विकासन्युज

सबै अस्पतालहरुलाई काेराेनाका बिरामीकाे लागि २० प्रतिशत बेड छुटाउन आदेश

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पताललाई काेभिड-१९ बिरामीकाे लागि २० प्रतिशत शैया छुटाउन आदेश दिएकाे छ । मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा साेमबार प्रवक्ता प्रा.डा जागेश्वर गाैतमले हरेक अस्पतालले काेभिड-१९ बिरामीकाे उपचारकाे लागि २० शैया छुटाउनु पर्ने बताएका हुन् । ‘सबै निजि सामुदायिक सरकारी गैर सरकारी अस्पतालहरुले आफ्नाे अस्पतालमा २० प्रतिशत शैया काेभिड बिरामीहरुकाे लागि छुट्याई सम्बन्धित हब अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने र हब अस्पताल भित्रकाे स्याटलाईट अस्पतालका बिरामीहरुकाे व्यवस्थापन हब अस्पतालले नै गर्ने सुचना जारी गरिएकाे छ,’ गाैतमले भने ।  

साेमबार काठमाडाैं उपत्यकामा ४४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा ८९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११७२ पुगेको छ । आईतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ३ सय १० पुगेको छ ।

आज थप ३ सय ३८ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २३ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३ सय १० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना रहेका छन् भने आजसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । आज थप ३ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

आर्थिक तनावमा निम्न व्यापारी, भन्छन्ः बच्चा पालौं कि कोठा भाडा तिरौं

काठमाडौं । नेपालमा कोरोना प्रवेश गरेको ७ महिना बितिसकेको छ । कोरोना संक्रमण दर बढेको भन्दै नेपाल सरकारले करिब ४ महिना देशव्यापी लकडाउन गर्यो । लकडाउनको बीचमा कोरोना संक्रमण दर केही मात्रामा कम भएको जस्तो भएपनि पुनः त्यसले आफ्नो रफ्तार लिइरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दा सरकारले आम सर्वसाधारण मानिसहरुलाई हिडडुलमा कडाई गर्ने र सरकारी निकायले प्रदान गर्ने सुविधामा पनि व्यापक कटौती गरिरहेको छ । अझै बजार ठप्प हुने अवस्था आउन सक्ने धेरैले अनुमान गरिरहेका छन् । यसको ठूलाे मारमा निम्न व्यापारीहरु पनि परेका छन् । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा अर्थात महानगरपालिकाले तय गरेको ठाउँमा बसेर सानो तिनो व्यापार/व्यवसाय गर्दै आएका उनीहरु अहिले ठूलो आर्थिक तनावमा परेका छन् । लामो समयदेखि गर्दै आएको व्यापार व्यवसाय बन्द गर्नु परेपछि उनीहरुले अहिले घर परिवार कसरी पाल्ने र आफु बसेको कोठाको भाडा कसरी तिर्ने भन्ने समस्यामा छन् । विगत ५/६ महिनादेखि बन्द गर्नु परेको व्यवसायबाट एक पैसा पनि आम्दानी नभएपछि अब घर भाडा कसरी तिर्ने भन्ने चिन्ता उनीहरुलाई पर्दै गएको छ । यो तनावले मानसिक समस्या पो उत्पन्न गर्नेे होकि भन्ने चिन्ता पनि उनीहरुमा छ । यस्तै, दिनप्रतिदिन समस्या थपिँदै गएकाे छ काठमाडौंको नयाँ बसपार्क नजिकै महानगरपालिकाले दिएको जग्गामा व्यापार गर्दै आएका घनश्याम सुवेदीलाई । सुवेदी स्वयमं उपत्यका निम्न व्यापारी संघका अध्यक्ष हुन् । तर, तिनै अध्यक्ष सुवेदीलाई अहिले ठूलो आर्थिक समस्या भएको छ । अहिले उनलाई बच्चाहरुलाई कसरी पाल्ने र आफु बस्दै आको कोठाको भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोली रहेकाे छ । उनी भन्छन्, ‘सानो तिनो व्यापार गरेरै घर परिवार पाल्ने र कोठा भाडा तिर्न ठीक्क हुन्थ्यो, अहिले व्यापार बन्द हुँदा समस्या दिनप्रतिदिन थुप्रिँदै गएका छन्, अब के गर्ने, कसरी बाँच्ने ?’ सरकारले छुट दिनु भनेको भाडा छुट पनि घरवेटीले नदिएको उनको भनाई छ । ठूला उद्योगी व्यापारीको त पैसा जम्मा पनि होला, त्यति समस्या हुन्नँ होला, हामी निम्न व्यापारीलाई अहिले ठूलो समस्या छ, हाम्रा कुरा कसले सुनिदिने, कसलाई गुहार्ने उनी प्रश्न गर्छन् । ‘पहिले सामान्य अवस्थामा न्यूनतम मासिक ३० हजार रुपैयाँको आम्दानी हुन्थ्यो, अहिले आम्दानी पनि छैन, निम्न व्यापारीहरुलाई दिनप्रतिदिन समस्याको चाङ भइरहेको छ,’ उनले भने । अहिले धेरै निम्न व्यापारीहरु काठमाडौंमा कोठा भाडा तिर्न नसकेर आफ्नो घर फर्किसकेका उनको भनाई छ । नगरपालिलकालाई पैसा तिर्नु पर्ने हुन्छ, घरवेटीलाई भाडा तिर्नु पर्छ, अहिले नै समस्या माथि समस्या थुप्रिरहेको निम्न व्यापारीहरुको भनाई छ । यस्तै, संघका महासचिव पुष्पलाल आचार्यले पनि धेरै व्यापारीहरु काठमाडौंमा कोठा भाडा लिएर बसेको हुनाले उनीहरुलाई भाडा तिर्ने कि परिवार पाल्ने भन्ने चिन्ता बढिरहेको बताए । ‘धेरैले आफ्नो पसलमा कर्मचारी पनि राखेका हुन्छन्, पसलमा काम गर्ने कर्मचारीको तलबको विषय पनि त्यस्तै अवस्था छ, पसलमा भएको सामान पनि कुहिने अवस्था भइसक्यो, कसरी आफु बाँच्ने, कसरी परिवार पाल्ने ?’ उनी प्रश्न गर्छन् । ‘घरधनीले घरभाडा चाहियो भनेर फोन गरिसकेका छन्, भाडा पनि मासिक तिर्नु पर्ने,  व्यापार भएको भए केही समस्या हुने थिएन’, आचार्य भने । यही समयमा घरवेटीहरुले भाडा चाहियो भनेर फोन गर्ने, दिनको ३/४ पटक कोठामा आउने गरेको उनीहरुले गुनासो गरेका छन् । लकडाउनपछि उनीहरुले केही दिन बजार खोले पनि ग्राहक नआएपछि पुनः बन्द गरेका छन् । उनीहरुले हाल कोरोना भाइरसको संक्रमण दर तीव्र फैलिएको भन्दै उपत्यका निम्न व्यापारी संघले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको जानकारी गराएकाे छ ।

