उत्तर कोरियाद्वारा छोटो दुरीका दुई क्षेप्यास्त्र प्रहार
सोल । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ । रासस/एएफपी
अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी
जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी
स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने
बाँके । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो । हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ । स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भन्नुभयो, “यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।” दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ ।“यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ”, प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए । उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताउनुभयो । बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन् । रासस