आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, जगेडा कोषमा थपियो ६ करोड रुपैयाँ
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाले गत असार मसान्तसम्ममा ८८ करोड ५७ लाख निक्षेप संकलन र २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड अर्थात ५८४ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा पनि बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९८ प्रतिशत, कुल सम्पत्ति प्रतिफल १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ ।
कोरोना संक्रमित प्रहरीको संख्या ३ सय ६९ पुग्याे, १४९ ‘डिस्चार्ज’
काठमाडाैं । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् । आइतबारसम्म नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।
आज मन्त्रिपरिषद् बैठक बस्दै, यी महत्वपूर्ण ३ निर्णय हुन सक्ने
काठमाडाैं । आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका हुन्। आजकाे मन्त्रिपरिषद् बैठकले बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने बताइएकाे छ । आजकाे बैठकमा विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्न सक्ने स्राेतकाे भनाई छ । यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो। तर, हिजाे बसेकाे सीसीएमसीकाे बैठकले १५ दिन सम्मका लागि यी सवै सेवा स्थगित गर्न प्रस्ताव गरकाे छ ।
काठमाडौंमा बन्ने नयाँ शहरको क्षेत्रफलमा हेरफेर, तपाईँकाे जग्गा नयाँ शहरमा पर्याे ?
काठमाडौं । काठमाडौंमा निर्माण हुने भनिएका तीन नयाँ शहरको क्षेत्रफलमा हेरफेर अर्थात घटबढ गरिएको छ । काठमाडौं उपत्यका विकास प्रधिकरणले उपत्यकामा निर्माण गर्ने भनिएका तीन शहरहरुको क्षेत्रफलमा हेरफेर गरेको बताएको हो । नयाँ शहरमा पर्ने स्थानीय तहहरुले आफ्नो ठाउँ पनि नयाँ शहर भित्र पर्नु पर्ने माग राखेपछि नयाँ शहरहरुको जग्गाको क्षेत्रफलमा हेरफेर गरिएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए । ‘हामीले पहिले आफ्नो योजना अनुसार नै चारै शहरको क्षेत्रफल छुट्याएर काम गरेका थियौं, हाम्रो डीपीआर तयार भइसकेपछि पनि त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले हाम्रो ठाउँ पनि नयाँ शहर भित्र पर्नुपर्छ भनेर आवाज उठाए त्यही अनुसार हामीले पनि सम्भव भएको ठाउँमा जग्गाको क्षेत्रफल बढाएका छौं,’ तिवारीले भने । तिवारीका अनुसार नयाँ शहरको जग्गाको क्षेत्रफल बढ्ने मात्र होइन, धेरै ठाउँमा घटेको पनि छ । उनका अनुसार तीन वटा शहरहरुको धेरै ठाउँमा बढेको छ भने धेरै ठाउँमा घटेको पनि छ । उनका अनुसार इशान काठमाडौं नाम दिइएको शहरको क्षेत्रफल बढेको छ । एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुने भनिएको यस शहरको विभिन्न ठाउँमा क्षेत्रफल बढाइएको छ । यस शरहमा पर्ने शंखरापुर र चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँहरुलाई नयाँ शहर भित्र पारिएको तिवारीले बताए । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठका अनुसार पहिले सो शहर भित्र नपरेका शंखरापुर नगरपालिका वडा नम्बर ५, ६ र ९ का विभिन्न ठाउँहरु अहिले नयाँ शहर भित्र पारिएको छ । उनले नगरपालिकाको ५ नम्बर वडाको पापुलाठी, वडा नम्बर ६ को पुक्लाठी र ९ नम्बर वडाको इन्द्रायणीलाई नयाँ शरहभित्र समावेश गरिएको जानकारी गराए । स्थानीयहरुले आफुहरु पनि नयाँ शहर भित्र पर्नु पाउनु पर्छ भन्ने माग उठाएपछि त्यही अनुसार आफुहरुले प्राधिकरणलाई आग्रह गरी क्षेत्रफल बढाउन लगाएको उनले बताए । यस्तै सोही शहरमा पर्ने चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँहरु पनि नयाँ शहर भित्र अटाएका छन् । चाँगु नारायण नगरपालिकाको वडा नम्बर ७ र ८ का ठाउँहरु नयाँ शहरमा थपिएको सो नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले बताए । यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरेको हो । यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको छ । एक लाख रोपनी क्षेत्रफल भएको इशानका विभिन्न ठाउहरुँलाई नयाँ शहर भित्र समावेश गराए पनि अन्य शहरहरुको जग्गा भने घटाइएको छ । तिवारीका अनुसार १० हजार रोपनीका अन्य शहरहरुको क्षेत्रफल घटाइएको हो । घना तथा बाक्लो मानव वस्ती भएको ठाउँहरुमा प्लान अनुसार काम गर्न असम्भव भएकोले ती क्षेत्रहरुलाई नयाँ शहरबाट हटाइएको तिवारीले बताए । पुरानो र बाक्लो वस्तीमा प्लान अनुसार काम हुँदैन भनेर घटायौं, हामीले बनाए अनुसारको योजना अनुरुप काम हुने ठाउँमा फेरि बढायौं, नहुने ठाउँलाई पहिले परेका ठाउँलाई पनि हटायौं, उनले विकासन्युजसँग भने । ठाउँहरु घटबढ भएपनि शहरहरुको बाउण्ड्री भने पहिलेकै अनुसार भएको उनको भनाई छ । ललितपुरमा पर्ने शहर बन्नेमा अन्यौल काठमाडौंमा बन्ने भनिएका चार शहरहरु मध्ये ललितपुर क्षेत्रमा पर्ने शहर निर्माण हुनेमा भन्ने अन्यौलता थपिएको छ । तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बोर्डबाट स्वीकृत भएर सम्बन्धित मन्त्रालयमा पेश भइसकेको छ । अब सो मन्त्रालयले अन्तिम स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ । प्रस्तावित चार नयाँ शहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको तिवारीले बताए । ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए । ‘हामीले तीन शहरको डीपीआर शहरी विकास मन्त्रालयमा पेश गरिसकेका छौं, काठमाडौँ नैऋत्य को शहरका लागि मेयरसाव दुई/तीन पटक बैठकमा बोलाएर पनि नआएपछि त्यतिकै रोकिएको छ, अर्को बैठकमा माग गरेर आयो भने स्वीकृत हुन्छ, नत्र त्यस्तै स्थगित रहन्छ,’ उनले विकासन्युजसँग भने ।
भारतीय मलको भरमा किसानः युरिया मल बाेराकाे १५ सयमा किन्छन्
रौतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ”, रौतहट वौधीमाई नगरपालिका–८ का रामविलास बैठाले भने, “भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको छ ।” अहिले सबैभन्दा बढी घोडासान, बरगिनीया, र आधापुरलगायत क्षेत्रबाट भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ । सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । “अनुदानको मल नहु्ँदा जति पैसा भने पनि मल किन्नै प¥यो”, वैठाले भने, “ युरिया मलको चरम अभाव भएपछि धानमा मल छर्न केही समय ढिलो भयो । ” धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् । एक बोरा युरिया मलका लागि एक हजार पाँच सय सम्म मूल्य तिर्नुपरेको छ । भारतमा प्रतिबोरा छ सय रुपैयाँ मूल्य छ । “सरकारले मल नदिएर किसानमाथि अत्याचार गरेको छ । मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ”, वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले भने, ‘मल नहाले उत्पादन घट्ने भएकाले महँगोमा भए पनि किनेर ल्याएको छु ।’ सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल प्रहरीले नियन्त्रणमा लिन थालेपछि किसानले चर्को मूल्यमा मलखाद खरिद गर्न बाध्य भएका छन् । राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करीको भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको स्थानीयवासीको भनाइ छ । अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मलखादमाथि नै निर्भर रहेका छन् । सीमावर्ती बजारबाट जसोतसो भारतीयसँग मलखाद खरिद गरेर ल्याने क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पटकपटक बरामद गरी भन्सार कार्यालयमा बुुझाउने गरेकाले यहाँका किसान बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सीमावर्ती भारतीय बजारमा रु छ सयमा एक बोरा पाउने भारतीय युरिया मल हाल कटहरियालगायत नेपाली सीमावर्ती बजारमा रु एक हजार ७५० देखि एक हजार ८०० मा बिक्री भइरहेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा रु एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डिएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको कटहरियाका किसान रामचन्द्र गोसाईंले गुनासो गरे । प्रहरीले बलपूर्वक पटकपटक मलखाद तस्करीको भनेर पक्राउ गर्न थालेकै कारण रौतहटको भित्री बजारमा यसको मूल्य आकाशिएको कटहरियाका व्यापारीले बताएका छन् । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलाखद छर्नुपर्ने जरुरी हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् । किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरुले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको फतुवा विजयपुरका एकजना किसान अच्युत मैनालीले बताए । सदनको जस्तै नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने थियो तर जिल्लाका कुनै नेता अथवा जनप्रतिनिधिले किसानको समस्या समाधान अर्थात् सहज रुपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य भएको किसान मैनालीको गुनासो छ । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।
एभरेष्ट इन्स्योरेन्सकाे नाफामा १५ करोड रुपैयाँ वृद्धि
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख २९ हजार रुपैयाँ नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा आर्थिक वर्ष २०७५/७६ को तुलनामा साे नाफा वृद्दि गरेकाे हाे । कम्पनीले गत आर्थिक वर्षकाे अन्त्यसम्म १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तमा भने कम्पनीले ४ करोड १ लाख १० हजार रुपैयाँ आर्जन गरेको थियो । यस्तै, गत आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको आम्दानी ३३ करोड ३० लाख ७९ हजार रहेको छ। कम्पनीले सोही समयमा १३ करोड ९९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा कम्पनीलकाे आम्दानी ८ करोड १३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीले उक्त समयमा ४ करोड १२ लाख ८४ हजार रुपैयाँ खर्च गरेको थियाे। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा कम्पनीको २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
सुनकाे मूल्य फेरी घट्याे
काठमाडाैं । सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । साेमबार सुन ताेलाकाे २ सयले घटेर प्रतितोला १ लाख २४ सयमा काराेवार भईरहेकाे छ । यसअघि आईतबार सुन ताेलाकाे ९ सयले घटेकाे थियाे । लगतार सुनकाे मूल्य उकालाे लाग्ने क्रममा आईतबार यता सुनकाे मूल्य फेरी घट्न थालेकाे छ ।आईतबार सुन ताेलाकाे १ लाख २६ सयमा काेराेवार भएकाे थियाे । महासंघका अनुसार छापावाला सुनको प्रतितोला १ लाख २४ सय र तेजाबी सुन प्रतितोला १ लाख १९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।
नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९० हजार रुपैयाँ
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु-फर-मनी’सहितको नयाँ र्यापिड टीएसआई सार्वजनिक गरेको छ । नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो । नयाँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट-इन-क्लास’ हुन् । नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको र्यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ । स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट-इन-क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ । स्कोडाले पेसेन्जरको सुरक्षामा कुनै सम्झौता गर्दैन । त्यसैले, नयाँ र्यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी-ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट-अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् । ‘नयाँ स्कोडा र्यापिडबाट हामीले धेरै अपेक्षा गरेका छौं किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापिडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या एकदम बढिरहेको छ । हामीलाई विश्वास छ, नयाँ र्यापिडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ ।’ ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ । ग्राहकले नयाँ र्यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन । यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ ।