विकासन्युज

अर्थमन्त्रीले भनेः वित्तीय दबाबका बावजुद पनि नेपालले विश्व बैंकको शेयरमा कोटा वृद्धि गर्यो, सम्बन्ध जिवन्त बन्यो

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण उत्पन्न वित्तीय दबाबका बावजुद पनि नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच सम्बन्ध थप मजबुद भएकाे बताएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेकोे प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरुका बारे विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग भिडियो कन्फरेन्स गर्दै उनले सो कुरा बताएका हुन् । उनले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध पनि गरे । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको उनले बताए । अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे । उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए । उनले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसंगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ र्पुयाएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । नुभयो। उहाँले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरे । बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा खतिवडाकोे सहयोगको लागि समेत अनुरोध गरे । उनले दुवै पक्षवाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि वढाउन विश्व बैक तयार रहेको बताए । उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।

गणेश कार्की मौरिससको अवैतनिक वाणिज्य राजदूत

काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ । पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका कार्की स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) का उपाध्यक्ष समेत छन् । कार्की सिंगटी खोला हाइड्रोपावरकाे कार्यकारी निर्देशक हुन् भने पिपुल्स हाइड्रोपावर, क्रिम हाइडेल, बैधिक हाइड्रो इन्भेष्टमेन्ट, बेनी हाइड्रो पावर लगायत जलविद्युत परियोजनाका प्रवर्द्धक हुन् । मौरिसस अफ्रिकन सामुन्द्रिक देश हो । विश्व बैंकका अनुसार यस देशमा करिव १३ लाख जनसंख्या रहेको छ । २ हजार किलोमिटर क्षेत्रफल भएको सानो देश भएपनि समूद्रको बीचमा रहेकोले अफ्रिकाको अर्थतन्त्रकाे केन्द्रविन्दुमा रहेकाे छ। मौरिससमा ५१ प्रतिशत मानिस हिन्दु धर्मालम्बी छन् । सन् १५०७ मा समुद्रको बीचमा फेलापरेको यो देशमा ७० प्रतिशत मानिस भारतीय मुलका छन् । यस देशका नागरिकले सेरोज, भोजपुरी र फ्रेन्च भाषा प्रयोग गर्दछन् । उखु उत्पादन, फिल्म सुटिङ र उच्चस्तरका पर्यटकका लागि चर्चित मौरिससमा विश्वका सफल सिनेकर्मीहरुले घरबार बसाएका छन् । मौरिसस र नेपालबीच यसै वर्ष श्रम सम्झौता भएको छ । नेपालबाट ५० हजार श्रमिक लैजाना मरिससले प्रस्ताव गरेको छ । २ देशबीचकाे मैत्रिपूर्ण सम्बन्ध बलियाे बनाउँदै आर्थिक सम्बन्ध विस्तारमा आफूले भूमिका खेल्ने नवनियुक्त अबैतनिक राजदूत कार्कीले विकासन्युजलाई बताए । ‘गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु’ परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी छनोटको जिम्मा पनि विफिनले लिने, सेप्टेम्बरसम्म ७५ प्रतिशत छुटमै सेवा दिने

