विकासन्युज

महामारीमा स्वास्थ्यकर्मीका बेदना, ‘तलब त परै जाओस् अस्पतालले मास्क समेत दिएनन्’

काठमाडौं । एकछिन सोचौं त । यो महामारीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर कोरोना भाइरस संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अस्पतालले एक मास्क पनि नदिएपछि ती चिकित्सक, नर्स र ती स्वास्थ्यकर्मीको मन कस्तो होला ? हामीले एकछिन सोच्ने बित्तिकै त कति भावुक भइन्छ । आफ्नो ज्यान, घर परिवार र समुदायको वास्ता नगरी रातदिन बिरामीको सेवामा तल्लीन उनै स्वास्थ्यकर्मीलाई अस्पतालले वेवास्ता गर्दा सायद जोकोही स्वास्थ्यकर्मी पनि डिमोटिभ अर्थात काम गर्न निरुत्साहित पक्कै हुन्छन् । पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा कार्यरत एक चिकित्सकले विकासन्युजसँग यस्तै गुनासो गरेका छन् । उनीसँग विकासन्युजले कोरोना महामारीको समयमा अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई के कस्तो सेवा दिइरहेको छ भन्ने जिज्ञासामा उनले उत्तर दिए, ‘के सेवा सेवा पाउनु ?, यस्तो संकटको समयमा अस्पतालले लगाउनुस् भनेर एक मास्क समेत दिएको छैन ।’ अहिले अस्पतालमा बिरामीको संख्या कम रहेको भन्दै प्रशासनले कम जनशक्ति खटाएर काम गराइरहेको र काम गरेको दिन बाहेकको तलब पनि नदिने उनको भनाई छ । ‘लकडाउनको समयमा जति दिन काम गर्यो त्यही अनुसारको तलब पाइन्थ्यो, अहिले लकडाउन छैन, बिरामीको चाप पनि सामान्य अवस्थामा आइसकेको छ, अस्पताल प्रशासनले त्यही नियम लागु गरिरहनु अवस्थाको फाइदा उठाएको जस्तो भएको छ,’ उनले भने । अहिले धेरै अस्पतालहरुले कोरोना भाइरसको कारण देखाउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समयमा तलब नदिने र एक हप्ता काम र अर्को पुरा हप्ता बिदा दिने गरेको बुझिएको छ । काठमाडौंको नाम चलेको ग्राण्डी , वयोदा  लगायतका अस्पतलाहरुले पनि कर्मचारीहरुलाई काममा बोलाएको दिनको मात्र पैसा दिइरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटेपनि निजि अस्तपतालहरुले कर्मचारीहरुलाई समयमा तलब नदिएको गुनासो आउन थालेको छ । नख्खु स्थित मेडिसिटी अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पतालले अहिलेसम्म असार महिनाको तलब दिएको छैन । अस्पतालले यस अघि पनि जेठ महिनाको तलब असारको अन्त्यमा दिएको र अन्य महिनाको पनि त्यस्तै गरेको उनले बताइन् । ‘अस्पतालले लकडाउन यता समयमा तलब नै दिएको छैन । यस्तो महामारीको समय छ र हामी जोखिम लिएर काम गरिरहेका छौं त्यही माथि काम गरेको तलब १–१ महिना ढिला आउँदा हामीहरुलाई त्यो झनै टाउको दुखाईको विषय बनेको छ । यस्तो समयमा काम गर्दा मोटिभेट हुनु पर्ने समयमा झनै डिमोटिभेट भइरहेका छौं ।’ उनले भनिन् । यस्तै, ग्राण्डी अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पतालले केही कर्मचरी कटौती गरेको छ । बिदा बसेको २/३ हप्ता भईसक्यो, अस्पतालले अब ड्युटीको लागि कहिले बोलाउँछ थाहा नै छैन,’ उनले भनिन् । बिरामीको चाप ७० प्रतिशतले घट्यो कोरोना महामारीसँगै अहिले निजी अस्पतालहरुमा बिरामीहरुको संख्यामा कमि आएको बताइएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा अर्थात अहिले लकडाउनपछि पनि अस्पतालहरुमा बिरामीको संख्यामा ७० प्रतिशतसम्मको गिरावट आएको हो । अहिले बिरामीहरु नआउनाले अस्पताल नोक्सानमा भएको बताइरहेका छन् । थापाथली स्थित नर्भिक अस्पतलाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले अहिलेको अवस्थामा सबैभन्दा बढि घाटा अस्पताललाई भएको बताएका छन् । अस्पताल पनि नोक्सानमा नै छन्, पैसाको कुरा मात्र होईन अस्पतालमा कार्यरत रहेका व्यक्तिको जीवन जोखिममा छ । यसलाई पैसा मात्र नभएर मानवताको दृष्टिले पनि हेरौं,’ उनले भने । यसरी बिरामीको चाप घटेसँगै आफुहरुले कामको आधारमा कर्मचारीहरुलाई तलब दिइरहेको उनको भनाई छ । उनी भन्छन्, ‘पहिला हप्तामा ४८ घण्टा खटाउने कर्मचारीलाई अहिले हामी ३६ घण्टा खटाइरहेका छौं । त्यही आधारमा नै हामीले तलबको व्यवस्थापन गरेका छौं ।’ यस्तै, धापासी स्थित ग्राण्डी अस्पातलमा एक स्वास्थयकर्मीका अनुसार अस्पतालमा उपत्यका बाहिरबाट बिरामीहरु धेरै आउने गरेको तर यातयातहरु ठप्प रहेको कारण बाहिरबाट आउने धेरै बिरामीको चाप कम भएको छ । अस्पतालले हाल कर्मचारीहरुलाई कटौती नगरेको तर हप्ताभरी काम गर्ने र दोस्रो हप्ता बिदामा राखी अस्पतालले आएको दिनको तलब दिएको उनले बताए । यस्तै, मेडिसिटी अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा बिरामीको चाप सामान्य हुँदै गएको छ । भर्ना हुने बिरामीको संख्या कम भएता पनि ओपीडी भने सामान्य भइसकेको अस्पतालले जनाएको छ । बिरामीहरु अस्पतालमा बस्नुभन्दा पनि घरबाट नै चेकअपको लागि आउने अस्पतालले जनाएको छ । हाल अस्पतालमा कोभिड–१९ ले खासै प्रभाव नपारेको र कर्मचारीहरुलाई पनि डिपार्टमेन्ट अनुसार कसैलाई मासिक तलब र कसैलाई ड्युटी आएको दिनको तलब दिइरहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले स्वास्थ्य संस्था अर्थात अस्पताल, क्लिनिक, नर्सिङ होम, डायगोनेस्टिक सेन्टरहरु मध्यम प्रभावित क्षेत्रमा राखेकाे छ ।

