विकासन्युज

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद सुल्झाउने जिम्मा ऊर्जा मन्त्रालयलाई   

काठमाडौँ । सरकारले लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसुससम्बन्धी विवाद समाधानका लागि गठिन अध्ययन समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनमा लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नै जिम्मा दिएको छ । नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायीबीच डेडिकेटेड र ट्रङ्क लाइनबाट लिएको विद्युत्को महसुलका सम्बन्धमा विवाद रहँदै आएको थियो । प्राधिकरणले जसरी भए पनि महसुल उठाउने अडान राख्दै आएको थियो भने उद्योगी तथा व्यवसायीले आफूहरुले प्रयोग नै नगरेको महसुल नतिर्ने जिकिर गर्दै आएका थिए । विवाद बढ्दै गएपछि सरकारले २०७६ पुस २१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा अर्थ, उद्योग मन्त्रालयका सचिव रहने गरी समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन केही दिन पहिले मन्त्रिपरिषद्मा पेश भएको थियो । मन्त्रिपरिषद्को यही साउन १९ गतेको बैठकले उक्त प्रतिवेदन स्वीकृत गरी आवश्यक कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले ट्रङ्क तथा डेडिकेटेड फिडरबाट भएको विद्युत् आपूर्तिका सम्बन्धमा विद्युत् उपभोगकर्ता उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीच देखिएको विवादलगायत समस्या समाधानका लागि मन्त्रालय र मातहतका निकायबाट समन्वयात्मक रुपमा काम गर्न ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिए । समितिले विद्युत्भार कटौती पूर्ण रुपमा हट्नु अघिको विद्युत् महसुल उदोगीले तिर्नुपर्ने सुझाव दिएको थियो । ऊर्जा मन्त्रालयको प्रस्तावमा प्राधिकरणले २०७५ जेठदेखि पूर्ण रुपमा विद्युत्भार कटौती अन्त्य गरेको थियो । २०७२ सालदेखि २०७५ जेठसम्म उद्योगी तथा व्यवसायीले लिएको डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल उद्योगी तथा व्यवसायीले तिर्नुपर्ने निर्णय भएको बताइएको छ । ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार मन्त्रिपरिषद्ले पछिल्लो पटक स्वीकृत गरेको प्रतिवेदन मन्त्रालयमा आइनसकेको र आएपछि विस्तृतमा जानकारी दिइनेछ । प्राधिकरणले पनि डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वको समितिमार्फत अध्ययन गरेको थियो । यस्तै, सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा सो विषयले प्रवेश पाएको थियो । लेखा समितिले उठाउन बाँकी रहेको महसुल उठाउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको थियो । महसुलका सम्बन्धमा चित्त नबुझेको खण्डमा प्राधिकरणको पुनरावलोक समितिमा नगई उद्योगी तथा व्यवसायीले देशका विभिन्न उच्च अदालतमा मुद्दा दायर गरेका थिए । कूल २६ वटा मुद्दामध्ये २० वटामा अदालतले पुनरावलोकन समितिमा जान र नियमनुसार महसुल तिर्नुपर्ने फैसला गरिदिएको थियो । उद्योगी व्यवसायीले भने आफूहरुले प्रयोग नै नगरेको महसुल तिर्न भन्दै प्राधिकरणले बिल पठाएकोमा आक्रोश व्यक्त गर्दै आएका थिए । उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा खतिवडालाई भेट गरी समस्या समाधानका लागि आग्रह गर्दै आएका थिए । समितिको प्रतिवेदनअनुसार २०७२ पुसदेखि २०७५ वैशाख मसान्तसम्मको महसुल भने अनिवार्य रुपमा तिर्नुपर्ने सुझाव दिएको थियो । मन्त्रिपरिषद्ले के कसरी महसुल उठाउने भन्ने बारेमा गरेको निर्णय हेरेर आवश्यक कदम चाल्ने तयारीमा ऊर्जा मन्त्रालय रहेको छ । पछिल्लो पटक प्राधिकरणले प्रस्ताव गरेअनुसार विद्युत् नियमन आयोगले गत असार १ गतेदेखि लागू हुने गरी डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी व्यवस्था खारेज गरिदिएको छ । साउन १ गतेदेखि नयाँ महसुल दरसमेत लागू भइसकेको छ । प्राधिकरणले विद्युत्भार कटौतीको अन्त्य भएसँगै विशेष व्यवस्थाको डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी व्यवस्था हटाउन खोजेको थियो तर, विद्युत् नियमन आयोग गठन नहुँदा प्राधिकरणको निर्णय कार्यान्वयनमा जान सकेको थिएन । प्राधिकरणका अनुसार २०७५ चैत मसान्तसम्ममा २३९ ग्राहकले डेडिकेटेड र ६९ ग्राहकले ट्रङ्क लाइनमार्फत बिजुलीको अतिरिक्त सुविधा लिएका थिए । त्यसमा डेडिकेटेडभन्दा ट्रङ्क लाइनमा बढी समस्या छ । प्राधिकरणले नियमिततर्फको महसुल उठाए पनि डेडिकेटेड र ट्रङ्क लाइनको थप महसुल भने उठाउन समस्या रहँदै आएको थियो । सरकारको पछिल्लो निर्णयपछि उक्त विवाद समाधान हुने विश्वास लिइएको छ । रासस

बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी, अध्ययन समिति गठन

सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ । सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधारसमेत रहेका उद्योग तथा प्रतिष्ठान विभिन्न कारणले बन्द भई रुग्ण अवस्थामा पुगेका छन् । हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखानालगायत कारखाना बन्द अवस्थामा छन् । उद्योग बन्द हुँदा अन्य भौतिक पूर्वाधारसमेत खण्डहर हुने अवस्थामा पुगेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत बन्द भई रुग्ण भएका उद्योग विभिन्न मोडालिटी तय गरी सञ्चालनमा ल्याउनेजस्ता विषय समावेश गरिएको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रुग्ण उद्योग के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययनसमेत गरेको छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले समेत बन्द भएको उद्योग के कसरी सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गराउनु भएको थियो । यस्तै वर्तमान उद्योगमन्त्री लेखराज भट्टले समेत त्यस सम्बन्धमा आवश्यक चासोका साथ काम गरिरहनु भएको छ । सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ । विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी क्षेत्रको समेत सहयोगमा आवश्यक प्रक्रिया मिलाएर सञ्चालनमा ल्याउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले रुग्ण उद्योगको सम्बन्धमा आवश्यक सुझाव दिन पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पु्नः निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन पूर्वसचिव सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले कुन उद्योग सञ्चालन गर्न सकिन्छ, कुन सकिँदैन तथा कुन ढाँचामा सञ्चालन गर्न सकिन्छ भनेर सरकारलाई आवश्यक सुझाव दिनेछ । सोही सुझावका आधारमा सरकारले आवश्यक निर्णय गर्नेछ । रोजगारीको सिर्जना तथा आत्मनिर्भरताका लागिसमेत बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने माग उठ्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठमा सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुन गर्दै बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउने बताएकी थिइन् । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखी रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बन्द तथा रुग्ण उद्योगलाई निजी क्षेत्रको समेत सहभागितामा उपयुक्त व्यवस्थापन विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा सञ्चालन गर्ने सरकारको योजना, नीति तथा कार्यक्रममा समावेश छ । सामान्य सुधार तथा व्यवस्थापनमा मात्रै ध्यान दिने हो भने पनि केही उद्योग एकाध महिनाभित्र सञ्चालनमा ल्याउन सकिन्छ । स्वदेशमा नै उत्पादन हुने सामग्रीमा मात्रै ध्यान दिने हो भने पनि ठूलो धनराशी विदेशिनबाट रोकिने छ । सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आवश्यक निर्णय गर्ने भएको छ । सरकारले यसअघि नै बन्द भएको हेटौँडा कपडा कारखाना सञ्चालनमा ल्याउन तयारी थालेको थियो । झण्डै बन्द हुनै लागेको नेपाल औषधि लिमिटेडलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्दा विपद्को समयमा अत्यावश्यक औषधि उत्पादन गर्न सकिएको छ । स्यानिटाइजर, सिटामोल जस्ता सामग्री नेपाल औषधि लिमिटेडले उत्पादन गरिरहेको छ । लकडाउनमा सो उद्योगले उत्पादन गरेको स्यानिटाइजर अन्य उद्योगको भन्दा गुणस्तरीय रहेको छ । यस्तै सरकारले कृषि तथा वनजन्य वस्तुको उत्पादन एवं प्रशोधन गर्ने उद्योगको विकास र विस्तार गर्ने लक्ष्यसमेत चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने उद्योगको विकासका लागिसमेत सरकारले नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखेको छ । उद्योग क्षेत्रको विकासका लागि एकल सेवा विन्दु केन्द्रलाई विशेष क्षमताका साथ सञ्चालनमा ल्याउने गरी आवश्यक व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश छ । यस्तै चालु आवमा ४५ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना भइसकेको अवस्थालाई ध्यान दिएर अन्य स्थानीय तहमा आवश्यकताका आधारमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । रासस

बेनेली मोटरसाईकलको नयाँ शोरुम बनेपामा, यी पाँच नयाँ मोडेल राखिने (मूल्यसहित)

काठमाडौं । बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा. लि.ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेकाे कम्पनीले जनाएकाे छ । टप गियर इन्टरनेसनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउँनेछ । कम्पनीको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धकको अनुसार यी पाँच मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ । TNT15(150CC) at Rs. 2,30,000 TNT150i(150cc) at Rs. 3,15,000 BN251(250cc) at Rs. 5,20,000 4.LEONCINO 250 at Rs. 6,30,000 TRK251 at Rs. 6,30,000 बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखिनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो । जसलाई सबैभन्दा बढी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै आएको छ ।

सिद्धार्थ ईक्वीटी फण्डले साढे ७ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले ५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई साढे ७ प्रतिशत प्रतिफल दिने भएको छ । फण्डले कर सहित सो मात्रा अर्थात ११ करोड २५ लाख रुपैयाँ प्रतिफल इकाईधनीलाई वितरण गर्ने भएको हो । त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले पनि आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने भएको छ । संस्थाले कर सहित सो मात्रा अर्थात ६ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यी दुबैकाे आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई सो मात्राको प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।

