आइतबार काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ९० र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९१२ ललितपुरमा १३९ र भक्तपुरमा ८५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११२८ पुगेको छ । शनिबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
आज थप ३ सय ८० जनामा काेराेना देखियाे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ८० जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ९ सय ७२ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् भने आजसम्म ४ लाख २० हजार ८ सय ३२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ । आईतबार थप २ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
बसमा यात्रुकाे काेचाकाेच, किन वास्ता गर्दैनन् गाडीवाला ?
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपनि सार्वजनिक सवारी साधनमा भने त्यसकाे सतर्कता र सजगता देखिँदैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर पनि यात्रा गरिरहेका छन् । उनीहरुले भिडभाड भएकाे गाडीमा यात्रा गर्नु बाध्यता भएकाे बताएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउँछन् । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उनले सुनाए । सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात/आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे । यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालकसँग बाझ्नु परेको सुनाउँछन् । यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे । उनले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाए । यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोर-बिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उनी बताउँछन् । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की बताउँछन् । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउँछन् । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उनले सुनाए । महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउँछन् । शनिबारसमेत नियम विपरीत चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताए । “सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहोरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग ऐनअनुसार हदैसम्मको कानूनी कारवाही गर्छाैं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउनेलगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानूनी कारवाही गर्छ,” उनले भने । ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी गर्छन् । यसरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उनको भनाइ छ । राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मुकदर्शक बनेको महासङ्घले जनाएको छ । दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमास्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताए ।
बैंकका कर्मचारीलाई आलोपालो र घरबाट काम सुविधा, जानकारी दिएर शाखा बन्द गर्न छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो अफिस जान पाउने व्यवस्था गर्न र घरबाटै काम गर्न पाउने प्रबन्ध मिलाउन निर्देशन दिएको छ । कोभिड–१९, संक्रमणको जोखिम न्युनिकरण एवं सुरक्षाका लागि सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा प्रवाह योजना बनाउन र कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि भनिएको छ । यसरी सेवा सुचारु गर्न नसकि शाखा बन्द गर्नु पर्ने अवस्थामा अनलाईन प्रणालीबाट केन्द्रीय बैंकलाई नियमित रिपोटिङ गर्न पनि निर्देशन दिइएको छ । बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू भएका कारण सिर्जित समास्या स्थानीय तहसँग समन्वय गरी समाधान गर्न र त्यसो पनि गर्न नसके शाखा बन्द गर्न सकिने सन्देश राष्ट्र बैंकले आईतबार जारी गरेको निर्देशनमा दिइएको छ ।
स्वास्थ्य मन्त्रालयकाे ३ जना कर्मचारीमा काेराेना पुष्टि
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे जानकारी दिए । संक्रमित ३ जना कार्यलय सहयाेगी रहेकाे गाैतमले बताए । परीक्षणकाे नतिजा आज आएकाे र उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेकाे गाैतमले जानकारी दिए ।
यी हुन् वाणिज्य विभागले बन्द गरेका र सञ्चालन गरेका सेवा
काठमाडाैं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले काेराेनाकाे संक्रमण बढी भएकाे भन्दै विभिन्न सेवाहरु कटाैती गरेकाे छ । विभागले आज एक सूचना जारी गर्दै बन्द गरिएका र सञ्चालन हुने सेवाहरु जानकारी गराएकाे हाे । सूचनामा नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा स्गथगित गरेकाे उल्लरेख गरेकाे छ ।
अब वाणिज्य विभागमा पनि अत्यावश्यक बाहेकका काम नहुने
काठमाडाैं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा स्गथगित गरेकाे छ । आज एक सूचना जारी गर्दै विभागले कार्यालयमा सेवाग्राहीका कारण हुने भिडले कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै केही सेवाहरु भदौ ८ सम्मका लागि बन्द गरेकाे बताएकाे हाे । ‘नयाँ प्राइभेट फर्म र साझेदारी फर्म दर्ता, अत्याश्यकबाहेक अन्ज्य व्यापारमुलुक प्रकृति भएका प्राइभेट कम्पनीको इजाजत सेवा स्थगन गरिएको छ, परिसरमा भिडभाड हुन नदिन प्राइभेट फर्म र साझेदारी फर्म नवीकरण,संशोधन र खारेजी तथा एजेन्सी नवीकरणको काम भने दिनको २० वटा मात्रै गरिने छ,’ सूचनामा भनिएकाे छ । सूचनामा बजार अनुगमन, अत्यावश्यक आयात निर्यात अनुमति तथा इजाजत र मुद्धाको कार्य भने निरन्तर रहने उल्लेख गरेकाे छ ।
त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित
काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको तर्फबाट परीक्षा गराउनुपर्ने सबै खालको तयारी भइसकेको भएता पनि कोरोनाले संक्रमण बढ्दै गएकोले परीक्षा गर्न असम्भव भएको बताए । कोरोना भाइरसको त्रासकै बीच परीक्षा गराउनु उचित नभएको उनको भनाई छ । ‘यही स्थिती रहीरहे हामी परीक्षा संचालन गर्न भने सक्दैनौं, सकेसम्म विद्यार्थीहरुलाई परीक्षा हलमै राखेर परीक्षा गराउने हाम्रो उद्देश्य हो, तर अहिलेको अवस्थाले हालको लागि परीक्षा गराउन असम्भव छ,’ उनले भने । यसअघि त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो । तर अब भने कोरोना संक्रमण दर झन बढ्दै जाँदा त्रिविका सम्पूर्ण परीक्षाहरु अनिश्चित नै बनेका हुन् । त्रिविले परीक्षा सञ्चालन सम्बन्धि रेक्टर प्रा.डा. भुसालकै नेतृत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदल गठन हुनुभन्दा अगाडि सेमेष्टरको परीक्षा खुला पुस्तक हेरेर लेख्नेको साथसाथै अनलाइन परीक्षा लिनेबारे कुरा आएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा त्रिवि पुगेको थियो । परीक्षा अब कसरी गराउने भन्ने बारे थप छलफल भएपछि छिटै विद्यार्थीहरुलाई यसबारे खबर गरिने भुसालले बताए । कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पराम्परागत शैलीका सबै परीक्षाहरु स्थगित भएका छन् । कोरोना भाइरसको सन्त्रास भइरहेको बेला त्रिविले हालसम्म के गर्ने र कसरी परीक्षा लिने भन्ने यकिन निर्णय लिन सकेको छैन । माघ/फागुनमा हुनु पर्ने परीक्षाहरु ६/७ महिना बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको भविश्यमा प्रत्यक्ष असर परिरहेको छ । अब पनि परीक्षा सञ्चालन भएन भने सम्पूर्ण विद्यार्थीहरुको पढाई एक वर्ष ग्याप हुने निश्चित छ । यसप्रति त्रिवि पनि चिन्तित भएको भुसालको भनाई छ ।