फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ, अपराधसम्वन्धी मुद्धा चलार्इँदै

हरारे । फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । जिम्वाब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गरेको समाचारमा जनाइएको छ । हरारेमा रहेको केन्द्रीय प्रहरी कार्यालयमा शोकोलाई राखेर अपराधसम्वन्धी मुद्धा चलाउन लागिएको माफुन्डाले जानकारी दिए । शान्ति सुरक्षा कायम गर्न र कानूनको कार्यान्वयन गर्नका लागि उनको अभिव्यक्ति प्रतिकूल भएकाले पक्राउ गरिएको माफुन्डाको भनाई छ । घटनाका बारेमा प्रहरीले भने अहिले सम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ । गत जुलाई ३० मा भएको निर्वाचन बेला पनि विपक्षी समर्थक समूहको तर्फबाट भएको प्रदर्शनमा शोकोको हात रहेको बताइएको छ । त्यतिबेला भएको हिंसामा परी कम्तीमा छ जना मारिएका थिए । निर्वाचनमा नानगाग्वाँ विजयी भएको घोषणा गरिएपनि नतिजाका बारेमा अहिले पनि अदालतमा मद्दा रहेको छ । रासस/एएफपी

अमेरिका, चीन व्यापार विवाद युद्धः विश्व अर्थतन्त्रमा गम्भिर संकटको संकेट

बेइजिङ । रासस।एपी । संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत विवरण भने प्रकाशमा ल्याइएको छैन । सवारी साधन र धातुजन्य बस्तु समेतका दुवै मुलुकका १६ अर्ब डलर बराबरका सामग्रीमा दण्डजरिवाना लाग्नेछ । गत महिना पनि दुबै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करबृद्धि गर्ने घोषणा गरिएको थियो । पहिलो चरणको करबृद्धि भनिएको यो घोषणासँगै दुबै मुलुकबीच अब ५० अर्ब डलर बराबरका सामानमा करबृद्धि हुनेछ । चीन सरकारले करबृद्धि विश्व व्यापार सङ्गठनका नियमको उल्लङ्घन रहेको भन्दै अमेरिकाको आलोचना गरिरहेको छ र यसविरुद्ध चीनले कानुनी चुनौती दिने जनाएको छ । अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङमाथि दबाब दिइआएको छ तर चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाई छ । तत्काल कुनै सम्झौता नहुने स्थितिप्रति सङ्केत गर्दै अर्थविज्ञहरुले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०.५ प्रतिशत विन्दुको हाराहारीमा मात्र रहने चेतावनी दिएका छन् ।

सिरियामा भिषण युद्धको तयारी गर्दै रुस/अमेरिका, ६३ हजार रुसी सेना मैदानमा

मस्को । रासस/एएफपी । रुसले सिरियामा भइरहेको द्धन्द्धका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,” मन्त्रालयका अधिकारीले भनेका छन् । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए । सन् २०११ देखि शुरु भएको सिरिया युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् । सिरिया युद्धमा रुसले बसर अल असदको सरकारलाई सघाउँदै आएको छ भने अमेरिकाले बिद्रोहीलाई सघाउँदै आएको छ । सिरियामा असद सरकार र उसका बिरोधीहरुका बिचमा युद्ध भैरहेको देखिएपनि त्यसको पर्दा पछाडी भने रुस र अमेरिका एक अर्का विरुद्ध लडिरहेका छन् । रुसले असदको सत्ता जोगाउनुलाई आफ्नो अस्थित्व रक्षा ठानेको छ भने अमेरिकाका लागि असदको सत्ता पल्टाउनु प्रतिष्ठाको बिषय बनेको छ ।