कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न राज्यमन्त्री दुगडकाे आग्रह
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन्। राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी कात्तिक ४ देखि करिब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ गएका थिए । सो मेलाको नारा ‘मनहरु जोड्दैः भविष्य सिर्जना गर्दै’ भन्ने रहने छ । उनीहरुबीचको भेटमा द्विपक्षीय सम्बन्धका साथै दुई मुलुकले जलविद्युत् नवीकरण र ऊर्जा तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्न सक्ने विषयमा छलफल भएको थियो । राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आह्वान पनि गरे । सो अवसरमा युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका पदाधिकारीको समेत उपस्थिति थियो । यसअघि सन् २०१५ मा मिलान, २०१७ मा नुर–सुल्तान र २०१९ मा बेजिङ भएको त्यस्तै एक्सो २०२३ मा ब्युनस आयर्स र २०२५ मा ओसाकामा हुने जनाइएको छ ।
सार्सभन्दा कोरोना भाइरस विश्व अर्थतन्त्रका लागि खतरा !
काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर देखाइसकेको छ । हालसम्म पनि कुनै उपचार पत्ता नलागेको अवस्थामा यो रोगका कारण कतै अझै धेरै मानिसहरुको मृत्यु हुने त हैन भन्ने शंका पैदा भएको छ । चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइसले चीनकाे अर्थतन्त्रलाई अघिल्लो सार्सले भन्दा नराम्रोसँग शिथिल बनाउने अनुमान विश्लेषकहरुले लगाएका छन् । अझ द्रुत रुपमा बढिरहेको चीनको अर्थतन्त्र आकार, अमेरिकासँगको उसको गहिरो आर्थिक तथा व्यापारिक सम्बन्ध, चीनिँयाहरुले संसारको विविध कुनाहरुमा बढाइरहेको लगानी तथा लगभग हरेक राष्ट्रसम्म फैलिएको उसको सेवा तथा वस्तुको सञ्जाललगायतको पक्षलाई ध्यानमा राख्ने हो भने कोरोना भाइरसको विश्व अर्थतन्त्रमा पर्ने असर अध्याधिक बृहत देखिने भएकाे छ । सन् २००३ को सार्स महामारीको प्रकोपको सामना गर्दाको समयमा चीनको कुलग्राहस्थ उत्पादन करिब १०.६ खर्ब अमेरिकी डलर बराबरको थियो । जुन आज बढेर लगभग १३० खर्ब अमेरिकी डलरको भएको छ । अर्कातर्फ पछिल्लो समयमा आफ्नो व्यापारलाई बढाउने उदेश्यका साथ चीनलाई बृद्धि र नाफाको मुख्यालय बनाउनका लागि अमेरिकी कम्पनीहरुबिच घम्साघम्सी परिरहेको छ । तर, यिनै कम्पनीहरु अहिले चीनमा कोरोनाभाइरसको कारणले ब्यापार तथा बिक्रीमा आएको भारी गिरावटको कारण प्रताडित हुनु परेको छ । अघिल्लो सार्सको प्रकोपको समयमा पनि केहि समय बन्द भएको अमेरिकी गेमि जायण्ट लाभ भेगास साण्डस् कर्पले मकाउ स्थित उसका क्यासिनोहरुबाट ठूलो घाटा बेहोरिरहेको छ । क्यासिनोहरुमा जाने ग्राहकहरुको संख्यामा ८० प्रतिशतभन्दा बढीको कमी आएको उसले जनाएको छ । त्यसोत कम्पनीको कुल घाटा थाहापाउने दोश्रो त्रैमासिकसम्म कुर्नुपर्ने भएता पनि लाभ भेगास साण्डस् कर्पका सीइओ रब गोल्स्टेनले व्यापारमा आएको ८० प्रतिशतको कमीलाई संचालन खर्च कम गरेर सन्तुलन गर्छु भनेर सोच्नु मूर्खता मात्र हुने टिप्पणी दिएका छन् । १. चीनको कुल ग्राहस्थ उत्पादन सन् २००३ मा- १०.६ खर्ब अमेरिकी डलर अहिले- १३०.६खर्ब अमेरिकी डलर चीनको अर्थतन्त्र संसारकै सबैभन्दा धेरै वृद्धि भइरहेको अर्थतन्त्र मध्येको एक हो । कोरोना भाइरसको कारण हाल उसको आर्थिक तथा व्यापारिक गतिविधीमा आएको मन्दिका कारण चीनले ठूलो नोक्सानी व्यहोर्नु पर्ने अनुमान गरिएको छ । २. चीनको विश्वब्यापी निर्यात सन् २००३ मा- ४३८ अर्ब अमेरिकी डलर अहिले- २०.५ खर्ब अमेरिकी डलर आजको दिनमा चीनले बिगतमा कहिले पनि नगरेको वस्तु तथा सेवाको निर्यात संसारभरी गरिरहेको छ । गतवर्ष चीनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको अमेरिकाले चीनबाट१५२ अर्ब अमेरिकी डलर बराबरको विद्युतीय सामाग्रीमात्रको आयात गरेको थियो । यसैगरी चीनले अमेरिकातर्फ ११७ अर्ब अमेरिकी डलर बराबरको मेसिनरी सामाग्री, ३५ अर्ब अमेरिकी डलर बराबरको फर्निचर, २७ अर्ब अमेरिकी डलर बराबरको खेलौना र सो सम्बन्धी सामाग्री र १९ अर्ब अमेरिकी डलर बराबरको प्लाष्टिकको सामाग्री निर्यात गरेको थियो । ३. चीनियाँ अर्बपतिहरु सन् २००३ मा- ० अहिले- ३२४ जना (सन् २०१९) पछिल्लो समयमा चीनमा अर्बपतिहरुको संख्या लगातार बढिरहेको छ । हालसालै चीनकोे सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका ज्याकमा चीनको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको कूल सम्पत्ति रहेको छ । ४. अमेरिकाको भ्रमण गर्ने चीनियाँ पर्यटक सन् २००३ मा- एक लाख ५७ हजार जना अहिले- २८ लाखजना (सन् २०१८) नव धनाढ्य चीनियाँहरुको संख्यामा आएको बृद्धिसँगै उनीहरुमाझ संसारका विभिन्न देशहरुको भ्रमण गर्ने प्रबृत्तिमा व्यापकता छाएको छ । पर्यटनलाई गुणस्तरीय जिवनको महत्वपूर्ण निर्धारक मान्न थालेका चीनिँयाहरुको विश्व पर्यटन क्षेत्रमा बढ्दो योगदान रहेको छ । धेरै घुम्ने मात्र नभइ चीनियाँहरुले आफूलाई खर्चालु पर्यटकका रुपमा पनि स्थापित गराइ सकेका छन् । एक सर्वेक्षणका अनुसार गैर-चीनिँया पर्यटकहरुले विदेश भ्रमणको क्रममा सामान किन्नका लागि प्रतिब्यक्ति ओसत ४८६ अमेरिकी डलर खर्च गर्छन् भने सोहि प्रयोजनका लागि चीनिँया पर्यटकहरुले प्रतिब्यक्ति औसत ७६२ अमेरिकी डलर खर्च गर्दछन् । ५. चीनमा स्टारबक्स सन् २००३ मा- १ सय ५२ अहिले – चार हजार १ सय २३ चीनमा आर्थिक क्रियाकलाप तथा खर्चालु उपभोक्ताहरुको संख्यामा आएको उल्लेखनीय वृद्धिका कारण विश्वका ठूला ब्राण्डहरुले यहाँको आकर्षक बजारहरुबाट लाभ हासिल गर्न सो देशमा आफ्नो उपस्थिती बढाइरहेका छन् । २०१९ सम्म यहाँ चार हजार २१३ वटा रिटेल स्टोरको स्थापना गरिसकेको स्टार बक्सले कोरोना भाइरसको कारण आफ्नो आधाभन्दा बढी स्टोरहरुलाई हालबन्द गरेको छ । ६.चीनमा म्यारियट होटल सन् २००३ मा– ३९ अहिले – ३४८ (२०१९) अमेरिका पछि चीन म्यारियट चेन होटलको सबैभन्दा ठूलो बजार हो । सन् २०१८ माम्यारियटले त्यहाँको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलीबाबासँग साझेदारी सम्झौता गर्यो जसले चीनियाँ यात्रीहरुलाई अलिबाबाको यात्रासम्बन्धी वेबसाइटमार्फत म्यारियट होटलमा आफूले चाहेको सेवा बुक गर्न सक्ने अवसर दिएको छ ।
अन्तर्राष्ट्रिय व्यापार मेलाहरु भटाभट रद्द, आयोजकलाई करोडाैं डलर नोक्सान
काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता कम्पनीहरु बिटी, एरिक्सन, फेसबुक, एलजी, नोकिया, सोनी, सामसुङ र भोडाफोन लगायतले आ-आफ्ना नविन उत्पादन तथा अवधारणालाई सार्वजनिक गर्दै असंख्या उपभोक्ताहरुलाई लोभ्याउने योजनामा थिए । आधुनिक प्रविधि सम्बन्धी करिब २८ सय अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो पृथक उत्पादनलाई प्रर्दशनी गर्ने यस महामेलामा हरेक वर्ष करिब छ हजार चीनिँयासहित विश्वभरीका एक लाखभन्दा बढी मानिसहरुले सहभागिता जनाउँदै आएका थिए । फेब्रुअरी २४ देखि २७ सम्म चल्ने मोबाइल संचारसँग मुख्य रुपमा सम्बन्धीत यस चार दिने प्रदर्शनीको स्थगनको कारण करिब चार करोड २९ लाख यूरोको क्षति हुने तथा लगभग १४ हजार एक सय अल्पकालीन रोजगारी गुम्न सक्ने एक अन्तर्राष्ट्रिय वेबसाइटले अनुमान गरेको छ । सोनी, एलजी, अमेजन, फेसबुक, नोकिया, एलजी, भोडाफोन र एचएमडीजस्ता ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण यस वर्ष प्रदर्शनीमा सहभागीता जनाउनबाट अस्वीकार गरेपछि मेला आयोजक जीएसएम एसोसियसनले मेला आयोजना गर्न ‘असम्भव’ भएको बताएको हो । मेला स्थगित भएको घोषण गर्दै एसोसियसनका प्रमुख कार्याकारी अधिकृत जन हफम्यानले, “बार्सिलोनाको सुरक्षित तथा स्वस्थ वातावरणलाई ध्यानमा राख्दै तथा कोरोना भाइरसको प्रकोपपश्चात यात्रा सम्बन्धी सरोकार तथा अन्य परिदृष्यलाई विचार गर्दै यस वर्षको मोबाइल वल्र्ड कँग्रेसलाई स्थागित गरेको” बताए । मेला आयोजनाको स्थगन हुँदा विश्वका ठूला कम्पनीहरुलाई अप्ठेरो पर्न सक्ने विश्लेषण आइरहँदा कति कम्पनीहरुले भने बजारमा ल्याउनका लागि तैयारी अवस्थामा राखेका उत्पादनहरुलाई ‘आफ्नै तरिका’ले सार्वजनिक गर्ने जानकारी दिएका छन् । उदाहरणको लागि सोनीले उसको ल्यागसिप मोबाइलको नयाँ संस्करण एक्सपेरिया–२ लाई यूट्युब भिडियोमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । कोरोना भाइसरको कारण स्थगित भएको अर्को ब्यापार जमघट सिस्को लाइभ पनि हो । “कोरोना भाइरससम्बन्धी हाल कायम विश्वब्यापी सरोकारका कारण मार्च महिनाको ३ देखि ६ तारिकसम्मका लागि तोकिएको सिस्को लाइभलाई हालका लागि स्थगित गर्ने कठिन निर्णय गरिएको छ,” सिस्को लाइभको आधिकारी वेबसाइटमा लेखिएको छ । मेलबर्नमा हुन लागेको यस कार्यक्रममा करिब आठ हजार पाँच सयजति सहभागीहरु भेला हुने अपेक्षा गरिएको थियो । अमेरिकी नेटवर्किङ कम्पनीहरुको यस वार्षिक जमघटमा आयोजकले आफ्ना ग्राहक तथा सहभागीहरुलाई इञ्जिनियर तथा एग्जुक्युटिभ्सहरुसँग अन्तरक्रिया गराउने र तालिम तथा मनोरञ्जनात्मक शत्रहरु संचालन गर्ने गर्दछन् । त्यसैगरी यस वर्षको मार्चमा स्विटजरल्याण्डको बसेलमा आयोजना हुन लागेको बसेल फेस्टिबल पनि रद्द भएको छ । खाना, मनोरञ्जन, साइट सिईन, संस्कृति एवं गीत तथा संगीतको मिश्रणको रुपमा रहने यस कार्यक्रममा विश्वभरीका हजाराै पर्यटकहरुको सहभागीता रहने गर्दछ । “टाइम टू मुभ” शिर्षक दिइएको फेब्रुअरी अन्त्यका लागि जूरिचमा आयोजना हुने तय भएको वाच फेयर (घडीसम्बन्धी ब्यापार प्रदर्शनी) पनि कारोना भाइरसको कारण प्रभावित भएको छ । नविन, लग्जरी तथा महंगा घडीहरुको प्रदर्शनी तथा किनबेच हुने यस मेलालाई ओमेगा, टिसोट र लन्जिन्स जस्ता प्रख्यात ब्राण्डका घडी उत्पादक स्वाच गु्रपले वार्षिकरुपमा संचालन गर्दै आइरहेको छ । हरेक दुई वर्षमा आयोजना हुने एसियाकै सबैभन्दा ठूलो हवाइ मेला सिंगापुर एयरसो पनि यस वर्षका लागि स्थगित भएको छ । विश्वभरीका सैयाैं हवाइसम्बन्धी कम्पनीहरु सहभागी भएर हवाइ प्रविधिमा आएको पछिल्लो विकासलाई प्रदर्शनी गरिने यस मेलामा करोडाैं अमेरिकी डलर बराबरको ब्यापार सम्झौता समेत हुने गर्दथ्यो । कम्तिमा ७० भन्दा बढी हवाइ कम्पनीहरुले कोरोना भाइरसलाई जनाउँदै आफ्नो सहभागीता रद्द गरेपछि हवाइ मेलालाई हालका लागि आयोजना नगरिने बिबिसीको एक रिपोर्टले उल्लेख गरेको छ । मार्च महिनाको ५ देखि १५ तारिकसम्म संचालन हुन लागेको विश्वको सबैभन्दा ठूलो र महत्वपूर्णमध्येको एक जेनेभा इन्टरनेशनल मोटर सोको आयोजना पनि स्थगित भएको छ । यस सोका क्रमका विभिन्न ठूला मोटर उत्पादकहरुले आफ्नो उत्पादन सार्वजनिक गर्दै बृहत रकम बराबरको सम्झौता हात पार्दथे । कोरोना भाइरसको संक्रमणसँगै विश्वब्यापी अर्थतन्त्रमा परेको नकारात्मक असर तथा ठूला बहुराष्ट्रिय कम्पनीहरुले सामना गरेका चुनौती बारेका समाचार आइरहेका बेला पछिल्लो समय बस्तु तथा सेवा बजारको अवस्था, उपभोक्ताको किनमेलको अभ्यास तथा विभिन्न क्षेत्र तथा कम्पनीहरुको कमाइको गतिलाई नै खलबल्याउने गरी कैयाैं निर्धारित ठूल्ठूला ब्यापार प्रदर्शनी तथा मेलाहरु रद्द भइरहेका छन् । मानिसहरु बीच कोरोना भाइरसको संक्रमण हुने डरले गर्दा स्थगित गरिएका यस्ता मेलाहरुको कारण बस्तु तथा सेवाहरु बजारमा आउनबाट बञ्चित हुने मात्र नभइ ब्यापारिक प्रयोजनका लागि लाखाैंको संख्यामा हुने पर्यटन क्रियाकलापहरु समेत प्रभावित भएका छन् ।