नेपाल बैंककाे पहिलाे वर्षः सञ्चालक समितिका निर्णय, काराेबार र लाभांशबारे राेचक तथ्यहरू
बि.सं. १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको नेपाल बैंंक लिमिटेड जुद्ध सडकको एउटा घरमा भाडामा बस्थ्यो । शेयर बिक्री भइसकेको थिएन, निक्षेपको व्यवस्था बल्ल शुरु हुँदै थियो । बैंक स्थापना गर्दासम्म कर्मचारी पनि थिएनन् । तथापि राजा त्रिभुवनको बाहुलीबाट बैंक उद्घाटन भयो । उद्घाटन समारोहमा प्रधानमन्त्री जुद्ध शंशेर जवराले सम्बोधन गरेका थिए । संस्थापनाको बेला राणा प्रधानमन्त्री जुद्ध शंशेरले शेयर बापत रु १० लाख कबुलेका थिए । बैंक सरकारको ४० प्रतिशत र पब्लिकको ६० प्रतिशत शेयरबाट स्थापना भएको थियो । बैंकले रु २५ लाखको मूलधन अर्थात् शेयर जारी गरेकोमा केवल रु ८ लाख ४२ हजार मात्र बिक्री भएको ऐतिहासिकता स्मरणीय छ । सरकारको सदर मुलुकी खानाबाट आठ लाख तथा जुद्ध शंशेरबाट शेयर बापतको पचास हजार रकम प्राप्त गरी कारोबार प्रारम्भ गरेको नेपाल बैंकले नगदी तहबिलबाट केही कम्पनी मोहर तथा नोट खरिद गरी सटही कारोबार प्रारम्भ गर्यो । बैंकको कानुन बमोजिम सञ्चालक समिति सक्रिय हुँदै गयो । पहिलो साल अर्थात् बि.सं. १९९४ मा बैंकको सञ्चालक समितिको १० वटा तथा आर्थिक वर्ष १९४/९५ मा १२ वटा बैठक बस्यो । तीमध्ये पहिलो ८ वटा बैठकको अध्यक्षता केशर शंशेर जवराले गरेका थिए । खासमा केशर शंशेरको अध्यक्षता नेपाल बैंक लिमिटेडको लिमिटेडका लागि अध्यक्ष तोकिएका श्री शंशेर जवराको स्वास्थ्य असहजताको कारण कायम मुकायमको हैसियतमा प्रधानमन्त्रीले तोके बमोजिम हुन पुगेको देखिन्छ । लेखक नेपाल बैंक लिमिटेडको पहिलो बैठक पुस १ गते बसी नेपाली भाषी भारतीय बैंकर ठाकुर सिंह कठैतलाई महाप्रवन्धकमा नियुक्त गर्यो । बैंकले पहिलो चेक प्रधानमन्त्री जुद्ध शंशेरलाई प्रदान गरी तत्पश्चात बैंकिङ कारोबार प्रारम्भ गर्यो । बैंकको सञ्चालक समितिले निर्णय गरे बमोजिम बैंकले पहिलो पटक नगदी तहबिलबाट मोरु १४० मा कम्पनी नोट खरीद गरी बिक्री प्रारम्भ गर्यो । दोस्रो पटक सटही दर रु १४० र बिक्री दर १४२.५, तेस्रो पटक खरीद रु १४१, चौथो पटक खरीद दर रु १४२.५, पाँचौँ पटक खरीद दर रु १३५ र छैठौँ पटक खरीद दर रु १४१.५ र बिक्री दर रु १४२ तोकिएको देखिन्छ । अर्थात् ब्याजदर तोक्दा बैंकले माग तथा आपूर्तिको अवस्था एवम् बजार व्यवहारलाई हेरी बुझी तोक्ने गरेको स्पष्ट देखिन्छ । सञ्चालनको पहिलो वर्ष नेपाल बैंक लिमिटेडले बैंकलाई आवश्यक पर्ने कर्मचारी भर्ना गर्ने, सेवा सुविधा किटानी गर्ने, सार्वजनिक विदाको दिन यकिन गर्ने (जसमा श्री ३ को जन्मदिन पनि पर्थ्याे), नेपाल बैंक कानुन छपाइ गर्ने, बैंकिङ कारोबारका लागि रुल बुक तर्जुमा गरी सो अनुसार काम सुचारु गर्ने, नोट सटही सीमा निर्धारण गर्ने, क्यासियरको जमानत निर्धारण गर्ने, टेलिफोन जडान गर्ने, भल्टको व्यवस्था गरी नगद तथा बहुमूल्य चीज भण्डारण गर्ने, तेजारथ अड्डाको सुन चाँदी सकार गर्ने, सटही कारोबारको लागि कम्पनी रुपैयाँ तथा नोट र ब्रिटिस पाउण्ड खरिद बिक्री गर्ने लगायतको काम अघि बढाएको देखिन्छ । यसको अलावा बैंकले स्थापना भएको दुई महिनाभित्रै भारतको इम्पेरियल बैंक, मर्कन्टाइल बैंक र योकोहोमा बैंकमा एजेन्सी खाता खोली विदेशी मुद्राको निक्षेप गरेको, सोही वर्ष स्थापनाको पाँचौँ महिनामा चार्टर्ड बैंक, सेन्ट्रल बैंक, इलाहवाद बैंक र नेशनल बैंक भारतीय रुपैयाँमा खाता खोलेको पाइन्छ । स्थापनाको पहिलो वर्ष बैकले सञ्चालक समितिको बैठक भत्ता डाइरेक्टर जनरल अर्थात् अध्यक्षको प्रति बैठक मोरु ४० र अन्यको मोरु ३० तोकिएकोमा पहिलो साधारणसभा नभएसम्मको लागि नलिने निर्णय भएको पनि देखिन्छ । बैंकले पहिलो वर्षदेखि नै ग्राहकको सुन तथा चाँदी बन्धकीको रुपमा स्वीकार गर्ने र सुन कर्जा दिने गरेको देखिन्छ । पहिलो वर्षदेखि नै बैंकमा निक्षेप आइरहँदा सो निक्षेपबाट कर्जा तथा अन्य लगानी गर्नको लागि बैंकले चालु खाताको ५० प्रतिशत र बचत एवम् मुद्दती खाताको २५ प्रतिशत रकम मार्जिनमा राखी नगद व्यवस्थापन गर्ने निर्णय देखिन्छ । यसबाट त्यतिबेलाको तरलता व्यवस्थापन सुझबुझपूर्ण थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यतिबेला कर्जा बापतको मार्जिन ५० प्रतिशत लिने, सुन कर्जाको मार्जिन २५ प्रतिशत हुने र ब्याजतर्फ सुन कर्जाको ५ प्रतिशत, अन्यको ८.१० प्रतिशत कायम गर्ने निर्णय भएको देखिन्छ । ब्याजदर सम्बन्धी कयौँ निर्णयमा मतौक्यता नहुँदा मतदान समेत हुने गरेको थियो । राणा कालीन समय भए पनि स्थापनाको पहिलो वर्षमै सञ्चालक समितिमा पर्याप्त छलफल भई निर्णयमा पुग्ने प्रचलन आफैँमा अनुकरणीय विषय हो । यस प्रकार नेपाल बैंकको पहिलो वर्षको सञ्चालक समितिले महाप्रवन्धक तथा कर्मचारी नियुक्ति, रुल बुक तर्जुमा, माग तथा आपूर्तिको आधारमा विदेशी मुद्राको सटही दर निर्धारण, नगद व्यवस्थापन तथा कर्जाको ब्याजदर निर्धारणमा महत्वपूर्ण निर्णय गरेको छ । सो अन्तर्गत बैंकले पहिलो ठूलाे स्तरको कर्जा बिराटनगर जुट मिललाई दिएको थियो । सो अन्तर्गत बैंकले सो मिल्सलाई एक वर्षका लागि ५ प्रतिशत ब्याजमा बीमा व्यवस्था गरी एक तिहाइ मार्जिन लिएर रु १ लाख कर्जा प्रदान गरेको थियो । बैंक समक्ष सर्वप्रथम मिञा जहरुद्दीनले चुरा व्यापारका लागि मोरु ३००० र भाजु रतनले घ्यु व्यापारका लागि मोरु १५०० प्रस्ताव गरेको रेकर्ड आफैँमा ऐतिहासिक छ । महिला उद्यमीतर्फ कर्णेल्नी गङ्गादेवीले मोरु ५०० कर्जा गरेको पनि देखिन्छ । बैंकको स्थापनाको पहिलो वर्षमै भारतको गोरखपुरमा सम्पर्क अफिस, वीरगञ्जमा एजेन्सी अफिस, अमलेखगञ्ज तथा धुर्सियामा कार्यालय स्थापना गर्न प्रस्ताव गरेको देखिन्छ । क्यासियरसित बैंकको नगद तथा जनताका सुनचाँदी रहने भएको बैंकले क्यासियर नियुक्तिको शर्त बनाउँदा निज क्यासियरले मोरु ३० हजार धरौटी राख्न पर्ने व्यवस्था गरेबाट निक्षेपको संरक्षण गरी बैंकलाई साँच्चै ट्रष्टीको रुपमा सञ्चालन गर्न खोजेको देखिन्छ । बैंकका आरम्भका डाइरेक्टर जनरल श्री केशर शंशेर, श्री शंशेर जबरा, सञ्चालकहरु मृगेन्द्र शंशेर जबरा, सोम शंशेर जबरा, डम्बर शंशेर थापा क्षेत्री, भक्तलाल राजभण्डारी र गुञ्जमान सिंहलाई नेपाल बैंक लिमिटेडको जगको ढुंगा मान्न सकिन्छ । नेपाल बैंक लिमिटेडले स्थापनाको पहिलो वर्ष शेयरधनिलाई ३.५ प्रतिशत लाभांश दिएको थियो । आवश्यक कानुन तथा नियम तर्जुमा गरी कारोबार शुरुवात गरिएको र बैंकको नेतृत्व आफ्नो जिम्मेवारीप्रति सजग र सक्षम भएकै कारण यसले करीव २० वर्ष केन्द्रीय तथा वाणिज्य बैंक दुबैको काम गर्न सकेको देखिन्छ । (अधिकारी नेपाल बैंक लिमिटेडका वर्तमान अध्यक्ष हुन्)
यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा
काठमाडौं । कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै ठेगान छैन । सरकारले आफ्नोतर्फबाट सकेसम्म सङ्क्रमण फैलन नपाओस् भनेर केही सावधानीका उपाय भने अपनाएको छ । नागरिकले नै स्वास्थ्य मापदण्ड पूरा नगर्दा तथा व्यक्तिगत दूरी कायम नराख्दा सङ्क्रमणको जोखिम बढेर गएको छ । भीडभाड नगर्न, मास्क प्रयोग गर्न तथा काम नभएका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि नागरिकले बढी मात्रामा हेलचेक्रयाइँ गरिरहेका छन् । यसले जोखिम बढाएको छ । सङ्क्रमणको मात्रा बढ्दै जाने, अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई ध्यानमा दिएर सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको मापदण्डलाई व्यवहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा कोरोना सङ्क्रमित भएका व्यक्ति अस्पतालमा नै जानुपर्छ भन्ने अवस्था पनि नआउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेको खण्डमा उसले र सम्बन्धित परिवारका सदस्यले समेत पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत सङ्क्रमति व्यक्ति छिट्टै निको हुन सक्छ, तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।” उनका अनुसार होम–आइसोलेसनमा रहँदा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानु पर्नेछ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका भाँडावर्तन सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ । यस्तै स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनु पर्नेछ । राजधानी तथा शहरी क्षेत्रमा बस्नेहरुको एउटै स्नान घर वा शौचालय हुने तथा सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमित भएका व्यक्तिले प्रयोग गरेपछि राम्रोसँग निसङ्क्रमति गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने छ । सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ । यस्तै घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानमा समेत सङ्क्रमणको जोखिम बढी रहने गर्दछ । त्यस्ता सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । सरकारले तय गरेको मापदण्डअनुसार भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नु पर्नेछ । कोरोना सङ्क्रमित भएका व्यक्तिको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नु पर्नेछ । यस्तै दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका सङ्क्रमणको बढी जोखिममा रहन्छन् । उनीहरुलाई सङ्क्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने विषयलाई मापदण्डले समेटेको छ । सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने प्रवक्ता डा गौतमले उल्लेख गरे । त्यस्तै सङ्क्रमितलाई स्वास–प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा तथा अन्य कुनै जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रवक्ता डा गौमतको भनाइ छ । मन्त्रालयले सङ्क्रमितलाई मात्रै नभई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत पालन गर्नुपर्ने केही मापदण्ड तय गरेको छ । स्वास्थ्यकर्मीले हरेक दिन कम्तीमा दुईपटक सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक परामर्श गर्नु पर्नेछ । हरेक स्थानीय तहले ५० सङ्क्रमितका लागि एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले एक बिरामी हेरेवापत दिनको रु २०० का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । ती मापदण्डलाई पूर्णरूपमा पालना गरिएको अवस्थामा सङ्क्रमितलाई घरैमा सुरक्षितरूपमा उपचार गर्न सकिने र कोरोनाको नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ । जटिल स्वास्थ्य समस्या देखिएको खण्डमा भने नजिकको अस्पतालमा लैजान सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको निधन
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो । हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।
सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रविन खड्का विजयी
काठमाडौं । सरकारी चिकित्सक संघमा डा. रविन खड्का विजयी भएका छन्। डा. खड्का संघको शनिबार भएको विधुतिय मतदानमा ४८० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. समाज गौतमले भने २३७ मत ल्याएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा ४३९ मत सहित डा. विजय थापा विजयी भएका छन् भने संघकाे उपाध्यक्षमा ४६६ मत सहित डा. सुशील मोहन भट्टराई विजयी भएका छन् । यस्तै महासचिवमा डा. किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन् भने सचिवमा ४२८ मत सहित डा. रोशन भगत चौरासिया विजयी भएका छन् । कोषाध्यक्षमा सबैभन्दा बढी ५०३ मत प्राप्त गर्दै डा. सुधा साही विजयी भएकी छिन् । यस्तै संघको सदस्यमा डा. गौरव शाह, डा. हेमा जोशी, डा. कपिल गौतम, डा. कुशल खनाल, डा. प्रकाश भट्टराई, डा. विजय कुमार मेहता, डा. अर्चना केसी, डा. विजय गुरुङ र डा. सुशन भट्टराई निर्वाचित भएका छन्। उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।
६० मिटरको पुल बनाउन नाै वर्ष लाग्याे
खलङ्गा । जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो । विसं २०७२ मा तत्कालीन प्रमुख ई हरिप्रसाद शर्मा बहाल हुँदा पुलको डिजाइन काम नलाग्ने भएको जनाइएपछि निर्माणकार्यमा अवरोध आएको एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले बताए । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाले निर्माण थालनी गरेको पुलको बायाँतिरको पिलरको डिजाइन काम नलाग्ने भएपछि पुनः डिजाइन गरी काम शुरु गर्दा समय अवधि लम्बिएको हो । यद्यपि भू–गर्भ विभागद्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको उनले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करिब रु चार करोड लागतमा भगवती पृथ्वी जेभीले ठेक्का प्रणालीअनुसार रु दुई करोड ८८ लाख ३० हजार ७७६.६२ पैसामा ठेक्का लिएको थियो । जिल्लाको गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्याङ्कोट, गोठीचौरसहित डोल्पा र जाजरकोटलाई समेत जोड्ने पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको छ । बिरामी अस्पताल पु¥याउनदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पु¥याउन अब सहज हुने भएको स्थानीयवासी केशव धितालले जानकारी दिए । रासस
नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड, लाभांशमा नगद र बोनस दुबै सम्भावना
काठमाडौं । नेपाल बैंकले नाफा २ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ । असार मसान्तको वित्तीय विवरण प्रकाशित गर्दै बैंकले सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ रहेकाे जनाएकाे छ । बैंकको सेयर पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । गत वर्षको नाफा र सेयर प्रिमियमसमेतलाई हेर्दा बैंकले सेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने सम्भावना रहेको छ । सेयर प्रिमियम रकम १ अर्ब ७८ करोड रुपैयाँ छ । उक्त रकम बैंकले बोनस सेयरमार्फत मात्र वितरण गर्नसक्छ । बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोष सहितसहित कुल पुँजी ३० अर्ब १८ करोड छ । अर्थात ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेकाे हो । बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ । गैर सञ्चालन नाफा २७ करोड ५८ लाख रुपैयाँ थपेर बैंकले कर अघिको नाफा ३ अर्ब ८४ करोड आर्जन गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत रहेको छ । खराव कर्जा अनुपात २.५९ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६.९९ प्रतिशत छ भने स्प्रेडदर ३.७० प्रतिशत रहेको छ ।
सात जिल्लामा शुन्य कोरोना सङ्क्रमित
काठमाडाैं । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ । उहाँले भन्नुभयो, “सक्रिय सङ्क्रमित छ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन् ।” हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको हुनुभएको छ । पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।
स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक
सप्तरी । सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो । हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव सङ्क्रमित भएर आइसोलेसनमा छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् । ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टिनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गर्दै सङ्कट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ । स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ । छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटिन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए । केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् । छिन्नमस्ता अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटिनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि सङ्कट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए । यसैगरी बढ्दो सङ्क्रमणका कारण राजविराजस्थित एक मात्र आइसोलेसन केन्द्रमा सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय तहमा समेत आइसोलेसन केन्द्र सञ्चालन गर्न पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए । लक्षण नेदेखिएका कोरोना सङ्क्रमितलाई स्थानीय तहको आइसोलेसन केन्द्रमा र लक्षण देखिएका सङ्क्रमितलाई जिल्लास्तरीय आइसोलेसन केन्द्रमा राख्ने गरी व्यवस्थापन गर्न स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना एवं सञ्चालन गर्ने निर्णय भएको ठाकुरले बताए । रासस