काठमाडौं-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै, लाखौँ नेपाली लाभान्वित हुने
क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो । अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए । अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले जानकारी दिएका छन् । अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउँछन् । साथै, सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । रासस
कर वृद्धिका कारण चीन–अमेरिका बीचको व्यापारमा मन्दी
बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको वस्तु आयात भएको देखिएको उनीहरुको भनाई छ । तर पनि अर्को एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो । अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । रासस
क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु, २ सय ७५ जना पक्राउ
तेगुसिगाल्पा । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए । दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । रासस