विकासन्युज

निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई मेयरकाे अपील

काठमाडौं । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गरेका हुन् । उनले अत्यावश्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निष्कन समेत आग्रह गरे । त्यस्तै कोभिड १९ को संक्रमण जीवित रहेको अवस्थामा कोहीपनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोहीपनि व्यक्ति काठमाडौं नआइदिन समेत अनुरोध गरेका छन् । यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत अनुरोध उनले आग्रह गरे । यसबाहेक आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिन समेत मेयर शाक्यले अपील गरेका छन् । यस्तै कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कर्यालयमा जानकारी गराउन अथवा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पताल सम्म जानसक्ने बताए । पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उनले बताए । कोही पनि व्यक्ति कोरोनाको कारणले मर्दैन र मर्ने स्थिति सरकारले नबनाउने प्रतिवद्धता समेत मेयर शाक्यले व्यक्त गरे ।

बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन, भोलिदेखि सजिलै आवतजावत गर्न पाउने

काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । । गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो। गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो । ‘स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभुत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको सुचना बमोजिम आधारभुत बैंकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहजिकरणका लागि यसैलाई संलग्न राखी पठाइएको व्यहोरा आदेश अनुसार अनुरोध छ,’ पत्रमा भनिएकाे छ । बिहीबार काठमाडौं उपत्यकामा प्रहरीले बैंकका कर्मचारीहरुलाई कार्यालय जाने क्रममा रोकेपछि नेपाल बैंकर्स संघले बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो । सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको भन्दै नेपाल बैंकर्स एसोसिएनले उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय गरेकाे थियाे ।

बैंकहरुको वितरणयोग्य नाफाः ३ वटाको स्थान स्थीर, १२ वटाको तलमाथि

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षमा सेयरधनीलाई दिने वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान परिवर्तन गरेका छन् । नविल बैंकले भने अघिल्लो आर्थिक वर्षमा जस्तै पहिलो स्थान सुरक्षित गरेको छ । बैंकहरुले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नविलसहित ३ वटा वाणिज्य बैंकको स्थान परिवर्तन भएको छैन । आर्थिक वर्ष २०७५/७६ मा जस्तै गरी आर्थिक वर्ष २०७६/७७ मा पनि नविल पहिलो स्थानमा छ । यस्तै, कृषि विकास बैंक र सिभिल बैंकको स्थान पनि परिवर्तन भएको छैन । वितरणयोग्य नाफाका अनुसार नविल बैंक पहिलो स्थानमा नै छ । यस्तै, कृषि विकास बैंक ५औं स्थानमा नै र सिभिल बैंक २७औं स्थानमा छ । वितरणयोग्य नाफाका हिसावले १२ वटा वाणिज्य बैंकले आफ्नो स्थान सुधार गरेका छन् । नेपाल बैंक तेस्रो स्थानबाट दोस्रो, ग्लोबल आइएमई बैंक चौथो स्थानबाट तेस्रो, एभरेष्ट बैंक ६औं स्थानबाट चौथो र प्राइम बैंक १३औं स्थानबाट ६औं स्थानमा आएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ९औं स्थानबाट ७औं, एनएमबी बैंक १९औं स्थानबाट ९औं, मेगा बैंक १६औं स्थानबाट ११औं स्थानमा, माछापुच्छ्रे बैंक १७औं स्थानबाट १६औं स्थानमा, सिटिजन्स बैंक इन्टरनेसनल २२औं स्थानबाट १९औं स्थानमा, लक्ष्मी बैंक २१औं स्थानबाट २०औं स्थानमा, कुमारी बैंक २६औं स्थानबाट २१औं स्थानमा र सेन्चुरी बैंक २८औं स्थानबाट २६औं स्थानमा आएको छ । आव २०७५/७६ सम्म २८ वटा वाणिज्य बैंक थिए । गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ वटा वाणिज्य बैंकले वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान गुमाएर तल झरेका छन् । यसरी झर्नेहरुमा एनआईसी एसिया बैंक ७औं स्थानबाट ८औं स्थानमा, हिमालयन बैंक ८औं स्थानबाट १०औं, प्रभु बैंक १०औं स्थानबाट १२औं स्थानमा, सानिमा बैंक १२औं स्थानबाट १३औं स्थानमा, राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानबाट १४औं स्थानमा पुगेको छ । यस्तै, नेपाल एसबीआई बैंक १४औं स्थानबाट १५औं स्थानमा, एनसीसी बैंक २०औं स्थानबाट २२औं स्थानमा, नेपाल इन्भेष्टमेन्ट बैंक १५औं स्थानबाट २३औं स्थानमा, सनराइज बैंक २३औं स्थानबाट २४औं स्थानमा र एनबी बैंक २४औं स्थानबाट २५औं स्थानमा पुगेको छ ।