एनआईसी एशिया बैंक बन्यो सिजी मोटोकर्पको फाइनान्सिङ्ग पार्टनर

काठमाडौं । एनआईसी एशिया बैंक सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पको फाइनान्सिङ्ग पार्टनर बनेको छ । सो सम्बन्धी दुई संस्थाबीच समझदारी भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सरज पन्तले हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्पले यस बैंकलाई फाइनान्सिङ्ग पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहकहरूले खरिद गर्न सक्नेछन् । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले लिन सक्नेछन् ।

दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बीमा बापत ७ लाख रुपैयाँ

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपालले बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो । गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो । मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताए । सीईओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो ।

एनटीएका कार्यक्रम: सेवा प्रदायकलाई मर्जर/एक्विजिसन गर्नेदेखि कार्यालय अटोमेसनमा लिनेसम्म

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ कमले वार्षिक कार्यक्रम ल्याएको हो । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ६९ करोड रुपैयाँको वार्षिक कार्यक्रम ल्याएको थियो । प्राधिकरणले चालु आर्थिक वर्षमा ग्रामीण दूर संचार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ भने प्राधिकरण तर्फ ७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । गत आर्थिक वर्षमा ग्रामिण दूर संचार कोष तर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने प्राधिकरण तर्फ १० अर्ब १९ करोड रुपैयाँ छुट्याएको थियो । प्राधिकरणले वार्षिक कार्यक्रममा ३० नयाँ कार्यक्रमहरु ल्याएको छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले कोरोना महामारी (कोभिड–१९) का कारण विषम परिस्थीति सिर्जना भएकाले पनि गत वर्षको भन्दा कम बजेटको वार्षिक कार्यक्रम ल्याएको हो । के छन् नयाँ कार्यक्रम ? प्राधिकरणले धेरै नयाँ कार्यक्रमहरु पनि ल्याएको छ । गत वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिनेसँगै ३० नयाँ कार्यक्रम पनि प्राधिकरणले थप गरेको छ । प्राधिकरणको वार्षिक कार्यक्रममा दूरसञ्चार, ब्रोड ब्याण्ड र सूचना तथा सञ्चार प्रविधि नीति परिमार्जन गर्ने नयाँ कार्यक्रम रहेको छ । सो कार्यक्रममका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, नयाँ कार्यक्रममा प्राधिकरणका सम्पूर्ण शाखाका कार्यालयहरु अटोमेसन सिस्टमसँग एकिकृत हुने गरी आवश्यकता अनुसार सफ्टवेर निर्माण गरी लागु गर्ने जनाएको छ । त्यस मार्फ कम जनशक्तिमा धेरै काम गर्न सकिने बताएको छ । सो कार्यक्रमका लगि प्राधिकरणले २ करोड रुपैयाँ बजेट छुट्याइको छ । यस्तै, नेपाल दूर सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन नयाँ सेवा प्रदायक छनोट तथा मर्जर एण्ड एक्विजिसन कार्यान्वयन सम्बन्धमा अन्र्तक्रिया तथा छलफल गर्ने वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ । त्यसका लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्याइको छ । प्राधिकरणको नयाँ कार्यक्रममा भ्वाइस सेवा प्रदायकको बिलिङ सिस्टमको इन्टीग्रीटी जाँच गरी राजश्व निर्क्याैल गर्ने पनि उल्लेख गरिएको छ । उक्त कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, साइबर सेक्युरिटी सिमुलेसन ल्याब सीइआरटी तयार गर्ने कार्यक्रम पनि नयाँ रहेको छ । त्यसका लागि पनि प्राधिकरणले २० करोड रुपैयाँ बजेट छुट्याइएको छ । समग्रमा प्राधिकरणले दूर संञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउने कार्यक्रम तय गरी रकम छुट्याएको छ । उक्त कार्यक्रममालागि १५ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ । आधारभूत दूर सञ्चार सेवा र सुविधा नेपाल राज्यभर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्थापन गर्नका लागि ६ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । आगामी दिनमा दूर सञ्चार सेवा र सुविधा सर्वाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तीहरु बिच समन्वय र स्वस्थ्य प्रतिस्पर्धा हुने व्यवस्था गर्ने जनाएको छ । उक्त शिर्षकमा बजेट ६५ लाख रुपैयाँ छुट्याइएको छ । । प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति द्धारा निर्धारित नीति अनुरुप फ्रिक्वेन्सी सम्बन्धी काम गर्ने शिर्षकमा ६ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दूर संचार क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने शिर्षकमा ५० लाख बजेट छुट्याइएको छ । उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूर संचार सेवाको विकास र विस्तार गर्ने गराउने शिर्षकमा २० लाख रुपैयाँ छुट्याइएको वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ ।

एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलबाट सरल किस्तामा सामान पाउने

काठमाडौं । एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट सरल किस्तामा सामान पाउने भएका छन् । ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । एनएमबि बैंक र सिजी डिजीटलबीच शुन्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । सझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख-वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा एक हजार ८ सय रूपैयाँसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।