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि. (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धीकार्य गर्नका लागीबिफिनजब्स् डटकम सञ्चालनमा ल्याएको छ । कमपनीले शु्क्रबार एक विज्ञप्ती जारी गर्दै अब रिक्रुटमेण्ट सम्बन्धि कार्य गर्नका लागि बिफिनजब्स् डटकम संचालनमा ल्याएको बताएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदानगर्दै आइरहेको बिफिन ले अब संस्थालाई आवश्यकपर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरिदिने भएको छ । संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीमप्रदान गरि एकद्धार प्रणाली मार्फत संचालनगर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहजहुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको हो । रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डट कममार्फत कुनै पनि संस्थाका लागिउच्चतहकाकर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट जब पोस्टिङ्ग सर्भिस, उम्मेदबारहरुको सर्टलिस्टिङ्ग, परिक्षा तथा अन्र्तवार्ता अन्तरिम व्यवस्थापन सेवा तलब सर्बेक्षण, स्वतन्त्र सन्दर्भ जाँच सेवा र बिज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदानगर्ने लक्ष्य राखेको बताएको छ । रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डटकमले सेप्टेम्बर महिनासम्म कुनै पनि सेवा लिएमा ७५ प्रतिशत सम्म छुट प्राप्तगर्न सकिने समेत कम्पनीले जनाएको छ । बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तकम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्थाहो ।

विदेशबाट फर्केकाले एक साता होटलमा बसेको ६३ हजार रुपैयाँ तिर्नुपर्ने, खर्च नभएकाले के गर्ने ? (मूल्य सूचीसहित)

काठमाडौं ।, विदेशबाट उद्दार गरिउर ल्याएकाले होटलमा हप्ताको ६३ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुले एक सातासम्म अनिवार्य रुपमा होटलमा बस्नै पर्ने निर्णय गरेसँगै उनीहरुले अब एक साता होटलमा बसेको ६३ हजार रुपैयाँ सम्म तिर्नु पर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण र होटलका कोठाको मूल्यसूची सार्वजनिक गरेको हो । अब पाँच तारे होटलमा बस्नेले एक दिनको ९ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। ४ तारेमा बस्नेले दिनको ६ हजार, ३ खतारेमा ५५ सय, २ तारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने भएको हो । पर्यटकस्तरीय होटलमा बस्नेले भने एक दिनको १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ। होटलमा बस्न नसक्ने अर्थात खर्च नभएकाहरुलाइृ पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने बताइएको छ । सार्वजनिक गरिएका होटलमा तीन हजार ५ सय शैय्या क्षमता रहेको छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने बताइएको छ । पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ। सरकारले भदौ १ गतेदेखि पाँचौं चरणको उद्धार उडान सुरु गरेको थियो। कोरोना महामारी सुरु भएयता हालसम्म ५१ हजार नेपाली स्वदेश फर्किसकेका छन् । हाेटलकाे र हाेटलकाे मूल्यसूची यस्ताे छ: [pdf id=233510]

एसईई नतिजा: बाल मनोविज्ञानमाथिको ‘मजाक’

काठमाडाैं । माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै प्रभाव पर्ने किसिमको प्रतिक्रिया आइरहेको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन्  । “नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षमा मूल्याङ्कन चाहीँ मजाक बनाउनु दुःखद् छ” भट्टराई भन्छन्, “हामीले राम्ररी परीक्षा लेखाएर परीक्षाफल पठाएका हौँ । प्रश्नपत्र अहिले पनि हेर्न सकिन्छ । यति हुँदाहुँदै पनि परीक्षाफल शून्य भएको कसरी मान्न सकिन्छ ?” उत्कृष्ठ र मेधावी विद्यार्थीका लागि भने आन्तरिक मूल्याङ्कन चित्तबुझ्दो मापदण्ड नभएपनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएजस्तो नभएको भट्टराई बताउँछन् । उनका अनुसार विद्यार्थीको अध्ययन र क्षमताकै आधारमा परीक्षाफल विद्यालयले पठाएको हो । हुन त एसइईको मापदण्ड विगतमा पनि परीक्षाफल प्रकाशित हुँदा बढी र अरू बेला कम हुने गरेको थियो । केही वर्षअघि प्रवेशिका परीक्षा एसएलसीलाई अहिले एसइईमा रुपान्तरण गरिएको हो । परीक्षाको नाम भिन्न भएपनि परीक्षाको ढाँचा एकै किसिमको छ । एसएलसीमा दिइने श्रेणी (डिभिजन) लाई एसइर्ईमा ग्रेडिङका रूपमा प्राप्ताङ्क दिइन्छ । समय परिस्थितिअनुसार मूल्याङ्कन गर्ने पद्दतिको ढाँचामा परिवर्तन भएको बताउँछन् महेन्द्र रत्न बहुमुखी क्याम्पसका शिक्षा अर्थशास्त्र सङ्कायका उपप्राध्यापक पूर्णप्रसाद ढुङ्गाना । “एउटा विद्यालयले आफ्ना विद्यार्थी दशौं वर्षदेखि मूल्याङ्कन गरेको छ । एकैदिनमा १२ घण्टासम्म शिक्षक–विद्यार्थी सँगै रहेर अध्ययन गरेका छन्,” ढुङ्गाना भन्छन्, “तल्लो कक्षामा यही मूल्याङ्कन वैज्ञानिक ठहरिने र माथिल्लो कक्षा १० मा भने अवैज्ञानिक ठहरिने हुँदैन ।” ढुङ्गाना एउटै परीक्षाले विद्यार्थीको भविष्य किटान गर्न नसकिने भएकाले अनावश्यक प्रतिक्रियाले विद्यार्थीको मस्तिष्कमा समस्या उत्पन्न हुनसक्ने बताउँछन् । विशेष परिस्थितिले एसइई परीक्षा गराउन नसकिएपनि समयानुसारको उत्कृष्ठ ढाँचा रहेको शिक्षा सरोकारवालाको भनाइ छ । कतिपय शिक्षा सरोकावाला भने तीन घण्टा परीक्षा लेखेका भरमा विद्यार्थीको मूल्याङ्कन गरिनु दुःखद् प्रणाली रहेको बताउँछन् । विगतका परीक्षा प्रणाली पनि वैज्ञानिक नभएकाले अहिलेको मापदण्ड नै प्रभावकारी नभएको नेपाल शिक्षक सङ्घका प्रदेश नं। १ का अध्यक्ष पूर्ण गौतम बताउँछन् । “शिक्षकले विद्यार्थी सबै पक्ष बुझेरै मापदण्ड बनाएका हुन्छन् । त्यसैले यसलाई हचुवाको भरमा नकारात्मक टिप्पणी गर्न मिल्दैन” गौतमले भने, “यस्ता टिप्पणीले बालबालिकाको बालमनोविज्ञान र मनो­सामाजिक प्रभाव पर्छ ।” बाहिरी टिकाटिप्पणीले बालमनोविज्ञानमा असर गर्ने भन्दै यसबाट सचेत भएर अघि बढ्न शिक्षा कार्यालयले भनेको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शम्भु थापामगरले अघिल्लो वर्षको परीक्षाफल, आन्तरिक परीक्षा, आवधि परीक्षाका आधारमा एसइईको मूल्याङ्कन गरिएको बताए । परिस्थितिजन्य परीक्षाका रूपमा एसइर्ईको परीक्षा भएकाले यसबाट सबै परीक्षाको मूल्याङ्कन हुन नसक्ने उनको भनाइ छ । “केही विद्यालयले परीक्षाको मूल्याङ्कनमा तलमाथि गरेका होलान्”, मगरले भने, “यसो भन्दैमा सबै विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकालाई यसरी मुछ्नु हुँदैन ।”

राष्ट्र बैंकले भन्योः प्रवासीले पठाएको रेमिट्यान्स भुक्तानीकाे व्यवस्था गर्नु, प्रशासनसँग समन्वय गरेर काम गर्नु

काठमाडाैं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा पनि स्थानीय प्रशासनसँग समन्वय गरेर रेमिट्यान्स भुक्तानी गर्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन सार्वजनिक गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ताे निर्देशन दिएको हो । राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि समस्या पर्न सक्ने बताउँदै स्थानीय प्रशासन सँग समन्वय गरेर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी रेमिट्यान्स फ्रड ट्रान्सर्फर तथा विदेशी मुद्रा सटही गर्ने एवम सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आफु अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी भिडभाड नगर्न निर्देशन दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अनलाइन ठगी प्रकरणमा काठमाडौं प्रहरी प्रमुख ज्ञवाली मुछिए

काठमाडौं । घटना जेठ दोस्रो साताको हो । समय देशव्यापी लकडाउनकाे थियाे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सूचना प्रणालीको ११३७ नम्बरमा फोन आयो । फोन विभागका एक कर्मचारीले उठाए । फोन गर्ने व्यक्ति एकजना व्यापारी थिए । उनी कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न प्रयोग गरिने स्वास्थ्य सुरक्षाका सामग्री बिक्री गर्दथे । उनको गुनासो थियो, ‘एक जना मोबाइल व्यापारीले गैरकानुनी रुपमा फेसबुकमा पेज बनाएर थर्मल गन, पीपीई, स्यानिटाइजर मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको विज्ञापन तथा बिक्री गरिरहेका छन्’ भन्ने । उनले फेसबुक पेजको नाम पनि बताए । त्यो पेजको नाम थियो ‘भर्जिन मोबाइल ।’ सामाजिक सञ्जाल फेसबुकमा भर्जिन मोबाल नाम राखेर अनलाइन विज्ञापन गरिरहेकोको सो फेसबुक पेज कसको हो ? कसले चलाइरहेको हो भन्ने खोजीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लाग्यो । अनुसन्धान गर्दै जाँदा फेसबुकमा ‘भर्जिन मोबाइल’ नाम गरेको फेसबुक पेज भेटियो । र, त्योसँगै सो पेजका सञ्चालक र उनको सम्पर्क नम्बर पनि भेटाउन विभाग सफल भयो । विभागले पनि त्यो फेसबुक पेजमा स्वास्थ्य साम्रगी विज्ञापनका लागि राखेको भेटायो । खोज्दै जाँदा भर्जिन मोबाइल नाम गरेको व्यवसाय दर्ता गरेको काठमाडौं जिल्लामा कतै भेटिएन । विभागले सो पेजका सञ्चालको सम्पर्क नम्बर पनि पाइसकेपछि उनलाई फोन लगायो । त्यो नम्बर कहिले नउठ्ने, कहिले व्यस्त भन्ने लगायतका झमेला विभागले झेल्नु पर्यो । अन्ततः ती व्यक्ति विभागको सम्पर्कमा आए । उनी थिए काठमाडौंको ताम्राकार हाउसमा मोबाइल व्यापार गर्दै आएका एकजना शर्मा थरका । विभागले खोजी गर्दै जाँदा उनले ललितपुरमा आफ्नो मोबाइल व्यापारका लागि दर्ता गरेका रहेछन् । तर, व्यापार भने काठमाडौंमा । विभागले उनको एउटा त्रुटी त्यहाँ नेर देख्यो । व्यवसाय दर्ता ललितपुरमा, व्यापार काठमाडौंमा । अर्को त्रुटी थियो, उनले कुनै अनुमति तथा व्यवसाय दर्ता नै नगरी अनलाइनमा स्वास्थ्य समग्रीको व्यापार गरिरहेका थिए । जसको उनीसँग न कुनै बिल बिजक थियो नत कुनै व्यापार गर्न अनुमति लिएको प्रमाणपत्र नै । विभागका कर्मचारीले उनीबाट व्यवसाय गरेको बिल बिजक र व्यवसाय दर्ताको प्रमाण पत्र