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा(इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मारबल, फर्निचर एण्ड फिक्स्चर, फर्निसिङ्ग, उडवर्कस्, थ्रीडी डिजाइन तथा अत्य इन्टेरियर डिजाइनिङ) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

एसियाली शेयर मार्केट: आज सामान्य गिरावट, लगानीकर्तामा उत्साह कायमै

काठमाडाैं । अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोना भाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर परेको हो । लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ । अमेरिकी शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ । एसियाली शेयर बजारमा भने कोरोना भाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ । खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो । सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने खतरा रहेको बताए । उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अरु बढाएको बताए । जापानको शेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् । टोयोटा मोटर कर्पको शेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको शेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै शेयर मूल्य बढेको हो । गएराति अमेरिकी डाउजोन्स पनि ०.७ प्रतिशतले वृद्धि भइए २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा अडिएको थियो । अमेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अरु बढेको छ । सुनको मूल्य १२ डलरले वृद्धि भई प्रति औंश २ हजार ८१ डलर पुगेको छ । बेन्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल १२ सेन्टले घटेर ४१.८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ । बे्रन्ट कच्चा तेलमा भने प्रति ब्यारेल १० सेन्ट बृद्धि भई प्रति ब्यारेल ४४.९० मा कारोबार भएको छ । एपी

वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा

काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन् । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ । हामीले त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ-यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड । अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण काठमाडौं अडिशनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो । पहिले तय गरिएको फम्र्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो । प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

फेरि १ हजारले बढ्याे सुन, आजकाे मूल्य कति ?

काठमाडाैं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार छापावाला सुनको प्रतितोला १ लाख ३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि शुक्रवार तोलामा ६० बढेको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयँ कायम भएको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

राष्ट्रिय परीक्षा बोर्डले भन्याे: कक्षा ११ को परीक्षा नलिनु

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ। बाेर्डले आज एक सूचना जारी गर्दै साे निर्देशन दिएकाे हाे । सूचनामा भनिएकाे छ,‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’

लकडाउनः केन्द्रले नगर्ने, स्थानीय तहले परिस्थिती हेरेर निर्णय लिने, कति जिल्लामा भयो निषेधाज्ञा ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) देखिएको ७ महिना बितिसकेको छ । देशमा कोरोना भाइरस देखिएको यति लामो समय बितिसक्दा पनि यो भाइरस कहिले अन्त्य हुन्छ भन्ने कुरा अनिश्चित नै छ । जति महिना बित्दै गयो । कोरोना भाइरसको संक्रमण झन तीव्र गतिमा फैलिरहेको छ । आम नागरिकहरुमा दिनप्रतिदिन कोरोना भाइरसको डर र त्रास बढिरहेको छ । नेपाल सरकारले गरेको ४ महिना लामो लकडाउनले पनि खासै प्रतिफल अर्थात संक्रमण दर घटाउन नसकेपछि सरकार लकडाउनबाट पछि हटेको छ । लकडाउनले गर्दा रोगले भन्दा पनि भोकले मर्न सक्ने अवस्था सिर्जना भएपछि चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउन साउन पहिलो हप्ता सकिएको थियो । पहिलेको भन्दा झन दिनप्रतिदिन कोरोनाको संक्रमण दर बढेसँगै झन त्रासको वातावरण सिर्जना भएको छ । यस्तो समयमा धेरै जिल्ला अर्थात स्थानीय तहले लकडाउन पनि गरिसकेका छन् भने कति स्थानीत तह र जिल्लाहरु लकडाउन गर्ने तयारीमा छन् । अब नेपाल सरकारले केन्द्रबाटै लकडाउन गर्ने मनसाय बनाएको छैन । लकडाउन गरेर सर्वसाधारणहरुको दैनिकी अस्तव्यस्त हुने अर्थात दैनीकी चलाउन पन समस्या भएपछि केन्द्र सरकारले अब केन्द्रबाटै लकडाउन गर्ने मनसाय नगरेको हो । स्रोतका अनुसार अब सरकारले बढी संक्रमित भएका जिल्ला र स्थानीय तहले आफैले परिस्थिती हेरेर लकडाउन गर्न सक्नेछन् । देशव्यापी रुपमा लकडाउन गरेर सर्वसाधारणलाई हातमुख जोड् समस्या र देशको अर्थतन्त्र पनि संकटमा पर्ने भएकोले त्यसको समाधान तथा आर्थिक सन्तुलनका लागि संक्रमण दर बढी भएका जिल्लामा लकडाउन गर्दै जाने र संक्रमण कम भएका जिल्लामा खुकुलो गर्दै जाने स्रोतको भनाई छ । हिजो मात्रै सरकारका प्रवक्ता तथा अर्थर सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि लकडाउन नहुने संकेत गरेका थिए । उनले पनि संक्रमण दर बढी भएका जिल्लामा सम्बन्धित स्थानीय तह जिल्लाले निषेधाज्ञा वा लकडाउन गर्ने बताएका थिए । कुन कुन ठाउँमा भयो लकडाउन ? लकडाउन अन्त्यपछि कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले लकडाउन धमाधम गर्न थालेका छन् । सरकारले देशैभरी तत्काल लकडाउन लागू नगर्ने तर स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार लकडाउन घोषणा गर्न सक्ने जनाएको छ । – नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइने निर्णय गरेको छ । – कैलालीको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकामा बन्दाबन्दी गरिएको हो । – सुनसरीका धरान, इटहरी उपमहानगरपालिका, दुहवी र इनरुवा नगरपालिकाले बुधबार मध्यराति १२ बजेदेखि एक साताका लागि पूर्ण रुपमा लकडाउन जारी छ । – महोत्तरीको भंगहा नगरपालिले बिहीबारदेखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ । – सिरहाको मिर्चैया नगरपालिकामा बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको छ । – मोरङको बेलबारी नगरपालिकाले बिहीबार राति १२ बजेदेखि ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । देशका १४ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । ६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।

नुवाकोटमा आजदेखि ‘लकडाउन’, कोरोना सङ्क्रमणको जोखिम बढ्दाे

काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ । यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा-५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ । बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्न समेत गरिएको छ । यसैगरी यही साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ । केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ । यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ । कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो ।