स्ट्यान्डर्ड चार्टर्ड बैंकले काेराेना राेकथाम गर्न एक अर्ब डलर सहयाेग गर्ने
काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र सेवाहरु प्रदान गर्ने कम्पनीलाई बैंकले सो रकम दिने घोषणा गरेको हो । भाइरसको सामना गर्न र त्यसका लागि आवश्यक पर्ने मेडिकलजन्य सामग्रीको उत्पादन र वितरण गर्ने जुनसुकै उद्योग र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरुले यसमा काम गर्न सक्ने जनाइएको छ । त्यसका लागि मास्क, भेन्टिलेटर, स्यानिटाइजर, सुरक्षात्मक उपकरणहरु र उपभोग्य सामानहरु आवश्यक पर्ने बताइएको छ । स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत सिमन कपुरले कोरोना भाइरसको जोखिम न्युनिकरण तथा रोकथामका लागि आवश्यक पर्ने सामग्री उत्पादन र वितरण गर्ने संस्थाहरुलाई आफूहरुले सहयोग गर्ने बताए । ‘मेडिकलजन्य सामग्रीहरुको माग आपूर्ति गर्ने सेवा प्रदायक कम्पनीहरु हामीलाई चाहिएको हो, तिनीहरुको सहयोगले कोरोनाको जोखिम कम गर्न मद्दत पुग्छ, हामी विश्वस्त गर्छौं कि उनीहरु हामीलाई विश्वास गर्छन्,’ उनले भने । बैंकले प्राथमिकताका आधारमा ती कम्पनीहरूलाई कम्तिमा एक अर्ब अमेरिकी डलर आयात र निर्यात वित्त वा कामकाजी पूँजी सुविधाहरू प्रदान गर्ने बताइएको छ । जुन उनीहरूले दैनिक कामका लागि प्रयोग गर्ने उपकरणका लागि सहयोग र्पुयाउँछन् । स्ट्यान्डर्ड चार्टडले सहयोग गर्ने त्यस्ता कम्पनीहरूको पहिचान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
कोरोना रोकथाम गर्न विश्व बैंकको नेपाललाई थप ६ अर्ब ऋण सहयोग
काठमाडौं । विश्व बैंकले कोरोना रोकथाम कोषमा विश्व बैंकले ६ अर्ब अर्थात ५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो । सरकारले सो रकम कोरोना रोकथाममा आवश्यक स्रोत साधन प्रयोग गर्नको लागि खर्च गर्ने बताइएको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ । ३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिने बताइएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यसले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री प्रकोप राहत कोषलाई सहायता प्रदान गर्ने बताए । उनले प्रकोप जोखिम न्यूनिकरणका लागि यो विश्व बैंकको वित्तीय औजार भएकाे बताए ।
कोरोना संक्रमण विस्तारलाई कसरी नियन्त्रणमा राखेको छ जापानले ?
काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् । न कुनै क्वारेन्टाइन खडा गरिएको छ, न त बार, रेस्टुरेन्ट र क्लबहरु बन्द गर्न निर्देशन दिइएको छ । यदि तपाइ रेस्टुरेन्टमा पिजा खान चाहनुहुन्छ भने पनि सजिलै किन्न सक्नुहुन्छ । बजार केही खाली त देखिएको छ तर खुला छ । देशको कुनैपनि ठाउँमा जान चाहानुहुन्छ भने गाडी भाडामा लिएर जान तथा पुगेर फर्किन चाहनुहुन्छ भने पनि कुनै रोकतोक छैन । यसको मतलब यहाँ निर्वाधरुपमा अधिकांशले आफ्नो सामान्य दैनिकी चलाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ कि जापानमा पनि संक्रमण फैलने सम्भावना भने अन्य देश र सहरमा जत्तिकै छ । जापानमा पहिलो संक्रमण पुष्टि भएको हिजो (२९ मार्च) २ महिना १७ दिन पुग्यो । यस अवधिमा १ हजार ६ सय ९३ जनामा मात्रै संक्रमणको पुष्टि भएको छ । जसमध्ये ४ सय ४ जना उपचार गराएर घर फर्किएका छन् भने ५६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को रिपोर्टमा उल्लेख छ । अब एउटा गम्भिर प्रश्न यो पनि उठ्न सक्छ कि अन्य देशहरुमा संक्रमण तीव्र भइरहेका बेला जापानमा भने अधिकांश क्षेत्र खुला हुँदा पनि कसरी संक्रमण दर न्यून र नियन्त्रणमा छ ? उच्च जनघनत्व भएको यो देश कोरोनाको उद्गमस्थल चीनसँग नजिकको सम्पर्कमा समेत छ । यहाँका सहरहरु विशाल छन् र साना साना अपार्टमेन्टमा धेरै परिवार बस्नु यहाँको अर्को विशेषता हो । यस देशको टे«नलाइ संशारकै