एआइआइबी बैंकद्धारा पहिलो ऋण स्वीकृत, २ लाख घरमा चीनको ग्यास जडान गर्ने
बेइजिङ । चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड अमेरिकी डलर बराबरको ऋण सो बैंकले स्वीकृत गरेको समाचारमा जनाइएको छ । उक्त ऋण रकमले चीनले यहाँका करिब २ लाख १७ हजार घरमा प्राकृतिक ग्यास जडान गर्ने काममा प्रयोग गरिने भएको पनि सो समाचारमा जनाइएको छ । यस ऋण लगानीबाट गरिएको ग्यास जडानपछि वर्षेनी करिब ६ लाख टन कार्बन उत्सर्जन घटाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । एआइआइबीका अध्यक्ष लि छुङले बेइजिङमा वायु प्रदुषणको मात्रा घटाउने प्रयासस्वरुप गर्न लागिएको यस आयोजनाका लागि लगानी गरिएको प्रतिक्रिया दिएका छन् । उक्त बैंकले ऋण दिएको यो पहिलो लट हो । पहिलो लटस्वरुप उसले चीनकै कम्पनीलाई ऋण दिएको बताइएको छ । उक्त बैंक चीनको अग्रसरतामा स्थापना गरिएको हो । एसियाली बिकास बैंकको प्रतिद्वन्द्वीका रुपमा खोलिएको भनी आरोप लगाइएको सो बैंकमा विश्वका विभिन्न देश सदस्य रहेका छन् । रासस/सिन्ह्वा
परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन
मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो । जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ । उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।
नेपालका लागि इण्डोनेशियाका राजदूत सोमार्नोद्धारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् । सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदुत हन् । इण्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले सोहि अवसरमा इण्डोनेशिया-नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागि परेको बताएका छन् । त्यस्तै, दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट प्रयास भइरहेको उनले जनाए । राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताए । उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।