवन बीमा सबैका लागि अत्यावश्यक कुरा हो भने यसको महत्व मात्रै बुझाए हुँदैन ? जसरी घरमा, आफन्तकोमा वा आफूले विश्वास गरेको व्यक्तिको साटो बैंक तथा वित्तीय संस्थामा पैसा राख्नु उपयुुक्त हुन्छ भनेर बैंक तथा वित्तीय संस्थामा रकम राखिन्छ, त्यसैगरी बीमा पनि आवश्यक कुरा हो भन्ने बोध गराउन सके अभिकर्ताले बीमा गराउन सक्षम देखिएको व्यक्तिलाई बीमा गराऊँ भनेर दिनरात ‘हैरान’ पारिरहनु पर्ला र ? संस्थागत अभिकर्ताः विकृतिको अर्काे संरचना बैंकको सेवा स्तरीय छ, नेटवर्क प्रभावकारी छ भन्दै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रिया संसदीय समिति हुदै नियामकीय कार्यक्षेत्रमा आइपुगेको छ । बलियो र प्रभावकारी नियामक निकाय नेपाल राष्ट्र बैंकको नियमन दायराभित्रका बैंक तथा वित्तीय संस्थाहरुले गरेका काममा खोट देखिदैन भन्ने मान्यताले लगानीकर्ताबाट बैंकलाई सेयर ब्रोकरको अनुमति माग भएको थियो । तर, बैंक तथा वित्तीय संस्थालाई बीमा अभिकर्ता बनाउने प्रयासको भने सुखद अनुभूति छैन । बैंक तथा वित्तीय संस्थाले गरेको जीवन बीमामध्ये ६० प्रतिशत व्यतित (फेल) भएको छ । आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा बैंकहरुले जीवन बीमा गराई करिव २ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । त्यसमध्ये ६० प्रतिशत ल्याप्सेस (व्यतित) भएको बीमा कम्पनीहरुको भनाई छ । ‘बैंक तथा वित्तीय संस्थाले गराएको बीमामध्ये ६० प्रतिशत बीमितले दोस्रो वर्ष बीमा किस्ता तिर्न आएनन् दोस्रो वर्ष बीमा शुल्क नतिरेपछि त्यो बीमा लेख खारेज हुन्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । ६० प्रतिशत जीवन बीमा पोलिसी व्यतित हुँदा बीमितको १ अर्ब ६८ करोड रुपैयाँ गुमेको छ । यसको २५ प्रतिशत बैंकले कमिशनको रुपमा खाएका हुन्छन् भने ७५ प्रतिशत बीमा कम्पनीको पोल्टामा जान्छ । जीवन बीमा पोलिसी खरिद गरेपछि बीमितले कम्तिमा दुई वर्षको बीमा शुल्क नबुझाएमा त्यो पोलिसी व्यतित हुन्छ । अर्थात, बीमकलाई बुझाएको सबै बीमा शुल्कमा बिमितको अधिकार गुम्छ । ‘ल्याप्सेस बढ्दा कम्पनीको आम्दानी बढ्छ, इज्जत गुम्छ’ यसरी बीमा पोलिसी व्यतित हुँदा बिमितलाई सोझै नोक्सान हुने तर बीमा कम्पनीहरुलाई पनि फाइदा नहुने प्राइम लाइफ इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई बताउँछन् । ‘हामीले जे काम गर्छाैं, त्यसमा नाफा मात्रा खोजेर हुन्न, इज्जत पनि हुनुपर्छ, जति बढी बीमा पोलिसी व्यतित हुन्छ, त्यति नै बीमा गर्ने गराउनेको बद्नामी पनि बढ्छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने । बीमा पोलिसी व्यतितको संख्या बढेपछि बीमाङ्कीय मूल्याङ्कनमा बीमा महँगो देखिने र त्यसले बीमाको बोनस दर घटाउने यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन् । बैंकहरुले आफ्ना ग्राहकलाई बीमाको महत्व नबुझाई बलपूर्वक बीमा गराउँदा सर्वसाधारणलाई धेरै मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकास्योरेन्स बन्द गरेको थियो । बीमा अभिकर्ता संघ नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीतिको लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको सुझाव पत्रमा बैंकहरुले बीमा गराउँदा गम्भिर त्रुटी गरेको औल्याएका छन् । बैंकहरुले बीमा सित्तैमा भनेर विज्ञापन गरेको, निक्षेपकर्ताको खातामा रहेको पैसा हेरेर निक्षेपकर्तालाई बोलाएर बीमा गर्न लगाउने गरेको, ऋण स्वीकृत गर्नुपूर्व ग्राहकलाई जीवन बीमा गराउन बाध्य पारेको, बैंकका कर्मचारीले बीमाको प्राविधिक पक्ष नबुझी झूटा आश्वासन दिएर ग्राहकलाई बीमा गराएको बीमा अधिकर्ता संघको ज्ञापन पत्रमा उल्लेख छ । यसरी सर्वसाधारणलाई बाध्य पारेर बीमा गराउने अभ्यासले बीमा बजारमा बद्नाम भएको, बीमा पोलिसी व्यतित हुने क्रम बढेको, बीमा महँगो हुँदै गएको, बीमाप्रति सर्बसाधरणमा विश्वास गुम्दै गएको संघको तर्क छ । अनि संस्थागत हटाएर व्यक्तिगतमा जोड संस्थागत (खासगरी बैंक तथा वित्तीय संस्था) अभिकर्तामा विकृति देखिएपछि फेरि व्यक्तिगत अभिकर्तामा नै जोड दिन थालिएको छ । बीमा क्षेत्रको नियामक निकाय समिति पनि बीमाको पहुँच बढाउन अभिकर्ताहरुकोे भुमिका महत्वपूर्ण रहने बताउँदै आएको छ । बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण मानिदै आएको छ । बिमितलाई बीमा के हो ? भनेर बुझाउनेदेखि दाबी भुक्तानीसम्ममा अभिकर्ताले सहजीकरण गर्ने गर्ने गरेका छन् । बीमा गराए बापत अभिकर्ताले कसिमन रकम प्राप्त गर्छन् । अभिकर्ता बीना बिमित आफैले बीमा गर्न सकेमा अभिकर्तालाई तिर्ने कमिसन जोगिन सक्थ्यो । यसरी अभिकर्तालाई तिर्ने शुल्क जोगाउन सके सो शुल्क बिमितले तिर्ने बीमाशुल्कमा सहुलियत हुनपुग्थ्यो । कुनै कोणबाट हेर्दा अभिकर्ताको भुमिका अपरिहार्य हुन्छ भने कुनै कोणबाट हेर्दा अभिकर्ता बीना नै बीमा सम्भव हुनेपनि देखिन्छ । परम्परागत रुपमा बीमा गर्दा अभिकर्ताबिना बीमा नुहने देखिन्छ । तर बीमा व्यवसायलाई नयाँ अभ्यासको रुपमा अभिकर्ताबिना नै बीमा हुने व्यवस्था नै गर्न नसकिने भने होइन । अभिकर्ताहरुले फ्रन्ट लाइनमा बसेर बीमा गराउने काम गर्छन् । तर कतिपय अवस्थामा अभिकर्ताले बीमा गराउने नाममा व्यक्तिहरुलाई अत्याधिक फलो गर्दा बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बनेका उदाहरण पनि छन् । अहिलेसम्मको अवस्था हेर्ने हो भने बीमा गर्नु आफ्नो र परिवारको आर्थिक जोखिमको रक्षावरण तथा फोर्सफूल बचतभन्दा पनि अभिकर्ताको लागि गर्ने कुरा हो भन्ने धारणा धेरैमा स्थापित भएको छ । बीमा क्षेत्रमा अभिकर्ताको आफ्नै महत्व रहेको छ । तरपनि बीमा गर्ने चाहना व्यक्तीहरुमा कतिको छ भन्ने कुरा थाहा पाउन नसक्नु अभिकर्ताको कमजोरी पनि हो । बीमा गर्दा अभिकर्ताबाट अपनाइने केही अभ्यासका कारण पूरा उद्योग नै बदनाम हुने स्थिति समेत उत्पन्न भएको छ । तर बीमा क्षेत्रका सरोकार निकायहरुले बीमाको स्वच्छ बजार निर्माणलाई सधै प्राथमिकतामा राख्न ध्यान दिने हो । यस्तै, बीमाशुल्कमा केही सहुलियत दिन सकेमा बीमाको दायरा समेत थप वृद्धी हुनसक्छ । सोही कारण बीमा कम्पनीहरुले अभिकर्ताबिनाको बीमा बजारको अभ्यास गर्दा बजारलाई राम्रो हुने एक किसिमको आँकलन समेत हुने गरेको छ । तर अन्तर्राष्ट्रय संजालसमेत भएका बीमा अभिकर्ताहरु सो कुरा भने स्विकार गर्न मान्दैनन् । मिलियन डलर राउण्ड टेवल (एमडीआरटी) अभिकर्ताहरुको अन्तराष्ट्र्रिय संगठन हो । बीमा कम्पनीमा सक्रिय रहेर दिए अनुसारको व्यवसाय भित्र्याउदा अभिकर्ताहरु एमडीआरटीको सदस्य बन्नेदेखि सम्मानित हुनेसम्मका अवसरहरु पाउँछन् । यस्ता अभिकर्तासँग सम्बन्धित संस्था, संगठन धेरै छन् । सो संस्थाहरुको आफ्नै महत्व रहदै आएको छ । अभिकर्ताको कमिशन विश्वव्यापी उस्तै बीमा गरे बापत अभिकर्ताहरुले कमिशसन पाउने गर्छन् । अभिकर्ताबिना नै बीमा गर्न सकिएमा अभिकर्ताले पाउने कमिशनलाई बीमाशुल्कमा राहातको रुपमा प्रयोग गर्न सकिन्छ भने एउटा तर्क होे । तर अभिकर्ताले बीमा गराउँदा कमिसन पाउनु अपरिहार्य हो भन्ने विश्वव्यापी मान्यता पनि हो । किनभने नेपालमा बीमा अभिकर्ता बनेको व्यक्ती अन्र्तराष्ट्रिय रुपमा समेत सोही पेशा अगाल्न सक्छ । बीमाको सिद्धान्त अन्तर्राष्ट्रिय रुपमा नै समान हुने भएकाले अभिकर्ताहरुले विश्वको जुनसुकै कसैको बीमा गराएमा त्यसबापत कमिसन पाउँछन् । के भन्छ पेशागत अभिकर्ता महासंघ ? अभिकर्ता महासंघले अभिकर्ताबिना नै बीमा गर्न सम्भव भएपनि सो कुरा नेपालमा लागू गर्न नसकिने बताएको छ । बीमाको अन्तर्राष्ट्रिय महत्व छ । सो कुुरा बिमितहरुले बुझ्न आवश्यक हुन्छ । बिमितलाई बीमा के हो भनेर बुझाउनेदेखि दाबी भुक्तानीको बेलामा सघाउने काम अभिकर्ताहरुले गरेका हुन्छन् । सोही कारण बीमा क्षेत्रमा अभिकर्ताको महत्व धेरै हुने भएकाले अभिकर्ताहरु हटाएर बीमा गराउन नसकिने अभिकर्ता महासंघको दाबी छ । तत्कालका लागि बीमा गर्न सक्रिय नेपाली जनताको जनसंख्या ५ प्रतिशत रहेको अभिकर्ताहरु बताउँछन् । सोही कारण बीमा गराउन कर–बलले बजर्जस्ती बिक्री गर्नु पर्ने अवस्थामा रहेको छ । कुनै पनि व्यक्तिले स्वइच्छाले जीवन बीमा नगर्ने अभिकर्ता र कम्पनीहरु बताउछन् । अभिकर्ता चाहिन्छः बीमा समिति अन्तर्राष्ट्रिय रुपमा हर्ने हो भने अभिकर्ताबिना नै बीमा सम्भव हुने गर्छ । तर यसरी बीमा सम्भव हुने भनेको निर्जीवन बीमा व्यवसायमा हो । जीवन बीमाको हकमा हेर्ने हो भने विश्वव्यापी रुपमा जहाँपनि अभिकर्ता राख्ने चलन छ । यसरी अभिकर्ता राख्नुको कारण भनेको बीमा क्षेत्रमा अभिकर्ताले खेल्ने बजारीकरणको भूमिकाले गर्दा हो । महत्वपूर्ण भूमिका हुने भएकाले बीमा बजारमा अभिकर्ता अपरिहार्य रहेको सरोकारवाला बताउँछन् । यद्यपि, बीमा अभिकर्ता किन चाहियो भन्ने प्रश्न उठेकोप्रति बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि बेखबर भने छैन । अभिकर्ता बीना नै बीमा गर्छु भन्नु एक किसिमले सफल नहुने बीमा समितिको भनाइ छ । सर्वसाधारणले अभिकर्ताहरुबाट कतिपय अवस्थामा नचाहिदा आवश्वासन पाउँने गरेको गुनासो समेत गर्छन् । बीमा समिति भने दक्ष अभिकर्ता आजको आवश्यकता भएकाले त्यसको लागि काम गरिरहेको बताउँछ । प्रत्येक्ष बीमा गराउने र यसमा अझ प्रविधिको प्रयोग गरेर जीवन बीमा व्यवसायलाई पूर्ण डिजिटल गराउनु पर्ने माग पनि उठेको छ । तर, डिजिटल्ली नै बीमा गरेर दाबी भुक्तानीसम्म डिजिटल बनाउन अहिलेकै अवस्थामा गाह्रो पर्ने भएकाले अभिकर्ताको आवश्यकता पर्ने बीमा समिति बताउछ । लाइसेन्समा कार्टेलिङ गर्ने अभिकर्ताको प्रयास अभिकर्ताहरुले बीमा क्षेत्रमा आफूहरुले पाउने