आरबीआई गभर्नरमा उर्जित पटेल नियुक्त, राजनको मौद्रिक नीतिले निरन्तरता पाउने

काठमाडौं, ५ भाद्र । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । रघुराम राजनको गभर्नर कालमा पटेलले मौद्रिक नीति विभागसहित डेप्युटी गभर्नरको नेतृत्व गरेका थिए । पटेललाई सरकारको नियुक्ती समितिले रिजर्व बैंकको गभर्नरका लागि सिफारिस गरेको हो । पटेलले आगामी तीन बर्षसम्म भारतीय रिजर्व बैंकको नेतृत्व गर्नेछन् । ५२ बर्षका पटेललाई गत जनवरीमा आगामी तीन बर्षका लागि दोश्रो कार्यकाल डेप्युटी गभर्नरमा नियुक्त गरिएको थियो । भारतीय अर्थतन्त्रको स्थिरतामा ठुलो योगदान गरेका गभर्नर रघुराम राजनका निकटस्थ मानिएका पटेलको नियुक्तीले मोदी सरकार पनि राजनकै मौद्रिक नीतिलाई अघि बढाउने मनस्थितीमा पुगेको विश्लेषण गरिएको छ । पटेलले अमेरिकाको येल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । रघुराम राजनले कायम गराएको मुद्रास्फिति दरलाई नियन्त्रणमा राख्नु पटेलको चुनौतीका रुपमा हेरिएको छ ।

चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

चीन, २१ साउन । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

भारत, २० साउन । भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानमा अन्य यात्रु भने थिएनन् । आईएएफले विमान दुर्घटनाबारे जानकारी लिन लगाएको भए पनि दुर्घटनाको पुष्टि गरिसकेको छैन । एक महिनाअघि पनि भारतीय वायुसेनाको एएन–३२ ले २९ सैनिक लिएर तामिलनाडूबाट उडिरहेको बेला दुर्घटनाग्रसत भएको थियो । रासस/सिन्ह्वा