मागे । ती मान्छेले ती कर्मचारीलाई अहिले भ्याउँदिन, भोलि/पर्सि ल्याउँछु भने र त्यहाँबाट घर लागे । ती व्यक्ति न भोलि आए, न पर्सि नै । विभाग उनको प्रतिक्षामा थियो । एक हप्तासम्म नआएपछि विभागका एक कर्मचारीले विभागमै खटिएका प्रहरी जवानलाई ती व्यक्तिलाई फोन लगाउन भने । ती प्रहरी जवानले ती व्यक्तिलाई फोन गरे । ती व्यक्ति त्यतिखेर वाणिज्य विभाग आउनुको साटो महानगरीय प्रहरी परिसर काठमाडौं गएको विभागका अधिकारीहरुको आरोप छ । त्यसको एक हप्तापछि उनले धेरै बिल बिजक ल्याएर विभागमा बुझाएको विभागका अधिकारीहरु बताउँछन् । ती सबै बिल–बिजकहरु नियाल्दा कुनै पनि बिल थर्मल गन, पीपीई, मास्क र स्यानिटाइजर खरिद बिक्री गरिएको बारे नभएको उनीहरुको भनाई छ । ती व्यक्ति कमिसन र गलत मनसायका लागि विज्ञापन गरेको बुझिएको विभागको ठहर छ । अहिले  पनि विभाग उनले दिएको बिल–बिजक अध्ययन गरिरहेको छ । विभागमा खटिएका सुरक्षाकर्मी नै फिर्ता शर्मा थरका ती व्यक्तिको केस विभागमा आइसकेपछि प्रहरीले विभागमा खटिएका चार जना सुरक्षाकर्मीलाई पनि फिर्ता लगिसकेको छ । विभाग स्रोतका अनुसार ती व्यक्ति (अनलाइन व्यापार गर्ने) ले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली आफ्नो साथी भएको भन्दै कसैले केही गर्न नसक्ने धम्की दिएको विभागका कर्मचारीहरु बताउँछन् । ज्ञवाली उनका दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षक भएको बेलामा परिसर प्रमुख भएका थिए । त्यसलगत्तै परिसरले कोरोना भाइरसको कारण जनशक्ति अभाव भएको भन्दै विभागमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता लिने जानकारी गराउँदै विभागलाई चिठी पठाएको थियो । मौखिक रुपमा कुरा गरेर परिसरले २ दिन अगाडि प्रहरी फिर्ता लिएको थियो । त्यसको दुई दिन पछाडि अर्थात जेठ २५ गते विभागलाई पत्र लेखेर प्रहरी फिर्ता लिएको जानकारी परिसरले गरेको थियो । विभागबाट सुरक्षाकर्मी फिर्ता भएको भोलिपल्ट शर्मा थरका ती व्यक्ति पुनः विभाग आए । उनले विभाग आएर चुनौतिका साथ धम्की दिएर गएको विभागका कर्मचारीहरु बताउँछन् । ‘प्रहरी फिर्ता गएको भोलिपल्टै ती व्यक्ति विभाग आए, हामीलाई धम्काउँदै देखिस् मेरो पावर भन्दै टेबुलमा हात बजारे, सिसाको टेबुल भएको भए टुट्थ्यो, काठको भएर केही भएन, एग्रेसिभ भएर बोलिरहेका थिए, त्यसाे गर्ने व्यक्तिलाई हामीले थुन्नु पर्थ्यो, हामीसँग सुरक्षाकर्मी पनि थिएन, हामीले सकेनौं,’ विभागका एक उच्च अधिकारीले भने । अनुगमनमा प्रहरीले साथ नदिएको गुनासो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा प्रहरीले साथ नदिएको बताएको छ । अनलाइन ठगहरुले विभिन्न आइडिया लगाएर गैरकानुनी काम गर्ने गरेको पाइएको हुँदा त्यसमा प्रहरीको आवश्यकता हुने विभागका प्रवक्ता रविन्द्र आचार्य बताउँछन् । तर त्यसमा प्रहरीले साथ नदिएको उनको गुनासो छ । ‘धेरै जोखिम र चुनौतीपूर्ण केसहरु हामीले हेर्नुपर्ने हुन्छ, त्यसको अध्ययन अनुसन्धानका लागि हामीलाई प्रहरीको आवश्यकता एकदमै महत्वपूर्ण हुन्छ, उल्टै ठगहरुले शक्तिको आडमा हामीलाई चुनौति तथा धम्की दिने गरेका छन्, यसमा प्रहरीको साथ छैन,’ उनले भने । ‘ठगहरुले नै हामीलाई फोन गरेर सरुवा गरिदिन्छु भनेर पावरको अभ्यास गर्छन्, पछिल्लो समय त्यस्ता