लाइसेन्स प्रक्रियामा केही सुधार गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुको माग भनेको अभिकर्ता लाइसेन्समा कडाइ हो । जसलाई पायो, त्यसलाई भन्दापनि केही सिमित रुपमा अभिकर्ताको लाइसेन्स बाढ्दा राम्रो हुने अभिकर्ताहरुको धारणा छ । तर बीमा समितिले भने प्रवेशिका परिक्षा (एसएलसी) पास भएको व्यक्ति बीमा अभिकर्ता बन्न सक्ने कानुन िव्यवस्था भएकाले यसमा कडाई गर्न नमिल्ने बताउँछ । अभिकर्ताको संख्यामा किन प्रतिस्पर्धा ? केही वर्ष अघि संचालनमा आएका बीमा कम्पनीहरु पनि मेरो यति हजार अभिकर्ता भए भन्दै आफ्नो सफलताको सुचकका रुपमा अभिकर्ताको संख्यालाई पनि लिन्छन् । अभिकर्ता धेरै भयो भने बढी व्यवसाय आउने भएकोले उनीहरुको ध्यान अभिकर्ताको संख्यामा गएको हो । तर, अहिलेको समय भनेको संख्या मात्र हेर्ने भन्दापनि गुणस्तर हेर्न आवश्यक रहेको समिति बताउँछ । दक्ष जनशक्ति निर्माणका लागि बीमा चेतना कार्यक्रममा वृद्धि गर्न आवश्यक रहेको समितिको ठम्याई छ । आचारसंहिता बेवारिसे अभिकर्ताहरुले आफ्नो आचारसंहिता बनाएका छन् । तर, त्यसको पालना भने खासै नभएको सरोकारवाला नै बताउँछन् । अभिकर्ताहरुलाई अनुशासनमा रहन सहयोग गर्ने अभिकर्ता महासंघ पनि छ । आफ्नो ट्रयाकबाट बाहिर जान खोज्ने अभिकर्ताहरुलाई आचारसंहिता पालना गराउन महासंघले पनि नसकेको गुनासो आउँने गरेको छ । अभिकर्तालाई बलियो बनाऔंः समिति अभिकर्ताहरुले बीमा बजारीकरणमा मुख्य भूमका निर्वाह गर्ने भएकाले यसमा अहिले नै पुनर्बीचार आवश्यक नदेखिएको बीमा समितिले बताएको छ । समितिका कार्यकारी निर्दशक राजुरमण पौडेलका अनुसार अभिकर्तालाई बलियो बनाउनु आजको आवश्यकता हो । ‘हामीले अभिकर्ताहरुलाई बलियो बनाउन आवश्यक छ, यसका लागि दक्षता बढाउने किसिमका तालिम प्रदान गर्न आवश्यक देखिन्छ, अभिकर्ताले बजारीकरणमा सघाउने तथा अभिकर्ताबिनाको बीमा बजार पूरा नहुने भएकाले आवश्यक जनचेतना र तालिमलाई प्राथमिकता दिन आवश्यक रहेको छ’, कार्यकारी निर्देशक पौडेलले भने । यस्तै, अभिकर्ता महासंघका अध्यक्ष नन्दप्रसाद तिवारीका अनुसार अभिकर्ताको समस्या अभिकर्ता बाहेक अरुले पनि बुझ्नु पर्छ र राम्रा अभिकर्ता उत्पादन गर्न सबैले साथ दिनु पर्छ । ‘अहिले बजारमा अभिकर्ता नै नभएका त होइनन् तर बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता हो, यसमा नेपाल सरकार, बीमा समिति, बीमा कम्पनी, बिमित तथा अभिकर्ता साथीहरु सबैले ध्यान दिनु पर्ने बेला आएको छ, तर नेपालको सन्दर्भमा अभिकर्ताबिना नै बीमा गर्छौं भन्ने धारणा चाहि बेकारको कुरा हो’, अध्यक्ष तिवारीले भने । अध्यक्ष तिवारीले अभिकर्ताहरुले व्यक्तित्व विकास गर्ने, रोजगारीको सुनिश्चितता पाउने, सही काम गर्नेहरुलाई सकारात्मक उर्जा दिनेहरुको अभाव रहको बताएका छन् । बीमा विज्ञ भोजराज शर्माका अनुसार अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बीमा गराउने बिमित बढाउदै बीमाको पहुँच समेत वृद्धि गर्न मद्दत गर्छ । तर अभिकर्ताहरु नै भएनन् भने बीमाका बारेमा जानकारी नपाएकाहरुले बीमा गराउने सम्भावना रहदैन । यस्तो अवस्थामा घर–घरमा गएर कर्मचारीले बीमा बुझाउन सम्भव नहुन सक्छ । हाल