‘उपत्यकाका सबै नाका अहिले नै सिल नगरे संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने उनले बताए । मेयर शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन् । अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताउँदै उनले भने ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना वस्ति छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’ उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए । उनले भने ‘लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन् । नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको हो । एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिले पनि समुदाय स्तरसम्म धेरै पुगेको छैन । केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।’ मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए । उनले भने ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन् । हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहा लुकिछिपि आउने प्रवृति रहयो ।’ कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराजिका कारण जोखिम बढेको बताए । उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे । उनले भने ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं । धर्मशालाहरु बन्द गरेका छौं । विहारहरु बन्द गरेका छौं । मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं । त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ । यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ । यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ ।’ उनले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताए । उनले पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने बताए । उनले भने ‘मेरो भनाई के हो भने पीसीआर औषधि होइन । पीसीआर भनेको परीक्षण मात्रै हो । परीक्षणले आजको स्थिति मात्रै जनाउँछ त्यसले औषधिको काम गर्दैन । एकपटक पीसीआर परीक्षण गरेपछि फेरी समुदायमा जाँदा त्यसले फेरी संक्रमण फैलिन्न भन्न सकिदैन । मैले आज पनि डाटा लिएको छु थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ, कति त पीसीआर नगरीकन छिरेका छन् । १० हजार मान्छेको पीसीआर गराउँदाखेरी त्यसको खर्च कति होला । हामीले डिफेन्सीभ होइन अफेन्सीभ ढंगले जानुपर्छ । हामीले रोगलागेपछि उपचार गर्नुपर्छ भन्दापनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ । अनि पीसीआर बढाऔं, हुलमुल नगरौं, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने अनि त्यहाँ सबै क्याटवाल्क गराएर फेसन शो गराएर पत्रकारलाई भेला गराउँदा त्यहाँ रोग फैलने सम्भावना हुँदैन ।’ सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गरे । मापदण्ड र नियमलाई मालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताए । उनले भने ‘हामी सबै सचेत हुनुपर्छ । सरकारलाई गरेन भनेर गालि गर्नेमात्र होइन सरकारले गरेका राम्रा कुराहरु पालना गर्ने दायित्व सबैको हो । जिम्मेवारी सबैको छ । सरकारको आफ्नै ठाउँको जिम्मेवारी छ । हामी स्थानीय सरकारका प्रमुख लगायत वडा अध्यक्षहरुको आफ्नै जिम्मेवारी छ । सम्पूर्ण महानगरबासी र देशभरका नागरिकको आफ्नै जिम्मेवारी छ । जिम्मेवारी आफुले पालना नगर्ने अरुलाईमात्रै दोष लगाएर बस्ने हो भने यसको समाधान हुँदैन भोली यति भयावह फैलिन्छ की त्यो नियन्त्रण भन्दा बाहिर रहन सक्छ ।’ नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई काराही गर्नुपर्ने उनले बताए । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको बताए । उनले भने ‘नाकामा आएर छोडने होइन । नाकासम्म ल्याइपु¥याउने लुकिछिपि आउने र लुकिछिपि ल्याउन सहयोग गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । होइन भने त्यहाँ ल्याएर छोडिदिने अनी यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुप¥यो भन्यो भने कति मान्छेलाई राख्ने ।’ संक्रमण देखिएका ठाउँलाई मात्रै शील गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाई छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र शील गर्ने भएकाले यो क्षणिक हुने उहाँले बताउनुभयो । संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उनले बताए । उनले भने ‘हाम्रो भनाई के हो भने शील गर्नु क्षणिक मात्रै हो । कन्ट्याक ट्रेसिङको लागि मात्रै हो । वडावडाले गरेर त्यो पनि हुन सकदैन । कुनै वडाले मलाई भनेको छ काठमाडौं बन्दगर भन्ने त्यो समाधान होइन । कुनैले ललितपुर बन्द भन्ने त्यो समाधान होइन । त्यो क्षणिकको लागि कन्ट्याक्ट ट्रेसिङको लागि सजिलो होस भन्ने मात्रै हो । त्यसकारण बन्द गर्ने हो भने नाका नै बन्द गर्नुपर्छ । अनी विभिन्न जिल्लाबाट आउने व्यक्तिहरुलाई बन्द गर्नुपर्छ । अव आउने घुलमिल गर्दै जाने हो भने परीक्षण गनै सक्दैन ।’ काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले बताए । उनले भने ‘काठमाडौं बचाउनका लागि मेयर अथवा काठमाडौंका जनप्रतिनिधिले गरेको निर्णय भनेर बुझिदिनुपर्छ । राम्रा निर्णयहरु कार्यान्वयन गर्न गृह प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ । जिल्ला प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ । त्यसैगरी अन्य संघीय मामिला मन्त्रालय जोसँग समबन्धित छ, श्रमसँग सम्बन्धित होला, कहिले खाद्यान्न सँग सम्बन्धित होला, कहिले स्वास्थ्यसँग सम्बन्धित होला सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ ।’

काेराेनाकाे डरले स्वदेश त फर्क्याैं, अब के खाने ?

काठमाडाैं । कोरोनाको सन्त्रासले भारत लगायत विदेशबाट धेरै नेपाली स्वदेश फर्किए । कामकाे भन्दा धेरै माया आप्नाे ज्यानकाे लागेर उनीहरु जसाेतसाे स्वदेश पुगे । तर, अहिले पनि उनीहरुलाई काेराेनाकाे त्रासकै बीच अर्काे समस्या थपिएकाे छ । उनीहरुलाई अब स्वदेशमा कमाई खाने कुनै माध्यम नहुँदा काेराेनाकाे डर भन्दा पनि भाेकै मरिने हाेकि भन्ने डरले साउन थालेकाे छ । दिल्लीबाट फर्केका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उनलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्केका थिए। उनी आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा छन् तर मजदुरीको काम पाएका छैनन्। “कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने”, दुःखेसो गर्दै उनले भने, “आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाई गर्ने आफ्नो पुख्र्यौली पेशा भए पनि सिलाई मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताए। दिल्लीबाट फर्केका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए। “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भने, “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो।” कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाए। कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन्। सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन्। यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ। भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउँछन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ। यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउँछन्। यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ। यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ। प्रदेश सरकारले चालु आव ०७७/७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ।

दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द

काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द भएको छ । २ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएपछि बैंकको केन्द्रीय कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि केन्द्रीय कार्यालय बन्द गर्न लागेको जानकारी बैंकले नेपाल राष्ट्र बैंकलाई गराएको छ । कार्यालयलाई निसंक्रमण गर्नुपर्ने र अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरेको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले केन्द्रीय कार्यालय बन्द गर्न लागिएको जानकारी बैंकले राष्ट्र बैंकलाई गराएको छ । गत शुक्रबार केन्द्रीय कार्यालयका १ सय ५२ जना कर्मचारीको पीसीआर परीक्षण गराएको थियो । यसरी परीक्षण गरिएकामध्ये २ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । बैंकले आफ्ना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले कार्यालय निर्मलीकरण र निसंक्रमण गर्नको लागि केही दिन बन्द गर्ने जानकारी मौखिक रुपमा गराएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो । यद्यपि बैंकले औपचारिक रुपमा सोको जानकारी नेपाल राष्ट्र बैंकलाई गराएको छैन । ‘केन्द्रीय कार्यालयका २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले केही दिन केन्द्रीय कार्यालय बन्द गर्ने जानकारी मौखिक रुपमा दिएको छ, लिखित रुपमा जानकारी गराउँदै होला, हामीले पनि नजिकको अन्य स्थानबाट आवश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु भनेका छौं, अरुमा संक्रमण विस्तार हुन पनि नपाउने र बैंकको सेवा पनि अवरुद्ध नहुने विधि अपनाउन निर्देशन दिएका हौं,’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने ।

कोरोना अपडेट: विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघ्यो

काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ । युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ ।