विकासन्युज

सिद्धार्थ बैंकको नाफा २ अर्ब ९ कराेड

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ को मा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ नाफा गरेकाे थियो । बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंककाे वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार निक्षेप संकलन गरेको छ । उक्त रकम अघिल्लो वर्षभन्दा २१ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढी अर्थात १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्किय कर्जा १ दशमलव ५६ प्रतिशत रहेको छ । बैंककाे चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी  २१ रुपैयाँ ३८ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ ।  

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’: साढे ३ लाख डिस्काउन्ट, एक्स्चेञ्जमा २ लाख बाेनस

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ । सीजी मोटोकर्पले साउन २६ गतेदेखि सुरु हुनेगरी उक्त अफर सार्वजनिक गरेको हो । यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् । कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ । यो योजना ३२ साउनसम्म अर्थात ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ ।

अध्यागमन विभागकाे कर्मचारीमा काेराेना पुष्टि, भिसाको काम स्थगित

काठमाडौं ।अध्यागमन विभाग एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विभागले विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित जनाएकाे छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेगेटिभ र एक जनामा पोजेटिभ आएको हाे । कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।  

साँगा नाकामा कडाइ

भक्तपुर।  विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनको भनाइ छ । विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रनाउ जोशीले बताए । उनका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् । ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए । प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ । प्रनाउ जोशीले भने, “राति नौ बजेदेखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाएका छौँ, त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” नौ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिइएको छ । केही दिनअघि नमूनाका रूपमा साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।

सिजीले लञ्च गर्यो एलजी नेपालकाे आधिकारीक वेवसाईट, सबै उत्पादनहरु घरबाटै बुक गर्न सकिने

काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाईट एलजीनेपालडटकम लञ्च गरेको छ । यो वेबसाईट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् । एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ । अब ग्राहकलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ । यस वेबसाईटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सि., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ । उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जीवनशैली सरल बनाउने लक्ष्यका साथ एल.जी.नेपाल डट कम वेबसाईट कम्पनीले ल्याएको र यसले एल.जी.का ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

सिराहाकाे धनगढीमाई नगरपालिकामा ‘लकडाउन’

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए । लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उनले बताए । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै यहाँको लहान , गोलबजार , मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् ।

त्रिविमा अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं ।  कोभिड-१९ को संक्रमण फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। त्रिविले आईतबार सुचना जारी गर्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने बताएकाे हाे । सुचनामा त्रिविले आफु अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएकाे छ । यस्तै आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने त्रिविले उक्त सुचना उल्लेख गरिएकाे छ । यद्यपी शिक्षक तथा कर्मचारीले हाजिर भने कार्यलयमं उपस्थित भएर गर्नुपर्ने र अनलाईन कक्षा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था गरिएकाे त्रिविले जनाएकाे छ ।  

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडाैं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उनले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहेकाे सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गरेका छन् । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहेकाे शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडल तथा सदस्यमा विभिन्न जिल्लाबाट ३८ जना सदस्य मनोनयन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महेन्द्र यादव प्रमुख रहेकाे यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहेकाे मुस्लिम विभागको सचिवमा परवेज अन्सारी र अन्य ३७ जना सदस्य, अजयकुमार चौरसिया प्रमुख रहेका तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत र सचिवमा रामनारायणप्रसाद कुर्मी तथा ३७ सदस्य मनोनयन गरिएको छ । सभापति देउवाले रमेश रिजाल प्रमख रहनुभएको सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहेकाे वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहेकाे वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल र ३८ सदस्य मनोनयन गरेका छन् । यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहनुभएका स्थानीय तह समन्वय विभागमा ३८ सदस्य, वीरबहादुर बलायर प्रमुख रहेकाे निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य, शङ्कर भण्डारी प्रमुख रहनुभएको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठ र सदस्यमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहनुभएको खेलकूद विभागको उपप्रमुखमा मोहनकुमार राई र मीनकृष्ण महर्जन तथा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गत जेठ १७ गते र खेलकूद विभागलाई गत जेठ २८ गते पूर्णता दिइएको थियो । काँग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ । विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी काँग्रेस केन्द्रीय कार्यसमितिको गत पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो । विधानबमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ । सभापति देउवाले हालसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् । सो समूहले काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको जनाउँदै विरोध गर्दै आएका छन् । काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म भएको थियो ।