विकासन्युज

प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ । साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ । लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् । यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभएको छ । यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु¥याइने मन्त्री यादवले बताउनुभएको छ । प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन् । पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ । तथ्याङ्कानुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ सङ्क्रमण पुष्टि भएको छ । लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभित्र हालसम्म (मङ्गलबारसम्म) ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन् । प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ । अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ । तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ । लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेको छ । सीमाक्षेत्रमा दोहोरो आउजाउ बढेको र हिँडडुलमा लापरवाही बढेपछि सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । खासमा शारीरिक (भौतिक) दूरीको निर्वाह नगरिँदा, मास्कको प्रयोग नहुँदा, बजारहाटमा भीडभाड बढ्दै जाँदा र सीमाक्षेत्र वारपारको बाक्लो ओहोरदोहोर बढ्दा सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकको डीजीएम पदमा नियुक्त भएका हुन् । नवनियुक्त डीजीएम ज्ञवालीले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् । उनले गत बैशाख ११ गते ज्योति विकास बैंककाे सीईओ पदबाट राजिनामा दिएका हुन् । उक्त बैंकमा २ वर्षकाे कार्यकाल बाँकी छँदै उनी बाहिरिएका हुन् । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्राे अनुभव रहेकाे छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ। सम्बन्धित सामग्री २५४ प्रतिशतभन्दा माथि ग्रोथ र मनोज ज्ञवालीको क्रमभंगता

एनसेल अब सार्वजनिक कम्पनी, आईपीओ जारी गर्नसक्ने

काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ । एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ । याेसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।

लेबनन विस्फोट: ७८ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

काठमाडाैं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ। एउटा गोदाममा राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताईएकाे छ।बेरुतस्थित समुद्री तटीय क्षेत्रमा रहेको सो गोदाममा विस्फोट भएपछि धुँवाको ठूलो मुस्लो उडेको र वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको भिडियाे सार्वजनिक भएकाे छ ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जुम्लामा ५ हजारले पाए रोजगारी

खलङ्गा । प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६/७७ मा पाँच हजारले रोजगारी पाएका छन् । जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् । एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात् कम्तीमा १०० दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा १५ देखि ३५ दिनसम्मको रोजगारी पाएका छन् । स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाभरमा एक हजार ८४० र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत तीन हजार १६० जम्मा पाँच हजार जनाले रोजगार पाएका छन् । यहाँका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाखका दरले बजेट आएको र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए । हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा कोरोना भाइरसका कारणले काम गरेर घर खर्च चलाउन गाह्रो भएकादेखि रोजगारी गुमाएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका एक हजार ७८५ बेरोजगार मध्येबाट प्राथमिकता क्रमका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिएको संयोजक पौडेलले बताए । सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा यहाँको पातारासी गाउँपालिकालाई रु ५२ लाख ११ हजार, तिला गाउँपालिकालाई रु ३७ लाख, हिमा गाउँपालिकालाई रु ५२ लाख, सिञ्जा गाउँपालिकालाई रु ५३ लाख, तातोपानी गाउँपालिकालाई रु ६० लाख ८४ हजार, कनकासुन्दरी गाउँपालिकालाई रु ५१ लाख सःशर्त अनुदान दिएको गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् । गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा रोजगार संयोजक नहँुदा अरु स्थानीय तहभन्दा धैर कम अनुदान आएको चन्दननाथ नगरपालिकाले जनाएको छ । रासस

उपत्यका प्रवेश नाका साँगामा थप कडाइ गरिने

बनेपा । कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताए । “साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ”, उनले भने, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ ।” बैठकमा साँगामा भएको सुरक्षा जाँचको विषयमा जानकारी गराइएको थियो । विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लाको सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको जनाइएको छ । बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताए । पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उनले बताए । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उनले बताए । सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उनले बताए । उनी नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।

३० हजार चलचित्रकर्मी बेरोजगार, २०० भन्दा बढी फिल्म हल पूर्णरूपमा बन्द

काठमाडाैं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका हुन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग भर्खरै उठ्न खोजेको अवस्थामा कोरोना सङ्क्रमणका कारण बन्द भएपछि अहिले सबै ‘फिल्म हल’ बन्द हुँदा हजारौँ कामदार बेरोजगार भएका छन् । नेपालभर हाल २०० भन्दा बढी ‘फिल्म हल’ सञ्चालनमा रहेका छन् । कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले बढी भीडभाड हुने क्षेत्र तत्काल नखोल्ने निर्णय गरेर चलचित्र उद्योगलाई अति प्रभावित उद्योगका रुपमा राखे पनि कहिलेदेखि चलचित्र शुरु गर्ने भन्ने अन्योल रहेको छ । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ । चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि लकडाउनका कारण उक्त फिल्म सञ्चालन हुन पाएनन् । नेपालमा विसं २०७५ मा ९५ र विसं २०७६ मा ५५ फिल्म सञ्चालनमा आएका थिए । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी रु एक अर्बभन्दा बढी लगानी भएको फिल्म उद्योग कोरोनाका कारण प्रभावित भएको बताउछन् । “फिल्म निर्माताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएर फिल्म निर्माण गरे पनि फिल्म सञ्चालन नहुँदा समस्या परेको छ”, उनले भने । कोरोनाका कारण प्रभावित बनेको चलचित्र उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन नेपाल चलचित्र निर्माता सङ्घले फिल्म उत्पादनमा लाग्ने खर्चको २० प्रतिशत लगानी सरकारलाई गर्न आग्रह गरेको छ । “करोडौँ रकम खर्च गरेर बनाएको फिल्म नचले पनि सरकारले २० प्रतिशत लगानी ग्यारेन्टी गरिदिएको खण्डमा चलचित्र निर्मातालाई केही भए पनि राहत पुग्नेछ”, अध्यक्ष अधिकारी भने। नेपालमा अहिले एउटा फिल्म निर्माण गर्न रु ८० लाखदेखि रु दुई करोड ५० लाखसम्म खर्च हुने सङ्घले जनाएको छ । सङ्घका अनुसार हाल २५ फिल्म निर्माण सम्पन्न भएर सञ्चालनका क्रममा रहेको, १२ फिल्म निर्माणको अन्तिम चरणमा रहेको र २० फिल्म छायाङ्कनको शुरुको अवस्थामा छन् । चलचित्र निर्माता सङ्घले बन्दाबन्दीपछि चलचित्र उद्योगलाई चलायमान बनाउन राजनीतिक दलका शीर्ष नेतासहित सरोकारवाला निकायसँग भेटघाट तथा परामर्शसमेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले चलचित्र उद्योगको ५० प्रतिशत माग पूरा गरेको अध्यक्ष अधिकारीको भनाइ छ । मौद्रिक नीतिले पुर्नकर्जाको सीमालाई फराकिलो बनाउँदा साना, मझौला र ठूला उद्योग लाभान्वित हुनुका साथै कर्जा लिँदा लाग्ने सेवा शुल्क घटाउनु सकारात्मक कुरा रहेको उनको भनाइ छ । कोरोना सङ्क्रमण विस्तार घट्दै गएमा सरकारले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको स्वास्थ्य निर्देशिकालाई आत्मसात् गरेर सामाजिक दूरी कायम राख्दै सुरक्षित तरिकाले फिल्म सञ्चालनको वातावरण बनाउनुपर्ने सङ्घको भनाइ छ ।

एनआरएन इन्फ्राइन्स्टक्चरकाे सेयरमा आवेदन दिने भाेलि अन्तिम दिन, हालसम्म कतिले भरे ?

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा आवेदन दिने भाेलि(साउन २१ गते अन्तिम दिन हाे । इच्छुकले भाेलि बैंकिङ समयभित्रमा उक्त सेयरमा आवेदन दिन सक्नेछन् । एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क उक्त सेयरमा हालसम्ममा ३ लाख ३४ हजार २ सय ९२ जना आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साउन २० गते ५ बजेसम्ममा उक्त आवेदकले एक कराेड ४० लाख ५३ हजार ७ सय ६० कित्ता सेयरकाे लागि आवेदन दिएका हुन् । जुन कम्पनीले माग गरेकाे भन्दा साढे ४.४४ गुणा बढी हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः ३ लाख बढीले भरे एनआरएन इन्फ्राइन्स्टक्चरकाे आईपीओ