अमेजन र फ्ल्पिकार्डलाई छोड्दै एप्पल कम्पनी, अब भारतमा आफैले अनलाइनबाटै बिक्री गर्ने

काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो । कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन बिक्री र अर्को वर्ष आधिकारीक रिटेल स्टोरको स्थापना गर्ने रणनीति लिएकाे छ ।  सन् २०२१ मा मोबाइल फोन निर्माता एप्पलले आफ्ना उत्पादनहरुको प्रत्यक्ष बिक्रीका लागि आधिकारीक बिक्री केन्द्रको स्थापना गर्न लागेकाे हाे । प्रसिद्ध अमेरिकी मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री निर्माता यस कम्पनीले हालै सेयरधनीहरुसँगको वार्षिक बैठकको क्रममा सो निर्णय सार्वजनिक गरेको हो । भौतिक बिक्री केन्द्रको स्थापना हुनु अघि नै कम्पनीले यसै वर्षको अगष्ट-सेप्टेम्बरदेखि भारतमा अनलाईनमार्फत आफैले बिक्री शुरु गर्ने कम्पनीका सीइओ टिम क्रुकले बताएका छन् । ‘स्थानीय साझेदारसँग साझेदारी नगरी हामी आफैले सामाग्री बिक्री गर्ने हो भने सोका लागि हामीलाई भारतीय सरकारको विशेष स्वीकृति चाहिन्छ,’ सीइओ क्रुकले बैठकमा भने, ‘तर म चाहन्न कि हाम्रो ब्राण्ड कोहि अरुले बेचोस्, न त हामी कसैको राम्रो साझेदार नै बन्न सक्छाैं ।’ अनलाइन बिक्रीको सुरुवात उद्घाटन गर्ने र सोहि बेला आधिकारीक बिक्री केन्द्र स्थापनाको लागि भारतीय सरकारसँग विशेष अनुमति लिने उदेश्यका साथ आउँदो जुलाइदेखि सेप्टेम्बरसम्मको अवधीमा क्रुकले भारतको भ्रमण गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ‘भारत बजारमा रहेका सम्भावना र अवसरहरुबारे म पूर्णरुपमा विश्वस्त छु’, क्रुकको भनाइलाई ऐजेन्सीहरुले उदृद गर्दै भनेका छन्, ‘यहाँको बजारको चलायमानता र भारतीय जनसंख्याको उपभोगको ढाँचा अन्यको भन्दा बिल्कुलै फरक छ ।’ यसै वर्षको दोश्रो छ महिनाभित्र संसारको दोश्रो ठूलो मोबाइल फोन बजार भारतमा पहिलो रिटेल स्टोर खोल्ने योजना बनाएता पनि स्टोर स्थापनाका लागि आवश्यक सामाग्रीको आपूर्तिमा व्यवधान आएको भन्दै सो उद्देश्य अर्को वर्षमात्रै हासिल हुने कम्पनीले केहि समय अघि बताएको थियो । कम्पनीले मुम्बइस्थित म्याक्सिटी मलको तीन तल्ला भाडामा लिइसकेको जसमध्ये पहिलो तल्लामा अनुभव केन्द्र (एक्सपेरियन्स सेण्टर), दोश्रो तल्लामा खुद्रा बिक्री केन्द्र र तेश्रो तल्लामा सेवा केन्द्र राख्ने योजना भएको ऐजेन्सीहरुले उल्लेख गरेका छन । बीबीसीको एक रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपअघि देखि नै चीनमा एप्पलका उत्पादनहरुको बिक्री घटिरहेकाले कम्पनीले भारतजस्तो वैकल्पिक उदयीमान बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाउने रणनीति लिएको छ । त्यसो त कोरोना भाइरसको प्रकोपको कारण आफ्नो विश्वब्यापी व्यापारमा ठुलो धक्का लाग्ने र चालू त्रैमासिकको कुल कमाइको प्रक्षेपण हासिल नहुने एप्पलले स्पष्ट पारिसकेको छ । चीनस्थित उसका विभिन्न सामाग्रीहरुको पाटपूर्जा तथा सहायता हिस्साको उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा एप्पलको विश्वब्यापी आपूर्ति चक्र प्रभावित बनेको छ । २०१९ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रेमासिकमा एप्पलले भारत र ब्राजिलमा दुई अंकको बृद्धि हासिल गरेको थियो । सो अवधिमा भारतमा मात्रै करिब नौ लाख २५ हजारवटा आइफोनको बिक्री भएको थियो । कम्पनीले भारतबाट हुने आफ्ना सामाग्रीहरुको उत्पादनलाई पनि वृद्धि गरेको छ । भारत र छिमेकी बजारको मागलाई सम्बोधन गर्न र आफ्नो उत्पादनको उपलब्धतालाई सहज बनाउन एप्पलले गत वर्षदेखि भारतबाट उत्पादन थालेको छ । आक्रामक मूल्य र सुदृढ वितरण प्रणाली लगायतका रणनीतिको कारण एप्पलका उत्पादनहरुले भारतीय बजारमा ठूलो हिस्सा लिने विश्वास गरिएको छ ।

नयाँदिल्लीमा जारी हिंसात्मक झडपका कारण १८ जनाको मृत्यु, सयाैं घाइते

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २ सय जना घाइते भएका छन् । जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गरेका छन् । दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ । रासस

विश्वकै ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्दै ट्रम्प, भारतसँग कुनै पनि व्यापारिक सम्झौता नहुने घोषणा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नु हुने भएकाे छ । उनले भारतको ताज महलको भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दवाव दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् । “भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,” ७३ बर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भने । ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरे । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताए । भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहेका थिए । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुने छ । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गर्ने छन् । सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्नु हुनेछ । मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ । खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको पनि आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरे । नमस्ते ट्रम्प कार्यक्रमपछि  श्रीमतीसहित ताज महल अवलोकन गर्न गएका हुन् । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ । भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गरे । ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताए । उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनले आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरे । रासस/एएनआई/एएफपी