नेपालगञ्ज सेनाको निगरानीमा सिल
कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ । सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिएका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।
सरकारले ध्यान नदिँदा बैंकहरुमा २ खर्ब तरलता थुप्रियो, ऋणपत्र जारी गर्न बैंकरको सुझाव
काठमाडौं । सरकारले ध्यान नदिदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण र सन्त्रासका कारण उद्योग व्यवसायको लागि कर्जाको माग कम भएको बैंकरले बताएका छन् । कोभिड १९ संक्रमण सन्त्रासका कारण सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको र लकडाउन हटाएपछि पनि समुदायस्तरमा संक्रमण विस्तार भएको पाइएपछि विभिन्न स्थानीय तहहरुले आवागमन निषेध गरेका छन् । महामारीको कारण उद्योग व्यवसाय ध्वस्त भएपनि रेमिटान्स आय जस्ता कारणले बैंक वित्तीय संस्थामा रकम थपिने क्रम भने रोकिएको छैन । यस्तै सरकारी खर्चबाट बजारमा निस्कने रकम बैंकिङ क्षेत्रमा गएर पार्किङ हुने हुँदा बैंक तथा वित्तीय संस्थामा तरलता अधिक देखिएको हो । बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापनको लागि सरकारले तत्काल आन्तरिक ऋण उठाउनुपर्ने आवाज केही बैंकरले उठाएका छन् । बैंकिङ क्षेत्रको अधिकत तरलता व्यवस्थापनको लागि सरकारले लगानीमैत्री वातावरण बनाउनु पर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री बताउँछन् । लगानीयोग्य वातावरण सिर्जना नभइ बैंकिङ क्षेत्रको तरलता व्यवस्था गर्नु अल्पकालिन समस्या समाधान मात्रै भएको उनको भनाइ छ । ‘बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बेलाबेलामा रकम तान्ने गरिरहेको छ, यो भनेको बैंक तथा वित्तीय संस्थामा भएको पैसालाई राष्ट्र बैंकमा ल्याएर कागज बनाएर राख्नुमात्रै हो, पैसालाई काम गर्न दिनको लागि सरकारले लगानीमैत्री वातावरण बनाउनु पर्छ र गरीखान पाउने परिस्थिति सिर्जना गर्नुपर्छ,’ पूर्वउपाध्यक्ष क्षेत्रीले भने । उनले तत्काल आन्तरिक ऋण लिनु उपयुक्त नहुने विचार व्यक्त गरे । सरकारी ढुकुटीमा रहेको रकम नै खर्च गर्न नसकेको अवस्थामा थप आन्तरिक ऋण लिएर रकम थुपार्नु कुनै पनि हिसावले राम्रो नहुने पूर्वउपाध्यक्ष क्षेत्रको भनाइ छ । सरकारले चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो खर्च धान्नको लागि आम्दानीका स्रोतहरुमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड, बैदेशिक अनुदानबाट ६० अर्ब ६२ करोड र बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ व्यवस्थापन गरिने भनिएको छ । बजेटको लागि अपुग २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने सरकारको योजना छ । सो आन्तरिकमध्ये केही रकम अहिले लिएमा बजारमा अधिक तरलताको कारण निक्षेपको घट्दो व्याजदर नियमन गर्न सकिने, सरकारले अहिले आन्तरिक ऋण लिदा सस्तो व्याजमा पाउने जस्ता सकारात्मक प्रभाव पर्ने बैंकरकोे भनाइ छ ।
देशका धेरैजसो स्थानमा मङ्गलबारसम्म वर्षा हुने
काठमाडाैं । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताईन् ।यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ र अधिकतम तापक्रम ३०ं दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ३ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस छ ।
एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन(एनएफआरएस) बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नु अघि कम्पनीकाे चुक्ता पुँजी ५१ कराेड २३ रूपैयाँ रहेकाे थियाे । काेभिड १९काे महामारीबीच जारी गरेकाे शतप्रतिशत हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी कम्पनीकाे चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ कायम रहेकाे छ । उक्त पुँजीकाे ७ प्रतिशत बाेनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनी लगायत हालै जारी गरिएकाे हकप्रद किन्नेले समेत साे मात्राकाे बाेनस सेयर पाउने कम्पनीले जनाएकाे छ । साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको खुद नाफा २० करोड २४ लाख १६ हजार एक सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी, एनएफआरएस बमोजिम कम्पनीको खुद नाफा २० करोड २४ लाख ३६ हजार ४ सय ५६ रुपैयाँ रहेको छ ।
होम आइसोलेसनमा बस्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी मापदण्ड
काठमाडौं । सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ । यस्तै आफुले प्रयोग गरेका भाँडाहरु सुरक्षीत रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा सौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सामुहिक रुपमा शाैचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै दाँत माझ्ने ब्रस लागयतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसाग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले बढी जोखिममा रहने समूह (दीर्घ रोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवति र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताए । यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए । संक्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उनले आग्रह गरे । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थका बारेमा जानकारी दिनुपर्ने छ । हरेक स्थानी तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उनले बताए । स्वास्थ्यकर्मी वा नर्सले एक जना बिरामी हेरेबाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको उनले बताए ।
बेनीबजार जोखिममा
म्याग्दी । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ । नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले जानकारी दिए । गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो । यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल २०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको जनाउँदै बजारबासी चिन्तित भएका छन् । कटान रोकथामका लागि रुपाताल एकीकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम शुरु गरिने बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावियन पर्खाल निर्माणको काम भइरहेको छ । यसैबीच बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन् । बस्तीमाथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो । यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीयवासी रवि शर्माले जानकारी दिए । पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रासहित आउने बाढीले नाली बुझिएर सडकमा निस्कने गरेको छ । नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ । बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षरोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन । यसपालि दुईपटक बाढी आइसकेको छ । अर्थुङ्गेस्थित सेनाको ब्यारेक तलको घुम्तीबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ । क्याम्पसचोकको बाढीको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयवासी तथा व्यवसायीले बताएका छन् । रासस
सटडाउन पहिलो चरण: उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द
काठमाडौं । काठमाडाैं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ । सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिए । मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ । अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।
काठमाडौं उपत्यका कोरोनाको संक्रमणकाे उच्च जोखिममा
काठमाडौं । तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ । दुई दिनअघि काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ । यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । सङ्क्रमण बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् । रासस