चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने
बेइजिङ । चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने बेइजिङ, २३ माघ (रासस-एएफपी) – चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो । चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले पनि गत वर्ष सेप्टेम्बरमा एक हजार ७०० भन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । यी करहरु ५ र १० प्रतिशत थिए । दश प्रतिशत करको दायरमा मुख्य रुपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए । आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्न स्वरुप कर कटौती गरिएको उल्लेख छ । कर कटौतीको यो प्रस्ताव आगामी फेब्रुअरी १४ देखि नै लागू हुने आयोगको भनाई छ । अमेरिकी प्रशासनले पनि करिब १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ । तथापी विगतमा घोषणा गरिएका कतिपय करवृद्धिका प्रस्तावहरु यथावत रहने दुबै पक्षले जनाएका छन् । अमेरिका र चीनले गत जनवरीमा व्यापार युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । सम्झौतामा आगामी दुई वर्षभित्र २०० अर्ब अमेरिकी डलरभन्दा बढीका अतिरिक्त सामान चीनले आयात गर्ने उल्लेख छ । पहिलो चरणको आंशिक सम्झौता अनुसार, अमेरिकाले १२० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानमा लगाइने करलाई आधा कटौती गरी ७.५ प्रतिशत कायम गर्नेछ । गत डिसेम्बरमा अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चीनसँगको सम्बन्ध निकै प्रगाढ रहेको र निरन्तर सुधारतर्फ अग्रसर भएको बताउँदै आएका छन् । रासस
नेपालले विश्व बैंकबाट पायाे पाैने २३ अर्ब ऋण
काठमाडाैं । विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गरेका छन् । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताए । उनले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताएका छन् । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे । रासस
काेराेना भाइरसकाे असर कच्चा तेलमा, चीनमा मात्रै २० प्रतिशतले माग घट्यो
काठमाडाैं । कोरोना भाइरसको प्रकोप बढेसँगै त्यसकाे असर कच्चा तेलको व्यापारमा परेको छ । यसकाे प्रकाेपले कच्चा तेलकाे मागमा गिरावटका आएको जनाइएको छ । तेलकाे माग घटेसँगै यसको मूल्यमा पनि गिरावट आएको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणमा आएको बिस्तारसँगै पछिल्लो समयमा विश्व पर्यटनमा सबैभन्दा बढी टेवा पुर्याइरहेका चीनियाँ नागरिकहरुको यात्राविश्वभरी प्रतिबन्धीत जस्तै बनेको छ । यसैगरी चीनमा शैक्षिक संस्थाहरु, कार्यालय, कर्पोरेट संस्था तथा कलकारखना बन्द हुँदा प्रतिदिन १४ करोड ब्यारल पेट्रोलियम पदार्थ खपत गर्ने चीनको दैनिक खपत दरमा ठूलो मात्राले कमी आएको छ । चीन संसारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको खपत गर्ने दोश्रो राष्ट्र हो । कोरोना भाइसरको प्रकोपसँगै विभिन्न देशहरुले चीनसँगको हवाइ सम्पर्कलाई स्थगित गरेका र चीन भित्रकै विभिन्न प्रान्तहरुबीच कायम गरिएको यात्रा प्रतिबन्धका कारण सबैभन्दा ठूलो नकारात्मक असर हवाइ इन्धनको बिक्रीमा देखिएको छ । जुन अझै बढ्दै जाने सम्भावना रहेको छ । ब्लुम्बर्गको एक रिपोर्टअनुसार हाल चीनमा कच्चा तेलको माग २० प्रतिशतले घटेको छु जुन बेलायत र इटालीले संयुक्त रुपमा एक दिनमा खपतगर्ने कच्चा तेलको जम्मा परिमाण बराबर हो । कच्चा तेलमा आएको गिरावटले विश्व अर्थतन्त्रमा कस्तो असर गर्ला ? कच्चा तेलमा आएको भारी गिरावटले चीनको ब्यापार गतिविधीमा मन्दी ल्याउने छ । जसको कारण पछिल्लो तीन दशकयता सुस्त भएको चिनिया आर्थिक बृद्धिलाई थप निस्तेज पार्नेछ । कोरोना भाइरसको प्रकोपको कारण चीनको आर्थिक वृद्धि सुरुका तीन महिनासम्म ५ प्रतिशतभन्दाकम रहने जनाएका छन् । चीन हाल विश्वको सबैभन्दा दोश्रो ठूलो अर्थतन्त्र हुनुका साथसाथै विश्व ब्यापी आर्थिक बृद्धिको प्रमुख बाहक हो । यस राष्ट्रको अर्थतन्त्रमा पर्ने कुनै पनि नकारात्मक प्रभावका कारण विश्वको कुनै पनि अर्थतन्त्र अछुतो नरहने विश्लेषकहरुले बताएका छन् । ठूला तेल उत्पादक राष्ट्र सदस्यहरुले थप उत्पादन कटौतीगर्नका लागि गृहकार्य गरिरहेको जनाइएको छ । त्यसो त अन्तर्राष्ट्रिय बजारमा तेलका मूल्यमा आएको गिरावटका कारण उनीहरुले सन् २०१६ देखि नै पेट्रोलियम पदार्थको उत्पादनलाई कम गर्दै आइरहेका छन् ।