धेरै भिडभाड युक्त यात्रुटे«नको रुपमा लिइन्छ । काम गर्न जाँदा र अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न भन्ने हो भने पनि लगभग चार करोड जनसंख्या रहेको राजधानी टोकियोलाई संशारकै ब्यस्त शहर बन्दछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इटालीमा संक्रमण बढ्नुको एक कारण यहाँका नागरिकको उमेर पनि हो । सबैभन्दा धेरै औसत आयु हुने मुलुकमा इटाली युरोपमा पहिलो र विश्वमा दोस्रो स्थानमा आउँछ । वृद्ध मानिसलाई कोरोना संक्रमण र मृत्युदरसमेत बढी देखिएको छ । यही तथ्यलाई आधार मान्ने हो भने इटालीमा भन्दा जापानमा धेरै मानवीय क्षति र संक्रमण फैलनुपर्ने हो । किनकि जापान विश्वकै सबैभन्दा धेरै औसत आयु भएको मुलुक हो । तर अवस्था त्यस्तो छैन । धुम्रपानलाई चीनमा धेरै मानिसको मृत्यु हुनुको साझा कारण मानिएको छ । तर यही तथ्यलाई जापानसँग तुलना गर्ने हो भने मेल खाँदैन । यहाँ रहेका ३३ प्रतिशत मानिस धुम्रपानको लतमा रहेको तथ्याङ्क सम्बन्धित निकायबाट प्रकासित भएको छ । सन् २०१७ मा जापानका पुरुषहरुको धुम्रपानदर जी ७ मुलुकमध्येमा उच्च थियो । अनिवार्य सेल्फ आइसोलेसनमा १४ दिन कोरोना भाइरस संक्रमण हुन नदिन जापान सरकारले आफ्ना नागरिकहरुमाथि कडा कदम उठाएको छैन भन्न मिल्दैन । तर, महामारी नियन्त्रणमा ल्याउन जसरी चीनले क्वारेन्टाइन र पूरा हुवेई राज्यलाई नै लकडाउन गर्यो, यात्रामा प्रतिबन्ध लगायो, जापानले भने यस्ता कुनै कदम चालेन । संक्रमण देखिएका देशका नागरिक अहिले पनि जापान घुम्न सक्छन् । तर, उनीहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । किनकि संक्रमितबाट अन्यमा कोरोना भाइरस नसरोस् भन्नेमा भने जापान सचेत छ । संक्रमित क्षेत्रको पूर्णपरीक्षण जब उत्तरीद्घिप होक्काइदोको एक प्राथमिक विद्यालयमा भाइरसको संक्रमण देखियो तत् पश्चात विद्यालय बन्द तथा उक्त क्षेत्रलाइनै सिल गरेर सबैको पूर्ण परीक्षण तथा संक्रमितको उपचार गरियो । जसको कारण संक्रमण अन्य क्षत्रमा पैmलिन पाएन । सचेत जनता तथा संक्रमण विपरित संष्कार कतिपय सामाजिक व्यवहार, चलन र आनीबानीका कारण पनि यहाँ अन्य ठाउँमा जसरी रोगको संक्रमण नफैलिएको हो । भेटका क्रममा हात मिलाउनुको सट्टा टाउको निहुराउने, कोरोना भाइरसको संक्रमण देखिनु धेरै अघिदेखि नै मास्क लगाउने चलन हुनु, वृद्धवृद्धा बस्नलाई छुट्टै आश्रमको व्यवस्था हुनु तथा सेल्फ आइसोलेसन र सोसल डिस्टेन्स (सामाजिक दूरी) कायम हुनुले जापान सक्रीय प्रयासबिनै कोरोना विरुद्धको लडाइँमा केही हदसम्म सफल भएको मानिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत अन्य केही निकायहरुले वास्तविक संक्रमितको संख्या लुकाएको आरोप पनि जापानमाथि लगाएका छन् । जापानमा कम परीक्षण हुनु नै यहाँ थोरैमा कोरोना संक्रमण देखिनुको कारण भएको आलोचकको भनाइ छ । यसको सीधा सम्बन्ध यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुदसँग जोडिएकोले जापान सुचना लुकाउँदै छ, जापान चाहँदैन कि धेरै व्यक्तिमा कोरोना फैलिएको तथ्य बाहिर आएर ओलम्पिक आयोजनामा व्यवधान होस् भन्ने जस्ता आरोप पनि जापानले खेपिरहेको छ । तर कम परीक्षण तथा सुचना लुकाइनुले संक्रमण नियन्त्रण होला त ? यस्तै, जापानमा हुने भनिएको ओलम्पिक खेल पनि रद्द भइसकेको छ । कोरोना कहरको हालको अवस्थाले संसारलाई नै भयानक अनिश्चिततातर्फ डोर्याइरहको जस्तो लाग्छ । भाइरसको संक्रमण फैलिन नदिन सरकारले सबै जनतालाई उच्च सतर्कता अपनाउनतर्फ सजग गराउनु जरुरी छ । हाल विश्वभर फैलिएको कोरोना कहर तथा यसबाट उत्पन्न बिबिध चुनौतिहरु जस्तै स्वास्थ्य, मनबिय, आर्थिक, सामाजिक, बेराजगारी लगायतलाई समाधान गर्नका लागि जापानी पद्धति पनि एक उत्तम बिकल्प हुन सक्छ । (अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)