नेपालमा थप ३ सय ८१ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन् भने आजसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । बुधबार १ जनाकाे मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
किन बढ्यो सुनको भाउ ?
काठमाडाैं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताए । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षीत क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन । गतवर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो । आज सुन एक वर्षपछि तोलामा ३३ हजार ४ सयले बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ । बुधबार विश्व बजारमा प्रति आउन्स २ हजार ५५ डलरमा कारोबार भइरहेको छ । सम्बन्धित समाचारः सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो
सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
विद्युत् प्राधिकरणको चरम लापर्वाहीले सेवाग्राही जोखिममा
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको उत्तरतर्फको झ्याल बाहिर सेवाग्राहीको भीड देखिन्छ । एकातिर पानी पर्ने मौसममा ओत लाग्ने ठाउँ छैन, अर्कोतिर फाराम भर्न सहज हुने कुनै टेबुल छैन । कोरोनाको कहरमा सुरक्षाका लागि सहज हात धुने व्यवस्था होस् वा स्यानेटाइजरको सहज व्यवस्था छैन । नयाँ मिटरका लागि फाराम लिने, भर्ने र बुझाउन सेवाग्राहीको भीड रहेको उत्तरतर्फको झ्याल अगाडि नै विद्युत् प्रवाह भएको हाइटेन्सन लाइनको ठूलाठूला खम्बा र ट्रान्समिटर, जहाँ ठूला अक्षरले खतरा भनेर लेखिएको बोर्ड छ, ठीक त्यसैको तल घाँस र भिरालो जमिनमा सेवाग्राहीको भीड छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा गएको अनुगमन टोलीले देखेको नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको यो चरम लापर्वाहीको दृश्य हो । प्राधिकरणले खतरा लेखेको खम्बामुनि नै उभिएर सेवाग्राहीले नयाँ मिटरको फाराम लिने, भर्ने र बुझाउने गरेका छन् । फाराम भर्दा नबुझेको कुरा सोधपुछ गर्न प्राधिकरणले कुनै कर्मचारीको व्यवस्था गरेको छैन । “फाराम भरेको मिलेन भने केरमेट गर्न पाइँदैन, नुबेझेको सोध्ने छैन, फराम केरमेट भए कर्मचारीले अर्को फाराम भिडाउने गरेका छन्”, सेवाग्राहीको गुनासो छ । नयाँ मिटरका लागि निवेदन दिन आएका भातेढिकुरका हिमाङ तामाङले अघिल्लो दिन फाराम लिन २ बजे आउँदा काउण्टर बन्द भएपछि आज ११ बजे आएको बताए । उनले भनेऽ “हिजो आउँदा बन्द भयो भनेर फर्काइयो, आज ११ बजे नै आए । रु ५५ मा फाराम किनेर भरे पनि बिग्रेपछि अर्को फाराम किन्नुपर्ने रैछ, नबुझेको सोध्ने मान्छे छैन, पानी पर्दा बस्ने प्रतीक्षालय छैन, माथि हे¥यो डरलाग्दो खतरा लेखेको खम्बा छ, त्यहीमुनि टुक्रुक्क बसेर घुँडामा राखेर फाराम भरेर बुझाउनु पर्छ ।” अर्का सेवाग्राही शर्मिला थापाले भन्नुभयो, “फाराम लिने र भर्ने ठाउँमा एकातिर भीडले कोरोना सर्ला भन्ने डर भएको र अर्कोतर्फ पानी पर्दा हाइटेन्सन लाइनको करेन्ट लिक भएर सबैलाई करेन्ट लाग्ला भन्ने डर छ, खै यो प्राधिकरणले यति व्यवस्था पनि गर्न सकेन ।” जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिसस प्रशासकीय प्रमुख, जिसस सदस्य र पत्रकारको टोलीले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको अनुगमन गरेको हो । अनुगमनको क्रममा विद्युत् प्राधिकरणले चरम लापर्वाही गरेको पाइएको जिसस प्रम्ख गेलालले बताए। सेवाग्राहीले देख्ने गरी नागरिक वडापत्र राख्नुपर्नेमा कार्यालयमा नागरिक वडापत्र छैन । नयाँ मिटर जडान गर्न सेवाग्राहीले निकै कुर्नुपर्छ । निवेदन आएको तीन दिनमा नयाँ मिटर दिन्छौँ भन्ने कार्यालय प्रमुख राजकुमार रमणले दाबी गरे पनि अनुगमनका क्रममा १० दिनमा पनि नयाँ मिटर जडान गर्न नसकेको र मिटर जडान गर्न घुस खुवाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । भक्तपुरमा भएको व्यापक चुहावट रोक्दै सात प्रतिशतमा झार्न सफल भएको कार्यालय प्रमुख रमणको दाबी छ । चुहावट रोक्दा रु एक करोड ४० लाख राजस्व सङकलन गरेको बताउँदै उनले मिटर जडानमा घुस खाएको पाइए कारवाही गर्ने बताए । विद्युत्को पोल सार्न निकै समस्या र महँगो हुने गरेको जनताको गुनासो प्रमुख गेलालले राखे । एउटा पोल सार्दा प्राधिकरणले चार लाखसम्म लिने गरेको तर त्यही पोल स्थानीय तहले सार्दा ५० देखि ७० हजारमा सकिनेबारे राखेको जिज्ञासामा कार्यालयका प्रमुख रमणले प्राधिकरणको ज्याला नै महँगो हुने गरेको बताए । पोल सार्न स्थानीय तहले एक जना ज्यामीको रु एक हजारमा काम लगाउने गरेको तर प्राधिकरणले भने रु पाँच हजार लिने गरेको बताउँदै नियमानुसार जाँदा पनि महँगो हुने बताए । अनुगमनपछि जिसस प्रमुख नवराज गेलालले विद्युत् प्राधिकरणको सेवा अस्तव्यस्त रहेको पाइएको बताउँदै कोरोना भाइरस सङ्क्रमणको सुरक्षादेखि सेवा दिने काममा समेत लापर्वाही गरिएको पाइएको बताए । प्राधिकरणलाई सेवा सुधार्न निर्देशन दिएको बताउँदै उनेले पुनः जाने अनुगमनमा यस्तै पाइए कारवाही प्रक्रिया अगाडि बढाउने बताए । त्यसैगरी जिससका प्रमुख गेलालको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा भएको अनुगमनमा सेवा प्रभावकारी भएको पाइएको छ । रेडक्रसले गोदाममा किचेन सञ्चालन गरेको पाइएपछि त्यसलाई तत्काल हटाउन निर्देशन दिएको थियो । रेडक्रसले तत्कालै त्यसलाई हटाएर अर्को ठाउँमा राखेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए । अवसरमा सभापति थापाले रेडक्रसले सञ्चालन गरेको कार्यक्रम र विपद्मा गरेका कामका बारेमा जानकारी दिए । जिसस प्रमुख गेलालले रेडक्रसको काम सन्तोषजनक रहेको पाइएको जानकारी दिए । रासस
सरकारले देशका यी १४ ठाउँमा निषेधाज्ञा गर्यो, फेरि लकडाउन हुने सम्भावना कति ?
काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रति दिन बढ्दै गएपछि सरकारले देशका विभिन्न १४ ठाउँमा निषेधाज्ञा गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै देशका विभिन्न १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको हो । कतिपय जिल्लामा भने अर्को सूचना नआएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । भने कतिपय जिल्लामा भने समयावधि तोकिएको छ । गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ। सप्तरी जिल्लाभरि साउन २० गतेबाट जिल्लाभरी निषेधाज्ञा जारी गरि २६ गते खुलाइने जनाइएको छ । त्यस्तै धनुषामा भने जनकपुर उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा साउन १९ गते सोमवारबाट निषेधाज्ञा जारी गरि साउन २५ गते अन्त्य गरिने भएको छ । त्यस्तै नुवाकोटमा साउन ११ गतेबाट जारी भइ अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । नुवाकोटको पूर्वमा बोहोरे भञ्ज्याङदेखि पश्चिममा नयाँ चौतारासम्म र उत्तरमा बागेश्वरी भञ्ज्याङदेखि दक्षिणमा पोखरी डाँडा, हिलेटोलसम्म निषेधाज्ञा जारी गरिएको हो । यो सँगै अब लकडाउन हुने सम्भावना पनि बढ्दै गएको छ । दिनप्रतिदिन कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकार लकडाउनको तयारीमा जुटेको बुझ्न सकिन्छ । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले केही विज्ञहरुसँग कोरोना भाइरस न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेका थिए । उनलाई विज्ञहरुले दुई हप्तासम्म कडा खालको लकडाउन गर्न सुझाव दिएका छन् । यसले पनि देशमा फेरि लकडाउन हुन सक्ने सम्भावना बढेको हो । यी हुन् निषेधाज्ञा गरेका १४ जिल्लाः
सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो
काठाडाैं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।” कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए । “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।” उनले भने, “काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ ।” यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।
काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु
सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे हाे । राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको बताइएकाे छ । उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको बताइएकाे छ ।
नेपालमा तीन नयाँ विमानस्थल थपिए
काठमाडाैं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । गुल्मी, इलाम र ओखलढुंगामा विमानस्थल थपिएका हुन् । प्राधिकरणका अनुसार अब आइकाओबाट मान्यता प्राप्त तीन आन्तरिक विमानस्थल थप भएका हुन् । यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । अब नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ ।