श्रीदेवीको निधनबारे विवाद, श्रीमान् बोनीलाई सोधपुछ गर्दै दुबई प्रहरी
मुम्बइ । दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उनको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन् । उनको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् । यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन । कतिपय समाचारमा उनले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् । साथै, श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन् । यद्यपी सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ । सोमबार नै मुम्बईबाट दु्बइ ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि ल्याउन सकिएको छैन । उनको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खाइमा रहेका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुनगएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको जनाइएको थियो । रासस/एएफपी
सिरियामा युद्धविरामका लागि प्रस्ताव, अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का
सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपील गर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौँ नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको समाचारमा जनाइएको छ । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ । यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा शङ्का रहेको बताउँछन् । उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ । त्यसैगरी रुसी राजदूतले पनि सुरक्षा परिषदको प्रस्तावमा हुन लागेको भनिएको सो युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो । यसमा परी कैयौँ व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन । रासस/एएफपी
बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन
बिबिसी । बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयघात भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्। पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् । बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो। उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।