धन्दा गर्नेहरुलाई पक्राउ गर्न पनि समस्या भइरहेको छ, विभागमा भएका प्रहरी नै फिर्ता लिइयो, तर अझै पनि हामी सक्रिय भएर लागेका छौं,’ उनले थपे । एसएसपी ज्ञवाली भन्छन्ः प्रहरीलाई गलत प्रयोग गरियो, अनि फिर्ता गरें काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने वाणिज्य विभागले लगाएको आरोप स्वीकार्दैनन् । उनले विभागमा सुरक्षाकर्मीको गलत प्रयोग भएकोले फिर्ता लिएको बताएका छन् । तर, उनले विभागलाई पठाएको चिठ्ठीमा कोरोना भाइरसको कारण जनशक्तिको अभाव भएकोले सुरक्षाकर्मी फिर्ता लिएको उल्लेख गरेका छन् । ‘हामी जिल्ला प्रशासनले माग गरेको बेला पनि गइरहेका छौं, वाणिज्य विभागले भनेको समयमा पनि गइरहेका छौं तर सुरक्षाकर्मीको गलत प्रयोग हुन भएन,’ उनले विकासन्युजसँग भने । ‘हाम्रो काम भनेको सुरक्षा दिने हो, अनुगमनमा जाने हो, व्यापारीहरुलाई फोन लगाउने होइन, विभागले सुरक्षाकर्मीलाई फोन एक्सटेन्सन र आफ्नो अन्य ड्युटीको लागि प्रयोग गरेपछि फिर्ता बोलाएको हुँ,’ उनले थपे । ती अनलाइन व्यापारीको कनेक्सन एसएसपी ज्ञवालीसँग भएको विभाग स्रोतको आरोप छ । उनलाई पक्राउ गर्न खोज्दा र त्यसका लागि प्रहरीको साथ चाहिएको बेलामा त्यहाँ भएका प्रहरीलाई नै ज्ञवालीले फिर्ता लिएको आरोप विभागको छ । अनलाइन ठगहरुको तपाईसँग कनेक्सन छ भन्ने आरोप छ नि भन्ने विकासन्युजको प्रश्नमा ज्ञवालीले भने, ‘त्यसलाई समीक्षा गर्ने क्षमता तपाईको विषय भयो । तर, प्रहरीले व्यापारीलाई फोन लगाउने होइन, हाम्रो काम सुरक्षा दिने हो, सुरक्षाबाहेक अन्य काममा प्रहरीलाई प्रयोग गर्न उहाँहरुलाई कुन कानुनले अधिकार दिएको छ ?,’ उनले प्रश्न गरे । ‘प्रहरी हामी सबैको हो, प्रहरी बिगार्नु भनेको हामी सबै बिग्रनु हो । प्रहरीलाई बिगार्नु भएन, त्यो उहाँको गल्ती थियो,’ उनले भने । प्रहरीले अनुगमनमा साथ नदिनु भन्नु उहाँहरुको शतप्रतिशत गलत भएको ज्ञवालीको भनाई छ । तर, व्यापारीलाई सरकारी टेलिफोनबाट नै बोलाउनु पर्ने भएकोले विभागका कर्मचारीको भनेको नमानेपछि प्रहरीले फोन गर्ने गरेको विभाग बताउँछ । प्रकरण गृह मन्त्रालयसम्म पुग्यो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं प्रहरीको दूरी बढेपछि विभागले सुरक्षा तथा अनुगनमा प्रहरीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । विभागले बजार अनुगमनका लागि प्रहरी फोर्सको आवश्यकता परेकोले पठाउनको लागि उद्योग मन्त्रालय मार्फत गृह मन्त्रालय समक्ष पत्र पठाएको आचार्यले बताए । ‘केन्द्रिय बजार अनुगमन समितिबाट निर्णय भएर प्रहरी फोर्सका लागि मन्त्रालय मार्फत गृह मन्त्रालयमा पत्र पठाएका छौं, फेरि एक दुई दिनमै बसेर कुरा पनि गर्छौं,’ आचार्यले भने । घटनाको बारेमा अर्थात प्रहरी फिर्ता लिएको बारेमा विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि जानकारी गराइसकेको उनले बताए । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले पनि घटनाको बारेमा विभागका महानिर्देशन नेत्र सुवेदीसँग कुराकानी भइसकेको बताए । उनले पत्र आएको नआएको जानकारी नभएको बताए पनि पत्र आएको हो भने हेडक्वाटरसँग समन्वय गरेर सुरक्षाकर्मी पठाउन सकिने जानकारी दिए ।

रिलायन्स लाईफ इन्स्योरेन्सकाे साधारण सेयरः अवसर कति ? जाेखिम कति ?