नेपालमा अभिकर्ताबिना नै बीमा गराउन मिल्ने व्यवस्था छ । यसरी बीमा गराउदा वा अभिकर्तासँग बीमा गराउदा बीमाशुल्कमा खासै हेरफेर हुँदैन । तर अभिकर्तासँग बीमा गराउँदा अभिकर्ताहरुले बिमितलाई आवश्यक समयमा खबर आदान–प्रदान गर्ने गर्छन् । ‘अभिकर्ता भनेका बीमा क्षेत्रका व्याकबोन हुन्, सिमित मान्छेले मात्र बीमा बुझ्ने र गर्ने अवस्था हटाउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ’, बीमा विज्ञ शर्माले भने । बीमा गर्दा अभिकर्ताले पाउँने कमिशन एक देशको तुलनामा अर्को देशमा केही भिन्न हुन्छ । यसमा विभिन्न फ्याक्टरहरुले असर पार्न विज्ञले बताएका छन् । कति हुन्छ कमिसन ? जीवन बीमा गराउँदा हाल अभिकर्ताहरुले १० वर्षसम्म कमिशन पाउने व्यवस्था छ । २० वर्षे अवधिको जीवन बीमा गर्दा पहिलो र दोस्रो वर्ष अभिकर्ताले २५/२५ प्रतिशत कमिशन पाउँछन् । तेस्रोदेखि १० औं वर्षसम्म अभिकर्ताले बिमांक रकमको ५ प्रतिशतका दरले कमिशन पाउँछन् । १५ वर्ष अवधिको जीवन बीमा गराउदा अभिकर्ताले पहिलो वर्ष २५ प्रतिशत कमिशन पाउछन् । यस्तै, दोस्रो वर्ष १५ प्रतिशत कमिशन पाउने व्यवस्था छ । तेस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिशन पाउछन् । अभिकर्ताले पाउने कमिशनमा १५ प्रतिशत कर लाग्छ । बीमा अभिकर्ता संख्या नेपालमा बीमा अभिकर्ताहरुको संख्या ५ लाखको हाराहारीमा भएको बताइन्छ । तर, सक्रिय अभिकर्ताको संख्या १ लाख २१ हजार ९ सय १३ रहेको बीमा समितिले जानकारी दिएको छ ।

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मेवारी आयोगलाई   

काठमाडौं  । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको उचित निरुपणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायलाई जिम्मेवारी दिएको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव दिनेशकुमार घिमिरेले सो कुराको जानकारी दिएका हुन् उनले विवादका तीन चरणमध्ये दुई चरणको विवाद समाधानका लागि आयोग र एक चरणको महसुल उठाउन भने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिए ।  तीन चरण भन्नाले विशेषगरी २०७२ असार १२ गतेदेखि पुस २९ गतेसम्म र २०७५ जेठ १ गतेदेखि २०७७ जेठ मसान्तसम्मको महसुल विवादको निरुपणका लागि आयोगलाई जिम्मा दिइएको छ । यस्तै २०७५ पुसदेखि २०७५ वैशाख मसान्तसम्मको महसुल उठाउने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ । प्राधिकरण सञ्चालक समितिले २०७२ असार १२ गते उद्योगी तथा व्यवसायीले चाहेको खण्डमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट थप महसुल तिरेर विद्युत् लिन सक्ने निर्णय गरेको थियो । उक्त निर्णय प्राधिकरणको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको भन्दै शिवम् सिमेन्टले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्चमा मुद्दा परेपछि प्राधिकरणले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगलाई उक्त व्यवस्था गरिएको जानकारी गराएको थियो । प्राधिकरणले जानकारी गराए लगत्तै आयोगले २०७२ साल पुस २९ गते प्राधिकरणले तय गरेको महसुल स्वीकृत गरेको थियो । सचिव घिमिरेका अनुसार विद्युत्भार कटौतीको विधिवत् अन्त्य भएपछि २०७५ साल वैशाख मसान्तदेखि २०७७ साल जेठ मसान्तसम्मको पनि थप महसुल पठाएको भन्दै उद्योगी तथा व्यवसायीले विरोध गर्दै आएका थिए । सरकारले औपचारिकरूपमा विद्युत्भार कटौतीको अन्त्य गरेपछि ‘हामीले किन थप महसुल तिर्ने’ भन्दै प्राधिकरणले पठाएको बिलअनुसारको महसुल तिर्न अटेर गर्दै आएका थिए । गत असारदेखि भने आयोगले डेडिकेटेड र ट्रङ्क लाइनको व्यवस्था हटाइदिएको छ । यही साउन १ गतेदेखि भने नयाँ महसुल दर लागू भइसकेको छ । सचिव घिमिरेका अनुसार २०७२ पुस २९ गतेदेखि २०७५ साल वैशाख मसान्तसम्म पनि उद्योगीले आफूहरुले विद्युत्भार कटौतीको समयमा थप विद्युत् प्रयोग नगरेको भन्ने भनाइ तथ्यमा आधारित नरहेको पाइएको छ । प्राधिकरण र उद्योगी व्यवसायीबीच डेडिकेटेड र ट्रङ्क लाइनबाट लिएको विद्युत्को महसुलका सम्बन्धमा विवाद रहँदै आएको थियो । प्राधिकरणले जसरी भए पनि महसुल उठाउने अडान राख्दै आएको थियो भने उद्योगी तथा व्यवसायीले आफूहरुले प्रयोग नै नगरेको महसुल नतिर्ने जिकिर गर्दै आएका थिए । विवाद बढ्दै गएपछि सरकारले २०७६ पुस २१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरेको संयोजकत्वमा अर्थ, उद्योग मन्त्रालयका सचिव रहने गरी समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन केही दिन पहिले मन्त्रिपरिषद्मा पेश भएको थियो । मन्त्रिपरिषद्को यही साउन १९ गतेको बैठकले उक्त प्रतिवेदन स्वीकृत गरी आवश्यक कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिएको छ । प्राधिकरणले पनि डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वको समितिमार्फत अध्ययन गरेको थियो । यस्तै सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा सो विषयले प्रवेश पाएको थियो । लेखा समितिले उठाउन बाँकी रहेको महसुल उठाउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको थियो । महसुलका सम्बन्धमा चित्त नबुझेको खण्डमा प्राधिकरणको पुनरावलोकन समितिमा नगई उद्योगी तथा व्यवसायीले देशका विभिन्न उच्च अदालतमा मुद्दा दायर गरेका थिए । कूल २६ वटा मुद्दामध्ये २० वटामा अदालतले पुनरावलोकन समितिमा जान र नियमानुसार महसुल तिर्नुपर्ने फैसला गरिदिएको थियो । उद्योगी व्यवसायीले भने आफूहरुले प्रयोग नै नगरेको महसुल तिर्न भन्दै प्राधिकरणले बिल पठाएकोमा आक्रोश व्यक्त गर्दै आएका थिए । सरकारले गठन गरेको समितिले समेत अदालतको फैसलाको समेत मिहिनरूपमा अध्ययन गरेको सचिव घिमिरेले जानकारी दिए । रासस

भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका हवाई उडान र लामो दूरीका यातायात नचलाउन प्रस्ताव

काठमाडौं । भदौ १ गतेबाट सञ्चालन हुने भनिएका लामो दूरीका यातायत, हवाई उडान सेवा र शिक्षण संस्था नखुल्ने भएको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन, विद्यालय भर्ना र हवाई उडान गर्ने निर्णय गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि अब सो निर्णय कार्यान्वयन नहुने लगभग निश्चित भएको छ । आज बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बैठकले लामो दूरीको यातायात र हवाई उडान सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो । सीसीएमसीकाे बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो । सीसीएमसीले यस्तो प्रस्ताव गरेसँगै मन्त्रिपरिषद्काे सो निर्णय कार्यान्वयन नहुने पक्का भएको हाे । गत बिहीबार साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पनि सीसीएमसीको प्रस्ताव अनुसार नै मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएका थिए । उनले भने अनुसार नै सीसीएमसीले पनि यस्ताे प्रस्ताव गरेको हाे। अब भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका सेवाहरु १५ दिन पछाडि धकलिने पक्का भएको हो । यस्तै, बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले ट्रंक लाइन तथा डेडिकेटेड फिडर सम्बन्धी विवाद समाधानका लागि तयार भएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्बाट गठित समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्कै निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन गर्न लागेको बताएका हुन् । उनले प्रतिवेदनमा उल्लेख भए अनुसार कार्यान्वयनको प्रक्रिया सुरु गर्न नेपाल विद्युत प्राधिकरण र विद्युत नियमन आयोगमा पठाउन लागिएको बताए । विद्युुत उपभोक्ता उद्योगहरु र नेपाल विद्युत प्राधिकरणबीच ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउने सम्बन्धमा विवाद रहेको थियो । सोही विवाद समाधानका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले उर्जा समचिव दिनेश कमुार घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले उद्योगीहरु र विद्युत प्राधिकरण बीच देखिएको विवादलाई तीन भागमा वर्गिकरण गरेर अध्ययन प्रतिवेदन तयार गरेको सचिव घिमिरेले बताए । उनले २०७२ पुष महिना अघिको अवस्था, २०७२ पुष २९ गने देखि २०७५ बैशाख ३१ गते सम्म र त्यस भन्दा पछिको अवस्थालाई सुक्ष्म अध्ययन गरेर सुझाव पेश गरिएको बताए । उद्योगीहरुले लोडसेडिङ हटेपछि पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाएको भन्दै नतिर्ने बताउँदै आएका छन् । यस्तै ट्रंक लाइन र डेडिकेटेड फिडरका लागि आवेदन नै नदिएका उद्योगहरुमा पनि त्यस्तो महसुलको बिल काटेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका थिए । तर विद्युत प्राधिकरणले लोडसेडिङ भएको समयमा पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेको भन्दै महसुल उठाउने बताएको छ । उक्त महसुल नलिने निर्णय प्राधिकरण आफैले गर्न नसक्ने भएकाले प्राधिकरणको सञ्चालक समितिले पनि सोही अनुसार नै महसुल उठाउने निर्णय गरेको बताए । २०७२ पुष १९ देखि २०७५ वैशाख ३१ गते सम्म पनि उद्योगहरुले लोडसेडिङको अवस्थामा नबसी विद्युत उपभोग गरिरहेको देखिएकोले सोही अनुसार महसुल निर्धारण गर्न प्राधिकरणलाई सिफारिस गरेको र बाँकीको हकमा विद्युत नियमन आयोगलाई समस्या समाधान सिफरिस गरिएको बताए । विभिन्न समयमा अदालतले दिएका आदेशको विवरणलाई अध्ययन गरेर पनि प्रतिवेदन तयार पारिएको सचिव घिमिरेले बताए । उद्योगहरुले कुनैपनि समयमा लोडसेडिङमा नबसेको र ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेकाले महसुल तिनैपर्ने गरी सिफारिस गरिएको बताए । समितिले विस्तृत अध्ययनका लागि उपसमिति समेत गठन गरेको थियो ।