गृहमन्त्रीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो । परीक्षणमा गृहमन्त्री थापा, उहाँका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको भट्टाराईले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो ।
मोटरसाइकल रिभ्यू : बिएमडब्लु जि ३१० जिएस
काठमाडौं । बिएमडब्लु मोटरेडले सन् २०१८ को अन्त्यतिर जि३१०जिएस नामक टुरिङ्ग मोटरसाइकललाई नेपाल भित्र्याएको थियो । जि३१० जिएस एउटा इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल हो जुन नर्मल मोटरसाइकलबाट टुरिङ्ग मोटरसाइकलतर्फ उक्लन चाहनेहरुलाई लक्षित गर्दै नेपाल ल्याइएको हो । यस मोटरसाइकलमा ३१३ सीसीको इञ्जिन दिइएको छ जसले ३३.६ बीएचपीको पावर र २८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ६ गियरहरु रहेका छन् । जि३१०जिएसको फ्रन्ट र रियर दुवै साइडमा १८० मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुँदा यसको राइड क्वालिटी अफरोडमा पनि इम्प्रुभ भएको छ । सेफ्टि फिचरको रुपमा डुअल च्यानल एबीएस दिइएको यस मोटरसाइकलको रियर ह्विलको एबीएसलाई टर्न अफ पनि गर्न सकिन्छ । यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २२० मिलिमिटर रहेको छ र त्यसैगरी फ्रन्ट ह्विल भने १९ इञ्चको छ जसले यस मोटरसाइकललाई एक्स्ट्रीम अफरोडमा समेत कुदाउन मिल्ने बनाएको छ । यस मोटरसाइकलमा लगाइएका डुअल पर्पोज नव्वि टायरहरु मेट्जेलर कम्पनीका हुन् र यी टायरहरु टुरिङ्गका साथै अफरोडिङ्गका लागि समेत उपयुक्त मानिन्छन् । सिट आरामदायक हुनु, टप बक्सको लागि होल्डर लगाइनु जस्ता कारणहरुले यस मोटरसाइकललाई टुरिङ्ग फ्रेण्ड्ली त बनाएको छ तर यति हुँदाहुँदै पनि यसको ट्याङ्क क्यापासिटी समेत अलि बढि भइदिएको भए यसको टुरिङ्ग रेञ्ज पनि धेरै हुने थियो भन्ने हामिले महसुस गर्यौं । नेपाली बजारमा तपाईंले रेड र ब्ल्याक कलरको यो मोटरसाइकललाई १० लाख ९० हजार रुपायाँमा किन्न सक्नुहुन्छ भने ह्वाइट कलरको लाई चाहिँ ११ लाख १५ हजार रुपैयाँमा किन्न सक्नुहुनेछ ।
काठमाडौंको हाँडीगाउँ अनिश्चितकालका लागि सिल
काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं ५ अन्तर्गत रहेकाे हाँडीगाउँ कोटाल टोल लागि सिल गरिएको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । सुरुमा उक्त टाेलकाे एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै थप ६ जना थपिएकाे महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले बताए ।
तीन दिन देशभर वर्षा हुने
काठमाडाैं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, मौसमविद् कँडेलले भने । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । आज रातिबाट दुई/तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३०ं दशमलव छ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
गर्मीमा छालाको समस्याबाट बच्न के गर्ने ?
काठमाडाैं । केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसमाथि वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई निस्तेज पार्ने वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा हरेन्द्र झा बताउँछन् । यसकै कारण छाला अत्यधिक चिल्लो, दागले भरिएको तथा डढेको कालो जस्तो देखिने उनको भनाइ छ । गर्मीको मौसममा बढ्ने तापक्रम र आद्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दाग पूर्ण देखिने उनको भनाइ छ । उनले भने, “छालामा हुने रंग बनाउने कोशीकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ ।” बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा डन्डिफाेर, चायाँ, पोतोको समस्या बढेर जाने उनको भनाइ छ । छालामा बुढ्यौलीको लक्षण चाँडै देखिन्छ । साथै छालाको क्यान्सर रोगको सम्भावना पनि बढेर जाने डा झा बताउँछन् । डा झाले गर्मी मौसममा छाला बचाउनका लागि विभिन्न उपाय रहेको बताउनुभयो । चिल्लोरहित वा चिल्लो सफा गर्नसक्ने फेसवासको प्रयोग उपयुक्त हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ ।” दिनभरिमा चार÷पाँचपटकसम्म अनुहारलाई सफा गर्नु राम्रो हुने उनको सुझाव छ । बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । हामीले आफ्नो खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउनसक्छौँ । झाले भने, “हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।” यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुइपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नु पर्ने चिकित्सक बताउँछन् । यसले छाला नरम, मुलायम हुनको साथै चाँया, डन्डिफाेरको समस्यालाई पनि कम गर्छ । गर्मीको मौसममा सन स्क्रीनको साथ एकदमै भरपर्दो हुने डा झाको भनाइ छ । राम्रो सनस्क्रीन जसको प्रयोगले विकिरणको शरीरमा प्रभाव कम पर्दछ । सनस्क्रीन बिहान ८ बजे र दिउँसो १२ बजे प्रयोग गरेमा छाला बचाउन सकिने उनको भनाइ छ । गुणस्तरमा एसपिएफ १५ देखिमाथि प्रयोग गर्न उनको सुझाव छ । गर्मीको मौसमा कम शृङ्गार गर्न उहाँले सुझाव दिनुभयो । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घ्युकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदा जनक हुने उनको भनाइ छ । राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा दुई/तीन लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने डा झाको भनाइ छ । पूरै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुन्छ । ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नाले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने उनको भनाइ छ । चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रीनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा झाको भनाइ छ ।
दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टिन भवन बनाउने निर्णय गरेको हो । महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टिन भवन बनाउन लागिएको बताए । “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टिन भवन बनाउने निर्णय गरिएको छ । त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने । उनका अनुसार क्वारेन्टिन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ । भवन निर्माणका लागि रु एक करोड बढी बजेट लाग्ने अनुमान गरिएको छ । शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्पमा छुट्टै क्वारेन्टिन भवन बनाउन लागिएको हो । यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टिन राखिएको थियो । तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टिन मात्रै सञ्चालनमा छ । महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टिन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए । महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्ष मात्रै सञ्चालन गर्न लागेको हो । रासस
अन्य जिल्लाबाट आउनेहरुलाई साउन ३२ सम्म मकवानपुर प्रवेशमा रोक
काठमाडाैं । काेराेना संक्रमण बढेकाे भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हाे ।
प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी अध्ययनकाे काम अगाडि बढाउन आग्रह
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बताएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाएका छन् । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।” प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिए । उनले भने, “प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।” हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएका वडाध्यक्ष सुवेदीले जानकारी दिए । “पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ”, सुवेदीले भने । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्याे । यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएकाे जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै छ । ढकालले भने, “आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।” प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ । रासस