इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोना संक्रमण
तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे । तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थाल्नु भएको थियो । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराए । रासस/एएफपी
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो
मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७ सय २७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो । व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५० हजार ९ सय १७ थान सवारी साधन बिक्री गरेकामा यस वर्षको मार्च महिनामा ५ हजार ३ सय ३६ थान मात्र बिक्री भएको छ । टाटा मोटर्सका अनुसार सवारी साधनको विदेश निर्यातमा पनि ६८ प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५ हजार ६ सय १९ थान सवारी साधन निर्यात भएकामा यस वर्ष मार्चमा १ हजार ७ सय ८७ थान मात्र निकासी भएको छ । टाटा मोटर्सका यात्रुबाहक सवारी साधनको व्यवसायसम्बन्धी इकाईका प्रमुख मयन्क पारिकले कोरोनाभाइरसको प्रकोपका साथै भारतमा गरिएको बन्दाबन्दी (लकडाउन) ले सवारी साधनको बिक्रीमा ठूलो असर परेको बताए । उनले टाटाका नयाँ उत्पादनप्रति उपभोक्ताले चासो देखाइरहेको र कोरानाका कारण भएको लकडाउन खुल्नासाथ बिक्रीमा सुधार हुने अपेक्षा गरिएको जानकारी दिए । रासस/एएनआई
कोरोना अपडेट: विश्वमा ८ लाख ८७ हजारभन्दा बढी संक्रमित,४४ हजार ३ सय २ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ४४ हजार ३ सय २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ८ लाख ८८ हजार ४ सय १८ जना पुगेका छन् । त्यस्तै कोरोना भाइरसको उपचार पछि १ लाख ८८ हजार ८ सय ७९ जना घर फर्किएका छन् । पछिल्लो समय संयुक्तराज्य अमेरिका विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ८ सयभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार ६६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । अमेरिकामा उपचार पछि भने ७ हजार २ ५१ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट प्रभावित इटालीमा १२ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजारभन्दा बढी संक्रमित रहेका छन् । आजसम्म इटालीमा १५ हजार ७ सय २९ जना उपचार पछि घर फर्किएका छन् । स्पेनमा १ लाख २ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ९ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ८ सय ६७ जना निको भएका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनले कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा राखेको छ । आज नयाँ संक्रमितको संख्या ३ सय रहेको छ । हालसम्म ८३ हजार जना संक्रमित छन् भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७६ हजार ४ सय १२ जना उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ । जर्मनी ७३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् भने ८ सय २२ जनाको मृत्यु भएको छ । १९ हजार उपचार पछि निको भई घर फर्किएका छन् । फ्रान्समा ५२ हजार ३ सय ७५ जना संक्रमित छन् । फ्रान्समा ३ सय ५ सय २३ जनाको मृत्यु भयो भने ९ हजार ४ सय ४५ जनालाई निको भएको छ । इरानमा ४७ हजार ५ सय ९३ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ४ सय ७३ जना उपचार पछि घर फर्किएका छन् । केहि दिन यता बेलायतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आजको तथ्यांक अनुसार २९ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय ३५ जना उपचार पछि निको भएका छन् । कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा ४ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ हजार १ सय ३७ पुगेको छ । त्यस्तै २ हजार ९ सय ६७ जना उपचार पछि घर फर्किएका छन् । नेदरलयाण्डमा कोरोना भाइरसबाट १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार ६ सय १४ पुगेको छ । उपचार पछि २ सय ५० जना घर फर्किएका छन् । बेल्जियममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै ८ सय २८ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ३२ जना उपचार पछि घर फर्किएका छन् । टर्कीमा १३ हजार ५ सय ३१ जना कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ४३ जनालाई निको भएको छ । अष्ट्रिया १० हजार ४ सय ८२ जना कोरोना भाइरस संक्रमित छन् भने १ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो समय दक्षिण कोरियाले पनि कोरोना संक्रमणलाई नियन्त्रणमा गर्न सफल भएको देखिएको छ । हाल ९ हजार ८ सय ८७ जनाको मानिस कोरोना भाइरस संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५ सय ६७ जना उपचार पछि घर फर्किएका छन् ।स्वीडेनमा मृत्यु हुनेकाे संख्या १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ । नेपालमा हालसम्म ५ जनाका काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे र हाल १ जना निकाे भएर घर फर्किएका छन् ।