ब्राेकर नंं. ५० ले भर्च्युअल सेवा दिने, बिक्री गरेको सेयरको पैसा कसरी भुक्तानी गर्ने ?

काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज( धितोपत्र व्यवसायी नंं. ५०) ले ग्राहकलाई भर्च्युअल(अनलाइन) सेवा दिने भएको छ । कम्पनीले निषेद्याज्ञा अवधिभर ग्राहकलाई सकेसम्म अनलाइनबाट सेवा दिने निर्णय गरेको हो । कोरोना महामारीको जोखिम बढेसँगै सरकारले कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेद्याज्ञा गरेसँगै कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सबै कारोबार अनलाइनबाट गराउने जानकारी गराएको हो । कम्पनीले उपलब्ध गराउने सबै सेवाहरुको लागि फोन तथा इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्न संस्थाले विभिन्न सेवा सम्बन्धित कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ । साथै, यस कम्पनीका ग्राहकले बिक्री गरेको सेयरको भुक्तानी आईपीएस मार्फत ट्रान्सफर गर्न शुरु गरेको थियो । जसमार्फत ग्राहकले पहिचान विवरणमा उल्लेख भएको खातामा रकम ट्रान्सफर गर्दा केहि खातामा रकम ट्रान्सफर नभएको तथा केहि असम्बन्धित खातामा ट्रान्सफर हुने समस्या आएको क्रिस्टल कञ्चनजंघाले जनाएको छ । त्यसैले ग्राहक आफुले रकम ट्रान्सफर गरि लिन चाहेको कुनै एक बैंक खाताको विवरण(बैंकको नाम, शाखा र खाता नम्बर) स्पष्ट खुलाएर यस कम्पनीलाई निवेदन दिन वा बैंक खाता नम्बर भएको चेकको प्रतिलिपीमा हस्ताक्षर गरी स्वयं आफुले प्रमाणीत गरी यस कम्पनीको [email protected] वा [email protected] ईमेल ठेगानामा वा मोबाइल नं ९८४९३९०२७१, ९८४५४२१६२९ तथा ९८५१०१६१२०को भाइबर वा ह्वाटस् एपमा उपलब्ध गराउन सेक्युरिटिजले जानकारी गराएकाे छ ।

मन्त्रिपरिषद् बैठक जारी, यी हुन् बैठकका एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको प्रधानमन्रत्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नियमित बैठक भएको जानकारी दिए । बैठकले काेराेनाकाे बारेमा निर्णय गर्नेछ । बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने, काठमाडौं उपत्यकामा गरिएको एकहप्ते निषेधाज्ञा, कोरोना संक्रमणलाई फैलन नदिनको लागि ठोस योजनाको बारे र  स्वास्थ्य क्षेत्रका विषयमा समेत केही निर्णय गर्ने संभावना रहेको छ।

रिलायन्स लाइफको आईपीओमा पहिलो दिनमै ४८ प्रतिशत आवेदन, ५५ हजार बढीले भरे सेयर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४ जनाले २७ लाख ३० हजार १ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको सेयरको ४८.१५ प्रतिशत आवेदन हो । कम्पनीले सर्वसाधारण्मा कूल ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

बिहिबार उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १७४, ललितपुरको १८ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २१८४, ललितपुरमा ३६७ र भक्तपुरमा १८० संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २६९९ पुगेको छ। आज देशभर ७ सय ७ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

आज नेपालमा ७०७ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ७ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ हजार ६ सय ४५ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् भने आजसम्म ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ भने आज थप ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२६ पुगेकाे छ ।