अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।” जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ । अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उहाँले प्रष्ट पार्नुभयो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ । सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिएका छन् । रासस
सरकारी कर्मचारीकाे कोरोना बीमा आजदेखि शुरु
काठमाडौ । बीमा समितिले सरकारी कर्मचारीहरुको कोरोना बीमाको बुधबार औपचारिक रुपमा सुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा समेटिएको कोरोना बीमा बुधबार दिउसोबाट सुरुवात गरिने बीमा समितिले जनाएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना महामारीको डर भन्दा आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिन कोरोना बीमा कार्यक्रम अगाडि बढाएकाे बताए । ‘सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सरकारी कर्मचारीको कोरोना बीमा गर्ने भनिसकेको छ, कर्मचारीको बीमा गर्दा सबैले ढुक्कसँग काम गर्न सक्ने भएकाले कोरोना बीमा महत्वपूर्ण छ’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । बीमा समितिले वैशाख पहिलो सातादेखि कोरोना बीमाको शुरुवात गरेको थियो । उक्त बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ तोकिएको छ । सरकारी कर्मचारीहरुले कोरोना बीमा गराउँदा पूरै बीमा शूल्क तथा आम नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।
एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
‘कोभिड-१९ थाहा भएन, कोभिड-१०० चै युनियन लाइफमा उत्पत्ति भयो’
काठमाडौं । विश्वभर संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति कहाँ भयो भन्ने अझै यकिन भएको छैन । सन् २०१९ को अंग्रेजी महिनामा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोभिड-१९ को उत्पत्तिस्थललाई लिएर चीन र अमेरिका जस्ता महाशक्ति राष्ट्रबीच आरोप प्रत्यारोप नै चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड-१९ भाइरस चीनले बनाएको भन्दै ‘चिनियाँ भाइरस’को नाम दिइरहेका छन् । चीनका उच्च सरकारी अधिकारीहरु अमेरिकी सेनाका अधिकारीहरु सैन्य तालिमका लागि चीनको वुहान प्राप्तमा आउँदा यो भाइरस ल्याएको हुन सक्ने प्रत्यारोप गरिरहेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव निर्मित नभइ प्राकृर्तिक भएको बताइसकेको छ । तर, नेपालको एउटा बीमा कम्पनी युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण भने कोभिड-१०० को उत्पत्ति आफ्नो कम्पनीमा भएको सगर्व दाबी गरिरहेका छन् । उनी गत वैशाखमा आफूले पहिलो पटक आफ्ना कर्मचारीको दिमागमा कोभिड-१०० भरिदिएको बताउँछन् । ‘चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड-१०० भर्दिएँ,’ सिइओ कर्णले विकासन्युजसँग भने । उनका अनुसार कोभिड-१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड-१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । मानिसले पैसा कमाउनु नै कोभिड-१०० हो भनेर आफूले व्याख्या गरेको उनले स्मरण गरे । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्न सकेको र सबैभन्दा बढी प्रिमियम संकलन भएको उनको भनाइ छ । ‘मैले युनियन लाइफका कर्मचारीको दिमागमा कोभिड-१०० भरेपछि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड-१०० आयो,’ सिइओ कर्णले भने ।
अरुण भ्याली हाइड्रोले शतप्रतिशत हकप्रद जारी गर्न पायाे नियमन आयोगकाे अनुमति
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगकाे अनुमति पाएकाे छ । आयोगको साउन १६ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगकाे अनुमति पाएपनि नेपाल धिताेपत्र बाेर्डकाे प्रकृया भने बाँकी नै रहेकाे छ । बाेर्डले अनुमति दिएपछि मात्रै कम्पनीले साे मात्राकाे हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी दुई अर्ब नजिक अर्थात एक अर्ब ९९ करोड रुपैयाँ नाघ्ने छ ।
भाेलीबाट धरानमा सात दिन लकडाउन
काठमाडाैं । धरानमा भाेलीबाट लकडाउन हने भएकाे छ । आज राति १२ बजेबाट लागु हुनेगरी धरानमा एक हप्ता लकडाउन हुने भएको हाे। समुदायमा संक्रमण फैलिने भन्दै आज बसेको धरान उपमहानगरपालिकाको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हाे । योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ।
नेप्सेको सिस्टममा समस्या, कारोबार हुन ढिलाई हुने
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।
सुन ताेलाकाे १ लाख १४ सय पुग्याे
काठमाडाैं । सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे छ । बुधबार १६ सयले बढेर सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे । मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य मंगलबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ सय रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।