अमेरिकाको ग्रिनकार्ड ६० दिनको लागि स्थगित

काठमाडौं । अमेरिकाको स्थायी बसोबासको लागि चाहिने प्रमाण ग्रिनकार्डको प्रतिक्षामा बसेकाहरुलाई राम्रो समाचार छैन । अबको ६० दिनसम्मका लागि अमेरिकाले ग्रिनाकार्ड सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले दुई महिना अर्थात ६० दिनका लागि यस्तो निर्णय गरेको जानकारी दिएका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरु अर्थात ग्री कार्ड सम्बन्धी गतिविधिमा लागू हुने पनि ट्रम्पले स्पष्ट पारेका छन् । अब कम्तिमा पनि ६० दिनसम्म अमेरिकामा ग्रिन कार्डका सबै प्रक्रिया रोकिनेछन् । आवश्यक परेको खण्डमा थप एक महिना बढाउन सकिने राष्ट्रपति ट्रम्पको भनाई छ । सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका ट्रम्पले मंगलबार त्यसबारे थप स्पष्ट पारेका हुन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुनेछैन ।

अमेरिकीहरुको जागिर जोगाउन आप्रवासीलाई बन्देज लगाउँदै ट्रम्प, नेपालीलाई असर पर्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रुपमा बसाेवास गर्ने आप्रावासीहरुलाई बन्देज लगाउने बताएका छन् । सोमबार साँझ आफ्नो आधिकारीको ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै ट्रम्पले अस्थायी आप्रावासीहरुको अध्यागमनलाई बन्देज गर्ने बताएका हुन् । उनी लेखेका छन्, ‘अदृश्य दुश्मनहरुबाट हुने हमलालाई ध्यानमा राख्दै र हाम्रो महान् अमेरिकी नागरिकहरुको जागिर जोगाउन म संयुक्त राज्य अमेरिकाको आप्रावासी अध्यागमनलाई अस्थाई समयको लागि रोक्नलाई हस्ताक्षर गर्दैछु । ’ यद्यपी उनले अध्यागमनलाई निलम्बन गर्न कुन संयन्त्र प्रयोग गर्नेछन्, यो निलम्बन कति लामो समय सम्म रहन सक्छ र यसले अमेरिकी ग्रीन कार्ड भएका व्यक्तिहरूमा कस्तो असर पार्दछ भन्ने उनले स्पष्ट खुलाएका छैनन् । साथै यसले अमेरिकामा ग्रिनकार्ड पाएर बस्दै आएका नेपालीहरु र अध्ययनको लागि गएका नेपाली विद्यार्थीहरुमा कति प्रभाव पार्ला भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । कोरोनाभाईरसको असरले हाल अमेरिकाले ठुलो संख्यामा अध्यागमन कटौती गरेसँगै शरणार्थी पुर्णवासमा रोक लगाईएको छ । भिषा कार्यालहरु पनि बन्द छन् ।

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

सिंगापुर । ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको छ । मंगलबार अपराह्न एशियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को अर्को महिना मे का लागि प्रतिब्यारेल १.६७ डलर कायम भएको छ । अघिल्लो दिन न्यूयोर्कमा तेलको मूल्य ३७.६३ डलरले ऋणात्मक भएको थियो । तर बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरुमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे महिनाको भन्दा ६० गुणाभन्दा बढी छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको आगामी जुन महिनाका लागि प्रति ब्यारेल २५.४० डलरमा कारोबार भएको छ जुन ०.१६ प्रतिशतले कमी हो । कोरोनाभाइरसँग जुध्न हाल विश्वका अधिकांश मुलुकमा जारी बन्दाबन्दी, यात्रा प्रतिबन्ध र व्यापार बन्दका कारण तेलको मागमा व्यापक कमी आएको छ । यसबीचमा तेलको मागमा मात्र कमी आएको छैन, तेलको खपत नै कम भएपछि बजारमूल्यमा पनि व्यापक गिरावट आइसकेको छ । साउदी अरेबिया र रसियाबीचको मूल्य युद्धले संकट झनै नराम्रो भएको थियो । रियाद र मस्कोबीच मध्यस्थता भएसँगै विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुले प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति गरेका थिए । तर विश्व बजारमा तेलको मूल्यमा भइरहेको गिरावट रोकिएन । विश्लेषकहरूले तेल उत्पादन कटौती पर्याप्त नभएको र भण्डारण सुविधाहरूको क्षमता कम रहेकाले तेलको मूल्यमा फेरि गिरावट आएको बताएका छन् । अमेरिकी कच्चातेलको मूल्यमा गिरावट आउनुको मुख्य कारण नै ओक्लाहोमास्थित कुसिङ तेल भण्डारमा तेल भरिनु पनि हो । ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफ्री ह्यालीले एएफपीलाई ब्रेन्ट र डब्लुटिआई दुबैको मूल्यमा तत्कालै सुधार हुने सम्भावना कमै रहेको प्रतिक्रिया दिए । (रासस-एएफपी)