दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने
काठमाडौं। उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ । दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको वार्ताका क्रममा सेप्टेम्बरमा उच्चस्तरीय सम्मेलन गर्ने सहमति भएको बताइएको हो। ती अधिकारीको हालै सम्पन्न बैठकमा सेप्टेम्बरमा उत्तर कोरियाको राजधानी प्योङ्याङमा दुई कोरिया बीचको सम्मेलन गर्ने सहमति भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ।तर सो सम्मेलनको मिति भने तोकिएको छैन । हाललाई उक्त सम्मेलन गर्ने भन्ने सहमति मात्र भएको पनि सो समाचारमा जनाइएको छ । दुई कोरियाका उच्च अधिकारीबीच कोरियाली शान्ति गाउँ पानमुनजोममा भएको सो बैठक पनि सौहार्द भएको सोही संयुक्त विज्ञप्तिमा बताइएको छ । यदि सेप्टेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन प्योङयाङ जानुभयो भने दक्षिण कोरियाली राष्ट्रपतिका रुपमा एक दशकपछि नै उनको यो पहिलो भ्रमण हुनेछ । हुनत उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि दक्षिण कोरियाले लगाउँदै आएको नाकाबन्दी हटाइएको छैन, तर पनि यसबीचमा यी दुई कोरियाबीचको सम्बन्धमा भने पछिल्लो समयमा निकै सुधार आएको छ । त्यसैगरी उत्तर कोरियाको निशस्त्रीकरण कार्यमा पनि केही प्रगति भएको बताइएको छ । उत्तरले आफूमाथिको आर्थिक नाकाबन्दी हटाउन दक्षिण कोरिया र अमेरिकालाई पनि बारम्बार आग्रह गरी आएको छ । सेप्टेम्बरमा सम्मेलन गरेर उत्तर कोरियाले अमेरिकासँगको पछिल्लो उच्चस्तरीय वार्तापछि प्रगति भएको सन्देश दिन खोजेको एसियन इन्स्टिच्युट अफ पोलिसी स्टडिजका विश्लेषक गो म्योङ हुनले जनाए। उनले एएफपी समाचार समितिसँग भने – दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तरसँगको सम्बन्ध विकास गर्ने चाहना त राख्नुभएको छ तर पनि अमेरिकासँग उत्तर कोरियाको सम्बन्धमा सुुधार नआउदासम्म सो सम्भव छैन । अप्रिल महिनामा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको उच्चस्तरीय बैठकका क्रममा उहाँहरुले सेप्टेम्बरसम्ममा उत्तर कोरियाको राजधानीमा द्विपक्षीय सम्मेलन गर्ने सहमति गरेका थिए। सोही बमोजिम उहाँहरुबीच सेप्टेम्बरमा यो सम्मेलन हुन लागेको हो । उक्त सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको जानकारी दक्षिण कोरियाका राष्ट्रपति मुनले दिइसकेका छन्यसअघि गत जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा उच्चस्तरीय भेटवार्ता भएपछि उत्तर कोरियाले निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको दाबी गरेको छ।रासस
तीन दशकपछि जापानमा पहिलो पटक भारी वर्षा, २०४ जनाको मृत्यु
टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिएका छन् । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । प्रधानमन्त्री आबे शुक्रबार बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा पुगेका अधिकारीहरुले जनाएका छन् । उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । रासस/एएफपी
७ सय मिलियन डलर भ्रष्ट्राचार गरेको आरोपमा मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ
काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । उनले राज्य विकास कोष १एमडीबी मार्फत सो रकम हिनामिना गरेको बिबिसीले जनाएको छ । उनले खराब काम गरेपछि चुनावमा समेत हार बेहोरेका थिए । । राजकले चुनाव हारेपछि नै उनीमाथी अनुसन्धान निकायले सतर्कता बढाएको थियो । उनलाई मलेसियाका प्रहरीले घरैबाट पक्राउ गरेको उनको परिवारिक श्रोतले बताएको छ । राजक प्रधानमन्त्रीमा नियुक्त भएपछि नै भ्रष्ट्रचारमा लिप्त रहेको मलेसियन अनुसन्धान निकायले जनाएको छ ।