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा आएको करिब साढे २ वर्षको अवधिमा सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गरेको छ । ‘खुलेर जिऔं’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस कम्पनी नयाँ जीवन बीमा कम्पनीमध्ये आईपीओ जारी गर्ने पहिलो इन्स्योरेन्स कम्पनी हो । २०७४ साल मंसिर १ गतेदेखि कारोबार शुरु गरेको कम्पनीले गत भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गरिरहेको छ । ३१औं महिनाको दौरानमा दौडिरहेको यस कम्पनीमा व्यक्तिगत र संस्थागत गरी कूल एक सय १३ जना संस्थापकहरु आवद्ध रहेका छन् । जसमध्ये मुख्य संस्थागत संस्थापकमा सिद्धार्थ बैंक र अग्नी ग्रुप रहेका छन् । जसको सेयर स्वामित्व क्रमशः १७.९६ प्रतिशत र ६.८ प्रतिशत रहेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ । ६३ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिरहेको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । सेयर जारी गर्नुको उद्देश्य कम्पनीले बीमा कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई संलग्न गराउन सर्वसाधारणमा सेयर जारी गरेको हो । त्यस्तै, संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न सेयर जारी गरेको हो । साथै, बीमा कम्पनीले गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजी संकलन गर्न उक्त सेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । जीवन बीमा कम्पनीहरुले आव २०७५/७६ मा कूल बीमा शुल्क वापत करिब ७७ अर्ब रुपैयाँ संकलन गरेका छन् । जसमध्ये रिलायन्स लाइफले संकलन गरेको बीमा शुल्क कुल बीमा शुल्कको करिब ०.९६ प्रतिशत बजार हिस्सा रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७मा १५ वटा क्षेत्रीय कार्यालय/शाखा/उपशाखा कार्यालय थप गरी जम्मा १०३ वटा र आर्थिक वर्ष २०७९/०८० सम्ममा १३३ वटा संजाल पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, आर्थिक वर्ष ०७६/७७मा २ अर्ब ५७ करोड रुपैयाँ लगानी पुग्ने अनुमान गरेको कम्पनीले उक्त लगानीलाई वृद्धि गरी आर्थिक वर्ष ०७९/८० मा १० अर्ब १२ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, चालु आवमा एक अर्ब १५ करोड रुपैयाँ जीवन बीमा कोष पुग्ने अनुमान गरेको कम्पनीले आव ०७९/८०मा ८ अर्ब १८ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । लेखा परिक्षण नभएको त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आवमा ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन आव ०७९/८०मा ३१ करोड ५६ लाख रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । आईपीओ पश्चात कम्पनीको योजना के छ ? कोभिड १९ को महामारीको अवस्था भएकोले बजार विस्तारलाई अगाडि बढाउने तर्फ कम्पनी छैन । हाल रहेका एक सय वटा शाखा/उपशाखाहरुलाई नै मोबिलाइज्ड(परिचालित) गरेर अघि बढ्ने कम्पनीको योजना रहेको छ । त्यस्तै, कम्पनी तथा कम्पनीका कर्मचारीहरुको अहिलेको चुनौतिहरुलाई कसरी अघि बढाउने र ग्राहकलाई दिनुपर्ने इन्स्योरेन्स सेवालाई कसरी निरन्तरता दिने भन्नेमा कम्पनी लागिपर्ने कम्पनीका सीईओ प्रविण रमण पराजुलीले बताए । ‘अहिलेको कम्पनीको फोकस भनेको आधारभूत कुरालाई निरन्तरता दिनु नै हो । यसरी नै कम्पनीलाई बीमा क्षेत्रकै पहिलो स्थानमा कसरी स्थापित गराउने भन्ने तर्फ इन्स्योरेन्स लाग्ने छ’, सीईओ पराजुलीले भने । सञ्चालक समिति कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालक रहनेछन् । जसमध्ये संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना, सर्वसाधारणको सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालकमा एक जना रहने छन् । सबै सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहेको छ । उक्त समितिमा अध्यक्षमा तारचन्द केडिया तथा संचालकमा जगदीश कुमार अग्रवाल, भरत कुमार तोदी, अमित कुमार बेगानी र सुन्दर प्रसाद कडेल रहेका छन् । जसमध्ये सञ्चालक तोदीको सबैभन्दा बढी अर्थात ३ लाख हजार कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, सञ्चालक अग्रवालको एक लाख ५० हजार कित्ता, अध्यक्ष केडिया र संचालक बेगानीको एक/एक लाख कित्ता र संचालक कडेको २५ हजार कित्ता कम्पनीको सेयर स्वामित्व रहेको छ । व्यवस्थापन टिममा कम्पनीको व्यवस्थापन(म्यानेजमेन्ट) टिममा चार जना रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ) मा निराजन कँडेल, प्रमुख मानव संशाधन अधिकृतमा सन्दिप सिंह र प्रमुख संचालन अधिकृतमा ज्ञान बहादुर रायमाझी गरी चार जना रहेका छन् । एमबीए गरेका सीईओ पराजुलीसँग मर्चेन्ट बैंकिङ/बैंकिंग/बीमा क्षेत्रमा १८ वर्षको अनुभव रहेको छ । यसअघि उनी नबिल बैंकमा आवद्ध रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सीईओ थिए । त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एसिसिएसँग आवद्ध) तहसम्म अध्ययन गरेका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसँग पनि बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव रहेको छ । इन्स्योरेन्समा आउनु भन्दा अघि उनी सिद्धार्थ बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टड बैंकमा कार्यरत थिए । प्रमुख मानव संशाधन सन्दिप सिंह यसअघि हिमालयन बैंकमा मानव संशाधन विभाग अधिकृत, वरिष्ठ अधिकृत, सहायक व्यवस्थापक तहमा रही काम गरेका थिए । उनको शैक्षिक योग्यता एमबीए रहेको छ । त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एफएलएमआई) गरेका प्रमुख संचालन अधिकृत ज्ञान बहादुर रायमाझीले रिलायन्समा आउनु अघि मेटलाइफमा वरिष्ठ अधिकृत तथा सहायक व्यवस्थापक पदमा रही काम गरेका छन् । यस्ता छन् जोखिम नयाँ जीवन कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट जोखिम हुन सक्ने छ । कम्पनीको पुनर्बीमा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्न सकिन्छ । जसबाट प्राप्त हुने दावी भुक्तानीमा विदेशी विनिमय दर परिवर्तनको जोखिम रहेको देखिन्छ । त्यस्तै, बीमा समितिले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु आउने छन् । साथै, नेपाल सरकार तथा अन्य नियमन निकायहरुको आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनले पनि कम्पनीमा सम्भावित जोखिम आउन सक्नेछ । त्यसैगरी, प्रविधिको परिवर्तनबाट हुन सक्ने जोखिम, पुँजी बजारमा आउने गिरावटको कारण बीमा कम्पनीको लगानी मूल्यमा ह्रास आउने, कार्यसंचालन तथा कर्जा जोखिमबाट हुन सक्ने हानी नोक्सानी हुने जोखिम रहन्छ । साथै, प्राकृतिक प्रकोप तथा कोभिड १९ जस्ता स्वास्थ्य महामारीको कारणबाट व्यवसायमा आउने प्रभाव तथा बीमा दावीमा वृद्धि हुने जोखिम रहेको छ । कम्पनीमा कोभिड १९ का कारण आर्थिक वृद्धिदरमा आएको ह्रासले बीमाको पहुँच वृद्धिदरमा ह्रास आउनसक्ने जोखिम र नविकरण बीमा शुल्क समयमै उठ्न गाह्रो हुनेसक्ने जोखिम रहेको छ । जाेखिम कसरी न्यून तथा व्यवस्थापन गर्ने कम्पनीले नेपाल पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराएको छ । जसले गर्दा कम्पनीको दायित्व भुक्तानी गने व्यवस्थालाई सुनिश्चित गर्दछ । कम्पनीले अप्रत्याशित रुपमा पर्नसक्ने बीमा दावीको जोखिमलाई न्यूनिकरण गर्न महाविपत्ति बीमाको व्यवस्था समेत गरेको छ । जसले सम्भावित क्षतिलाई न्यूनिकरण गरेको छ । त्यस्तै, बीमा बजारमा हुने प्रतिस्पर्धाको लागि कम्पनीले आवश्यक जनशक्ति विकास, बजार बिकेन्द्रिकरण तथा सेवा गुणस्तरमा ध्यान पुर्याएको छ । त्यसैगरी, कम्पनीको भौतिक सम्पत्तिहरुको विभिन्न कारण तथा प्राकृतिक रुपमा क्षति भएमा जोखिम बहन गर्ने गरी निर्जीवन बीमा कम्पनीबाट बीमा गरिएको छ । साथै, कोभिड १९ का कारण उत्पन्न जोखिम कम गर्न कम्पनीले आफ्नो काम संचालनामा प्रविधि प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । जसका कारण आजको यस नयाँ संरचनामा समेत कम्पनीले सामाजिक दुरी कायम राखी सुरक्षित ढङ्गले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ ।