विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५ सय
वासिङ्टन । विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख १ सय १३ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङक्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वभर हाल कोरोना संक्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ ओटा देशमा फैलिएको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६ हजार ७ सय ६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ । कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १ सय ९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा ३ हजार ९ सय १६ जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २ सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ । यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको संख्या पाँच पुगेको हो । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ३ सय ६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १ सय २ जना नयाँ संक्रमित भेटिएका हुन् । राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १ सय ३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ । ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् । यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्क्रमित रहेको पाइएकोमा त्यो संख्या बढेर शनिबार नै १ सय २८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ । यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको हो । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७ सय ४४ जना संक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ । रासस÷एएफपी
विश्वका धनाढ्यहरु राेजाइकाे विषय इञ्जिनियरिङ वा कम्प्युटर साइन्स
काठमाडौं । ब्यापार गर्न वा आफू आबद्ध पेशा, ब्यवसाय तथा क्षेत्रमा प्रगती गरी यथेष्ठ धन आर्जन गर्न शिक्षाको आवश्यकता पर्छ कि पर्दैन भन्नेबारेमा संसारभरका मानिसहरु दुई धु्रवमा बाँडिएका पाइन्छन् । एकथरीले जुनसुकै क्षेत्रमा लागेता पनि भविष्यको दिशा तय गर्न, आफूलाई सशक्तिकरण गर्न, चेतना एवं निर्णय क्षमताको विकास गर्न तथा सफलताका खुड्किालाहरु क्रमशः उक्लँदै जान शिक्षा अपरिहार्य भएको मानेका छन् भने अर्काथरीले शिक्षा आर्जनमा लाग्ने समय एकचित्त र केन्द्रितकृत भएर आफूले रोजेको पेशा वा ब्यवसायमा लगाएमा स्वत प्रगतीपथतर्फ मानिस अग्रसर हुने आंैल्याएका छन् । हामी यो लेखमा ब्यवसायमा सफलता पाउन वा प्रशस्त धनलाभ प्राप्त गर्न शिक्षाको आवश्यकता छ कि छैन भन्ने विषयमा चर्चा गरिरहेका छैनाैं । यहाँनिर हामी के मात्र भन्न सक्दछाैं भने वेल्थ–एक्स २०१९ बिलेनार सेन्सस रिपोर्टका अनुसार प्रविधि उद्योगलाई अमेरिकामा प्रमुख धन आर्जन गर्ने क्षेत्रको रुपमा लिइन्छ र धेरै अर्बपतिहरुलाई जन्माउने प्रमुख उद्योगहरुमध्येको प्रविधि पनि एक हो । यसै क्षेत्रबाट स्थापित कैयाैं अर्बपतिहरुले विश्वविद्यालयबाट औपचारिक उच्च शिक्षा हासिल गरेका छन् । त्यसो हो भने, यदि तपाईँ पनि अमेरिका गएर आफूलाई एक अर्बपतिको रुपमा स्थापित गराउन चाहनुहुन्छ भने तपाईँले कलेज वा विश्वविद्यालयमा कुन विषय अध्ययन गर्नुहुन्छ भन्नेले तपाईँको सफलता तय गर्ने मान्न सकिन्छ । एक अन्तराष्ट्रिय वेबसाइटका अनुसार विश्वका १० सबैभन्दा धनीहरुमध्ये आधाले इञ्जिनियरिङ वा कम्प्युटर साइन्स अध्ययन गरेका छन् । तर केहिले भने अन्य फरक विषयमा पनि कलेज वा विश्वविद्यालय डिग्री हासिल गरेका थिए । तल पाँचजना प्रसिद्ध अमेरिकी अर्बपतिहरुले उच्च शिक्षाको रुपमा कुन विषय वा संकायको अध्ययन गरे भनेर चर्चा गरिएको छ । जेफ बेजोस – सिइओ, अमेजन कुल सम्पत्ति: १३१ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषयः इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्स अमेजनको प्रमुख कार्यकारी अधिकृत (र हाल विश्वको सबैभन्दा धनी ब्यक्ति) बेजोसले सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्समा डिग्री हासिल गरेका थिए । यसभन्दा अघि भौतिकशास्त्रलाई मुख्य विषय बनाएर अध्ययन गरेका उनमा पछि इलेक्ट्रिकल इञ्जिनियरिङ र कम्प्युटर साइन्सको अध्ययनप्रति रुची जागेको थियो । यदि उनका लागि अमेजन भाग्यशाली कम्पनी नभइदिएको भए उनले आफूले हासिल गरेको शैक्षिक डिग्रीको भरपुर सदुपयोग हुने विश्वास ब्यक्त गरेका थिए । “यदि अमेजनमा नआएको भए म कहि“कतै अत्याधिक खुसी सफ्वेयर प्रोग्रामरको रुपमा काम गरिरहेको हुन्थे“,” उनले एक प्रसंगमा भनेका छन् । बेजोसले आफ्नो यूवावस्थादेखि नै विज्ञानप्रतिको रुची तथा प्रविधिप्रतिको कुशताको प्रदर्शनी गरेका थिए । उनले एक पटक आफ्ना भाइबहिनीहरु बिहान समयमै उठुन् भनेर एक विद्युतीय अलार्मको निर्माण गरेका थिए । विश्वविद्यालय डिग्री हासिल गर्नुअघि पढाइमा तेज बेजोसले यूनिभर्सिटी अफ फ्लोरिडामा स्टुडेन्ट साइन्स ट्रेनिङ प्रोग्राममा सहभागी भएका थिए । उनी हाइस्कुलमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी थिए भने सन् १९८२ मा सिल्भर नाइट अवार्डबाट सम्मानीत पनि भएका थिए । बिल गेट्स –सह–संथापक, माइक्रोसफ्ट कर्पोरेसन कुल सम्पत्ति – ९६.५ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – प्रारम्भिक कानून सन् १९७५ मा सहसंस्थापक पाउल एलेनस“ग माइक्रोसफ्टको स्थापनाका लागि हार्बर्ड विश्वविद्यालयको अध्ययन बीचमै छाडेका गेट्सले कलेजमा रह“दा कानून विषयको अध्ययन गरेका थिए । तर उनले सोहि समय गणित र ग्राजुयट तहको कम्प्युटर साइन्सको पनि पढेका हुन् । ब्यवसायमा पाएको सफलता तथा माइक्रोसफ्टजस्तो नविन उत्पादनद्धारा संसारलाई पु¥याएको योगदानको कारण हार्बार्डले कलेज त्यागेको ३० वर्षपछि उनलाई कानूनको मानार्थ डिग्री प्रदान ग¥यो । सन् २०१८ मा हार्बार्डका विद्यार्थीहरुस“गको अन्तरक्रियाका क्रममा उनले यदि अहिले उनी विद्यार्थीकालमा भएका भए अरु नै विषयको अध्ययन गर्न चाहने बताएका थिए । “यदि म अहिले कलेज भर्ना हुन्थ्ये“ भने, म सफ्टवेयर तथा आर्टिफिसीयल इञ्टिलीजेन्सको अध्ययन गर्थे“,” विद्यार्थीहरु सामू उनले भनेका थिए । यसका साथै २०१६ मा लिंक्डइनका प्रधान सम्पादक राडेल रोथस“गको अन्तरवार्ताको क्रममा अहिलेका यूवापिढीलाई उनले विज्ञान, इञ्जिनियरि¨ र अर्थशास्त्रको अध्ययन गर्न सुझाएका थिए । व्यापारमा पाएको सफलताका साथसाथै गेट्सले समाजसेवाको क्षेत्रमा गरेको लगानीको कारण पनि संसारभरका मानिसको मन जितेका छन् । श्रीमतीस“ग संयुक्तरुपमा स्थापना गरेका बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन नामक सामाजिक संस्थामार्फत उनले हालसम्म ३५.८ अर्ब अमेरिकी डलर बराबरको रकम दान गरिसकेका छन् । वारेन बफेट – अध्यक्ष र सिइओ, बर्कसायर ह्याथवे कुल सम्पत्ति – ८२.५ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – व्यापार व्यवस्थापन र अर्थशास्त्र १६ वर्षको उमेरमा पेन्सिलभेनिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा बिजनेश अध्ययन गर्न भर्ना भएका बफेटले नेब्रास्का विश्वविद्यालयमा ट्रान्सफर लिए र १९ वर्षको उमेरमा सोहि विश्वविद्यालयबाट अन्टरग्रजुएट डिग्री हासिल गरे । “मलाई कलेज गएर अध्ययन गर्न रुची नै थिएन,” अहिलेसम्मकै सबैभन्दा सफल लगानीकर्ताको रुपमा फोब्र्सले बयान गरेको बफेटले २०१६ मा ब्लुमबर्ग पत्रिकास“गको एउटा अन्तरवार्ताको क्रममा भनेका थिए, “ह्वार्टन स्कूलमा भर्ना भएको पहिलो वर्ष नै मलाई अध्ययन छोडेर व्यापारमा लाग्न मन थियो तर मेरो बुबाले अर्काे एक वर्ष प्रयास गर भन्नुभएकाले मैले ह्वार्टनबाट ट्रान्सफर लिएर नेब्रास्का विश्वविद्यालय प्रवेश गरेँ।” नेब्रास्का विश्वविद्यालयको प्रत्येक कक्षाकोठाको शिकाइ रोचक भएकै कारण आफूले अन्टरग्रजुएट डिग्री हात पार्न सकेको बताउने बफेटले स्नातकोत्तर तहको अध्ययनका लागि हार्बार्ड विश्वविद्यालय रोजेका थिए । तर त्यहा“ उनको भर्नासम्बन्धी आवेदन अस्वीकृत भएपश्चात कोलम्बिया विश्वविद्यालयबाट स्नातकोत्तरको पढाइ सकेका थिए । आफूले काम गर्ने क्षेत्रस“ग सम्बन्धित विषयको पढाइमा जोड दिने बफेटले भनेका छन्, “यदि तपाई“लाई ब्यापारमा रुची छ वा सोहि काम गर्न चाहनुहुन्छ भने एमबिए डिग्री अति नै उपयोगि हुन्छ ।” बफेटलाई फोब्र्सले यस वर्षको तेश्रो सबैभन्दा धनी ब्यक्तिको रुपमा सूचिकृत गरेको छ । मार्क जुकरबर्ग – सिइओ, फेसबुक कुल सम्पत्ति – ८०.७ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – कम्प्युटर साइन्स र मनोविज्ञान फेसबुक स्थापनाका लागि कलेजको अध्ययन बीचैमा त्यागेका जुबरबर्गले हार्बार्ड विश्वविद्यालयमा रहँदा कम्प्युटर साइन्स र मनोविज्ञानको अध्ययन गरेका थिए । तथापी उनले यी विषयहरुको पढाइलाई पूर्णता दिइ विश्वविद्यालयबाट औपचारिक डिग्री भने हासिल गरेनन् । कम उमेरमै अर्बपति बन्न सफल जुकरबर्गलाई सानैदेखि कम्प्युटरप्रति चाख थियो भने १२ वर्षको उमेरमै उनले आफ्नो बुबाको डेन्टल क्निकका लागि जकनेट नामक सन्देश (म्यासेज) पठाउन र पाउन मिल्ने प्रोग्रामको निर्माण गरेका थिए । प्रविधिको दुनियाँमा विश्वस्तरीय ख्याती कमाएका जुकरबर्गले उच्च माध्यामिक तहको पढाइको क्रममा एकजना साथीस“ग मिलेर साइन्याप्स नामक एमपिथ्री प्लेयरको विकास गरेका थिए । यस एमपिथ्री प्लेयरले मानिसले कम्प्युटरमा बजाएको हरेक गीतसंगितको पहिचान र संग्रह गरी सोको आधारमा नयाँ प्लेलिष्टको निर्माण गर्ने क्षमता राख्दथ्यो । मार्क क्यूबान – टेलिभिजन ब्यक्तित्व, उद्यमी एवं लगानीकर्ता कुल सम्पत्ति – ४.१ अर्ब अमेरिकी डलर अध्ययन गरेको विषय – व्यवस्थापन र प्रशासन पिटर्सबर्ग विश्वविद्यालयको हाइ स्कुलमा रात्रीकालीन कक्षामा अध्ययन गरेका मार्क क्यूबानले सो बेला सबैभन्दा सस्तो भएको कारण इण्डियाना विश्वविद्यालयमा भर्ना भए । विश्वविद्यालयअन्तर्गतको केली स्कुल अफ बिजनेशबाट उनले १९८१ मा व्यवस्थापन र प्रशासन विषयमा स्नातक गरेका हुन् । औपचारिक शिक्षालाई केहि हदसम्म समर्थन गर्ने क्यूबानले २०१८ मा एमबिए डिग्रीप्रति त्यति रुची नभएको बताएका थिए । “हाल अनलाईनमार्फत जति पनि अध्ययन गर्न सकिन्छ र मलाई लाग्छ किताबमा भन्दा कार्यक्षेत्रमा तपाई“ले अझै धेरै शिकाइ र अनुभव हासिल गरी सफलता पाउनसक्नुहुन्छ,” उनले भनेका छन् । अमेरिकी एएक्सएस टिभीका अध्यक्ष क्यूबान चर्चित पुस्तक हाउ टू विन एट द स्पोर्ट अफ बिजनेशका लेखक हुन् ।
आरबिआई बैंककाे आकस्मिक निर्णयः सीमित रकम मात्र झिक्न पाइने
मुम्बई । भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् । मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए । उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।” अर्का ग्राहकले भने, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।” भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो । यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन । रासस