विकासन्युज

सबै खालका भवनलाई भूकम्प प्रतिरोधी र सुरक्षित बनाउन सकिने

काठमाडौं । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ । नेपालमा ”राष्ट्रिय भवन संहिता १०५:१९९४” कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ”अध्यावधिक राष्ट्रिय भवन संहिता १०५:२०२०” लाई स्वीकृत गरेको छ । नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता एवं यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अध्यावधिक गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । अध्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । शहरी विकास मन्त्रालय शहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अध्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताए । ‘भवन संहिताको प्रमुख उद्देश्य विभिन्न किसिमका निर्माण सामग्री प्रयोग हुने गरी सानादेखि गगनचुम्बी भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गर्नु पर्ने इन्जिनियरिङ डिजाइनका लागि आवश्यक प्रकृया र मापदण्डहरु प्रदान गर्नु हो’, संहिताको सारसंक्षेपमा भनिएको छ,- ‘यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्त अनुरुप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न मद्दत गर्छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का स्ट्रक्चरल इन्जिनियर विपिन कुमार गौतमका अनुसार अध्यावधिक संहितामा नेपाल लगायत यस क्षेत्र वरिपरीको भूकम्पीय जोखिम विश्लेषण गरी त्यसका आधारमा भूकम्पीय जोखिम जोनिङ नक्शा तयार गरी र सोही आधारमा ठाउँ अनुसारको फरक फरक मानक राखिएको छ । यो संहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी बनाइने संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउन सकिनेछ । यस्तै संरचनाको प्रयोग र महत्वका आधारमा सुरक्षित बनाउनका लागि फरक फरक मानक पनि दिइएको छ । संहिताले नयाँ प्रविधि र विधिलाई प्रयोग गर्नका लागि बाटो खुल्ला गरिएको छ । अध्यावधिक संहिताको अनुसूचीमा स्टिल र ढलानवाला घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि चाहिने विस्तृत विवरण समावेश गरिएको छ। विज्ञहरुले अध्यावधिक गरिएको राष्ट्रिय भवन संहिताले नेपालमा सबै खालका संरचनालाई भूकम्प प्रतिरोधी बनाउने गरी डिजाइन गर्न सम्भव हुने बताएका छन् । स्टक्चरल इन्जिनियर एवं प्राध्यापक डा. प्रेमनाथ मास्केले पहिलेको संहितामा रहेका प्रावधानहरु पूर्ण नरहेको भन्दै अध्यावधिक गरिएको राष्ट्रिय भवन संहितामा धेरै पक्षहरु समावेश गरिएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ भवन संहिताबाट भूकम्प प्रतिरोधी संरचनाहरुको निर्माण गर्न र सुरक्षित नेपालको अभियानलाई साकार पार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । २०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ लाई परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन)ले यस सम्बन्धमा काम गरेको थियो । यसका लागि स्टक्चरल इन्जिनियर, जिओलोजिष्ट, जिओटेक्निकल इन्जिनियर, सिस्मोलोजिष्ट लगायतका विज्ञहरु रहेको विभिन्न उपसमितिहरु गठन गरी काम गरिएको थियो । संहिता परिमार्जनका लागि सहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्य समिति गठन गरिएको थियो । त्यसपछि सहरी विकास मन्त्रालयको भवन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । स्टक्चरल इन्जिनियर्स एशोसिससन, डिजाइनरहरु, इन्जिनियरिङ अध्ययन संस्थान लगायतका सबै सरोकारवालासँग सुझाव लिइ संहितालाई अन्तिम रुप दिइएको थियो । सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बैठकले संहितालाई पारित गरी मन्त्रिपरिषद्को बैठकमा पठाएकोमा २०७७ साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले संहितालाई स्वीकृत गरेको हो।

अब कोरोना परिक्षणको शुल्क घरबाटै बुझाउन सकिने, बिध ल्याबले ल्यायो यस्तो सुविधा

काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई-सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ बिध ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई-सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकम भुत्तानी गर्दा सेवा ग्राहीले थप २०० क्यास व्याग पाउनेछन ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए । विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो । कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन भने स्वाव समेत विध ल्यावले संकलन गरेका ४३०० तिरे पुग्नेछ । ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो ।

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेयर पदार्थमा छुट पाउने भएका हुन् । सो सम्बन्धी दुई नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रा.लि बीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच हस्ताक्षर भएको हो ।

स्वास्थ्य मापदण्ड पालना नगरे एक महिना कैद १ सय जरिवाना हुने

काठमाडाैं । आम नागरिकहरुले स्वास्थ्य मापदण्डहरु पालना नगरे १ महिना कैद र १ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने भएकाे छ । आज काठमाडाैं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरु बसेर साे नियम लागु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको हाे । संक्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बताइएको छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा र्पुयाउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको छ । साउन २० गते मंगलबार सम्पन्न भएको सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजा कार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले सो मात्राको छुट पाउने भएका हुन् । गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

यस्ताे बन्याे हवाई उडान सम्बन्धि मापदण्ड

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सीमित नियमित हवाइसम्बन्धी मापदण्ड–२०७७’ मस्यौदा तयार पारेको छ। साे हवाइ उडानसम्बन्धी मस्यौदा आइतबार वा सोमबार मात्रै पास हुने बताइएकाे छ । निर्देशिकाका अनुसार नियमित उडानमार्फत नेपाल आइसकेपछि सुरुको ७ दिन होटल क्वारेन्टिनमा र १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । मापदण्डमा नेपाली नागरिक नेपाल आउन चाहेको अवस्थामा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

सेन्ट्रल फाईनान्सकाे एक्स्टेन्सन काउन्टर तथा एटीएम भक्तपुरको सल्लाघारीमा 

काठमाडौं । सेन्ट्रल फाईनान्सले भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउण्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कुपण्डोल, ललितपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिटै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाको काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान गरी १० वटा शाखा सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुर र सर्लाहीको लालबन्दीमा थप शाखा र सिन्धुलीको डकाहामा एक्सटेन्सन काउण्टर खोल्ने प्रकृया अन्तिम चरणमा रहेको छ । बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग सेवा, ईसीसी सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, विभिन्न विप्रेशन रेमिट्यान्स सेवा तथा सीआश्वा सेवा संचालनमा रहेको तथा मोबाइल बैंकिङ्ग सेवा छिट्टै संचालन गरिने छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा गरिएको छ । यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख रुपैयाँ, निक्षेप ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रियसभा समितिमा सभापति निर्विरोध निर्वाचित

काठमाडाैं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्वाचित भएका हुन् । बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यसैले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित भएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइको र अब कार्यान्वयनमा जाने बेला भएको बताए । उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए । उनले भने ‘अब सरकारलाई छोडिन्न, अब सरकारलाई के छोडिन्न भने मनलाग्दी कानून बनाउन छोडिन्न, अब सरकारलाई नियन्त्रण गरिन्छ, सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरुलाई पनि कानून मनलाग्दी बनाउन पाइदैन भनेर रोकिन्छ । चोह निर्वाचन आयोग होस, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस, चाहे सर्वोच्च अदालत होस कानून बनाउने निकाय ती होइनन् । त्यसकारण तिनीहरुले कानून बनाउँदा संसदलाई सिरोधार्य गरेर, संसदको न्यायिक अधिकार नमिच्ने गरी संघीय संदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरुलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गछौं, नियन्त्रण गछौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।’ दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताए । उनले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभरसाइड गर्ने बताए । उनले भने ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरु छन । ती मन्त्रालय अन्तर्गत के के काम भइरोको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले ओभरसाइड गर्नेछौं ।’ राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।