नयाँ दिल्लीमा २ सय जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड-१९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मङ्गलबार भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए । तर उनले दिएको जानकारी अनुसार कोभिड-१९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए । उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।

कोरोना अपडेटः ९ लाख २२ हजार संक्रमित निको भए, मृतककाे संख्या २ लाख नाघ्याे

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ९ लाख २२ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५६ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख १० हजार ३ सय ५६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने अहिलेसम्म ९ सय ३९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात विताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बस्नु भएको थियो । सघन कक्षबाट बाहिरिएपछि उहाँले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा सो भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । रासस–एएनआई